‘भेन्टिलेटरमा गइसकेको मधेशी निजामती कर्मचारी मञ्चलाई जीवन्तता दिएँ’

अन्तर्वार्ता

विनोद कुमार सिंह, महासचिव, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल एवं संस्थापक अध्यक्ष, नेपाल मधेशी निजामती कर्मचारी मञ्च

० तपाइँ लोसपा नेपालका महासचिव हुनुहुन्छ, तर राष्ट्रियस्तरको ट्रेड युनियन नेपाल मधेशी निजामती कर्मचारी मञ्चमा भाँडभैलो मचाउनुभएको छ नि ?

— म नेपाल मधेशी निजामती कर्मचारी मञ्चको संस्थापक हो । मलगायत थुप्रै साथीहरुले आफ्नो खुन पसिना बगाएर देशभरिका मधेशी कर्मचारीहरुलाई एकजुट बनाउँदै प्रथम मधेश आन्दोलनको दौरान मिशन मधेश तहत यो संस्थाको स्थापना भएको हो । यो स्थापनापश्चात २०६५ साउन १ गते हामीले श्रम विभागमा आधारिकरुपमा दर्ता गरायौं । त्यसपछि २०६५ सालमै हामीले लहानमा पहिलो महाधिवेशन गरायौं, जसको प्रमुख अतिथि उपेन्द्र यादवजी हुनुहुन्थ्यो । दोस्रो महाधिवेशन २०६८ मा वीरगन्जमा गरायौं, जसको प्रमुख अतिथि हृदयेश त्रिपाठी हुनुहुन्थ्यो । यस्तै, २०७३ जेष्ठ महिनामा तेस्रो महाधिवेशन भैरहवामा गरेका थियौं । पहिलो, दोस्रो र तेस्रो महाधिवेशनको निर्विरोध निर्वाचित अध्यक्ष म थिएँ । २०७४ कार्तिक ७ मा मैले सरकारी सेवाबाट राजीनामा गरेर पूर्णरुपमा राजनीतिमा लागेको हुँ । त्यसपछि म राष्ट्रिय जनता पार्टी नेपालको महासचिव भएँ । मञ्चको विधानअनुसार अध्यक्षको पद कुनै कारणवश खाली भएमा उपाध्यक्षमध्येबाट चुनिनेछ । त्यसअनुसार मञ्चमा भएकामध्ये भुवनेश्वर चौधरीलाई बाँकी कार्यकालका लागि अध्यक्षमा चयन गरेको थिएँ र समयमै महाधिवेशन गरेर संगठनलाई चुस्तदुरुस्त बनाउन जिम्मेवारी दिएको थिएँ ।

भुवनेश्वर चौधरीको कार्यकाल २०७७ जेठ सम्म थियो । मैले २०७७ असार मसान्तसम्म नवीकरण गरेर उहाँलाई जिम्मेवारी दिएको थिएँ । समयमै महाधिवेशन गराएको भए नवीकरण फेल पनि हुने थिएन । महाधिवेशन गराउन नसकेपछि स्वतः उहाँको कार्यवाहक अध्यक्ष समाप्त हुन्छ र कार्यसमिति तदर्थमा जान्छ । मलगायत अन्य साथीहरुले पटक–पटक महाधिवेशन गर्न भन्यौं । यसमा हाम्रो खुन पसिना लागेको छ, यसलाई जीवन्त राख्नुपर्छ भन्दाभन्दै पनि उहाँहरुले न त अधिवेशन गराउनुभो, न साथीहरुसँग सम्पर्क राख्नुभो । २०७७ पछि उहाँले दुई–तीन पटक महाधिवेशनको मिति तोक्नुभयो तर दुई–तीन अगाडि महाधिवेशन स्थगित गरिएको छ भनेर भन्नुभयो ।

गत वर्ष पनि उहाँले त्यस्तै गर्नुभयो । त्यसपछि २०८१ साउन ३२ र भदौ १ गते मञ्चको तेस्रो कार्यकालको आठौं पूर्ण बैठक काठमाडौंमा बस्यो । त्यो बैठकको बहुमतको निर्णयले चौथो महाधिवेशन २०८१ चैत ७–९ गते जनकपुरधाममा गर्ने निर्णय ग¥यो । त्यसको संयोजक लालबाबु यादवलाई तोकियो । महाधिवेशनको संयोजक लालबाबु यादवले सम्पूर्ण तयारी पूरा गरिसकेपछि भुवनेश्वर चौधरीले फेरि तीन दिन अगाडि महाधिवेशन मिति सारिएको विज्ञप्ति जारी गर्नुभयो । चौधरीको अध्यक्ष पद २०७७ मै खारेज भइसकेको थियो । उहाँ उपाध्यक्षको हैसियतमा भएपनि महाधिवेशन गर्नुपर्ने थियो ।

गत फागुनको २४ गते जनकपुरधाममा महाधिवेशन तयारी समितिका संयोजकहरुले लालबाबु यादवको अध्यक्षतामा एउटा निर्णय कि भुवनेश्वर चौधरी वन बीउ केन्द्र नेपालगन्जको प्रमुख भएकोले उहाँलाई यो ट्रेड युनियनको पदबाट निलम्बन ग¥यो । किनभने जो व्यक्ति कुनै विभागका प्रमुख हुन्छ त्यो व्यक्ति ट्रेड युनियनको पदाधिकारी रहन सक्दैन । त्यस्तै, महासचिव बेचन कुमार महतो पनि भू–संरक्षण कार्यालय महोत्तरीको प्रमुख हुनुभएको छ । उहाँलाई पनि साथीहरुले निलम्बन ग¥यो ।

विधानतः उपाध्यक्षमध्ये अध्यक्ष चुनिनेछ भन्ने हिसावले ताहिर हुसेनलाई अध्यक्ष चयन गरेर तोकिएकै मिति २०८१ चैत ७–९ गतेमा जनकपुरधाममा महाधिवेशन सम्पन्न भयो । जुन काम चौधरीले ९ वर्षसम्म गर्न सक्नु भएन, त्यो काम ताहिर हुसेनले १५ दिनमा भव्यरुपमा गरेर देखाउनुभयो । त्यो महाधिवेशनमा मञ्चका ९५ प्रतिशत साथीहरुको उपस्थिति थियो । २०७७ मै जिल्ला अधिवेशनहरु भएका थिए । जिल्ला अधिवेशनहरु हुने अनि केन्द्रीय अधिवेशन नहुने कुरो हुँदैन । भुवनेश्वर र बेचन यो टे«ड युनियनको सदस्य नै हुनुहुन्न ।

० तपाइँ पनि त मञ्चको सदस्य हुनुहुन्न, किन हस्तक्षेप गर्नुभयो त ?

— म यो संस्थाको संस्थापक अध्यक्ष पनि हो । लगभग १३ वर्षसम्म जुन संस्थाको म अध्यक्ष भएर बसें, त्यो संस्था भेन्टिलेटरमा गइसकेको थियो । त्यसलाई जीवन्त पार्नुपर्छ भन्ने ध्येय थियो । संयोगवश पार्टीले मलाई निजामती सेक्टर हेर्ने जिम्मा पनि मलाई दिएको छ । त्यसैले मैले महाधिवेशन गराइदिएँ । भेन्टिलेटरमा गइसकेको संस्थालाई जीवन्त पार्न महाधिवेशन गराउनु भाँडभैलो हुन्छ भने तपाइँहरु नै मूल्यांकन गर्नुस् ।

० भुवनेश्वर चौधरीले आगामी बैशाखमा मञ्चको महाधिवेशन हुने जुन घोषणा गर्नुभएको छ, त्यसको हुन्छ त ?

— पहिलो कुरा, भुवनेश्वर चौधरी त ट्रेड युनियनको सदस्य नै होइन । त्यसो भएको हुनाले उहाँले के गर्नुहुन्छ, त्यो उहाँले जान्ने कुरा हो । मञ्चको अधिवेशन भइसक्यो, अब उहाँले केको अधिवेशन गर्नुहुन्छ । मञ्चको अधिवेशन हुँदैन अब । महाधिवेशनबाट निर्वाचित समितिले आगामी साउनदेखि सबै जिल्ला कार्यसमितिको अधिवेशन गराउँछ । त्यसैले, भुवनेश्वर चौधरीले के गर्नु हुन्छ, त्यो उहाँको निजी कुरा हो । मञ्चका ९५ प्रतिशत सदस्य महाधिवेशनमा सहभागी भएका थिए । उहाँले दिग्भ्रमित गर्ने काम मात्रै हो ।

० भनेपछि, भुवनेश्वर चौधरीले गर्ने भनेको महाधिवेशन आधिकारिक होइन ?

— हुँदै होइन । मञ्चको आधिकारिक कार्यसमिति त महाधिवेशनबाट चयन भइसक्यो । ट्रेड युनियनको सदस्य नभएको मान्छे अधिवेशनको मिति तोक्नु हास्यास्पद हो । उहाँले अब कुन अधिवेशन गर्नु हुन्छ, त्यो उहाँलाई नै सोध्नुहोला । यदि उहाँले नेपाल मधेशी निजामती कर्मचारी मञ्चको नाममा अधिवेशन गराउनुभयो भने कारबाही गर्छन् नि । जो मान्छे सदस्य छैन, उसले महाधिवेशन गराउँछु भन्छ भने निर्लज्जताको सीमा नाघिरहनु भएको छ । निजामती सेवा ऐनको दफा ५३ (२ क) मा स्पष्ट लेखिएको छ कि राजपत्रांकित कार्यालय प्रमुख ट्रेड युनियनको सदस्य हुन पाउँदैन । उहाँ विगत चार वर्षदेखि नेपालगन्जमा कार्यालय प्रमुखमा कार्यरत हुनुहुन्छ ।

० उहाँले आगामी बैशाखमा मञ्चको ब्यानरमा महाधिवेशन भयो भने ?

— अहिलेको कार्यसमितिले मञ्चको ब्यानर प्रयोग गरेर कुनै अधिवेशन गर्न दिँदैन । किनभने मञ्चको जिल्ला अधिवेशन अब साउन १ गतेदेखि मात्रै हुन्छ । मञ्चको ब्यानर प्रयोग गर्न पाउँदैन । यदि त्यसो गरियो भने कारबाही हुन्छ ।

० तपाइँले मञ्चमा भाँडभैलो मचाउनुभयो भनेर तपाइँलाई लोसपाले कारबाही गर्नुपर्छ भनी ज्ञापनपत्र बुझाइएको छ नि ?

— त्यो त उहाँले आफ्नो हैसियत बिर्सेर जानुभयो । उहाँ अस्ति–अस्ति आफूलाई जसपा नेपालको सदस्य भइसके भन्दै हिंडिराख्नुभएको थियो । राष्ट्रसेवक कर्मचारी भएर कुनै पार्टीमा जान मिल्दैन । मैले राजीनामा दिएर तत्कालीन अवस्थामा राजपा नेपालको सदस्यता लिएको थिएँ । वर्तमान कर्मचारी, निलम्बित ट्रेड युनियन सदस्य जसपा नेपालको निर्वाचन समिति सदस्य भएँ भनेर उहाँले भन्नुभयो । यो संस्थामा सबै मधेशवादी पार्टीमा आस्था राख्ने सदस्यहरु छन् । यो कुनै एउटा पार्टीको भ्रातृ संगठन पनि होइन, सुभेच्छुक संस्था हो । मलाई कारबाहीका लागि ज्ञापनपत्र बुझाउनुभएको छ । तर, मैले लोसपाको विधानविपरीत कुनै कार्य गरें भने कारबाही हुन्छ ।

० लोसपाले तपाइँसँग यसबारे स्पष्टीकरण सोधेको छ कि छैन ?

— छैन । बाटो हिंड्दै गएको मान्छेले ज्ञापनपत्र बुझाउँदैमा केही हुनेवाला छैन । मलाई अहिलेसम्म स्पष्टीकरण सोधिएको छैन र सोध्ने कुरो पनि छैन । हाम्रो राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको म सम्पर्कमा छु । मैले केही अनियमितता गरेकै छैन । भेन्टिलेटरमा गइसकेको संस्थालाई मैले जीवन्त बनाउन पहल गरें ।

० तपाइँ कुनै पार्टीको पदाधिकारी हुनुहुन्छ, महाधिवेशन गराउने अधिकार कसले दियो ?

— मैले महाधिवेशन गराएको होइन, सहयोग त गर्न पाउनुपर्छ । म लोसपाको महासचिव मात्रै होइन, मेरो पृष्ठभूमि नै ट्रेड युनियन हो । मैले १४ वर्षसम्म नेतृत्व गरेको त्यो संस्था हो । त्यो संस्थामा मेरो खुन पसिना लागेको छ । त्यो संस्था विविधतरुपमा चल्नुपर्छ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको विधानमा स्पष्टरुपमा लेखिएको छ कि ‘महाधिवेशन तीन–तीन वर्षमा हुनेछ । विशेष परिस्थितिमा केन्द्रीय समितिको निर्णयले बढीमा एक वर्षसम्मको म्याद थप गर्न सकिन्छ ।’ २०७३ जेठमा म निर्वाचित अध्यक्ष थिएँ, २०७७ जेठसम्म मात्रै त्यो कार्यसमिति थियो । २०७७ जेठमा मिति सकिएपनि २०८१ को चैतमा महाधिवेशन गर्छु भन्दा पनि फेरि मिति सारियो भन्ने विज्ञप्ति जारी गरियो ।

० महाधिवेशन गर्ने मिति २०७७ जेठसम्म मात्रै थियो भने यत्रो दिनसम्म तपाइँले किन पहल गर्नुभएन त ?

— मैले पटक–पटक पहल गरेको हुँ । तर जहिले पनि भुवनेश्वर चौधरीले महाधिवेशनको मिति तोक्ने र फेरि सार्दै जाने । भनेपछि नेपाल मधेशी निजामती कर्मचारी मञ्चलाई खत्तम पार्ने नियत उहाँको हो । त्यसै पनि उहाँ चार महिनापछि अवकाश भएर घर जाँदै हुनुहुन्छ । सबै मधेशी कर्मचारीहरुको आस्थाको केन्द्रलाई समाप्त पार्न लागिएको थियो । त्यसैले, भाँडभैलो मैले होइन, चौधरीले गर्नुभएको हो । दुई चार जना साथीहरु महाधिवेशनमा सहभागी हुनुभएको थिएन, अहिलेको नेतृत्वले सबैलाई समेट्ने भन्नुभएको छ । संस्था जीवन्त रहनुपर्छ, मार्ने अधिकार कसैलाई छैन । म पार्टीमा भए वा नभए पनि म मञ्चको संस्थापक अध्यक्ष हुँ । तेस्रो महाधिवेशनको म निर्वाचित अध्यक्ष हुँ । त्यस हिसावले चौथो महाधिवेशन नभएसम्म मैले त्यो संस्थामा निगरानी राख्नु मेरो दायित्व थियो । त्यो हिसावले मैले चौथो महाधिवेशनमा सहयोग गरेको हुँ ।

० मञ्चको जिल्ला, विभागीय र प्रदेश अधिवेशनहरु भएको थिएन भनेर त्यसका लागि भुवनेश्वर चौधरीले एक महिना महाधिवेशन सार्नुभएको जनाउनु भएको छ नि ?

— यस्तो छ, उहाँको नेतृत्वमा थप आठ वर्षमा पनि एउटा जिल्ला अधिवेशन हुन सक्दैन । किनभने अधिवेशन गर्ने उहाँको क्षमता नै छैन । मैले अघि भनिसके, २०७७ मा सबै जिल्ला अधिवेशन भइसकेको छ । प्रदेश महाधिवेशनका लागि हामीले महासचिव बेचन महतोलाई तोकेका थियौं । तर उहाँले एउटा बैठक पनि गर्नुभएन, अधिवेशनको त कुरै छोडिदिउँ । त्यसैले जिल्ला अधिवेशनहरु भएका छन् । पटक–पटक जिल्ला अधिवेशन गरेर महाधिवेशन हुँदैन नि । अहिले साथीहरुले प्रदेश समिति पनि गठन गरिसक्नुभएको छ । अहिले मञ्चका सबै साथीहरु सक्रिय भइसकेका छन् ।

० नेपाल मधेशी निजामती कर्मचारी मञ्च लोसपाको भ्रातृ संगठन हो ?

— होइन । लोसपा, जसपा नेपाल, जनमत पार्टी मधेशवादी दलहरुप्रति आस्था राख्ने सम्पूर्ण मधेशीहरुको छाता संगठन हो ।

० अहिले मञ्चको कार्यालय लोसपालाई कुन आधारमा दिनुभएको छ ?

— केही दिनका लागि हामीले बस्न दिएका थियौं । लोसपाको आफ्नै केन्द्रीय कार्यालय नभएसम्म रहन्छ ।

० मञ्चको भवन लोसपाले प्रयोग गरेवापत केही सहयोग आउँछ ?

— लोसपाले मञ्चलाई केही–केही सहयोग गर्दै आएको छ । दैनिक खर्च सञ्चालन गर्न साथीहरुलाई दिने गरेको छ । हामीले भाडामा दिएको होइन ।

० तपाइँले व्यक्तिगत लाभका लागि मञ्चमा हस्तक्षेप गरेर आफूअनुकूल नेतृत्व छान्नुभयो भन्ने आरोप छ त ?

— समीक्षा गर्नुस्, मैले ९ वर्षमा तीन वटा महाधिवेशन गराएँ । मैले छोड्ने बेला उपाध्यक्षलाई जिम्मा दिँदा उसले ९ वर्षमा एउटा पनि जिल्ला अधिवेशन गराउन सक्यो, न महाधिवेशन गराउन सक्यो । कसैमाथि लाञ्छना लगाउन त सजिलो छ नि ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ