० तपाइँको परिचय संक्षिप्तमा भनिदिनुस् न ?
— मेरो नाम डा.मिनाक्षी ठाकुर हो । मेरो घर महोत्तरी जिल्लाको एकरहिया हो । मेरो पिताजी मा.महन्थ ठाकुरजी हुनुहुन्छ । मैले अध्ययनमा एमबीबीएस, एमडी र फेलोशिप गरेको छु । स्त्री रोग विभागमा मेडिकल कलेज तथा प्राइभेट हस्पिटलहरुमा १२ वर्ष काम गरेको अनुभव छ । यसैगरी, निरन्तररुपमा समाजसेवामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छु । राजनीतिक संलग्नता भन्नुपर्दा अहिल म जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यसमिति सदस्य हुँ ।
० तपाइँको उम्मेदवारी महोत्तरी ३ मा किन ?
— परिवर्तित परिवेशमा सक्षम र शिक्षित युवाहरु समाज रुपान्तरणमा अगाडि आउनुपर्छ भन्ने जुन आवाज उठिरहेको छ, त्यसलाई मध्यनजर गर्दै मेरो घर नै महोत्तरीको एकरहियामा हो । अर्को कुरा, मेरो पिताजी यो देशकै वरिष्ठ राजनीतिज्ञमध्ये एक हुनुहुन्छ । उहाँ महोत्तरी ३ बाट दुई–दुई पटक निर्वाचित पनि भइसक्नुभएको छ । त्यसैले यो स्वाभाविक हो कि मेरो घर महोत्तरीमा नै भएकोले यही क्षेत्रबाट चुनाव लड्नु हो । मेरो पिताजी लामो समय जेल जीवन बाँच्नुभयो, मेरो सानै उमेरमा आमा बित्नुभयो, मेरो दाईको दुर्घटना निधन भयो । मेरो पारिवारिक जीवन सुखमय र व्यवस्थित ढंगले बितेको छैन ।
मेरो पिताजीको सानिध्यतामा मैले दुःख बुझेको छु, त्याग र समर्पण के हो भन्ने कुराको मलाई अनुभव छ । मैले आफ्नो स्वर्गीय आमा सुशीला ठाकुरजीको नाममा ट्रस्ट खोलेकी हुँ र त्यस ट्रस्टमार्फत् स्वास्थ्य क्षेत्रमा सेवा पु¥याउँदै आएकी छु । म र मेरो श्रीमान चिकित्सक नै भएकोले हामी स्वास्थ्य सेवामा नागरिकका लागि काम गर्ने अवसर पायौं । मैले ग्यास चुलो र सिलिण्डर पनि वितरण ग¥यौं, त्यसमा भारतीय दूतावासको सहयोग पनि रहयो । मैले समाज सेवाका कार्यहरु गर्दै आएको छु । मलाई सानैदेखि के लाग्यो भने सुख, दुःख मानवको जीवनको पाटो हो । आफ्नो समाजका लागि कुनै न कुनै रुपले सहयोग गर्न पाउँदा भित्रदेखि नै मन हर्षित हुन्छ । त्यस हिसावले मैले सक्रिय राजनीतिक जीवन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन हुँदादेखि नै लागेको थिएँ । अहिले म जनता समाजवादी पार्टी नेपालको नेताको रुपमा काम गर्दै छु । त्यसकारणले यो स्वाभाविक हो कि मेरो उम्मेदवारी महोत्तरी ३ मै हो ।
० तपाइँको राजनीतिक लक्ष्य प्रष्ट पारिदिनुस् न ?
— बाँचुन्जेल मान्छेले आफ्नो स्वाभिमान, मातृभूमि, समाजको उत्थानका लागि काम गर्ने हो । मानव सभ्यताको विकासक्रम हेर्नुभो भने मान्छेले जुन कुरा प्राप्त गरिसकेको हुन्छ, त्यसभन्दा अझ राम्रो प्राप्त गर्न संघर्षशील हुन्छ । त्यसैले मेरो राजनीतिक लक्ष्य के हो भने म जुन समाजमा जन्में, हुर्कें, जुन पीडा मैले भोगेकी छु, मधेशी समाजले जुन पीडा भोगेको छ, त्यो समाजको उत्थानका लागि काम गर्ने हो । तीन–तीन वटा मधेश जनविद्रोहहरु भए, कतिपय राजनीतिक मागहरु पूरा भएका छन्, कतिपय मागहरु पूरा हुन अझ बाँकी छ, यी सबै कुराहरुलाई अगाडि बढाउने मेरो अठोट हो ।
मैले नजिकबाट देशको राजनीति बुझेको छु । किनभने मेरो पिताजी स्वयम् वरिष्ठ राजनीतिज्ञ हुनुहुन्छ । मेरो जीवन कस्तो रह्यो भने यसलाई सौभाग्य भनेपनि हुन्छ, दुर्भाग्य भने पनि हुन्छ कि मेरो आमा, दाई, दिदी, गुरु सबै मेरो पिताजी नै हुनुहुन्छ । उहाँले मेरो लागि सबै भूमिका खेल्नुभयो । त्यसकारणले मै राजनीतिक परिवेश बुझेको छु, यहाँ कसरी विभेद भएको छ, त्यो कुरा पनि मलाई अनुभव छ । त्याग र समर्पणले जीवनलाई अझ उत्कृष्ट स्तरमा पु¥याउँछ भन्ने कुरा मैले आफ्नो पिताजीकै जीवनशैलीबाट सिकेको हुँ ।त्यसकारणले मेरो राजनीतिक लक्ष्य भनेको मधेशका नागरिकको अधिकारको संघर्षलाई अगाडि बढाउने हो । यो समाजमा गरिबी अत्यन्तै बढी छ । समाजलाई आर्थिक समुन्नतितर्फ कसरी लिएर जाने त्यसमा मेरो योगदान रहन्छ । समग्र देशको समृद्धिका लागि समेत मैले काम गर्नुपर्ने हुन्छ ।
म फेरि पनि भन्छु कि म त्याग र सेवामा विश्वास गर्छु । मेरो पेसा पनि चिकित्सा नै हो । म एउटा महिला पनि हुँ । महिला सशक्तिकरणका लागि काम गर्ने जसपा नेपालको एजेण्डा छ । मैले उच्च शिक्षा प्राप्त गरेको छु, फेलोशिपमा नाम निकालेर म पढ्न सफल भएको छु । यी सबै अनुभवबाट मैले खासगरी महोत्तरी ३ का महिलाहरुको जीवनशैली, शिक्षा, स्वास्थ्य, रोजगार र सशक्तिकरणमा एउटा आदर्शको रुपमा काम गर्न सकूँ भनेर नै मेरो राजनीतिक लक्ष्य हो । यसले मेरो पार्टीको महिला सशक्तिकरणको अभियानलाई पनि टेवा पु¥याउँछ । त्यस हिसावले मैले काम गर्ने लक्ष्य लिएको छु ।
० तपाइँले दलान छलफल तथा नागरिकहरुसँग सम्वाद गर्दै आउनुभएको छ । नागरिकका अपेक्षाहरु के–के पाउनुभयो त ?
— म यो क्षेत्रका लागि नयाँ अनुहार होइन । यही क्षेत्रबाट मेरो पिताजी जनप्रतिनिधि भइसक्नुभएकोले म यहाँ बीच–बीचमा आइरहन्थे । मैले यो क्षेत्रमा स्वास्थ्य शिविर, ग्यास सिलिण्डर वितरण लगायत थुप्रै समाज सेवाका कार्यहरु गर्दै आएको हुँ । म यहाँका नागरिकसँग बारम्बार साक्षात्कार भइरहन्छु । यहाँ महिलाको जीवनशैली उकास्नुपर्ने छ । यहाँ विकास निर्माणका कार्यहरु धेरै भएका छन्, जुन कामहरु पूरा भएका छैनन् त्यसलाई अगाडि बढाइदिनुप¥यो भन्ने यहाँका नागरिकका अपेक्षा छन् । अस्पतालहरुलाई पनि हामीले स्तरोन्नति गर्ने अवसर पायौं ।
मेरो पिताजी सांसद हुँदा जुन राम्रा कामहरु भएका छन् । त्यस्तै, विगतमा अभिराम शर्माजी मन्त्री हुनुहुन्थ्यो, अहिले रानी शर्मा तिवारीजी मन्त्री हुनुहुन्छ, उहाँहरुले राम्रो काम गर्नुभएको छ । त्यसकारणले समाजको रुपान्तरण भएको छ । तर पनि कतिपय कामहरु पूरा हुन बाँकी छन्, ती विकासका परियोजनाहरु पूरा हुनुप¥यो भन्ने चाहना छ । यहाँका स्थानीय तहहरुमा प्रायः हाम्रै पार्टीबाट जित्नुभएका छन् । बाँकी रहेका कामहरुलाई निरन्तरता दिन्छु भन्ने मेरो सोच हो ।
० तपाइँ जित्नु नै हुन्छ भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
— यहाँका नागरिकहरुको आशिर्वाद मैले प्राप्त गर्छु भन्ने मलाई विश्वास छ । लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष भनेको जनता नै सर्वेसर्वा हो । म यहाँको छोरी हुँ, म यही जन्मेको हुँ, म कहीं बाहिरबाट आयातित व्यक्ति पनि होइन। म समाजलाई नजिकबाट बुझेको छु । म जहाँ–जहाँ जान्छु, नागरिकहरुको आकर्षण छ । मधेशको महिला प्रत्यक्षमा चुनाव लड्नु अलि कठिन काम नै रहेको छ । यो मेरो लागि पहिलो चुनाव हो र मैले हिम्मत गरें । मेरो हिम्मतलाई बढाइदिन यहीका नागरिकले आशिर्वाद दिइरहनुभएको छ । यहाँका आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुले मलाई हौसला प्रदान गरिरहनुभएको छ ।
मैले के भनेकी छु भने राजनीतिक रुपमा म कति अनुभवी हुँ, त्यो महत्व राख्दैन, म यो ठाउँको छोरी चेली हुँ त्यसकारणले मलाई अवसर दिनुस् । तपाइँहरुकै सेवामा म आफ्नो जीवन समर्पण गर्छु भन्ने बाचा पनि मैले गरेकी छु । यो मेरो बाचा मात्रै होइन, मेरो जीवनको वास्तविकता पनि हो । मेरो श्रीमानले पनि यसमा मलाई धेरै मद्दत गरिरहनुभएको छ । जुन त्याग, निष्ठा र मूल्यमान्यताको राजनीति मेरो पिताजीले गर्नुभयो, त्यसकै निरन्तरता म दिन चाहन्छु । त्यसकारणले मलाई पूर्ण विश्वास छ कि यहाँका नागरिकले आशिर्वाद दिनुहुन्छ ।
० अन्त्यमा, यहाँका मतदाताहरुलाई तपाइँ के अपिल गर्न चाहनुहुन्छ ?
— मेरो हृदयदेखि नै के अनुरोध छ भने सही र गलत छुट्याउन सक्नुपर्छ । म उमेरको हिसावले युवा हुँ, तर सानैदेखि मैले पिताजीको सानिध्यतामा रहेर पीडा, दुःख, त्याग र समर्पण देखेको छु, राजनीतिलाई नजिकबाट नियाल्न अनुभव भएको छ त्यस हिसावले मलाई थाहा छ कि म अवसर पाउँछु र राम्रो पनि गर्छु । म विश्वस्त गराउन चाहन्छु कि नागरिकहरुको स्वाभिमान, सशक्तिकरण र संरक्षण नै मेरो जीवनको मूल उद्देश्य रहनेछ । त्यस हिसावले ढुक्क भएर मलाई एकपटक अवसर दिनुस् । म सेवा गरेर तपाइँहरुको अपेक्षाअनुसार नै खडा उत्रिनेछु भनेर विश्वास दिलाउन चाहन्छु ।
तपाईको प्रतिक्रिया