पर्यटन उद्योगको ठूलो सम्भावना बोकेको यस प्रदेशमा हिन्दूहरूको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिर, बाराको गढीमाइ, सप्तरीको छिन्नमस्ता र कंकालिनी प्रसिद्ध धार्मिक केन्द्रहरू हुन् । यस्ता धार्मिक तीर्थस्थलले समेत यस प्रदेशको पर्यटन उद्योगको विकासमा महत्वपूर्ण स्थान ओगटेका छन् । यस प्रदेशका धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूमा पर्यटन आगमनलाई वृद्धि गरी तारे होटलका साथै होमस्टेहरू खोल्ने वातावरण बनाउनु अहिलेको आवश्यकता छ । यस्तै कृषि क्षेत्रमा पनि प्रदेशको ठूूलो योगदान रहेको छ । विशेषगरी धान, गहँु, जुट, सुपारी, केरा प्रशस्त मात्रामा उत्पादन हुन्छ भने आँप पनि यसै प्रदेशमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । यस प्रदेशलाई आँपको राजधानी उपनामले पनि चिनिन्छ । यहाँ उत्पादन भएका ताजा तरकारी तथा माछा स्वदेशी बजारका साथै भारत तथा बङ्गलादेशमा समेत निर्यात गरी कृषकहरूले आम्दानी गरिरहेका छन् ।
यस कारण २ नम्बर प्रदेशमा कमी स्रोतको होइन, अभाव स्रोतलाई आर्थिक सामथ्र्यमा रूपान्तरण गर्ने दूरदृष्टि र रणनीतिको मात्र हो । स्रोतको उपयोगमा प्रदेशहरूबीच आपसी साझेदारी संघीयताको आर्थिक आयाममा प्रभावकारी उपाय बन्न नसक्ने कारण छैन । ठूलो जनसंख्या समेटेर बसेको २ नम्बर प्रदेशले मानव संसाधनमा जोड दिएर ती प्रदेशलाई जनशक्ति आपूर्ति गर्न सक्छ । जलविद्युतको प्रचुर सम्भावना बोकेका प्रदेशले २ नम्बरलाई ऊर्जा उपलब्ध गराउन सक्छन् । उद्योग र व्यापारका लागि सहज २ नम्बरले आकर्षण दिएर अन्य प्रदेशका लगानीकर्तालाई प्रोत्साहन गर्न असम्भव छैन । कर्णालीमा खाद्यान्नको अभाव छ । खेतीयोग्य जमीनको अभावमा कर्णालीले भोगेको भोकको पीडालाई २ नम्बरले समाधान गर्न सक्छ । संघीयता सापेक्ष आर्थिक विकास र समृद्धिको साधन हो भने यसलाई सन्तुलित ढङ्गबाट अघि बढाउनुको अर्को सुविधा उपलब्ध छैन । संघीयता कार्यान्वयनको चरणमै देखिएका सीमित बेथिति यसको औचित्यमा प्रश्न बनेर प्रकट भएका छन् । संघीयता नेपालका निम्ति नौलो राजनीतिक प्रयोग भएकाले पनि यस्ता चुनौती अस्वाभाविक पनि होइनन, तर फरक मतलाई आरोपित गरेर मात्र नेतृत्वको दायित्व पूर्ण हुँदैन । आलोचनामै आत्मरित खोजेर मूल कार्यभारलाई छुटाउँदै जाने हो भने संघीयताको हिसाबकिताब महँगो सावित हुनेमा द्विविधा मानिराख्नु पर्दैन । सम्भावनाहरूको रणनीतिक उपयोगमा सार्थक प्रयासको बलमा अबको ५ वर्षमा कम्तीमा विकास र समृद्धिको पर्याप्त आधार निर्माणमा हुन सक्यो भने त्यसलाई उपलब्धि मान्न सकिन्छ ।
प्रकाशित मिति : २०७५ साल असोज १२ गते शुक्रबार ।
तपाईको प्रतिक्रिया