देश अहिले कारोना भाइरसको दोस्रो चरणको महामारीबाट ग्रसित छ । जनता त्राहीमाम गरिरहेका छन् । महामारी नियन्त्रण गर्न लगभग देशैभर निषेधाज्ञा जारी गरिएको छ । तर जनताले सर्वसुलभ ढंगले उपचार पाउन सकिरहेको छैन । प्राणवायुको अभावमा अकालमै नागरिकले ज्यान गुमाइरहेका छन् । जनताले अस्पतालमा उपयुक्त ठाउँ पाइरहेका छैनन् ।
मुलुक अहिले कोभिडको दोस्रो लहरबाट आक्रान्त छ । कोभिड बिमारीबाट छट्पटिएका नागरिकले अस्पतालमा भर्ना नपाएर बाटबाटै ज्यान गुमाएका समाचार र तस्बिर सार्वजनिक भएका छन् । अक्सिजन र आइसियु अभावमा बिमारीको मृत्यु भएको समाचार पढ्नु र सुन्नुपरेको छ ।
स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरू जनशक्ति तथा साधनका कमीले बिमारी बचाउन नसक्ने अवस्थामा पुगेका छन् । महामारीबाट नाजायज फाइदा उठाइ बिमारीबाट अत्यधिक रकम असुल गरी यस आपत्मा शोषण गर्ने अस्पताललाई कारबाही हुँदैन ।
कोरोना संक्रमितको उपचारमा युद्धस्तरमा लाग्ने बेलामा राजनीतिक दलहरू चाहे ती सत्तासीन हुन् वा विपक्षी, सत्ता लुँछाचुँडीको विद्रुप प्रहसनमा व्यस्त छन् । यसले नेपालको लोकतान्त्रिक राजनीतिक व्यवस्थामाथि प्रश्नचिह्न खडा भएको छ । सरकार केका लागि ? जनताका लागि वा केही निश्चित व्यक्तिको सुखसयलका लागि ? नेपाली जनता यो संकटको घडीमा सोच्न बाध्य भएका छन् ।
विषम परिस्थितिमा पनि सरकारचाहिँ कसैले उपचार नपाएर मर्नुपर्ने छैन, नेपालमा कोरोना नियन्त्रणमा छ भन्दै देशवासीका नाउँमा सम्बोधन गरेर बस्छन् र आफ्नो जिम्मेवारी पूरा भएको ठान्छन् । शासकसँग सबथोक छ । त्यसैले ऊ ढुक्क छ । जनतासँग केही छैन । त्यसैले जनतालाई भने दुःखैदुःख छ । कोरोना त्रासले जनता त्रसित र भयभीत छन् तर शासक निश्चिन्त छ ।
संकटका बेला राज्यका सबै शक्ति परिचालन गर्ने र सबै पार्टीहरू आफ्ना विवादलाई थाती राखी एक ठाउँमा उभिनुपर्ने हो । अरू देशमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले कोरोना नियन्त्रणमा भएका सरकारका काम–कारबाहीबारे दिनहुँ मिडिया र देशलाई ‘ब्रिफिङ’ दिने गरेको पाइन्छ । तर नेपालमा भने अक्सर राजनीतिक नेतृत्व यस्ता संकटका बेला पछाडि बस्ने, कर्मचारीतन्त्रलाई जनतासामु उभ्याएर आफू पन्छिने चलन छ ।
यद्यपि डाक्टर, नर्स र अरू फ्रन्टलाइनमा रहेकाहरू आफूलाई संक्रमण हुँदासमेत अठार–बीस घण्टा खटेर संकटमा जस्तो मानवीयता, समर्पण र साहस देखाइरहेका छन् । त्यो त्यागलाई जति धेरै नमन गरे पनि कम हुन्छ ।
सरकार कसले बनाउँछ र को प्रधानमन्त्री हुन्छ भन्ने प्रश्नमा जनताको पटक्कै चासो छैन । जनताले सुशील कोइराला, खड्गप्रसाद शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा सबैको शैली देखेका छन् । कोरोना महामारीको व्यवस्थापनमा प्रधानमन्त्रीले फैलाएको अराजकता सबैले बुझेका छन् त्यसैले अब नेतृत्व हातमा लिन चाहनेले कोरोना नियन्त्रणका लागि ठोस योजना दिन सक्नुपर्छ ।
अबको परिवर्तनपछि, सत्तामा पुग्ने जोकोहीले पनि सबभन्दा पहिले जनताको आधारभूत कुराहरूमा विचार पु¥याउनुपर्छ । अहिलेसम्म यो देशको बागडोर त्यस्ता मानिसले सम्हालेका छन्, जसले कहिल्यै देश र जनताको चिन्ता गरेनन्, क्रान्तिका आदर्शहरूको सम्मान गरेनन्, देशको साधन र स्रोतलाई लुट्ने काममा मात्र लगे ।
तपाईको प्रतिक्रिया