‘अहिलेकै सरकारलाई साथ दिने बाहेक जसपासँग विकल्प छैन’

अन्तर्वार्ता

4/16/2021

० सत्ता समीकरणमा निर्णायक जनता समाजवादी पार्टी नेपाल आफैमा किन अनिर्णित छ ?

— जुनबेला स्व.गजेन्द्र नारायण सिंहको नेतृत्वमा सद्भावना पार्टी गठन भयो, त्यही समयदेखि मधेशका मुद्दाहरु सम्बोधनका लागि हालसम्म हामी संघर्षरत छौं । मधेशका केही आधारभूत मुद्दा र समस्याहरु समाधान होस् भनेर सयौं मान्छे शहीद भए, अंगभंग भए । उनीहरु अहिले पनि विभिन्न मुद्दाहरु खेपिरहेका छन्, राजबन्दी बनाइएको छ । यसबीचमा विभिन्न पार्टीहरुको सरकार बन्यो तर हालसम्म मधेशका मुद्दाहरु समाधान भएको छैन । त्यसकारणले मधेशका मुद्दा सम्बोधनका लागि जसपा अहिलेको अवस्थामा सतर्क छ । जबकि जसपाको अवस्था अहिले क्याबिनेटका लागि निर्णायक छ । सञ्चारमाध्यमहरुले जसपालाई अनिर्णित भनिरहेका छन् । तर हामी अनिर्णयको बन्दी भएका होइनौं ।

अहिलेसम्म हामीसँग जति पनि सरकारहरुले सम्झौता गरेका छन्, ती सबै उधारोमा भएका हुन । सबै सरकारहरुले हामीलाई विगतमा ठगेकै छन् । त्यसकारण हाम्रा मागहरु सम्बोधनका लागि अहिलेको सरकारले एउटा ठोस आधार देओस्, मुद्दाहरु सम्बोधन गरोस् भनेर जसपा अगाडि बढिरहेको छ ।

० केपी ओली नेतृत्वको सरकारले सकेजति मधेशका मुद्दाहरु सम्बोधन गर्ने आश्वासन दिइरहेको छ र प्रक्रिया पनि सुरु गरिसकेको छ भने अर्कोतिर कांग्रेस र माओवादीले सरकार बनाएपछि सम्बोधन गर्ने भनिरहेको छ । जसपाका लागि कोसँग जाँदा माग सम्बोधन हुने देख्नुहुन्छ ?

— माओवादी केन्द्रले यो सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता नै लिएको छैन । अर्कोतिर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई विश्वास गर्न सकिने आधार पनि छैन । भनेपछि वैकल्पिक सरकार निर्माण हुने अवस्था नदेखिएकोले भविष्यमा उनीहरुको सरकार बन्ला र हाम्रो माग पूरा गर्ला भनेर कल्पना मात्र गर्न सकिन्छ । त्यसैले वर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टरुपमा भनिसक्नुभएको छ कि सकेजति मुद्दाहरु सम्बोधन गर्छौं र प्रक्रिया पनि सुरु गरिसक्नुभएको छ । मधेशका समस्याहरु सम्बोधनका लागि उहाँले विभिन्न पाइला चालिसक्नुभएको पनि छ । प्रधानमन्त्री ओली यस विषयमा अहिले एकदमै प्रष्ट र स्पष्ट हुनुहुन्छ । त्यसैले, मधेशका मुद्दाहरु सम्बोधन गराउनका लागि अहिलेकै सरकारलाई साथ दिने बाहेक जसपासँग अर्को विकल्प छैन । मुद्दा सम्बोधनका लागि प्रधानमन्त्री ओलीले देखाउनुभएको अग्रसरतालाई मध्यनजर गर्दै जसपाले समर्थन गर्नैपर्छ ।

० भनेपछि केपी ओली नेतृत्वको सरकारले मधेशका मुद्दाहरु सम्बोधन गर्छ भन्नेमा विश्वास गर्ने अवस्था छ त ?

— निश्चितरुपमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मधेशका मुद्दाहरु सम्बोधन गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । किनभने अहिलेका प्रधानमन्त्रीजस्तो कुनै पनि सरकारका प्रधानमन्त्रीले यसअघि मधेशका मागहरु पूरा गर्नका लागि प्रक्रिया सुरु गरेकै थिएनन् । कम्तीमा ओलीले मधेशको भावनालाई बुझ्न थाल्नुभएको छ । हामीले आश्वासनभन्दा पनि परिणामलाई विश्वास गर्ने हो । जगजाहेर नै छ कि विगतमा लिखितरुपमा नै विभिन्न सरकारहरुले प्रतिबद्धता गरिसकेका छन् । त्यसैले अहिले कागजी सहमतिभन्दा पनि प्रधानमन्त्री ओलीले गरेर देखाउन खोज्नुभएको हामीले हेरिरहेका छौं । अहिले कांग्रेस र माओवादीलाई सरकार ढाल्ने र बनाउने काममा जसपा अनिवार्य भएकोले तिनीहरुले त्यस्ता प्रतिबद्धताहरु दोहो¥याइरहेका छन् । तर व्यवहारतः हामीले हेर्दा प्रधानमन्त्री ओली हाम्रा मागहरु सम्बोधनका लागि प्रक्रिया सुरु गरिसक्नुभएको छ । कांग्रेस र माओवादीले मुलुकलाई अस्थिरतातर्फ लानका लागि यो सरकारको विकल्प खोजिरहेका छन् ।

० तर जसपाका अर्का पक्ष पूर्वसमाजवादी पार्टीका नेताहरुले जसरी पनि केपी ओलीलाई हटाउनै पर्ने अभियान चलाउनुभएको छ नि ?

— विगतका कुराहरु हेर्नुभयो भने विभिन्न तिक्ततापूर्ण अनुभवहरु रहेका छन् । लामो समयदेखि हामीले अधिकारका लागि संघर्ष गरिरहँदा पनि कुनै पनि सरकारले हाम्रा मागहरु सम्बोधन गरेन । त्यसको रिस र आवेग अझै छ । मधेशका मुद्दाहरु सम्बोधन होस् भन्ने चाहना पूर्वसमाजवादी पार्टीका नेताहरुको पनि छ । यदि यो सरकारले सम्बोधन गर्छ भने उहाँहरुको पनि अभिव्यक्ति परिवर्तन हुन्छ । माग सम्बोधन नहोस् भन्ने उहाँहरुले पनि चाहनुभएको छ । पूर्वराजपाका नेताहरु र पूर्वसमाजवादी पार्टीका नेताहरु सबैले मधेशको समस्या समाधान चाहेकाले जसपाभित्र दुईमत छैन ।

० प्रधानमन्त्री ओलीको विगत हेर्ने हो भने उहाँ त मधेश विरोधी भनेर तपाइँहरुले भन्नुभएको थियो नि ?

— विगतलाई हेरेर अहिले पनि त्यही खालको हो भन्ने बुझ्नु हुँदैन । निश्चितरुपमा विगतमा प्रधानमन्त्री ओलीबाट मधेशप्रति गरिएको टिप्पणीले भावनामाथि ठेस पु¥याएको हुनसक्छ तर उहाँले कहिल्यै पनि मधेशको माग सम्बोधन हुँदैन वा गर्दैनौं भन्नुभएको छैन । उहाँले पहिला मधेशलाई बुझ्नुभएको थिएन होला । उहाँको सल्लाहकार टिममा एउटा पनि मधेशबाट छैन । मधेशको बारेमा उहाँलाई राम्ररी जानकारी नदिइएको हुन सक्छ । उहाँ मधेश विरोधी हो भने मधेशमा उहाँको मत हेर्नुस्, कांग्रेस र माओवादीभन्दा बढी छ । ओली नेतृत्वको सरकारले मधेशलाई उपेक्षा गरेको छैन । विभिन्न दीर्घकालीन योजनाहरु पनि मधेशमा ल्याउनुभएको छ । त्यसका कार्यान्वयन पक्ष फितलो होला त्यसमा उहाँको कमजोरी होइन । प्रधानमन्त्री ओलीलाई मधेशको बारेमा उचित जानकारी नदिइएको हुनसक्छ । तर अहिले उहाँले मधेशलाई राम्ररी अध्ययन गर्न थाल्नुभएको छ । मधेशको आवश्यकतालाई बुझ्ने प्रयास गर्नुभएको छ भन्ने अनुभूति हामीलाई थालेको छ । यदि प्रधानमन्त्रीको सल्लाहकार टिममा मधेशलाई बुझ्ने कोही सदस्य भइदिएको भए यस्तो अवस्था आउने थिएन । अहिलेको अवस्थामा उहाँ मधेशका सबै मुद्दाहरुको बारेमा जानकारी भइसकेको छ । उहाँले मधेशको माग र मुद्दा सम्बोधन गर्नेतिर अग्रसर हुनुभएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ