युवा दिवस र मधेशी युवा (सम्पादकीय)

सम्पादकीय

8/13/2020

अगस्ट १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस भनाइन्छ । यस वर्ष बुधबार नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ दिवस मनाइएको छ ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कार्यन्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् ।

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको छ । यसैगरी सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ ।

नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ देखि ४० बर्षको वर्ग युवा मानिन्छ । नेपालमा ०६८ को जनगणना अनुसार १६ देखि ४० वर्षको संख्या ४०.३५ प्रतिशत (१ करोड सात लाख) रहेको छ । शिक्षा मन्त्रालयको खेलकुद तथा युवा शाखामा सीमित रहेको नेपालले भने मुस्किलले सन् २००४ देखि युवा दिवस मनाउन थालेको थियो ।

तर, अझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित हुन सकिरहेको छैन । देशले कोभिड–१९ लगायत विपत्तिको सामना गरिरहँदा आम युवाहरु उद्धार, राहतमा परिचालित हुन पर्नेमा, दुर्भाग्य राजनैतिक लडाईमा उपयोग मात्रै भई रहेको युवाको समस्या पहिचाहन र परिचालनको लागि गतिलो व्यवस्थापन अवलम्बन गर्न नसकेकै कारण युवा विदेशिनु बाध्यता नै रहेको छ ।

खासगरी नेपाली युवाहरुमा मधेशी मूलका युवाहरुले धेरै समस्याको सामना गरी रहेका छन् । राज्यले ती युवाहरुको समस्याप्रति गम्भीर बन्न सकेको छैन । राज्यको यही विभेदकारी नीतिको कारण मधेशी युवाहरु अनगिन्ती पीडाहरु खेप्न बाध्य भएका छन् । मधेशी युवाहरु समस्याको भूङ्ग्रोमा पिल्सन विवश भएका छन् । मधेशी युवाहरुमा सरकारी जागिर खाने होड र डाक्टर, ईन्जिनीयर बाहेक अरु अध्ययापन हेर्न नसकिने जस्तो प्रवृतिका कारण पनि पछि परेको देखिएको छ ।

यस युवा दिवसमा यस्तो प्रवृतिको अन्त्यको लागि पनि सरकारले कदम चाल्नु विकल्प छैन । मधेशी युवाहरुले सयौँ चुनौतिका सामना गर्न परेको कुरा ध्रुवसत्य कुरा हो । उनीहरुले अनगिन्ती समस्या भोग्न परेको कुरा पनि यथार्थ हो । अब प्रत्येक मधेशी युवा सचेत हुने बेला आएको छ । आफ्नो अधिकार पाउन आवाज उठाउने बेला आएको छ । आफूले आफ्नो राष्ट्रप्रति पूरा गर्न पर्ने दायित्वलाई सगौरव पूरा गर्न पर्ने बेला भएको छ । आफ्नो समस्या केहो र यसका समाधानका उपायहरु के के हुन् भनी तिनलाई छुट्टयाउन सक्ने खुबीको आवश्यकता छ ।

त्यतिले मात्र पुग्दैन आएका भयकंर डरलाग्दा समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बारेम चिन्तनन मनन गर्दै अगाडि बढ्ने क्षमताको पनि खाँचो छ । यो राष्ट्र मेरो हो, राष्ट्रको लागि मैले केही गर्न पर्दछ भन्ने भावनाको पनि विकास हुन पर्छ । आफूले के अधिकार पाएको छु र त्यो अधिकारको प्रयोग कसरी गर्न पर्छ भन्ने कुराको पनि हेक्का राख्न पर्दछ । सधैँ आफ्नो दायित्व पूरा गर्दै अगाडि बढेको खण्डमा आफ्नो सँग सँगै देशको समेत विकास सम्भव छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ