कांग्रेसको साम्प्रदायिक राजनीति कहिलेसम्म ?

सम्पादकीय

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरू हुँदैछ । यो महाधिवेशनले कांग्रेसको विचारमाथि बहसभन्दा नयाँ नेतृत्वले स्थान र महत्व धेरै पाएको छ ।

कांग्रेसमा वैचारिक स्तरमा ह्रास आइरहेका बेला शीर्ष नेतृत्वदेखि तल्लास्तरका कार्यकर्तासम्म नेतृत्वको विषयमा मात्र चनाखो रहनु र रूचीप्रकट गर्नु पक्कै पनि देशकै सबैभन्दा ठूलो राजनीतिक दलका लागि शोभनीय विषय होइन ।

विचारमाथि मन्थन नगरी कुर्सी र सत्ताका लागि मात्र महाधिवेशन गर्नुको अर्थ रहँदैन । नीतिमा छलफल नहुनु कांग्रेसको ‘विशेषता’ नै हो । महाधिवेशनलाई नेतृत्व चयनको माध्यम मान्ने परिपाटी कांग्रेसमा पुरानै रोग हो ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसभित्र गुट अदलबदल र नयाँ गुट निर्माण शुरू भएको छ । कुनै विचार वा सिद्धान्त बोक्न होइन, पार्टीभित्र आफ्नो ‘पोजिसन’ बनाउन र स्वार्थ रक्षा गर्न गुटहरू सक्रिय भएर बसेको छ ।

कांग्रेसको जन्म मधेशमा भएको हो कांग्रेसको इतिहासमा मधेशको महत्व अमूल्य छ । मधेश कांग्रेसको जन्मस्थल मात्र नभएर त्यहिँ हुर्केको पनि हो । कांग्रेसले आफ्नो क्रान्तिको प्रारम्भ मधेशबाटै गरेको हो  । कांग्रेसको पहिलो सहिद मधेशी नै भए र कांग्रेसले अहिले पनि मधेशीलाई नै सहिद बनाउदैँछ ।

नेपाली कांग्रेसले प्रतिस्पर्धा गरेको प्रत्येक चुनावमा बहुमत मत मधेशबाटै पाएको हो । मधेश कांग्रेसको लागि भोटको भण्डार थियो र हो पनि । मधेशको बहुमतबिना कांग्रेसले सरकारको कल्पना समेत गर्न सकिदैन । तर दुर्भाग्य कांग्रेसले जति पटक सरकार बनायो मधेशसँग त्यति नै बेइमानी, धोकाधडी गरिरह्यो ।

कांग्रेसको लागि मधेश दुहुना गाई जस्तै भएको छ । पछिल्लो समयमा संविधान बनाउने क्रमदेखि कांग्रेसले मधेशससँग सुरू गरेको साम्प्रदायिक राजनीति आज पर्यन्त जारी छ । मधेशले कांग्रेसलाई सत्तासम्म पु¥यायो तर बदलामा मधेशलाई कांग्रेसले के दियो ? 

पहिलो र दोश्रो मधेश आन्दोलनलाई कांग्रेस नेतृत्वको सरकारले सम्बोधन गर्न नसक्दा मधेशले धेरै क्षति व्यहोर्नु प¥यो ।

तत्कालिन प्रधानमन्त्री तथा कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले मधेशसँग गरेको सम्झौता कांग्रेसका वर्तमान नेतृत्वलाई स्मरण छ कि छैन? यदि छ भने त्यसको कार्यान्वयन किन भएन ? कार्यान्वयन नहुनु भनेको मधेशसँग धोकाको राजनीति हो कि होइन? मधेशलाई जानाजान साम्प्रदायिकता तिर धकेल्नु हो कि होइन ? 

प्रश्न उठ्नु स्वाभाविक हो, आखिर कांग्रेसले मधेशसँग अन्याय किन गर्दैछ ? अहिलेको कांग्रेसले मधेशको सम्बन्धमा आफ्ना इतिहास बिर्सेको छ । मधेशलाई हेर्ने नजरमा अहिलेको नेतृत्वले आफ्ना संस्थापक नेतृत्वहरूको विचारलाई विघटन गरिसकेको छ र आफ्ना मूल सिद्धान्तलाई सिध्याइसकेको छ । 

कांग्रेसको अदुर्दर्शी, अलोकतान्त्रिक, अत्याचारी र सामम्प्रदायिक सोच भएका नेतृत्ववर्गले मधेशीलाई नै न घर न घाटको बनाइ दिएका छन् ।  कांग्रेसले अझै मधेशप्रतिको जिम्मेवारी बोध नगरे सम्पूर्ण मधेश कांग्रेसको विपक्षमा जान सक्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ