महन्थ ठाकुरको तात्कालीन राजपा र उपेन्द्र यादवको तात्कालीन समाजवादी पार्टीलाई एकता गरी जनता समाजवादी पार्टी बनाउँदै मधेशभर अत्यन्त जोश र उत्साहका साथ स्वागत भएको थियो । त्यसपछि मधेशी जनतामा पनि अत्यन्तै खुशीको माहोल पनि छाएको थियो ।
मधेशी पार्टीहरु छिन्नभिन्न रहनुभन्दा एउटा छातामुनि आएर मधेशको एजेन्डा र मुद्दाका लागि लडोस्, संघर्ष गरोस् भन्ने आम मधेशीको चाहना थियो । त्यसका लागि मधेशी जनताले मधेशी दलका नेताहरुलाई दबाब पनि दिदैं आएका थिए ।
झण्डै एक वर्षसम्म एकीकरणको नाममा रहेको जोश र उत्साहको अन्त्य दुःखद विभाजनबाट भएको छ । विभाजनको घटनाले मधेशी दलमा हुँदै आएको विघटनको परिघटनालाई पुनः निरन्तरता दिएको छ । र यसले मधेशमा के सन्देश प्रवाह गरेको छ भने मधेशी दलहरु जुटन होइन फुटन मात्र जानेको छ । मधेशीदलको विघटजन ठाकुर र यादवको राजनीतिसँग मात्र होइन, प्रत्यक्ष वा परोक्ष रूपमा मधेशको राजनीति र समग्र देशकै राजनीतिसँग पनि गाँसिएको छ ।
ठोस राजनीतिक सिद्धान्त, बलियो सङ्गठन, आर्थिक सुशासन एवं पारदर्शिता, पृष्ठभूमिसहितको नेतृत्व, लोकतान्त्रिक परिपाटी र जनमुखी वैकल्पिक नीति एवं कार्यक्रमबिना कुनै पनि राजनीतिक दल लामो समयसम्म अस्तित्वमा रहन सक्दैन । नेपालको राजनीतिक इतिहासमा मधेशी दलहरूको असफलता यसका उदाहरण हुन् ।
पछिल्लो विभाजनबाट मधेशी दलहरूले मधेशका जनथाबाट विश्वास गुमाएका छन् । यसरी विश्वास गुम्दै जाँदा अब उनीहरूको आशा र विश्वास पुराना दलहरु कांग्रेस र कम्युनिष्ट तिरै जाने देखिन्छ । यसो हुनु भनेको निश्चित रुपमा मधेशी नेताको अदूरदर्शी, अवसरवादी र असफलताको प्रतीक हो ।
नेपालमा मधेशीको दलको स्थापनाको इतिहास पुरानो भएपनि २०५२ सालदेखि उनीहरुको सक्रियता बढेको पाइन्छ । त्यसपछि मधेशी दलहरूको सत्ता यात्रा पनि हुँदै आएको छ । ती दलहरू जति पटक सत्तामा गए त्यति त्यति आलोचित पनि हुँदै गए ।
किनभने सत्तामा रहेकै कारण आजसम्म उनीहरु एउटा पनि मधेशको समस्या समाधान गरेको उदाहरण छैन । तसर्थ मधेशी दलहरूमा देखिएको विभाजनको कारण केवल सत्ता प्राप्तिकै द्वन्द्वको परिणाम हो । पछिल्लो विभाजनको कारण पनि यहि नै हो । मधेशी नेताहरू सत्ताका लागि पार्टी र सिद्धान्तलाई तिलाञ्जलि दिने पनि गरेका छन् ।
जसपाको आधिकारिकता उपेन्द्र यादवले प्राप्त गरेपछि महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका छन् । लोसपाभित्र पुनः देउवा सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा पनि विवाद छ भने जसपामा कसको नेतृत्वमा सरकारमा जाने चर्को बहस सुरु भएको छ ।
वस्तुतः मधेशी दल सरकारमा जाने विषयमा सैद्धान्तिक विरोध उनीहरूमा छैन । सत्तामा जानकै लागि र सरकारमा गएपछि आफनो अस्तित्व रहने भएकाले जतिपटक विभाजित भए पनि सरकारमा जाने मौका गुमाउने पक्षमा मधेशी नेताहरु रहँदैनन् । यही कारणले नै मधेशी दलहरूबाट जनताको विश्वास उठ्दै गएको छ ।
तपाईको प्रतिक्रिया