सीके राउतको बाटो

सम्पादकीय

मूलधारको राजनीतिमा अवतरित भएपछि डा.सीके राउत नेतृत्वको जनमत पार्टी सुषुप्त रूपमा बसेको थियो । जनमतका कार्यकर्ताले विभिन्न पालिकामा भएको भ्रष्टाचारको मुद्दा छिटफुट रूपमा उठाउँदै आएका थिए । तर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारको मुख्यालयमा छापा मारेपछि जनमत पार्टी प्रदेशका विभिन्न जिल्लामा आफ्नो उपस्थिति देखाउन थालेको छ ।

पछिल्लो समय मधेशमा सबैभन्दा पिरोलिएका किसान हुन् । मलखाद, बीउविजन, सिँचाइको समस्या र भ्रष्टाचारले मधेश आक्रान्त छ । सिके राउत मधेशका यी मूल मुद्दा समातेर राजनीतिक प्रभाव जमाउन खोज्दैछ । उनको प्रस्तुति भद्र हुनुपर्नेमा अराजक बन्दै गएको छ ।
मधेशका किसानका मुद्दा ओझेल परिरहेका बेला सिके राउत तिनलाई उचालेर भावनात्मक सम्बन्ध प्रगाढ बनाउन खोजेका छन् ।

यस भन्दा पहिला जनमत भ्रष्टाचार विरोधी मुद्दा उचालेर मधेशमा आफ्नो उपस्थिति जनाएका थिए । अहिले किसानका मुद्दा उचालेर राजनीतिक प्रभाव जमाउन खोज्दै छन् ।

भ्रष्टाचार र किसानका मुद्दालाई प्राथमिकतामा राखेर राजनीतिमा आउने जोकसैले मधेशमा पकड बनाउन सकिने मनोविज्ञान राउतमा रहेको देखिन्छ । भ्रष्टाचार र उदासीनताको पीडाले निस्सासिएका मधेशी जनता यसबाट पार पाउन सुशासनप्रति दृढ नेतृत्वको खोजीमा छन् । भ्रष्टाचार, अनियमितताप्रति कठोर र अनुदार चेहरातिरै मधेशी जनताको रूझानमा पर्छ । बोलीमा सुशासन तर काममा अनियमितता गर्ने चेहरा बिस्तारै मधेशी जनताको सामु उदांगिँदै छ । अब मधेशमा राजनीतिक फाइदा लिन कुनै पनि राजनीतिक दललाई सजिलो छैन ।

अहिले जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्न, समयमा मलखाद्य र बिउको व्यवस्था गर्न, सिँचाइको व्यवस्था गर्न, नसके सिँचाइ बिजुली निःशुल्क गर्न, हावाहुरी र वर्षाले भएको बालिनाली क्षतिवापत राह दिन, कृषिजन्य उत्पादनको उचित समर्थन मूल्य निर्धारण गर्न, उखु किसानको भुक्तानी, किसान कार्डको व्यवस्था, किसानलाई पेन्सनको व्यवस्थालगायतका मागहरू प्रस्तुत गरेको छ ।

भ्रष्टाचारपछि किसानको नाउँमा आन्दोलन चर्काइरहेको जनमत पार्टीलाई कतिपयले स्थानीय तहको चुनाव नजिकिँदै गएरहेको बेला जनता र सञ्चारमाध्यमको ध्यानाकर्षण गराउने मियोको रूपमा औल्याएका छन् ।

विश्लेषककाअनुसार सीके राउत ‘एटेन्सन सिकर’ भएका हुन् । चर्चामा बसिराख्न उनलाई मन पर्छ । सिद्धान्त र विचार नचलेपछि किसानको नाउँमा अराजक गतिविधिमा उत्रिएका छन् । जसरी पनि सञ्चारमाध्यमको केन्द्रमा बस्नु उनको सौख हो ।

किसान समस्याबाट अछुतो नरहेको मधेश प्रदेश सरकारको पनि स्वीकारोक्ति छ । तर, किसानको नाउँमा सीके राउतहरूले अँगालेको बाटोलाई प्रदेश सरकारले अनउपयुक्त ठहर गरेको छ । किसान आन्दोलनको नाउँमा सीके राउतहरू आगामी चुनावका लागि राजनीति गरिरहेको प्रदेश सरकारको ठम्याइ छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिलामन्त्री शैलेन्द्र साह ‘किसान आन्दोलन’ लाई भ¥याङ बनाएर जनमत पार्टीले राजनीतिक अभिष्ट पूरा गर्न खोजिरहेको जिकिर गर्छन् ।

किसानको समस्यालाई वार्ता र सम्वादबाट समाधान गर्न सकिए पनि जनमत पार्टी त्यसबाट भागेर उग्र बनेको छ । कुनै पनि समस्याको समाधान अन्ततः सम्वाद नै हो । तर, त्यसतर्फ नगएर जनमत पार्टी उग्रताको बाटोमा अगाडि बढिरहेको छ ।

यद्यपी वार्ता र सम्वाद नै समस्याको अन्तिम समाधान रहेको पनि प्रदेश सरकारले त्यसका लागि हालसम्म कुनै पहल गरेको छैन । संघीय सरकारका साथै प्रदेश सरकारले सम्वादका लागि पहल नगरेपछि जनमत पार्टीको ‘उग्र’ प्रदर्शनका कारण मधेश फेरि एकपटक अशान्त बन्ने बाटोमा अगाडि बढिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ