सामान्यतया अद्यावधिक चुनावहरू कुनै पनि मुलुकका लागि एउटा महा–उत्सव नै हुन्छ । पाँच वर्षपछि हुने चुनावलाई महापर्वको रूपमा पनि आमजनता, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीबीले लिने गरेका छन् । तर उपनिर्वाचनलाई खासै महत्व दिँइदैन ।
उपनिर्वाचनहरूलाई विश्वमा कहीं पनि कुनै प्रजातान्त्रिक मुलुकहरूमा राष्ट्रिय महत्वको रूपमा हेरिँदैन । किनभने यसको महत्व यस अर्थमा मात्र रहन्छ कि कुनै कारणवश निर्वाचित जनप्रतिनिधि त्यो पदबाट हट्दा, निधन हुँदा सो क्षेत्र रिक्त हुन्छ । सो क्षेत्रमा पदपूर्तिका लागि हुने निर्वाचनलाई उपनिर्वाचन भनिन्छ । अहिले नेपालको सन्दर्भमा तीनवटा निर्वाचन क्षेत्र रिक्त रहेका छन् ।
चितवन २, तनहुँ १ र बारा २ अहिले प्रतिनिधिसभाको जनप्रतिनिधिविहीन रहेको छ । गत मंसिर ४ गतेको निर्वाचनमा चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको पद रद्द भएको थियो । नागािरकतासम्बन्धी समस्याका कारण उनको सांसद पद रद्द हुँदा त्यहाँ निर्वाचन हुन लागेको हो ।
यस्तै, तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् भने बारा २ बाट जनता समाजवादी पार्टी नेपालका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् ।
तसर्थ, रिक्त रहेको तीन क्षेत्रमा पर्सी आइतबार उपनिर्वाचन हुन लागेको हो । यो उपनिर्वाचन एकदमै चर्चा र चाँसोको विषय बनेको छ । सर्वाधिक चर्चाको विषय बारा २ को उपनिर्वाचन रहेको छ । जहाँबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेद्वारी दिएका छन् ।
उनै उपेन्द्र यादवलाई गत मंसिर ४ को आमचुनावमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका थिए । बारा २ मा उपेन्द्र यादवले उम्मेद्वारी दिएपछि उनै डा.राउतले जसरी पनि प्रतिनिधिसभा छिर्नबाट रोक्ने भरपूर प्रयासमा छन् ।
यता, उपेन्द्र यादवलाई सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी पार्टीले समर्थन गरेका छन् । जनताले अहिलेको सत्ताधारी पक्षलाई कसरी हेरेका छन् भन्ने महत्वपूर्ण कुरा हो ।
यसको एक अर्थमा आवधिक मूल्यांकन प्रस्तुत गर्दछ । तर अहिले जुन तीनवटा संसदीय क्षेत्रमा निर्वाचन हुन गइरहेको छ, यसको परिणामले जनताको अभिमतलाई पनि प्रकट गर्न सक्दैन । सही अभिमतलाई पनि प्रकट गर्न सक्दैन ।
यो निर्वाचनको परिणामलाई हेरेर प्रचण्ड नेतृत्वको सरकार कति लोकप्रिय छ अथवा उपेन्द्र यादव जितेमा उसको पार्टी कति लोकप्रिय भयो, अथवा तनहुँमा नेपाली कांग्रेस जिते कांग्रेसको लोकप्रियताको अवस्था के छ, यसको सही आँकलन हुन नसक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ । किनभने एउटा ककसले गठबन्धन खडा गरेर यो निर्वाचन गरिरहेको छ ।
बारामा यदि उपेन्द्र यादवको जीत भयो भने नैतिक वा तथ्यगतरूपले दाबा गर्न सक्दैन कि यो उसको लोकप्रियता हो । हुन त लोकतान्त्रिक व्यवस्थामा चुनावमा दलहरू एक्ला–एक्लै प्रतिस्पर्धा गर्नुपर्ने हो । जसबाट प्रष्ट हुन्छ कि कुन दलको एजेण्डालाई बहुमत जनताले स्वीकार गर्छ ।
तर नेपालमा चुनावी गठबन्धनबिना कुनै पनि स्थापित एक्लै प्रतिस्पर्धा गर्न सक्ने आँट गरिरहेका छैनन् । कमसेकम यो उपनिर्वाचनमा दलहरूले आफ्नो हैसियत बुझ्न पनि आ–आफ्नो उम्मेद्वार खडा गर्नुपर्ने थियो । तसर्थ, उपनिर्वाचनले खासै राष्ट्रिय महत्व नराखे पनि सबैको ध्यान केन्द्रित भएकै हो ।
तपाईको प्रतिक्रिया