लोसपाको भविष्य (सम्पादकीय)

सम्पादकीय

निर्वाचन आयोगमा अहिले ९७ वटा राजनीतिक दल सूचीकृत छन् । पछिल्लो पटक नेकपा एमाले विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजित भई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सूचीकृत भएका हुन् ।

दुवै दलले पार्टीको नाममा ‘समाजवाद’ शब्द समावेश गरेका छन् । यसरी दलको नाममै ‘समाजवाद’ वा ‘समाजवादी’ विशेषण राखेर निर्वाचन आयोगमा दर्ता भएका दलहरूको सङ्ख्या एक दर्जन पुगिसकेको छ ।

दुवै पार्टीमा केन्द्रदेखि स्थानीय तहसम्मै विभाजनको रेखा देखिएको छ । अलग्गिएका दुवै नयाँ पार्टी अहिले आफ्नो सङ्गठन बलियो बनाउनेमा केन्द्रित छन् । निर्वाचन आयोगले भदौ २२ सम्ममा प्रदेश सभाका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएकाले अहिले प्रदेश र स्थानीय तहमा दल रोज्ने क्रम चलिरहेको छ ।

जसपाका विभाजनले मधेशको राजनीतिमा निकै ठूलो प्रभाव पारेको छ । प्रदेश २ मा जसपाका १० सदस्यले लोसपा रोजेका छन् । प्रदेश सभा सँगसँगै स्थानीय तहका जनप्रतिनिधिलाई पनि दल रोज्ने अधिकार दिइएकाले भदौ २२ सम्ममा विभाजनको रेखा वडा तहसम्म खिचिनेछ ।

विभाजित जसपाभित्र लामो समयदेखि आन्तरिक मतभेद रहेको भए पनि गत पुसमा पहिलो पटक भएको प्रतिनिधि सभा विघटनले दल विभाजनको विजारोपण गरेको हो । त्यसपछि विकसित घटना क्रममो एमाले अध्यक्ष केपी ओलीले दुई पटकसम्म गरेको संसद विघटनको पक्ष र विपक्षमा पार्टी उभिएपछि जसप एमाले विभाजन भएको हो । राजनीतिक घटनाक्रम र तत्कालीन जसपाभित्र चर्किएको रडाकोले अन्नतः दल विभाजन आवश्यक महसुस भएको हो ।

जसपा विभाजित भएपछि प्रदेश २ मा महन्थ ठाकुर पक्षलाई बढी क्षति भएको छ । प्रदेश २ मा जसपाको संस्थापन पक्ष अर्थात् उपेन्द्र यादव नै प्रदेशसभा र स्थानीय तहमा बलियो देखिएका हुन् भने लोसपा पार्टी गठन गरेका महन्थ ठाकुर समूहलाई बढी क्षति भएको हो ।

समाजवादी पार्टीसँग एकता गर्नुपूर्व राजपाले प्रदेश तहमा संगठन नै निर्माण नगरेका कारण अहिले महन्थ ठाकुर पक्ष कुन अवस्थामा छ र कति क्षति भयो भन्ने आँकलन गर्न कठिनाई भए पनि संघीय सांसद र केन्द्रीय कार्यकारिणी समिति सदस्यका हिसाबले ठाकुर पक्षलाई क्षति नै भएको देखिन्छ । तत्कालीन राजपा नेपालका ६ जना अध्यक्षमण्डल सदस्यमध्ये दुईजना जसपाको मूल धारमा सामेल भएका छन् ।

प्रधानमन्त्रीबाट केपी ओली सरकारको पतनसँगै दुई कित्तामा विभाजित मधेशी दलका नेता–कार्यकर्ताबीच एकअर्कालाई हुर्मत लिने काम भयो जसले फुटको असरलाई मलजल ग¥यो । सैद्धान्तिक भन्दा आरोप, प्रत्यारोप र विषवमनको शृंखलाले जसपा विभाजन भएकोमा कुनै सन्देह छैन ।

विगतको टुटफुटको लामो र नैराश्यपूर्ण यात्राबाट गुज्रिँदै पछिल्ला दिनहरूमा एकीकृत हुँदै गएका मधेशी दलहरूप्रति मधेशी जनतामा अलिकता भए पनि भरोसा पलाएकै थियो  पछिल्लो विभाजनसँगै त्यो भरोसामा तुषारापात छाएको छ । 

मधेशको नयाँ पार्टी लोसपाको अगाडि अहिले चुनौतीको चाङ्ग छ । उसलाई देशै भर नभएपनि कम्तीमा मधेशमा नयाँ संगठन निर्माण गर्नुका साथै आगामी चुनावमा पनि केन्द्रित हुनु परेको छ ।

साथै नेता तथा कार्यकर्ता पनि जोगाउनु उसको लागि थप चुनौती छ । कमजोर धरातलमा बनको लोसपाको भविष्य नेताहरुको कर्मठता र व्यवहारमा निर्भर छ । विगत जस्तै करनी र कथनीमा फरक व्यवहार नेताहरुबाट पुनः प्रदर्शित भयो भने लोसपाले जनताको आकर्षणको केन्द्र बन्न सक्दैन । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ