भारत भ्रमणको उपलब्धी

सम्पादकीय

प्रधानमन्त्री शेरबहादुर देउवा गत हप्ता भारतको औपचारिक भ्रमण गरेका छन् । प्रधानमन्त्रीले नेपालीको गहिरो सांस्कृतिक र शैक्षिक सम्बन्ध रहेको बनारसको समेत भ्रमण गरेका छन् ।

यो भ्रमण नेपाल–भारत सम्बन्धका आगामी दिनलाई नयाँ दिशा दिन सफल भएको छ । नौ महिनाअघि गत असार अन्तिममा प्रधानमन्त्री भएका प्रधानमन्त्री देउवाको भारतकको यो पहिलो भ्रमण भएर पनि यसले ठूलो कूटनीतिक महत्व बोकेको छ । नेपाल–भारत सम्बन्धका फराकिला आयाम विस्तार भएर मात्र होइन, आगामी दिनमा सहयोगको क्षेत्र विस्तारले समेत भ्रमणलाई उपलब्धिमूलक बनाएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भएको यो भ्रमणलाई नयाँदिल्लीले उच्च महत्व दिएको छ । भ्रमणका अवसरमा भएका चारवटा सम्झौताले नेपाल र भारतबीचको उचाइ थप बढाएको छ । ती चारवटा सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान गर्ने रहेका छन् यी सम्झौता आफैँमा दूरगामी महत्व बोकेका छन् ।

नेपाल र भारतबीच पछिल्लो समय सीमा विवादले अलि बढी तिक्तता बढेको अनुभव भएको थियो । उच्चस्तरमा संवादहीनतासमेत आउने खतरा थियो । प्रधानमन्त्री देउवाको यो भ्रमणले संवादका ढोका खुलेका छन् ।प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच दुई देशबीच देखिएको सीमा विवादसम्बन्धी विषयमा कुरा हुनु र नेपाल र भारतबीच परापूर्वकालदेखि रहँदै आएको सम्बन्ध र हाम्रा सन्धि सम्झौताका आधारमा संवाद र कूटनीतिक प्रक्रियामार्फत समाधान गर्ने विषयमा कुरा अघि बढ्नु प्रधानमन्त्री देउवाको सफलता हो ।

निश्चय पनि नेपाल र भारतीबीच सीमा विवाद छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणले ती सबै विषयको सम्बोधनका लागि अब वार्ता सुरू हुन्छ भन्ने विश्वास लिन सकिन्छ । अब दुवै देशका निकायहरूले वार्ता सुरू गर्छन् र यसबाट नेपाल–भारतको सम्बन्ध अझ सुदृढ हुन्छ भन्ने आशा गर्न सकिन्छ ।

नेपालमा अहिले पनि राजनीतिक र कूटनीतिक रूपमा सम्बन्ध कस्तो हुन्छ भन्ने बोध गर्ने राजनीतिक दल सीमित छन् । नेपालको कम्युनिस्ट राजनीतिक समूहले ‘अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद’ को कथा पढायो । कार्यकर्तालाई त्यही रूपमा प्रशिक्षित गरियो तर कम्युनिस्ट पार्टीहरूले सत्तामा पुगेपछि मात्रै छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ ढङ्गले लैजानुपर्ने रहेछ भन्ने कुरा बुझ्ने भए । अहिले कुनै कम्युनिस्ट पार्टीका दस्तावेजमा कूटनीतिक भावनालाई खलल पुग्ने कुरा छैनन् ।

प्रधानमन्त्री देउवाको भारतमा भएको भव्य स्वागतसँगै बढेको प्रगाढ र हार्दिक सम्बन्धले नेपालको राष्ट्रिय हित र आर्थिक विकासलाई केन्द्रबिन्दुमा राखेको छ । ऐतिहासिक सफलता हासिल गरेको छ ।

छिमेकी मुलुकहरूबीचको सम्बन्ध सुमधुर बनाउन बेलाबेलामा हुने उच्चस्तरीय पारस्परिक भ्रमणको ठूलो महत्व हुन्छ । उच्चस्तरीय भ्रमणमध्ये पनि समय र सन्दर्भले कतिपय भ्रमण अझ विशेष ऐतिहासिक महत्व बोकेका हुन्छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको यो भ्रमण समय र सन्दर्भले विशेष ऐतिहासिक बनाएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ