मधेशको दुर्दशाप्रति कहिले सचेत हुने ?

सम्पादकीय

मधेशको दुर्दशाप्रति चिन्तितझैं देखिने राज्यसत्ता विभिन्न चातुर्यताका साथ नीतिगत, नियतीगत र स्वसामुदायिक दूत पठाएर दमन गराई मधेशको अधिकार प्राप्तिको आन्दोलन वर्षौं पछाडि पार्न सफल देखिएको छ । मधेशको नाममा राजनीति गर्ने र मधेश विरोधी शक्तिलाई पोषण दिने चरित्रका कारण मधेशी नेताहरू सामुदायिक बहिष्करणको शिकार बनेका छन् । मधेशको हविगत यस्तो हुनमा पनि यसका अगुवाहरू नै दोषी रहेको पाइन्छ ।

शहीदको रगतसँग मन्त्रालय साट्नेहरूप्रति मधेशी जनता आक्रोशित हुनु स्वाभाविक हो । तर, मधेशका अधिकांश अगुवाहरू गैरजिम्मेवार देखा परेका छन् । उनीहरूले आआफ्ना चरित्र तथा व्यवहार सुधार्नुभन्दा पनि मधेशी सञ्चारकर्मीहरूलाई नै दोषी देख्ने गरेका छन् । वा आक्रोश पोख्नेहरूलाई आफ्नो दलको मान्छे होइन यो मधेश विरोधी शक्तिका दूत हुन सम्म भन्न थालेका छन् । मधेशकेन्द्रित दलका नेताहरूले मात्रै होइन तिनका तल्लो तहका कार्यकर्ताहरू समेतमा मधेशवादको मात्रा न्यून देखिन्छ ।

मधेशकेन्द्रित दलमा मुद्दाभन्दा सत्ता र शक्ति प्राप्तिका लागि संघर्ष बढेको देखिन्छ । जनतासँग प्रतिशोध लिन सकिदैन र हुँदैन पनि । तर, मधेशकेन्द्रित दलका नेताहरूले आफूहरूलाई भोट नदिएको निहुँमा मधेशका जनताहरूसँग बेवास्ताको राजनीति गर्न थालेका छन् । मधेशमा भएको आगलागी र जनधनको क्षतिप्रति मौन बसेर जनतासँग बदला लिइरहेका छन् ।

मधेशी जनताको जनधनको क्षति भइरहँदा मधेशका राजनीतिक दल, संचार संस्था, नागरिक समाज र बौद्धिक वर्गको सामूहिक निष्क्रियताले लज्जाबोध गराएको छ । मत नदिएपछि मानवतासमेतको नाता नराख्नु मधेशी नेताहरूबाट थप के नै आश गर्न सकिन्छ र । यो भाव मधेशकेन्द्रित दलका नेताहरू नागरिक समाजका अगुवाहरू तथा मधेशी मानवअधिकारवादी अगुवाहरूसमेतको क्रियाकलापमा व्यवहारगत भिन्नता पाइएको छ । मधेशमा पत्रकारिताको विकास गराउने उद्देश्यका साथ विभिन्न दातृ निकायबाट लाखौं कुम्ल्याएर आफ्नै संचार संस्था खोलेका मधेशी नेताहरूले उक्त संचार संस्थाबाट पनि सचेतना अभियान नचलाएको हेर्दा हीनता बोध भएको छ ।

मधेशकेन्द्रित दलले मधेशी जनतासँग विश्वासघात गरेका छन् । मतादेशका विरूद्ध भ्रष्टाचार र जातिवादको आडमा राजनीति गरेर सच्चा मधेशवादीहरूलाई पलायन हुन बाध्य गरिएको छ । निजि सम्पत्ति, पारिवारिक नियुक्ति र खसभक्तिमा रूम्लिएका नेताहरूका कारण मधेश आन्दोलनका सहयात्रीहरू टाढिएका छन् ।

धोकाको राजनीति गरेका नेतृत्वहरूप्रति मधेश आन्दोलनका सहयात्रीहरू पुनः विश्वास गर्न चाहेका छैनन् । मधेशमा नयाँ शक्ति वा पृथक धारको राजनीतिक शक्तिको खोजी हुँदैछ । खसभक्तलाई बढारिने र मधेश विरोधी कार्य गरेकालाई सजाय दिन समुदाय तयार रहेको छ । मधेशी नेताहरूलाई अधिकार दिलाएको भए मधेश आन्दोलनमा शहिद भएकाहरूको शहादतको मूल्य खोइ ? भन्ने प्रश्न तेर्सिदैनथ्यो ।

अवसरवादी चरित्रले मधेश र मधेशको अधिकारलाई ठीक ढंगले अगाडि बढाउन नसक्नु मधेशका अगुवाहरूको गैरजिम्मेवार चरित्र हो । सञ्चार माध्यमको काम गलत व्यवहारको प्रदर्शन कुनै पनि नेता वा पार्टीको छवि धुमिल पार्न होइन उनीहरूलाई सुधार गर्नलाई हो । मधेशकेन्द्रित राजनीतिक दल, नागरिक समाज तथा मानवअधिकार क्षेत्रका अगुवाहरूले यस्तो मनसाय तथा आदर्शबाट माथि उठेर राजनीतिक गतिविधि अगाडि बढाउन पर्ने होइन र ?

लोकतन्त्रको दुहाइ दिने यस्ता मधेशकेन्द्रित दलले एक पटक जनताले जिताए दुहुनुसम्म दुहुने अनि जिताए न भने गाली गर्ने प्रवृतिले मधेशको राजनीतिक दल र तिनका नेतालाई सुसंस्कृत बनाउन सक्दैन । यसबारे सोच्ने कि मधेश सञ्चार र सञ्चारकर्मीलाई गाली गरेर बस्ने आफै सोच्नु पर्ने बेला भएको छैन र ? मधेशका संचारकर्मी, अधिकारकर्मी र सच्चा नेताहरूबीच समयमै एकीकरण हुन सकेन भने मधेशका जनता कहिल्यै पनि अधिकार सम्पन्न हुन सक्दैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ