नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका उम्मेदवार उपसभापति विमलेन्द्र निधि अन्नतः पराजय भोगेका छन् । निधिको पराजय स्वयं उनका लागि अनपेक्षित होइन । सभापति पदका लागि उम्मेदवारी दिनुअघिसम्म निर्वाचन जित्न सकिदैन भन्ने यर्थाथ उनलाई थाहा थियो ।
निधिले पहिलो चरणको निर्वाचनमा जम्मा २५० मत पाए भने दोस्रो चरणमा भने सभापतिका उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवालाई समर्थन गरे । आखिर नजित्ने निर्वाचन निधि किन लडे र आफू हारिन्छ भन्ने थाहा हुँदाहुदै किन पछाडि हटेनन् भन्ने जिज्ञासा अहिले कांग्रेस कार्यकर्तामाझ जिवितै छ ।
नजित्ने निर्वाचनमा उम्मेदवार भएर निधिले के सन्देश दिने खोजे भन्ने विषयमा पनि फरक फरक ढंगले व्याख्या र विश्लेषण पनि भइरहेको छ ।
निधि हारको मुख्य कारण उनी आफै प्रतिनिधि रहेको गृह प्रदेशलाई नै विश्वास नगरेको देखिन्छ । अर्थात् निधिले प्रदेश २ बाट प्रतिनिधित्व गरे पनि उनले त्यहाँ आफनो अनुकुल वातावरण बनाउन सकेनन । उनले प्रदेश २का प्रतिनिधिलाई नै विश्वास नगरेको देखिन्छ ।
निधिले प्रदेश २ बाट कांग्रेसलाई प्रतिनिधित्व गर्ने पुराना नेताहरूलाई महत्व दिएनन् । उनले निर्वाचनको तयारी समेत पर्याप्त गरेको देखिएन । आफ्नो प्यानलबाट पदाधिकारी समेत खडा गर्न सकेनन् । सीमित घेरामा रमाउनु उनको कमजोरी रह्यो ।
यसअघि साथ दिंदै आएका धनुणाका नेताहरू महेन्द्र यादव, आनन्दप्रसाद ढुंगाना लगायतले साथ छोडेपछि प्रदेश २ मा बलियो जनाधार भएका नेताहरू निधिको साथमा रहेनन् । यतिसम्म कि निधिलाई साथ दिने नेताहरू विरूद्ध स्वयं लागेका थिए । महेन्द्र यादव शुरूदेखि नै शेरबहादुर देउवाको प्यानलमा थिए ।
निधिले देउवाविरूद्ध उम्मेदवारी दिएपछि यादवले पनि उनको साथ छाडे । निधिले देउवाका साथ छोडेपछि कृष्णप्रसाद सिटौलाले देउवालाई साथ दिए । फलस्वरूप सिटौला पक्षबाट महामन्त्री, सहमहामन्त्री र केही केन्द्रीय सदस्यमा उम्मेदवारी दिइयो र निधि कमजोर उम्मेदवार सावित हुँदै गए ।
कतिपयले कांग्रेसको महाधिवेशनबाट निधि कांग्रेसभित्र मधेश कित्ताको ठूलो नेता रहेको भ्रम टुटेको बताउँछन् । निधि र कांग्रेसीहरूलाई उनी कांग्रेसभित्र मधेशतर्फको खम्बा रहेको जुन भ्रम थियो, त्यो भत्किएको छ ।
मधेशमा अधिकारका लागि भएको आन्दोलनले समेत कांग्रेस महाधिवेशनमा प्रभाव पारेको छ । मधेश र मधेश आन्दोलनमा निधिमा कुनै प्रकारको लिगेसी थिएन । सप्तरीको मलेठमा मधेशीको हत्या हुँदा निधि नै गृहमन्त्री थिए तर उनले उक्त घटनालाई सामान्य रूपमा लिएका थिए ।
उक्त घटनाको प्रभाव पनि उनको उम्मेदवारीमा परेको छ । २०७३ फागुन २३ गते मलेठमा भएको घटनामा पाँच जनाको मृत्यु भएको थियो र त्यसबेला गृहमन्त्री रहेका निधिले ठूलो क्षति रोक्नका लागि गरिएको बाध्यात्मक कारबाही रहेको बताएका थिए । उनको यस्तो भनाइले पनि मधेशी जनतामा आक्रोश ल्याएको थियो ।
यसअघि भएको संसदीय निर्वाचनमा धनुषा ३ बाट उम्मेद्वार रहेका निधि तत्कालीन राजपाका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । उनको त्यो पराजय पनि अनपेक्षित थिएन ।
महाधिवेशन निधि पराजयको अर्को कारण भनेको मधेशी दल जस्तै उनी पनि मधेश र मधेशी जनताको ‘ठेक्का’ लिएजस्तो गर्ने व्यवहार हो । निधिले मधेशलाई आफ्नो त ठाने तर तिनका लागि केही गरेनन् ।
निर्वाचन जित्ने आफ्नो मुख्य धरातल मधेशलाई नै बुझनु उनको ठूलो भ्रम थियो । यद्यपी निधि मधेश विरोधी होइनन् तर उनको मधेशलाई हेर्ने दृष्टिकोणमै खोट छ । मधेशमा रहेको आर्थिक, राजनीतिक र सामाजिक विभेदविद्ध निधिले बोलेको कहिले कसैले पनि सुनिएको छैन ।
तपाईको प्रतिक्रिया