शहीदहरुप्रति नमन

सम्पादकीय

महान मधेश विद्रोहको अवसरमा शहीदहरुलाई स्मरण गर्दै माघ ५ गते समग्र मधेशले बलिदानी दिवस मनाइरहेको छ । ठीक १७ वर्षअगाडि २०६३ माघ ५ गते सिरहाको लहानबाट मधेश आन्दोलनको सुरुआत भएको थियो । सो आन्दोलनमा मधेशका लागि सहादत दिने पहिलो सहिद बनेका थिए, रमेश महतो । महतोले सहादत प्राप्त गरेसँगै मधेश आन्दोलन चर्किएको थियो । सो दिन नेपालको इतिहासमा खासगरी मधेशी जनताको मानसपटलमा बलिदानी दिवसको रुपमा दर्ज भएको छ ।

माघ ५ गतेको घटनाले सिर्जना गरेको मधेश आन्दोलन नेपाललाई संघीय मुलुकमा रुपान्तरण गर्न कोसेढुंगा साबित भयो । बितेको १७ वर्षमा मधेश र देशले माघ ५ को जगमा धेरै कुरा पाएको छ । मधेशीको पहिचान, स्वाभिमान र आत्मसम्मान नै मधेश आन्दोलनको सन्देश हो । यसले नेपालको राजनीतिमा नवीन युगको सूत्रपात गरेको छ, जसमा उत्पीडित र सीमान्तकृत समुदायको प्रतिरोधको राजनीतिले नयाँ उचाइ र नयाँ आत्मविश्वासका साथै मुलुकले संघीय स्वरुप प्राप्त गरेको हो ।

२१ दिनसम्म चलेको मधेश विद्रोहमा ५४ जना सहिद भए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दुईपटक जनताको नाममा सम्बोधन गरेपछि विद्रोह रोकियो । प्रदर्शन रोकिएको महिनौँपछि सरकारले उपेन्द्र यादव नेतृत्वको फोरमसँग २२ बुँदे सम्झौता ग¥यो । दोस्रो संविधान सभाबाट संविधान जारी गर्न लाग्दा तेस्रो मधेश आन्दोलन भयो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा तयारीका साथ तेस्रो मधेश आन्दोलन भएको थियो । प्रदर्शनकारीहरु ठूलो संख्यामा मारिन थालेपछि प्रदर्शनकारीहरुले नेपाल–भारतको सीमा क्षेत्रमा बसेर नाका अवरुद्ध गरे । यसलाई भारतीय नाकाबन्दीका रुपमा पनि चिनिन्छ । मधेश विद्रोहको यस १७ वर्षको अवधिमा मधेशीले के गुमाए र के पाए भन्ने कुराको विश्लेषण पनि आवश्यक छ ।

मधेश विद्रोहमा मधेशमा बसोवास गर्ने सम्पूर्ण जात, समुदाय आन्दोलनमा होमिएका थिए । तर, १७ वर्षको बीचमा मधेशमा जातीय ध्रुवीकरण बढेको छ । मधेश विद्रोहपछिको ‘थरुहट आन्दोलन’ले मधेश आन्दोलनको शक्तिलाई कमजोर बनाएको छ । यहाँसम्म कि माओवादी र एमाले–कांग्रेस थरुहट आन्दोलनमा बाडिँदा अहिलेसम्म पनि थारुहरुले थरुहट आन्दोलनका लागि दुईवटा शब्द प्रयोग गर्छन् । कांग्रेस–एमाले निकटहरुले ‘थरुहट आन्दोलन’ र माओवादी निकटहरुले ‘थारुवान आन्दोलन’ ।

मधेशभित्रको थारु र गैरथारुबीच तनाव उत्पन्न हुँदा राज्यले न त थारुको माग सम्बोधन गरेको छ न त मधेशीको नै । त्यस्तै, धार्मिक अल्पसंख्यक मुस्लिमलाई पनि राज्यले अलग्यायो । जबकि पहिलो मधेश विद्रोहमा सुरक्षाकर्मीबाट चारजना मारिएका थिए । तेस्रो मधेश आन्दोलनमा पनि तीनजना मारिएका थिए ।

प्रथम मधेश विद्रोहपश्चात् मधेशीबहुल भूगोल खुम्चिएको छ । पहिलो मधेश विद्रोहको नारा ‘एक मधेश एक प्रदेश’ थियो । तर, हाल मधेशको भू–भाग ६ वटा प्रदेशमा विभाजित गरिएको छ । जसमा एउटा प्रदेशबाहेक अन्य कुनै प्रदेशमा मधेश विद्रोह पक्षधरको शासन छैन । तत्कालीन २२ र हालको २३ जिल्लामा रहेको मधेशलाई ८ जिल्लामा खुम्च्याइएको छ । प्रदेश २ को प्रदेशसभाले २०७८ माघ ३ गते यसलाई ‘मधेश प्रदेश’ नामाकरण पनि गरेको छ । प्रथम मधेश विद्रोह हुँदा आत्मनिर्णयसहितको मधेश प्रदेश माग गर्ने पक्षधर निकै बलियो भएर आएका थिए । सोहीअनुसार राजनीतिक दल सक्रिय भए र प्रथम संविधान सभामा ठूलो संख्यामा मधेशी समुदायको प्रतिनिधित्व भएको थियो । तर, अहिले संख्या घटेको छ । मधेशमा यसअघि भकारी फोर आन्दोलन, मधेशीलाई दबाउने प्रवृत्तिका विरुद्ध ‘मोछ उखाड’ आन्दोलन भयो । त्यसपछि किसान आन्दोलन र स्वतन्त्र मधेश आन्दोलन पनि भए । तर, ती सबै आन्दोलन कुनै निष्कर्षमा पुगेनन् । संघर्ष जारी रह्यो ।

मधेश विद्रोहको १७ वर्षमा मधेशीहरुले आफ्नो अधिकार र राज्यका विभेदका विरुद्ध संघर्ष गर्न सिकेका छन् । सामान्य अधिकार पाउन पनि आन्दोलन चाहिन्छ भन्ने मानोविज्ञान मधेशीमा बसेको छ । मधेश विद्रोहको यस १५ वर्षमा मधेशीमा राजनीतिक सचेतना बढेको छ तर मधेशीले पाउने अधिकारबाट अहिले पनि वञ्चित छ । मधेश आन्दोलन पछि राजनीतिकर्मीहरुले पनि सत्ताको स्वाद भोग गरेका छन् । जसकारण उसले सत्ता साझेदारीमा जोड दिँदै छन् । मधेश आन्दोलनका शहीदहरुको सपना पूरा होस् । शहीदहरुप्रति हार्दिक श्रद्धासुमन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ