मधेशी किसानको रोदन कसले सुन्ने ?

सम्पादकीय

भनिन्छ नेपाल कृषिप्रधान देश हो तर यहाँ कृषि पेशामा आधारित जनजीविका चलाइरहेकाहरुको समस्या कसैले सुन्दैन । तर जब–जब किसानलाई बालीमा लगाउने मल चाहिन्छ सधैं अभाव नै हुन्छ । यो नेपालका किसानले भोग्दै आएको पुरानै समस्या हो । कृषि प्रधान मुलुकमा मलकै अभावले किसान रोइरहेका छन् ।

अहिले गहुँ छर्ने समय हो तर किसानलाई डीएपी मल छैन । जुनै सुकै पार्टीको नेतृत्वमा सरकार बने पनि किसानका यी समाधान गर्न गर्न सकेको छैन । बाली हुर्काउन र उत्पादन वृद्धि गर्न अति आवश्यक पर्ने डीएपी र युरिया मल कतै नपाइएको देशभरका किसानको गुनासो छ ।

मौसमले साथ दिए पनि समयमा किसानले मल पाएनन् भने न त धान उत्पादन हुन्छ, न गहुँ नै । यस्तै कारणले मुलुक खाद्यान्नमा आत्मनिर्भर बन्न नसकेको हो । मधेशको सन्दर्भमा किसानहरु अहिले गहुँमा पानी पटाइरहेका छन् ।

खेतमा मसुरोले अब विस्तार धरतीलाई छोप्दै भने तोरीले खेत पहेंलपुर भएको छ । खेतमा जाँदा किसानको मन हरियो हुन्छ । तर गहुँको खेतमा पानी पटाइरहेका किसानले गहुँको उत्पादनलाई अझ राम्रो बनाउन आवश्यक मलखाद पाउन सकेका छैनन् ।

मलखाद नहुँदा किसान छटपटिरहेका छन् । बजारमा मलको अभाव छ । मलको अभाव हुँदा किसानले गहुँबाली अपेक्षा गरेको जस्तो नहुने भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् । 

किसानले आफ्नो श्रम र पसिना खेतीमा लगानी गर्छन् । मधेशका कतिपय किसानको खेतीपातीबाटै जीवन निर्वाहमुखी रहेको छ । तर समयमा सिंचाइ र मलखाद पाउँदैनन तब उनीहरुको मन रुन्छ ।

खेतीको समयमा मलखादको समस्या हुनु किसानको दृष्टिकोणले ठूलो हो । हरेक वर्ष जब समस्या आउँछ तब त्यत्ति बेला यसको खुब चर्चामा हुन्छ र तत्काल समाधान भएपछि फेरि बिर्सने गर्दछौँ ।

समस्याको स्थायी समाधानको उपाय गर्नतिर राज्यले ध्यानै दिदैंन । कहिले आयातमा समस्या त कहिले वितरणको समस्याबाट पनि किसना पीडित छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार गहुँबालीका लागि ६० हजार मेट्रिक टन डीएपी मलको आवश्यकता छ । सरकारसँग मौज्दात १५ हजार मेट्रिक टन मात्रै छ।  

१० हजार मेट्रिक टन विदेशबाट आउने भनिएको छ तर कहिले आउने ठेगान छैन  । मल आइपुगे पनि यो वर्ष २५ हजार मेट्रिक टन मात्र मल किसानले पाउनेछन् । किसानले मागको आधा पनि मल नपाउने अवस्था छ ।

सरकारले किसानलाई आवश्यक मल उपलब्ध गराउन नसक्नु उसको निकम्मापन हो । कृषिमन्त्री महेन्द्रराय यादव मधेशी जनताकै मतबाट निर्वाचित छन् ।

उनको पार्टी जसपाले मधेशकै मुद्दामा राजनीति गर्छ तर जब जब मधेशी जनतालाई समस्या पर्छ, त्यति बेला उनीहरुको बोली र व्यवहार परिवर्तन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण पर्याप्तमात्रामा मल खरिद गर्न नसकिएको भनेर कृषिमन्त्री यादव पन्छिदै गएका छन् तर उनीसँग किसानको मार्का समाधान गर्ने भन्ने कुनै ठोस योजना भने छैन ।

खेतीपातीको सिजनमै मल नपाएपछि किसान चिन्तित हुँदा मधेशबाट कृषिमन्त्री बनेका यादवको मन रुन्छ कि रुँदैन ? मन्त्री यादवले हेक्का राख्नुपर्छ कि किसानहरूले भोगेको यो चोट सानो होइन । खेतमा पाकिसकेको बाली गुमाउनुपर्दा किसानहरू पीडा मन्त्री यादवले महसुस गर्लान?

किसानलाई समयमा मल उपलब्ध गराउन नसकेपछि के कृषीमन्त्रीले किसानका लागि राहत कार्यक्रमको घोषणा गर्न सक्छन्? यस्तो परिस्थितिमा मधेशका किसानहरूले आफूहरूका निम्ति राज्य, सरकार तथा मधेशी कृषी मन्त्रीको उपस्थिति महसुस गर्लान् त? यी यक्ष प्रश्नको  जबाब मधेशको मतबाट मन्त्री बनेका यादवले दिनुपर्छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ