मदिराले नाश (सम्पादकीय)

सम्पादकीय

3/19/2020

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ र २, रमदैयाका २१ जनाको मृत्यु मदिरा सेवनले भएको छ । अझै केही सिकिस्त अवस्थामा रहेका छन् । । फागुन २९ गते होलीको रमाइलोमा मदिरा पिएका उनीहरूको मात लागेर ज्यान गएको छ ।

मदिरा सेवनले निधन भएकाका परिवारका सदस्यको आँखा ओभाएका छैनन् । मृतकका आफन्त रोइरहेका छन् । सम्झाउन पुगेकाहरूको पनि आँसु थामिएको छैन । प्रदेश २ गरिबीको चपेटामा छ । लोग्नेमानिस मदिराको कुलतमा लागेका कारण बालबालिका र महिला प्रताडित छन् । अभिभावकले कमाएको सबै रूपैयाँ जाँडरक्सीमा सकेपछि छोरीछोरीले न पढ्न पाएका छन् न खानलाउन नै । 

विषाक्त रक्सी उत्पादन गर्नेले गरिरहेको छ, बेच्नेले बेचिरेहको छ । भट्टी नष्ट गर्न प्रहरी प्रशासनले वास्ता गर्दैन । गरिब, दलित तथा विपन्न समुदाय बढी घरेलु मदिरा खान्छन् । दैनिक काम गर्नेहरू कडा परि श्रम गर्छन् । रक्सी पिएर मान्छेको मृत्यु हुने घटना स्थानीयका लागि सामान्य भइसकेको छ ।

मदिरामा मिथाइल अल्कोहल हुन्छ, जसले रगतमार्फत सेवनकर्ताको मस्तिष्क र आँखामा सोझै असर गर्छ । मदिराले शरीरका अंगमा क्यान्सर हुने, कलेजो सुन्निने, उच्च रक्तचाप र मष्तिस्क घातजस्ता समस्या ल्याउने गर्छ । डोम, चमार, पासवान, बातर, डाँगरलगायत गरिब तथा विपन्न समुदायका मानिसले घरेलु मदिरा सेवन गर्ने गरेको पाइन्छ । सस्तो र जहाँ पनि पाइने घरेलु मदिराले गरिबको उठिबास भएको छ । जनचेतना र मौजुदा कानुनको कडा कार्यान्वयन नै मदिरा र मदिरालयले निम्त्याउने विकृति नियन्त्रणका मुख्य दुई उपाय हुन भन्नेमा शंकै छैन । मदिरा सेवनले एकातिर आफ्नो ज्यान सिध्याउने काम भइरहेको छ भने अर्कोतिर हिंसालाई पनि बढावा दिइरहेको छ ।

समाजको अमनचयन बिथोल्नेदेखि घरेलु हिंसाको पारो बढाउनसमेत मदिरोन्मत्तहरूको सक्रिय भूमिका रहेकामा शंका छैन । कम्तीमा पनि स्थानीय प्रशासनले गाउँठाउँ भ्रमण गरेर चेतावनी दिने, कानुनी प्रशिक्षण÷जानकारी दिलाउने तथा नमानेमा कारबाहीमा जाने हो भने यस्ता विकृति स्वतः छिमोलिन्छन् । मदिरा सेवन गरेकै कारण धेरै व्यक्ति आपराधिक क्रियाकलापमा पनि संलग्न देखिन्छन् । उनीहरूलाई कारबाही गरेरमात्र यही कारण हुने विसंगति कदापि रोकिन्न । त्यसैले मदिरासँग जोडिएका विकृति, दुर्घटना न्यून पार्ने हो भने स्थानीय सरकार, स्थानीय प्रशासन र स्थानीय बासिन्दाको त्रिकोणात्मक समन्वय हुनैपर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार पनि विश्वमा वार्षिक ३० लाखभन्दा बढीको मृत्यु यही कारण हुने गरेको छ ।जुन संख्या एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेभन्दा बढी हो ।

मदिरा स्वास्थ्यका लागि कति घातक र कति उपयोगी भन्नेमा समाजमा आ–आफ्नै बुझइ र भ्रम छन् । यसबारे समय–समयमा अनुसन्धान पनि भएका छन् । पछिल्ला विभिन्न अध्ययनले निश्चित परिमाणको मदिरा सेवनले मुटुलाई फाइदा गर्ने औंल्याएका थिए । तिनै अध्ययनका आधारमा कतिपय चिकित्सकले पनि पूर्ण रूपमा स्वस्थ व्यक्तिले ‘थोरै मदिरा पिउँदा हुन्छ’ भनेर सुझउने गरेका थिए । तर, भर्खरैको एक नयाँ अध्ययनले मदिरा कुनै पनि हालतमा स्वास्थ्यका लागि उपयोगी नरहेको देखाएको छ । यसैले मदिराका असरबारे जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । यस्तै, विभिन्न भोजभतेर तथा भेलाहरूमा मदिरा सेवनलाई बन्देज लगाउनुपर्छ । मदिरा बिक्री तथा सेवन गर्न निश्चित ठाउँ तोक्दा मात्र पनि मदिरा सेवनलाई घटाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ