मिथिलाको महाकुम्भ भनिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा शुरू भएको छ । धनुषाको ठेराकचुरीस्थित श्री रामजानकी मठबाट अवधविहारी (श्रीराम) को प्रतिमा राखिएको डोला बोकेर निस्केको साधुसन्त र श्रद्धालु भक्तजनको भीडमा जनकपुरधामस्थित अग्निकुण्ड मठबाट किशोरीजी (सीताजी) को प्रतिमा राखिएको डोला प्रस्थान गरेको हो ।
सो यात्रामा बाजागाजासाथ जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र जनकपुरस्थित पवित्र तलाउहरू गङ्गासागर र धनुषसागरको प्रदक्षिणा गर्दै हनुमानगढीमा रात्रिबास गरिनेछ । यो बाससँगै मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्लपक्षभरि प्राचीन मिथिलाका विभिन्न तीर्थस्थलको परिक्रमा गरेर जनकपुर नै पुगेर सम्मापन गरिनेछ ।
मिथिला माध्यमिकी परिक्रमामा प्रारम्भको पहिलो दिन हनुमानगढी, दोस्रो दिन कल्याणेश्वर (कलना), तेस्रो दिन फूलहर स्थित गिरिजा स्थान, चौथो दिन महोत्तरीको मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड, आठौँ दिन कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यता अनुसार त्यहाँ यात्रीहरूले होली महोत्सव मनाउने गरेका छन् ।
नवौँ दिन पर्वता, १० औँ दिन धनुषाधाम, ११ औँ दिन सतोखर, १२ औँ दिन औरही १३ औ दिन भारतको करूणा र १४ औँ दिन विसौल र अन्तिम १५ औँ दिन जनकपुरधाममा रात्रिबासको परम्परा छ । बिसौलमा पुगेर विधिवत् रूपमा मध्यमा परिक्रमा समापन हुनेछ ।
तत्पश्चात परिक्रमा जनकपुरधाम पुगेर जनकपुरधामको पाँचकोशे अन्तरगृह परिक्रमा गर्ने परम्परा रहिआएको छ । स्वस्फुर्त रूपमा आफ्नै घरबाट भोजनसहित हजारौंको संख्यामा यात्रीहरूले यस परिक्रमामा सहभागीता जनाउने गरेका छन् ।
यो यात्रा १ सय ३३ किलोमिटरको रहेको बताइन्छ । यता मन्दिरहरूबाट परिक्रमाको लागि तयारी पूरा भए पनि यात्रुहरूको लागि आवश्यक ठाउँ ठाउँमा चाहिने शौचालय तथा खानेपानीको चरम समस्या हुने गरेका छन् ।
यो यात्रा १ सय ३३ किलोमिटरको रहेको बताइन्छ । यो धार्मिक यात्रामा मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबास हुनेछ । मिथिलाको हिन्दू परम्परामा भगवान् शिव र विष्णु लक्ष्मीका अवतार मानिने श्रीराम र सीता समानरूपले पूज्य रहेको जानकारहरू बताउँछन् ।
त्यसैगरी त्रेता युगमा विवाहपश्चात् राम जानकीले विहार गर्दै मिथिला परिक्रमा गरेका सम्झनामा आयोजना हुँदै आएको मिथिला माध्यमिकी परिक्रमाका चार सुरमा प्रसिद्ध शिवालय छन् ।
यात्रीले यी शिवालयको प्रदक्षिणा गर्ने परम्परा छ । पूर्वमा दक्षिणमा कल्याणेश्वर, दक्षिण पश्चिममा जलेश्वरनाथ, उत्तर पुर्वमा क्षीरेश्वरनाथ र पुर्वमा सतोखरनाथ यस क्रममा प्रदक्षिणा गरिने शिवालय हुन् ।
शिवले आफ्ना इष्टदेवमा भगवान् रामको र श्रीरामले शिवको आराधना गरेका प्रसङ्ग रामायण र शिवपुराणमा भेटिनुले हिन्दू परम्परामा यी दुवै देवको समान पूजाआराधना परम्परा चलेको हो । मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई रात्रीबासमा स्थानीयले बासस्थान, भोजन, पानी, प्राथमिक स्वास्थ्य उपचारको प्रबन्ध गर्ने चलन छ । यसबाहेक बाटोमा पर्ने बस्तीमा यात्रीको पाउ पखाल्ने, शीतल जल सर्वतले स्वागत गर्छ । परिक्रमामा नेपाल र भारतका हजारौं यात्री सहभागी हुने गरेका छन् ।
तपाईको प्रतिक्रिया