जसपा विभाजनको असर

सम्पादकीय

मधेशमा वैकल्पिक शक्ति बनाउने सपना बोकेका नेताहरुले आफ्नो सपनालाई आफैले तुहाएका छन् । गठन भएको १६ महिनामै जनता समाजवादी पार्टी विभाजित भएको छ । यो विभाजन अरु कसैबाट नभई पार्टीकै नेताहरुको अहमको परिणाम हो ।

जसपालाई मधेशको वैकल्पिक शक्ति बनाउने सपना जनताको थिएन, पार्टीकै नेताहरुको थियो । जब पार्टी नै विभावन भएको छ, त्यो सपना पूरा हुने फगत गफ मात्र हुनेछ अब ।

जसपाको अध्यक्षबाट हटाइएका महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ता गरेका छन् । २०७७ बैशाख १० गते मध्यरातमा हतारहतारमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण गरी जनता समाजवादी पार्टी गठन गरिएको थियो । गठन भएको एक वर्ष नबित्दै पार्टीभित्र गम्भीर विवाद सिर्जना भयो र अन्नतः दुई चिरामा विभक्त भयो ।

सरकारले पार्टी विभाजन र गठनका लागि सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी ऐन अध्यादेश संशोधन गरेपछि ठाकुर पक्षले नयाँ पार्टी गठन गरेका हुन ।

दल विभाजनसम्बन्धी अध्यादेशमको बाछिटा मधेश राजनीतिमा पनि देखिएको छ । अब सहजै अनुमान लगाउन सकिन्छ कि मधेशी दललाई यो अध्यादेशबाट सबैभन्दा बढी असर पर्छ । यो अध्यादेशले तत्कालका लागि एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र महन्थ ठाकुरलाई फाइदा दिएपनि कालान्तरणमा अन्य पार्टीलाई पनि असर गर्ने निश्चित छ । यसको अर्थ देश फेरि अस्थिरताको भुमरीमा फस्ने सम्भावना छ । स्थिरता खोजिरहेका देशमा फेरि अस्थिरता शृङ्गखला सुरु हुन्छ ।

अध्यादेशको आडमा अहिले जसरी जसपा फुटेको छ यसको बढ्ता असर उही पार्टीमा देखिने छ । माउ पार्टी फुटाएर नयाँ दल दर्ता गराए सांसद पद गुमाउनुपर्ने जोखिम अध्यादेशले पार लगाइदिएपछि दल विभाजनको होडबाजी चल्ने निश्चित छ । राजनीतिक विभाजनसँगै अस्थितरताको यात्रा सुरु हुने पनि पक्का छ ।  

जसरी मधेशी शक्तिको संगठित स्वरूप जसपाको निर्माणले मधेशको मन खुसीले भरिएको थियो त्यसरी नै विभाजनले मन मलिन भएको छ । मधेशको शक्ति कमजोर हुँदा केवल मधेशी दल वा नेतालाई मात्र होइन, मधेश मुद्दालाई समेत कमजोर बनाउँछ । तसर्थ, विभाजनले मधेशमा मधेशी शक्तिको आफ्नो तागत आफ्नै कारणले कमजोर बन्न पुगेको छ ।

मिलेर मुद्दा सम्बोधन गराउनुपर्ने जनादेशविपरीत जसपा स्वार्थका लागि फुटेको हो । मिलेर राज्य सत्तासँग मधेशको मुद्दा सम्बोधन गराउनु पर्ने ठाउँमा आपसी अमेलका कारण मधेशको सवाललाई झन ओझेलमा पारिएको हो । सत्ता स्वार्थका लागि जसपा फुट्दा मधेशको मन रोएको छ । मधेश आन्दोलनमा बलेको आगोको रापले नेताहरुको स्वार्थका कारण आफै जलेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ