बृशेषचन्द्र लालको बहिर्गमन

सम्पादकीय

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता बृशेषचन्द्र लालले अध्यक्ष महन्थ ठाकुरको साथ छाडेका छन् । ठाकुरले कांग्रेस छाडेर तराइ मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)गठन गर्दादेखि नै साथ दिदै आएका लालले अन्ततः उनीसँग राजनीतिक सम्बन्ध विच्छेद गरेका हुन ।

लालले जनकपुरधाममा लोसपासँग सम्बन्ध विच्छेद गर्र्दै तमलोपामा प्रवेश गरेका घोषणा गरेका हुन् । ठाकुरको पार्टी चलाउने क्रियाकलापबाट सुरूदेखि नै सन्तुष्ट रहँदै आएका लाल औपचारिक रूपमै उनको साथ छाडेका हुन । तत्कालीन जनकपुर नगरपालिकाका पूर्वमेयर समेत रहेका नेता लाल प्रथम मधेस आन्दोलनपछि काँग्रेस छोडेर तमलोपा गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसै वर्ष भदौ ९ गते जनता समाजवादी पार्टीबाट फुटेर ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झाले लोसपा गठन गरेका थिए । लोसपाबाट लालसहित अन्य नेताहरूको वहिगर्मनसँगै पार्टी दोस्रो पटक विभाजित भएको छ । यसअघि राजकुमार लेखी नेकपा (एमाले) प्रवेश गरेका छन् भने अर्का सदस्य तथा प्रतिनिधिसभाका निलम्बित सांसद् रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नामबाट नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका छन् ।

२०७७ वैशाख १० गते मध्यरातमा हतारहतार तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण गरी जनता समाजवादी पार्टी गठन गरिएको थियो । जसपा गठन भएको केही दिनमै अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरबीच विवाद उत्पन्न भइ ठाकुर, महतोसहितका नेताहरू पार्टी विभाजन गरेर लोसपा गठन गरेका थिए ।

जसपा नेपालबाट विभाजित भएर ७ महिना अघि बनेको लोसपा नेपालभित्र अध्यक्ष ठाकुरले एक्लौटी ढंगले पार्टी एकीकरण गरेको र लोसपा गठनपछि पनि एकलौटी ढंगले अघि बढेका कारण आफूहरूले लोसपा नेपाल परित्याग गरेको नेता लालको भनाइ छ ।

लोसपाबाट लालको बहिर्गमनसँगै पार्टी मात्र कमजोर भएको छैन, स्वयं ठाकुरलाई पनि धक्का लागेको छ । ठाकुरका लागि त्याग गर्ने नेताका रूपमा चिनिएका लाल अहिले ठाकुरको नै साथ छाडेपछि उनी पार्टी भित्र झन कमजोर हुने देखिन्छ । अहिले ठाकुरको पक्षमा उभिने नेता लोसपाभित्र कमै छन् ।

लोसपाभित्र राजेन्द्र महतो समूह पार्टीमा हाबी हुने र ठाकुरलाई झन् कमजोर बनाउने तयारी भइरहँदा लालको बहिर्गमनले ठाकुरलाई समस्या पर्ने देखिन्छ । यद्यपी लाल भने ठाकुरसँग सन्तुष्ट थिएनन । तर पनि उनी ठाकुर निकट मानिन्थे । लोसपा गठन हुँदा नै पार्टी एक पक्षीय रूपमा चल्दै आइरहेकोमा लाल पनि त्यसको सख्त विरोधी थिए ।

लोसपामा अहिले असन्तुष्ट भनिएका नेताहरू ठाकुर र महतोको सम्बन्धबिच्छेदको पक्षमा छन् । तत्कालीन तमलोपाकै समूह उचित रहेको भन्दै उनीहरू सोही समूलाई पुनर्निर्माण गर्ने प्रक्रियामा अगाडि बढेका छन् र यसको नेतृत्व लालले गरिरहेका छन् । लालको पार्टी छाड्ने निर्णयसँगै लोसपा अध्यक्ष ठाकुर पनि महतोलाई अहिले नै धेरै चिढ्याउने पक्षमा तत्कालै देखिदैनन ।

ठाकुर र महतोको सम्झदारी जारी रहे अहिले तत्कालै लोसपामा तलमाथि हुने सम्भावना न्यून छ । लोसपाभित्र लालको बहिर्गमनले पार्टीलाई खासै असर नपरेपनि यदि अप्रत्यासित भएर लोसपामा विभाजन आए र महतोले पनि ठाकुरलाई छोडे भने मात्र लोसपा कमजोर हुनेछ ।

अहिले लालसँगै लोसपाका कुनै पनि केन्द्रीय सदस्य, उप्पलो तहका नेता र संघीय वा प्रादेशिक सांसद बाहिरिएका छैनन् । जसका कारण लालको सामथ्र्य र क्षमतालाई उनको बहिगर्मनसँगै नाम्न सकिन्न ।

तमलोपालाई फेरि सक्रिय बनाउने रणनीति र कार्यनीति आगामि दिनमा उनको गतिविधिबाटै प्रष्ट हुन्छ तर लालको आगामी यात्रा चुनौतीविहीन भने पक्कै छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ