किन जनआक्रोश बढ्दैछ ?

सम्पादकीय

नेपाली जनता धेरै सहनशील र धैर्यवान छन् । नेपालको हरेक परिवर्तनहरुमा जनताले परिवर्तनलाई नै साथ दिँदै आएका छन् । हाल नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्दैछ । गणतान्त्रिक व्यवस्था विश्वकै सबभन्दा उत्कृष्ट व्यवस्थ हो । तर, उत्कृष्ट व्यवस्था हुँदाहुँदै पनि नेपालीजनको जीवनशैलीमा त्यो किसिमको परिवर्तन आएन । केही नेताहरुको जीवनशैलीमा अवश्य नै परिवर्तन आयो ।

छल, कपट, जाल, फरेब, धोखाको आधारमा राजनीति गर्नेहरु एक दिन विकट परिस्थितिमा फँस्ने निश्चित छ । यो परिस्थिति अप्रत्याशित रुपले आएको होइन । एक दिन विकट परिस्थितिमा यी दुषित मानसिकताबाट ग्रसित राजनीतिक रोगीहरु देशलाई फँसाई दिने कुरा बुझ्नेहरुको आकलन थियो, सावित भयो । ०६० सालमा राजाको प्रत्यक्ष शासनको विरुद्ध उर्लेको मानवसागर जस्तै आज पनि पुनरावृति हुने अवस्थाको सिर्जना हुन थालेको छ । अहिलेका जनता सम्पूर्ण राजनीतिक दलका अगुवाहरुप्रति आक्रोशित छन् । राजाले केही गर्न सकेन भनेर जनतालाई झुक्याएर सडकमा ल्याउने राजनीतिक दलहरुले देश र जनतालाई झन् कँगाल बनाए भनेर जनता आक्रोशित भएका छन् ।

जनआक्रोश कतिसम्म बढेको छ भने राष्ट्रघात गर्नेलाई ठाउँको ठाउँ सिध्याउने आवाज घन्किदै छन् । कहिल्यै मुख नखोल्ने सेनाले पनि देश बचाउन अगाडि आउने अवस्थाको सिर्जना हुन लागेको हो । सेना पक्षमा रहेको कुराबाट जनता झन् प्रोत्साहित भएका छन् । परिस्थिति राजनीतिकर्मीको उल्टो दिशामा जान लागेको यसलाई सहज बनाएर लैजाने क्षमता कुनै राजनीतिक दलमा देखिएको छैन ।

शक्तिकेन्द्रका गुलाम बनेका दलहरु आफ्नो मौलिकताको कहिल्यै पनि अभ्यास गरेन । आफ्नो स्वार्थका लागि सधैं शक्तिकेन्द्रलाई गुहार्ने दलहरुले आपूm त सुध्रन सकेन, नयाँ आउने दलहरुलाई पनि शक्तिकेन्द्रका गुलाम बनाए । दास मानसिकता राखेकाहरुसँग न आफ्नो स्वाभिमान हुन्छ न देशको । मालिकका आज्ञाकारी प्यादाहरु विदेशी स्वार्थलाई नेपाली विकासको परिभाषा गरि देशलाई ठग्दै आएको छ । प्रजातन्त्र स्थापना भएको पनि ३५ वर्ष भैसक्यो । देश र जनताको विकासको तथ्याँक अति न्यून विन्दुमा रहेकोप्रति किञ्चित पनि लज्जाबोध हुँदैन । देशलाई लुट्नेबाहेक लोकतान्त्रिक भनाउँदा शक्तिहरुले के गरेको कुरा सरकारी तथ्याँकले देखाइरहेको छ ।

लोकतान्त्रिक पद्धतिमा संघीय प्रणालीद्वारा देशको मुहार फेर्ने ३५ वर्षको अवसर बितेपनि केही गर्न नसकेको तर्कपूर्ण जवाफ पनि कसैसँग छैन । सबै दलहरुले आफ्नो क्रियाकलापबाट जनतामा फैलाएको वितृष्णाको प्रतिफल हो जनआक्रोश । राजनीतिक अगुवाहरुले बेलैमा आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन नभए अवस्था भ्यावह हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ