प्रहरी हिरासतमै मृत्यु भएका बाँकेका राम मनोहर यादवको चर्चा अहिले सर्वत्र छ । उनको विषयमा अहिले मधेशमा आक्रोश बढेको छ । मृत्यु भएको करिब दुई हप्ता बित्न लाग्दा पनि यादवको शव पोस्टमार्टम गरिएको छैन ।
पीडित पक्षको तर्फबाट सिरहा गोलबजारका मेकानिकल इञ्जिनियर रामेश्वरप्रसाद सिंह लगायतले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता तथा शव परीक्षण गर्नका लागि पहल गरिदिन भन्दै निवेदन दिएका हुन् । तर अहिलेसम्म आयोगले नै केही गर्न सकेको छ न त प्रहरीले सम्मानित आयोगको निर्देश पालन गरेको छ । हालसम्म पनि मृतकको शव परीक्षण नगरिएकाले अन्तिम संस्कार समेत हुन सकेको छैन ।
पक्राउ परेका बेला गरिएको स्वास्थ्य परीक्षण रिपोर्टमा उनको स्वास्थ्य अवस्था ठीक रहेको देखिन्छ । तर एक्कासी उनको मृत्यु भएपछि परिवार र आफन्तजन गहिरो शोकमा छन् । प्रहरीको चरम यातनाले मृत्यु भएको हुनसक्ने उनीहरूको अनुमान छ । पीडित परिवार महानगरीय प्रहरी परिसर काठमाडौं, प्रहरी हेडक्वार्टर नक्साल तथा जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी दिए पनि अहिलेसम्म त्यसको सुनुवाइ भएको छैन ।
यादवको शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । तर प्रहरीले पोष्टमार्टमका लागि ढिलाइ गर्नु भनेको उसले यादवलाई चरम यातना दिएको हुनुपर्छ । कारण शव जति पुरानो हुँदै जान्छ त्यति नै यातना दिइएको भन्ने प्रमाण नष्ट हुनसक्ने भएकाले शव पोस्टमार्टममा ढिलाइ गरिएको अनुमान गर्न सकिन्छ ।
बाँकेको जानकी गाउँपालिका– ६ गनापुर कपासी घर भएका ३० वर्षीय यादवको प्रहरी हिरासतमा रहेका बेला १५ भाद्रमा मृत्यु भएको थियो । प्रहरी हिरासतमा रहँदा स्वास्थ्यमा गडबडी देखिएपछि काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको दाबी बर्दिया प्रहरीको छ । तर प्रहरीले उनको उच्च रक्तचापका कारण मृत्युको हुन सक्ने दाबी गरेको छ । यदि प्रहरीको दाबी सही हो भने शवको पोष्टमार्टम किन गर्न लगाएको छैन र शवलाई परिवारलाई किन हस्तान्तण गर्न सकेको छैन । यावत प्रश्नहरू उठ्नु स्वाभाविक हो र यसले प्रहरीको क्षमतामाथि आशंका पैदा गरेको छ । शव बुझाउन प्रहरीले ढिलाइ गर्नुको अर्थ यादवलाई हिरासतमा चरम यातना दिएको भन्ने आधारलाई पुष्टि गर्छ ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं संघीय समाजवादी फोरमका अभ्यक्ष उपेन्द्र यादवको कार्यक्रममा सहभागिता जनाउनु नै यादवको भूल थियो । स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता रहेका उनले कार्यक्रममा सहभागी हुँदैमा आफ्ना केही साथीहरू सहित प्रक्राउ परेका थिए । प्रहरी हिरासतमै उनको मृत्यु भयो भने अन्य साथीहरू साधारण तारेखमा रिहा भएका छन् ।मन्त्रीलाई कालो झण्डा देखाउने आशंकामा यादव मारिनु र शव परीक्षण समेत नगरिनु आफैमा आपत्तिजनक छ ।
यादवको उपचारका लागि अधिकतम प्रयत्न नगर्नु, मृत्युको विषयमा प्रहरीले मानवीय संवेदना नदेखाउनु, यातना दिइनु र मानवोचित व्यवहार नगरिनु जस्ता विषय व्यक्तिको मानवअधिकारको हनन् हो । यो मानवअधिकारको मात्रै हनन् नभएर विभेदको राजनीति पनिसँग जोडिएको विषय बन्न पुगेको छ । केही नश्लीय मानसिकताका कारण अहिले पनि मधेशी समुदायसँग विभेद भइरहेको यो एउटा ज्वलन्त घटना पनि हो । होइन भने किन मानवअधिकारका नाममा खुलेका संगठनहरूले प्रहरीलाई दबाब दिन सकेका छैनन् । यस विषयमा मधेशी नागरिक समाजबाट पनि बलियो विरोध नहुनु आफैमा एउटा कमजोर दृष्टान्त हो । मधेशी राजनीतिक दलहरू यस घटनाका बारेमा स्वयं प्रश्न भित्र घेरिएका छन् ।
केही मधेशी नेताहरूले संसदमा कुरा उठाए पनि पीडित परिवारका लागि केही पहल गर्न सकेका छैनन् । साथै, उनीहरू निरपेक्ष उदासीनता समेत देखाइरहेका छन् । यादवको मृत्यु प्रकरणमा मधेशीहरू मौनता आश्चर्यजनक छ ।
प्रकाशित मिति : २०७५ साल भदौ २९ गते शुक्रबार ।
तपाईको प्रतिक्रिया