श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले सामाजिक सद्भाव र राष्ट्रिय एकताविरूद्ध अभिव्यक्ति दिएका छन् । उनले मधेशीहरूलाई देश टुक्र्याउने संज्ञा दिएका छन् । मधेशीलाई राष्ट्रघाती वा देश टुक्र्याउने देख्ने मन्त्री श्रेष्ठले पुष्टि गर्नुपर्दछ या त राजीनामा दिनुपर्छ भन्ने आलोचना हुन लागेका छन् ।
उनको आपत्तिजनक अभिव्यक्तिले मधेशी समुदायमा ठूलो आघात पुगेको हो । उनले गृहजिल्ला तनहुँमा अस्ति सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने त्रममा मधेशी समुदायप्रति लक्ष्य गर्दै भनेका थिए, ‘दुईतिहाइको सरकार छाडेर देशै टुक्र्याऊ भन्ने मधेशीहरूलाई १२/१४ जना मन्त्री बनायो ।’ नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका मन्त्री श्रेष्ठको अभिव्यक्तिको सर्वत्र आलोचना भइरहँदा पनि सरकार वा उनका पार्टीले कुनै प्रतिक्रिया दिएको छैन ।
मधेशीलाई विदेशी र राष्ट्रघाती देख्नेहरूको नश्लीय अभिव्यक्तिकै कारण मुलुकको राष्ट्रिय एकता खतरामा पर्ने गरेको छ । सच्चा राष्ट्र भक्ती बोकेका मधेशीलाई अपमानजनक अभिव्यक्ति कहिलेसम्म सुन्नुपर्ने हो ? मन्त्री श्रेष्ठको अभिव्यक्ति नश्लीय र आपत्तिजनक भएको भन्दै आलोचना सुरू भएको छ ।
विगतमा पदीय मर्यादाविपरीत हुने अभिव्यक्ति दिएको भन्दै कतिपयले मन्त्री पद नै गुमाएका छन् । बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने छात्राबारे दिएको अभिव्यक्तिका कारण २०७६ मा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिनुपरेको थियो ।
२०६८ मा तत्कालीन रक्षामन्त्री शरतसिंह भण्डारीले ‘तराईका २२ जिल्लाका जनताले छुट्टिने निर्णय गरे संविधान, कानुनले रोक्न सक्दैन’ भन्ने अभिव्यक्ति दिएपछि तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पदमुक्त गरेका थिए ।
तसर्थ, पदीय मर्यादा नबुझ्ने र राष्ट्रिय एकताविरूद्ध अभिव्यक्ति दिने मन्त्री वा जोसुकैलाई संविधानअनुसार कारबाही होस् । सरकारले अविलम्ब यस्ता अभिव्यक्तिमाथि नियन्त्रण गर्न मन्त्री श्रेष्ठलाई बर्खास्त गरियोस् ।
जसपाको मौनता लज्जास्पद
गठबन्धन सरकारको प्रमुख घटक तथा मधेशको मसिहा भनेर चिनाउने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल मन्त्री किसान श्रेष्ठको अभिव्यक्तिप्रति मौन समर्थन रहेको बुझिन्छ । मधेशको मसिहा भनेर भनाउने पार्टीवालाले मधेशीप्रति अपमानजनक शब्दवाण प्रहार हुँदा मौनता धारणा गर्नु लज्जाजनक हो ।
तपाईको प्रतिक्रिया