मधेशमा अहिले शून्यताको अवस्था छ । छ महिनासम्मको नाकाबन्दी जस्तो कठोर आन्दोलन बिना निष्कर्षमा टुङ्गिदा पनि मधेशी जनता हार मानेनन् । मधेशको नाममा राजनीति गर्ने दलहरू राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको अस्पष्ट धार र धारणाका कारण मधेशमा फेरि आन्दोलन गर्ने धम्की दिनु आफैमा हास्यास्पद छ ।
मधेशकेन्द्रित दलहरूको धार, धारणा र धरातल स्पष्ट नहुँदा मधेशमा यिनीहरूको विकल्प खोज्न सुरू भएको छ । राजपाले बेला–बेला आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ । तर, आन्दोलनका पूर्वाधारहरू तयार गर्न सकेको छैन । बार्गेनिङ्ग नमिल्दा आन्दोलन गर्ने भनेर मधेशको मुद्दाहरू चर्को श्वरमा उठाउन थाल्ने गरेको विगत साक्षी छ । राजपाले छठपछि समर्थन फिर्ता लिएर आन्दोलन गर्ने भनेर शीर्ष नेताहरूले सार्वजनिक कार्यक्रमहरूमा उद्घोष गर्दै हिंडेका छन् । राजपाले सरकारलाई समर्थन गर्नु र फिर्ता लिनुको खासै अर्थ राख्दैन । यस विषयमा पनि राजपाभित्र विवाद देखिएको छ । अध्यक्षमण्डलकै कसैले अहिले समर्थन फिर्ता लिने बेला भएको छैन भनेर भनिरहेका छन् भने कसैले फिर्ता लिएर आन्दोलनमा गइहाल्नुपर्छ भन्ने तर्कहरू गरिरहेका छन् । राजपाले सरकारलाई समर्थन गरेर बनाएको गठबन्धन नै अप्राकृतिक भएको साबित भइसकेको छ । तत्कालीन एमालेविरूद्ध संघर्ष गरेको राजापाले उसैलाई समर्थन गरेर गठबन्धन बनाउनु अप्राकृतिक नै हो । निर्वाचनका बेला राजपाका नेताहरूले एमालेलाई मधेशबाट पत्ता साफ गर्छौं, बिदाई गर्छौं लगायतका भाषण ठोकेका थिए । तर, आज उनै नेताहरू विभिन्न बार्गेनिङ्गमा लागेका थिए । बार्गेनिङ्ग नमिल्दा आन्दोलनको धम्की दिनु आफैमा दोधारे चरित्र हो ।
आन्दोलनमै गयो भने जनताले कुन आधारमा विश्वास गर्ने भन्ने कुराको राजपाले समीक्षा गर्न जरूरी छ । अर्का आन्दोलनकारी दल फोरम नेपाल सरकारमा छ । उसले जे कुराका लागि सरकारमा गएको थियो त्यो मुद्दा अहिले गौण अवस्थामा छ । उसको क्रियाकलापलाई मधेशी जनताले नियालिरहेका छन् र स्पष्ट छन् कि उसको उद्देश्य एक मात्र थियो सत्तामा प्रवेश । फोरमको राजनीतिक यात्रा स्पष्टरूपमा रहेको छ । जनताले पनि बुझेका छन् कि फोरम केका लागि राजनीति गर्दैछ । तर, राजपामाथि जनताको केही हदसम्म विश्वास र आशा थियो त्यो पनि विस्तारै हट्दै गइरहेको छ । राजपासँग दम छैन दम्भ मात्र छ, धम्कीको राजनीतिले मधेशको माग पूरा हुँदैन । द्विविधामा बसेर सुविधा मात्र लिने नेताको कारण राजपा पतनतिर लाग्न थालेको आम बुझाई छ । जनतालाई सधैं ढाटेर राजनीति गरेकाले यीनै नेताका विरूद्ध जनताले अर्को आन्दोलन गर्ने एक किसिमको वातावरण पनि तयार हुँदै गइरहेको छ ।
अब राजापाले धम्कीको राजनीति छोडेर सरकारलाई दिएको समर्थन फिर्ता लिनुभन्दा समर्थन जारी राखेर आफ्ना माग पूरा गराउने तर्फ लाग्नु नै उत्तम हुनेछ । राजपाले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न र मधेशी जनताको मन जित्न सक्ने परिपक्क निर्णय गर्नु आवश्यक छ । चर्को भाषण गरेर आन्दोलन हुने अब सम्भव छैन । मधेशका जनता बडो सम्वेदनशील छन् र त्यो सम्वेदनशीलताको ख्याल गरिएन भने राजपा जस्ता दलहरू समाप्त हुने निश्चित छ । मधेशमा उठ्ने गरेका अलगाववादी श्वरहरू मधेशकेन्द्रित दलहरूमाथि हावी हुँदै गइरहेको छ । राजपा र फोरम दुवैका लागि यो चिन्ताको विषय हो ।
एउटा मधेशकेन्द्रित दल मधेश मुद्दालाई विसर्जन ग¥यो भन्ने तर्क गरिँदै छ भने अर्को दल राजपामा द्रव्यवाद, परिवारवाद, हावी हुँदै गइरहेको छ । तसर्थ, जनभावना र मतादेशको कदर गर्दै उपयुक्त निर्णयमा पुग्नु नै राजपाको राजनीतिक परिक्कता हुनेछ । रणभुल्लमा पर्नु हुँदैन ।
तपाईको प्रतिक्रिया