भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी ६ घण्टे भ्रमणका लागि विवाह पञ्चमीको अवसरमा जनकपुर आएर फर्केका छन् । प्रदेश सरकारले उनको स्वागतका लागि कुनै कसर बाँकी राखेनन् । मिथिलाको परम्पराअनुसार उनको स्वागत गरियो भने ३६ प्रकारको व्यञ्जनबाट सत्कार गरियो ।
मूलतः उत्तर प्रदेशका मुख्यमन्त्रीको जनकपुर भ्रमण धार्मिक रहे पनि यसले दुई देशको सम्बन्धलाई थप उजागर गर्ने मौका दिएको छ । रामको जन्मभूमि अयोध्या आदित्यनाथ मुख्यमन्त्री रहेको उत्तर प्रदेशकै धार्मिक सहर हो । राजनीतिमा छिर्नुअघि उनी योगी (साधु) नै थिए । यता जनकपुर सीताको जन्मभूमि हो । यी दुवै धार्मिक सहरबीच त्रेतायुगदेखिकै सम्बन्ध छ । सीतालाई भारतका हिन्दूले सती सावित्री ठान्दछन् । उनको जन्मभूमि जनकपुरप्रति भारतीयको अगाध आस्था छ । नेपाल–भारतबीच प्राचीन सम्बन्ध छ । जनकपुर–अयोध्याको आफ्नै खाले भाइचारा छ । पुरानै सम्बन्धलाई नयाँ आयाम दिन भ्रमण भएकाले त्यसबाट दुवै देशलाई फाइदा पुग्ने देखिन्छ ।
जनकपुरधाममा विवाह पञ्चमीको रमझममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आएर नेपाल–भारत सम्बन्धलाई नयाँ आयाममा बदल्न खोज्नु नै आजको आवश्यक्ता हो । यसबाट नेपाल–भारत सम्बन्ध अझ मजबुत बन्ने विश्वास गर्न सकिन्छ ।
नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध मात्र नभई परस्परको सांस्कृतिक समानताको महत्व पनि यस भ्रमणबाट अझ प्रष्टिएको छ । नेपाल र भारतबीचको परस्परको अन्योन्याश्रित सम्बन्धको गरिमा बढाउने गरी योगीलाई जन्तीसहित पठाउने निर्णय भारत सरकारले गर्नु भनेको उसले जनकपुरलाई उच्च महत्व दिएको प्रतीत हुन्छ । योगी आदित्यनाथ विवाह पञ्चमीमा जन्ती लिएर अयोध्याबाट जनकपुरधाम आउनु र जन्तीसहित उतै फर्कनुलाई महत्वका साथ हेरिएको छ । यसले जनकपुरको गरिमालाई झन बनाएको छ भने नेपाल र भारतबीचको सम्बन्धको दायरा पनि फराकिलो पारेको छ ।
ज्ञातव्य के छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणको क्रममा जनकपुरदेखि अयोध्याधाम सम्मको लागि बस सेवा प्रारम्भ गरेका थिए । सो सेवालाई उत्तरप्रदेश र प्रदेश २ को सरकारले निरन्तरता दिइनु पर्छ । त्यस कारण उनले नेपाल र भारतबीच कनेक्टिभिटीमा जोड पनि दिए ।
दुई देशको विकासका लागि कृषि, सांस्कृतिक पर्यटन, सिस्टर सिटीको आवधारणा उनले अगाडि सार्नु पक्कै पनि जनकपुरको हितमा छ ।
जनकपुर र अयोध्याबचिको दुरी घटाउन सके भारतबाट ठूलो संख्यामा धामिर्क पर्यटक जनकपुर ल्याउन सकिन्छ । यसका लागि प्रदेश २ को सरकारले पनि आफनो तयारी सोही अनुरूप गर्नुपर्छ
आदित्यनाथको जनकपुर भ्रमण धार्मिक र राजनीतिक दुबै हो । उनको धार्मिक र राजनीतिक व्यक्तित्व दुवै भएकाले उनी जनकपुर आउनु र राजनीतिक भेटघाट गर्नु ठूलो विषय होइन । तर भ्रमणलाई राजनीतिक रंग दिएर यसलाई विवादित बनाउनु हुन्न । भ्रमणबाट के कसरी लाभ लिन सकिन्छ त्यसबारे सोचौं । किनभने योगी शक्तिशाली मुख्यमन्त्री हुन र उनको भारतका प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध रहेकाले त्यसबाट नेपालले फाइदा लिन सक्छ ।
तपाईको प्रतिक्रिया