भारतलाई शुभकामना

सम्पादकीय

9/18/2018

छिमेकी मित्रराष्ट्र भारतले बुधबार ७२औं स्वतन्त्रता दिवस मनाएको छ । सन् १९४७ अगस्त १५ का दिन भारतीयहरूले ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेका थिए । यो दिन भारतका लागि एउटा राष्ट्रिय पर्व पनि हो । प्रत्येक वर्ष यस अवसरमा भारतका प्रधानमन्त्रीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट भारतबासीलाई सम्बोधित गर्दै आएका छन् । यस वर्ष पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट देशबासीलाई सम्बोधन गरेका छन् । त्यसैगरी, विभिन्न देशहरूमा रहेका भारतीय राजदूतावासमा समेत भारतको स्वतन्त्रता दिवस भव्यताका साथ मनाइँदै आएको छ । विश्वकै शक्तिशाली प्रधानमन्त्रीको रूपमा पहिचान बनाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाली नेताहरूले पाठ सिक्नुपर्ने हुन्छ । भारतलाई समृद्धितर्फ डो¥याउनका लागि जुन किसिमका नीति, नियम तथा अभियानहरू चलाइएको छ त्यसको तुलनामा नेपाली नेताहरूमा केही पाइँदैन ।


भारतले नेपालका हरेक क्षेत्रमा जस्तै, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, जलस्रोत लगायतमा वर्षेनी अर्बौंको लगानी गर्दै आइरहेको छ । विश्वकै अनुपम सम्बन्ध रहेको नेपाल र भारतबीचको सम्बन्धलाई अन्य मुलुकसँग दाँज्न मिल्दैन । भारतले नेपालको हरेक दुःख सुखमा साथ दिँदै आएको छ । छिमेकी मुलुक समृद्ध भए आफू पनि समृद्धिको बाटोमा जान सजिलो हुने मान्यता बोकेको भारतले नेपालको समृद्धिका लागि काँधमा काँध मिलाएर अगाडि बढ्न चाहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा गरिएको सम्बोधनबाट प्रष्ट हुन्छ । भारतले चुनौतीका बीच आफ्ना छिमेकीहरूसँगको सम्बन्ध सुधार गर्ने प्रयास गर्दै आएको छ । नेपाल–भारत सम्बन्धका निमित्त अत्यन्तै महत्वपूर्ण स्थान ओगटेको मधेश र मधेशीको सवालमा प्रष्टताको खाँचो छ । तराई मधेशका हरेक जिल्ला भारतको सीमासँग जोडिएको हुनाले सीमाक्षेत्रका जनताको खास सम्बन्ध रहेको कुरा कसैले नकार्न सक्दैन । नेपाल र भारतबीचको सम्बन्धमा उतारचढाव आएको कुरा बेलाबखतमा सुनिदै आएको छ तर जनता–जनताबीचको सम्बन्धमा कुनै किसिमको चिसोपना आएको छैन ।

राजनीतिक स्वार्थका कारण नेपालका केही राष्ट्रवादी भनाउँदा नेताहरूले भारत विरूद्ध विभिन्न खालका भ्रम फैलाउन प्रयास गर्छन् तर सम्बन्धमा कुनै किसिमको असर पर्दैन । तर, भारतले मधेशमा बसोबास गर्ने जनताप्रति जुन किसिमको व्यवहार गर्नुपर्ने हो त्यसमा कमी महसुस गरिँदै आएको छ । अवसरमा समावेशिता, विकासमा समानता र सम्बन्धमा सामिप्यताको चाहना राखेका मधेशमा बस्ने नेपालीहरूको मनोभावनालाई बुझ्न जरूरी छ । नेपाल र भारतको सीमा क्षेत्रमा बसोबास गरेका नागरिकहरू दैनिक जीवनयापनका लागि विशेष व्यवस्था हुनुपर्ने, सहुलियत प्राप्त होस् भन्ने चाहन्छन् । मधेशी जनताको भावनालाई समेट्ने हो भने बैंकिङ्ग, कृषि, विकास, ऊर्जा, सीमा, यातायात लगायतका शीर्षकहरू महत्वपूर्ण छ । यी र यस्ता कुराहरू भारतले मध्यनजर गर्दै विशेष ध्यान दिने हो भने यो सम्बन्ध आगामी दिन अझ प्रगाढ र आत्मीय हुँदै जान्छ । कृषि नै मधेशको मेरूदण्ड हो । मधेशमा कृषि क्षेत्र नै बढी रहेको छ ।

खुला सिमाना र दुवै क्षेत्रमा कृषकहरूकै स्थायी बसोबास रहेकोले भारत–नेपाल सम्बन्ध प्रगाढ गर्न मुख्यतया कृषक र कृषिमा विशेष ध्यान दिनु जरूरी छ । भारतले नेपालमा गर्ने लगानी र क्षेत्रको चयनमा समानता होस् भनी मधेशी अगुवाहरू चाहन्छन् । प्रशिक्षण, सेना भर्ना, छात्रवृत्ति, भ्रमणलगायत भौतिक र जनशक्तिको विकासमा दुवै समुदायबीच समानता चाहन्छन् मधेशीहरू ।

छात्रवृत्ति, भ्रमण, प्रशिक्षण र अन्य अवसरहरूमा कर्मचारी पत्रकार, नेता, विद्यार्थी, कृषक र अन्य पेशावालहरूले पाउने अवसरमा समानता हुनुपर्ने जरूरी छ । स्कूल, कलभर्ट, सडक, सिचाईं नहर निर्माणमा समानता र समन्यायको चाहना राखेका छन् मधेशीहरूले । अतः नेपाल–भारत सम्बन्धको सेतुको रूपमा रहेका सीमा क्षेत्रका नागरिकहरूलाई प्राथमिकताका साथ व्यवहार गर्दा सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, पारिवारिक तथा विविध खालको सम्बन्ध थप उचाईमा पुग्दै जान्छ । तसर्थ, भारतको ७२औं स्वतन्त्रता दिनको अवसरमा सम्पूर्ण भारतीय जनतामा हार्दिक बधाई तथा शुभकामना ।

प्रकाशित मिति : २०७५ साल भदौ १ गते शुक्रबार ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ