पछिल्ला केही दिनदेखि तापक्रम निरन्तर घट्दै गइरहेको छ । तराई मधेशमा हुस्सुकुहिरोसँगै शीतलहरको क्रम सुरु भएको छ । तराई मधेशमा शीतलहरले बर्सेनि मानिसहरूको ज्यान जाने गरेको छ । समयमा दाउराको व्यवस्था हुन नसक्दा ठाउँ ठाउँ दाउरा बालेर धुनी रमाउने काम हुँदैन् ।
शीतलहरको चिसोको मौसममा विशेषगरी विपन्न परिवारका वृद्धवृद्धा विशेषरूपमा समस्यमा पर्ने गरेका छन् । एक त आम्दानीको स्रोत सुकेकाले पर्याप्त खानाको अभाव हुन्छ । लुगाफाटाको अभाव हुन्छ । अर्कोतर्फ बासको उचित व्यवस्थापन नभएकाले चिसोमा कठाङ्ग्रिएर मृत्युवरण गरेको समाचार बर्सेनि सार्वजनिक हुने गर्छ ।
मृत्युका समाचार सार्वजनिक भएपछि मात्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयका पदाधिकारीहरूले तदारुकता दर्शाउने गर्ने गरेका छन् । वन कार्यालय र उसको स्थानीय निकायलाई दाउराको प्रबन्धन गर्न स्थानीय प्रशासनका अधिकारीहरूले आदेश दिने र त्यसपछि प्राप्त हुने दाउरा बालेर तातो पु¥याउने काम गरिन्छ ।
स्थानीय निर्वाचन सम्पन्न भएर गाउँ पालिका र विभिन्न नगरपालिकाको निकाय गठन भइसकेको छ । स्थानीय निकायलाई स्थानीय सरकारको रूपमा अधिकार दिइएको र दिइने क्रममा रहेको अहिलेको राजनीतिक अवस्था छ । कतिपय अधिकार र साझा अधिकारको बाँडफाँट नभएकाले नगरपालिका तथा प्रदेश र प्रदेश तथा संघीय सरकारबीचको विवादहरू सार्वजनिक भएकै विषय हुन् । निर्वाचनको घोषणा भइसकेपछि मधेश सरकारले संघीय सरकार विरुद्ध धर्ना बसेको धेरै भएको छैन् ।
अधिकार बाँटफाँटको नाममा निर्दोष निमुखाको ज्यान जाने कुरो हुँदैन् । सम्बन्धित निकायले शीतलहरमा उत्पन्नहुने अवस्थाका लागि आवश्यक प्रबन्ध मिलाउन आवश्यक छ । ठाउँ ठाउँ चौक चौक र लामो फाँटमा दाउरा बालेर धुनी लगाउने व्यवस्था समयमै गर्नु राम्रो हुनेछ ।
सरकारले दाउरा बालेर मात्रै पनि समस्या समाधान हुँदैन् । चिसोको मौसममा वृद्धवृद्धा तथा शिशुहरूको विशेष ध्यान दिनुपर्ने हुन्छ । चिकित्सकहरूका अनुसार चिसोको मौसम सुरु हुन अघि उनीहरूलाई रोकथामको खोप दिइए आन्तरिकरूपमा सुरक्षा प्रदान गर्न सक्छ ।
चिकित्सकहरूको सल्लाहमा यसरी वृद्धवृद्धालाई दिइने चिकित्सासम्बन्धी सुरक्षा पनि अपनाउन आवश्यक छ । यसको विषयमा पनि चिकित्सकहरूको सल्लाहमा समयमै व्यवस्था गर्नु उचित होला । त्यसैले चिसोबाट बच्न दाउरा र चिकित्सक उपाय समयमै गरौँ ।
तपाईको प्रतिक्रिया