नेपाली कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनको निर्वाचन परिणाम लगभग सकिएको छ । निर्वाचन परिणामअनुसार मधेशीको तुलनामा पहाडी नेताहरू उल्लेख्य रूपमा निर्वाचित भएका छन् ।
पार्टीको १३ पदाधिकारीमा मधेशी कोटाबाहेक एक जना पनि मधेशी नेता वा उम्मेदवार विजयी भएका छैनन् । मधेशी समुदायका विमलेन्द्र निधि सभापतिमा उम्मेदवार भए तर पराजित भए ।
भनिन्छ, नेपाली कांग्रेसको लागि मधेश उर्वरभूमि हो तर यस पटकको महाधिवेशनमा पार्टीले कोटाबाहेकको कुनै पनि सिटमा मधेशी अनुहार ल्याउन सकेन । मधेशले कांग्रेसको ढुकुटी भर्न सबैभन्दा धेरै योगदान गर्छ तर कांग्रेसले मौका र अवसरको बेला बिर्सने गर्दै आएको छ ।
२००६ देखि नै कांग्रेस रणनीतिक रूपमा मधेशमा असफल भएको पाइन्छ । चाहे त्यो बीपी कोइरालाले महेन्द्रनारायण निधिसँग गरेको सम्झौतामा होस् वा पाँच दशकपछि उनको छोरा विमलेन्द्र निधिको नाममा होस् । सभापति शेरबहादुर देउवा सँग–सँगै पाँच दशक राजनीतिक यात्रामा हिंडेका निधिलाई कसैले नपत्याउनु उनको मात्र होइन, मधेशको पनि पराजय हो ।
बूढानीलकण्ठले विमलेन्द्र निधिमाथि विश्वास नगरेको यसपटक देखियो । के त्यसो भए देउवा र निधिको यात्रा केवल १३औं अधिवेशनको स्वार्थकेन्द्रित मात्र थियो त ? २०४६ सालको राजनीतिक परिवर्तन पश्चात् मधेशमा जहिले पनि नेतात्रयको कुरा हुन्थ्यो तर काठमाडौंले नेता त दुई मात्र देखिरह्यो ।
तर जब–जब निर्वाचन नजिक आउँथ्यो, फेरि मधेशसँग मौसमी प्रेम देखिन थाल्थ्यो । अब यहाँनेर कांग्रेसले पुनर्विचार गर्न आवश्यक छ । किनकि अब त मधेशका जनतासँग अब पहिले भन्दा धेरै राजनीतिक विकल्पहरू छन् । कांग्रेसले पनि त्यो बुझ्नु पर्छ ।
कांग्रेसले मधेशलाई केवल भोटको भकारी सम्झिने भूल अब नगरोस् । मधेश त सहभागी हुने र सहयात्री हुने जमात हो । नेपाली कांग्रेसले मधेशमा जातीय समीकरण अनुसार सन्तुलन गर्न सकेको छैन । जसरी दरबारले सधैं आफ्नै नजिकका पात्रलाई मात्र विश्वास गथ्र्यो, त्यसरी नै कांग्रेसले पनि सधैं मधेशमा आफ्नै दूत राखे विमलेन्द्र निधिको नाममा ।
नेपालगञ्जमा सुशील कोइराला होस् वा धनुषामा सरोज कोइराला तर त्यही माटोका प्रतिनिधिलाई विश्वास गरेर जग झन् बलियो बनाउने प्रयास नै भएन । कांग्रेसको १४औं महाधिवेशनमा विमलेन्द्र निधि बाहेक अरू कोही अगाडि आएन । मधेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू पनि निधि पार्टीको नेता हुनुपर्छ पनि भनेनन् ।
मधेशले कांग्रेससँग कति अपेक्षा र कति छ विश्वास गर्छ, त्यो भन्दा बढी गुमाउँछ । नेपाली कांग्रेस मधेशदेखि केन्द्रसम्म पद्धतिभन्दा पनि व्यक्तिमा केन्द्रित संस्कारबाट ग्रसित छ ।
प्रक्रिया र पद्धति भन्दा पनि एक व्यक्तिमा सबै कुरा केन्द्रित भएर चल्दै गर्दा त्यस अवसरको मूल्य र पुस्ताले गुमाएको अवसरको मूल्याङ्कन गर्न आवश्यक छ । तरूण दल, नेविसंघ, प्रेस युनियनसहित अन्य भाृत संगठनमा कहिले मधेशी नेतृत्व स्थापित हुने । यो सबको जवाफ कसले दिने र जिम्मा कसले लिने ?
कांग्रेस मधेशबाट जन्मिएको पार्टी हो । त्यसैले, त्यहाँ देखिएको असन्तुष्टि उसको पहिलो प्राथमिकतामा हुनुपर्छ । मधेश र पहाडलाई जोड्ने काम कांग्रेसले गर्नुपर्छ । पछिल्लो समय मधेशमा विकसित राजनीतिक घटनाक्रमबारे कांग्रेसले गहिरो ढंगले समीक्षा गरी नेतृत्वमा मधेशलाई ल्याउने वातावरण बन्नुपर्छ । मधेशसँग भएको अन्यायलाई सम्बोधन कांग्रेसले गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया