मधेशका स्थानीय जनप्रतिनिधिमाथि बहस

सम्पादकीय

स्थानीय निर्वाचनको चर्चा–परिचर्चा र बहस अहिले घर घरमा हुन थालेको छ । निर्वाचन आउन एक हप्तमा मात्र बाँकी रहँदा सबै क्षेत्र तातेको पनि देखिन्छ ।

आधुनिक नेपालको निर्माण भएपछि पनि परिवर्तनका नाममा नेपाली राजनीतिमा धेरै उथल पुथल भए । पछिल्लो चरणमा प्रजातन्त्रको पुनः बहाली भएको तीन दशक बितिसक्दा पनि देशमा आशालाग्दो उपलब्धि केही हुन सकेको छैन । पटक पटक व्यवस्था परिवर्तनका नाममा ठूल्ठूला आन्दोलन भए । तर जसो गर्दा पनि अवस्था ज्यूँको त्यूँ नै छ भन्दा फरक पर्ने अवस्था छैन ।

मधेशका जनता धेरै पटक झुक्किए । अब पनि मधेशी जनताहरूले हामी झुक्कियौ भनेर धर पाउने अवस्था छैन । अब कति झुक्किने ? अबको निर्वाचनमा गहन निर्णय गर्नुपर्छ । विगतका निर्वाचनबाट शिक्षा ग्रहण गरी आँखा चिम्लेर एक पटक त हो भनेर महान् गल्ती गर्नु हुँदैन । हामी पुरानो दल, हामी नयाँ दल वा हामीलाई तिनले काम गर्न दिएनन् भनेर अनेक बहाना बनाई भोट माग्न आउनेलाई उनीहरूको विगतको दूराचारी र भ्रष्टाचारी प्रवृत्तिलाई आलोचना र खण्डन गरी ओठे जवाफ दिनुपर्छ । सोझै भोट दिन नसक्ने भनेर दल वा उम्मेदवारलाई फर्काइदिने तागत जनतामा हुनुपर्छ ।

आज मधेशको राजनीति लाजनीतिमा परिणत भएको छ । मधेशका जिम्मेवार दलहरूको अनुत्तरदायी र असक्षमताले पनि मधेशी जनताहरू आजित भएका छन् । राजनीतिलाई दुर्गन्धित बनाई यसैको आडमा दलका नेता र कार्यकर्ता पालिने परिपाटीको निरन्तरताले मधेशी दलमा अझै छ ।

मदेशका प्रशासनिक, शैक्षिक, न्यायिक जस्ता प्रमुख निकाय अस्तव्यस्त छन् । कुनै पनि वर्षको बजेटले रोजगारी सिर्जना र उद्योग स्थापना गर्ने जस्ता पूँजीगत काम हुन सकेका छैनन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा मधेशले परिवर्तनको अनुभूति हुन लायक कुनै उपलब्धि छैन ।

मधेश प्रदेशमा मधेशी दलको नेतृत्व गर्ने सरकार भएपनि प्रदेशको विकास र समृद्धिको लागि दलहरूमा विश्वास, सहमति र सहकार्य भएको छैन । त्यसैले जनतामा निराशा छाएको छ ।

लोकतन्त्रको एउटा सुन्दर पक्ष भनेको आवधिक निर्वाचन नै हो । जेसुकै भए पनि निर्वाचनको प्रक्रिया र परिणामलाई स्वीकार्नुको विकल्प केही छैन । लोकतन्त्रमा फेरि पनि उपयुुक्त दल वा प्रतिनिधिलाई रोज्नुको विकल्प केही छैन । विकल्पमा सर्वोपयुक्त विकल्प रोज्नु पर्ने हुँदा अब नजिक आइरहेको निर्वाचनमा वितृष्णा बोकेर होइन आशावादी भई उपयुक्त उम्मेदवारलाई निर्वाचित गर्नुपर्छ ।

अहिले स्थानीय निर्वाचनको माहोल तातिएकाले जसपा होस् या लोसपा, उनीहरूबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यशैली र कार्यकाल हेरिएको अवस्थामा अब कसलाई रोज्ने त ? अब पनि रोज्ने भनेको यिनै दल र दलका प्रतिनिधिलाई भएको हुँदा विकल्पमा त्यही सर्वोपयुक्त दल वा व्यक्ति नै हो ।

मधेशी जनताहरू आजैदेखि चनाखो भई कस्तो जनप्रतिनिधिलाई रोज्ने भनेर बहस, छलफल चलाउनु पर्छ । मधेशी जनताले एक कदम अगाडि गएर उही पुरानै व्यक्तिको पछाडि लागेर आफ्नो मतलाई आँखा चिम्लेर खेर फाल्नु हुँदैन । अन्धभक्त हुने परिपाटीलाई अन्त्य गर्नुपर्छ । अबको एउटा नयाँ कदम भनेको दलका पछाडि भन्दा राम्रो व्यक्ति चयन गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ