‘सर्लाही–४ मा विगतमा जितेका सांसदहरूले धेरै वाचाहरु गरे तर एउटा पनि पूरा गरेनन्’

अन्तर्वार्ता

मनिष मिश्र, महासचिव, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

महन्थ ठाकुर नेतृत्वको तत्कालीन तराई–मधेश लोकतान्त्रिक पार्टीको भ्रातृ संगठन तराई–मधेश विद्यार्थी फ्रन्टबाट राजनीतिक यात्रा सुरु गरेका युवा नेता मनिष मिश्र अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय महासचिव छन् । विद्यार्थी राजनीतिदेखि लोसपाको महासचिव पदमा आइपुग्दासम्म राष्ट्रिय राजनीतिमा उनी चिरपरिचित युवा नेताको रुपमा आफ्नो पहिचान स्थापित गराइसकेका छन् । देश र मधेशको राजनीतिबारे स्पष्ट विचार राख्ने नेता मिश्र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट सिफारिस भएका छन् । पार्टीको साधारण सदस्यदेखि महासचिव पदसम्म आइपुग्दा आफूले आफ्नो क्षेत्रमा धेरै काम गरेको दाबी गरेका छन् । त्यहाँका जनताको सल्लाह र सुझावअनुसार आफूले सर्लाही ४ मा उम्मेद्वारी दिने तयारीमा रहेको उनले दाबी गरेका छन् । सर्लाही ४ को धरातलीय यथार्थ, समस्या र समाधानका उपायबारे लोसपाका महासचिव मिश्रसँग मधेशवाणीका कार्यकारी सम्पादक रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंशः

० आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट तपाइँको नाम एकल उम्मेद्वारको रुपमा सिफारिस भएको छ, कतिको तयार हुनुहुन्छ चुनावी मैदानका लागि ?

— आसन्न चुनावका लागि सर्लाही–४ बाट चुनाव लड्न म पूर्णरुपमा तयारी अवस्थामा छु । हाम्रो पार्टी पनि चुनावकै पक्षमा छ, अहिले मुलुकको आवश्यकता र एक मात्र विकल्प चुनाव नै हो । लोसपा सर्लाहीले निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेद्वारको रुपमा मेरो एकल नाम सिफारिस गरेको हो । मैले यो क्षेत्रमा परिवर्तनका लागि सबैको सल्लाह सुझाव अनुसार नै उम्मेद्वारी दिने तयारीमा छु ।

० तपाइँको चुनावी तयारी कस्तो छ ?

— म प्रत्येक वडा र पालिकाहरुमा पुगेको छु । मेरो नाम सिफारिसबाट जनतामा धेरै नै उत्साह छ । जनताको उत्साह हेरेर म पनि उत्साहित भएको छु । नतिजा त अहिले भन्न मिल्दैन, तथापि राम्रो अवस्थामा छु । त्यो क्षेत्रमा मैले घुम्न जाँदा जुन किसिमको सकारात्मक सुझावहरु पाएँ त्यसले मलाई झन् हौसला प्रदान गरेको छ । त्यसैले म उत्साहित भएर अगाडि बढेको छु ।

० सर्लाही–४ बाट डा.अमरेशकुमार सिंह लगातार जित्दै आउनुभएको छ, उहाँसँग प्रतिस्पर्धा गर्न कतिको चुनौति महसुस गर्दै हुनुहुन्छ ?

— एउटा राम्रो पक्ष के हो भने सर्लाही–४ मा अहिले जति पनि उम्मेद्वारहरुको नाम बाहिर आइरहेका छन्, ती सबै टेष्टेड भइसकेका छन् । यस क्षेत्रबाट विगतमा धेरै जना माननीय र मन्त्रीहरु भइसकेका छन् र त्यहाँको अवस्थामा खासै सुधार भएको छैन । जनताले सबैलाई हेरिसकेका छन् । तिनीहरुले गरेका वाचा र कामहरु कति साँचो र झूठो हो भनेर जनताले हेरिसकेका छन् । म पार्टीको साधारण सदस्यदेखि अहिले महासचिवसम्म आइपुग्दा मैले बोल्नुभन्दा काम गरेर देखाएको छु । यसअघि जितेका सांसदबाट जनता निराश छन्, ठाउँमा उहाँको विरोध भइरहेको छ । अस्ति मन्त्री कुलमान घिसिङ पुल हेर्न जानुभएको थियो, उहाँकै अगाडि जनताले यसअघि जितेका सांसदको विरोध गरे । मान्छेले त्यतिकै विरोध गर्दैनन्, कहीं न कहीं पीडा हुन्छ । त्यहाँका जनतालाई एक किसिमले बधुवा मजदूर जस्तै बनाएर राखिएको छ । भोट लिने र पाँच वर्षसम्म जनतालाई बिर्सिहाल्ने । भर्खर जेन्जी आन्दोलन भयो र जनताभित्र पनि एक किसिमको आक्रोश छ । त्यसले गर्दा मलाई लाग्छ कि यसपालि जनताले परिवर्तन चाहेका छन् । यसपालि हाम्रो क्षेत्रमा कुनै पनि स्टन्ट, जातिवाद, पैसा, दबाब वा प्रभाव चल्नेवाला छैन । जनताको मनमा एक किसिमको विद्रोह उत्पन्न भएको अवस्था छ । किनकि बारम्बार विगतमा जितेका सांसदहरुले यो क्षेत्रमा केही पनि गरेका छैनन् । जनप्रतिनिधि भनेको सरकारको उपस्थिति देखाउने हो तर त्यहाँ सरकारको अनुभूति गर्न पाइएको छैन । मधेशवादी दलकै आन्दोलनले गर्दा अहिले देशमा संघीयता आएको छ र स्थानीय तथा प्रदेश सरकारको अनुभूति गर्न पाएका छन् ।

० तपाइँले आफ्नो क्षेत्रमा के–के गर्नुभएको छ त ?

— मैले आफ्नो क्षेत्रमा के–के गरें भनेर मैले भन्नुभन्दा पनि ्रत्यहाँका जनतालाई थाहा छ । मेरो क्षेत्रमा सात वटा पालिका छन् । मैले त्यहाँका जनसमुदायसँग जोडिएर काम गर्दै आएको छु, सबैले भन्छन् कि अब परिवर्तन हुनुपर्छ, नयाँ अनुहार चाहिन्छ । सबैले चुनाव जिते, विभिन्न बाचा गरे तर केही पनि पूरा गर्न सकेका छैनन् । यस क्षेत्रका जनता अहिले निरीहताको अवस्थामा छन् । त्यो क्षेत्रमा बिजुलीको समस्या थियो । त्यो बेला उमाकान्त झा ऊर्जामन्त्री र दीपेन्द्र द्विवेदी विद्यूतको हाकिम हुनुहुन्थ्यो । मैले कैयौं पटक प्रयास गरेर ४० करोडभन्दा बढीको लागतमा गढैयामा सबस्टेशन स्थापना गर्न सफल भयौं । जसले गर्दा त्यो क्षेत्रमा आज कमसेकम बिजुलीको अवस्था राम्रो भएको छ । पहिला लालबन्दीबाट बिजुली आउँथ्यो र कुनै ठाउँमा पोल ढल्थ्यो भने पूरै बती बन्द हुन्थ्यो । त्यस्तै, मेरै पालिकामा प्रदेश सरकारको सहयोगमा खानेपानी लगेको छु । कैयौं ठाउँमा सडक निर्माणका लागि बजेटहरु लगेर काम भइरहेको अवस्था छ । मेरो गाउँ जहिले पनि वर्षायाममा डुबानको अवस्था थियो, त्यसलाई मैले विभिन्न निकायहरुसँग पहल गरेर व्यवस्थापन गरेको छु । मेरो क्षमताले भ्याएसम्म मैले धेरै काम गरेको छु ।

० यदि तपाइँ सर्लाही–४ मा जित्नुभयो भने गर्नैपर्ने कामहरु के–के छन् ?

— हाम्रो क्षेत्रमा सबभन्दा पहिले सुधार गर्नुपर्ने शिक्षा क्षेत्र हो । शिक्षा राम्रो भयो भने त्यसले धेरै कुरा निर्धारण गर्नेगर्छ । यहाँको शिक्षाको स्तर राम्रो छैन । चिट चोरी गरेर बच्चाहरु पास त हुन्छन् तर उसले लोकसेवामा प्रतिस्पर्धा गर्न सक्दैनन् । विभिन्न विद्यालयहरुमा अहिले पनि शिक्षकको अभाव छ । विद्यालयहरुमा शिक्षक भर्ना हुँदा प्रतिस्पर्धामार्फत योग्यलाई प्राथमिकता दिनुपर्छ । विद्यालयहरुमा भौतिक पूर्वाधारहरु लगभग ठिकठाक अवस्थामा छन्, केही प्राविधिक कुराहरु मिलाउनुपर्ने छ ।

अर्को कुरा समृद्धिको छ । जबसम्म हाम्रो बचत हुँदैन तबसम्म समृद्धि हुँदैन । हाम्रो बचतभन्दा बढी ऋण भइसकेको हुन्छ । यसको कारण के हो भने सबभन्दा बढी खर्च हाम्रो स्वास्थ्यमा भइरहेको हुन्छ । स्वास्थ्यमा केही समस्या भयो भने हाम्रोतिरका प्रायः मान्छेहरु भारत जानुपर्ने बाध्यता छ । अहिले हाम्रो यहाँ तीन तहको सरकार छ । हामीले राम्रोसँग प्रयास गर्न सक्यौं भने आधारभूत उपचारका लागि राम्रो प्रबन्ध गर्न सक्छौं । प्राथमिक उपचारका लागि सक्दो निःशुल्क उपचार हुनुपर्छ, नभए न्यूनतम् खर्चमा होस् । यी कुराहरु भयो भने स्वास्थ्यमा जुन वर्षेनी लाखौं खर्चिने अवस्था हुन्छ, त्यो ह्वात्तै घट्छ । जसले गर्दा मानिसको बचत हुन्छ र सँगै समृद्धि पनि आउँछ । त्यसैले सकिन्छ भने स्वास्थ्यलाई निःशुल्क गरौं, नभए न्यूनतम् शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराइनुपर्छ । सरकारले अहिले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको छ, त्यसको पहुँच जनतासम्म भयो कि भएन भन्ने निगरानी पनि हुनुपर्छ ।

त्यसैगरी, त्यो क्षेत्रमा आमूल परिवर्तन गर्ने सबभन्दा ठूलो कुरा कृषि हो । अहिले युवाहरु कृषिप्रति आकर्षित छैनन् । किनभने कृषिमा उत्पादन भइहाल्ने भने पनि त्यसको बजार व्यवस्थापन छैन । उखु खेतीमा अन्यभन्दा अलि बढी पैसा आउँछ । त्यसमा पनि किसानले उखु दिने तर समयमा मिल मालिकहरुले पैसा नदिने इतिहास छँदैछ । उखु खेतीमाथि मात्रै निर्भर नभएर अरु पनि बालीहरुको खोजी गर्ने, जुन बालीबाट बढीभन्दा बढी उत्पादन गर्न सकियोस् र आम्दानी गर्न सकियोस् । खेती गर्नका लागि हामीसँग युवा जनशक्ति चाहिन्छ । तर, हाम्रा युवाहरु विदेश पलायन भइरहेको अवस्था छ । युवाशक्तिलाई कृषिमा आकर्षण गर्न सकियो भने विदेशभन्दा बढी आफ्नै ठाउँमा राम्रो आम्दानी गर्न सक्छन् ।

शिक्षा, स्वास्थ्य र कृषिमा सुधार भइसकेपछि हाम्रो आम्दानीको स्रोत बढाउने उपाय भनेको पर्यटन क्षेत्र हो । बाहिरका पर्यटकलाई आफ्नो क्षेत्रमा कसरी तान्ने ? अहिले हाम्रो क्षेत्रमा आफ्नो नातागोता बाहेक कोही पनि आउँदैन । किनकि यहाँ त्यस्तै केही पर्यटकीय वा रमणीय ठाउँ छैन । जबसम्म बाहिरका मान्छे तपाइँको क्षेत्रमा आउँदैन, तबसम्म पर्यटकीय विकास सम्भव छैन ।

समग्रमा भन्नुपर्दा हाम्रो क्षेत्रमा योजनाबद्धरुपमा धेरै कामहरु गर्नुपर्ने अवस्था छ । मैले छोटकरीमा केही उदाहरणहरु दिएँ तर थुप्रै कामहरु गर्न सकिन्छ । त्यसका लागि मसँग योजनाहरु छन्, भिजन छन् र दृढता एवं इच्छाशक्ति पनि छ । मलाई मौका मिल्यो भने सबै कुरा पूरा गर्ने प्रयास गर्छृ ।

० तपाइँले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनमा धेरै कुरा गर्न सकिन्छ भन्नुभयो, तर सांसदसँग बजेट त हुँदैन । कसरी गर्नुहुन्छ ?

— सांसदले विकास गर्ने होइन्, सांसद भनेको सरकार र जनताबीचको पुल हुन्छ । आफ्नो क्षेत्रका समस्याहरु वा गर्नुपर्ने कामहरुबारे सदन र सरकारसँग पु¥याउने हो । ती कुरा पूरा गराउनका लागि पहल गर्ने हो । हाम्रो क्षेत्रका समस्याहरु संसदमा आवाज उठाएर पूरा विश्वसामु पु¥याउने ठूलो माध्यम हुन्छ सांसद । सांसदले बजेट चलाउनै पर्दैन, त्यसका लागि तीन तहको सरकारहरु छन् । सांसदको काम हो नीति, नियम, ऐन, कानून बनाउने हो । एउटा नीति नियमले लाखौं जनतालाई समृद्ध बनाउनेतिर डो¥याउँछ । २०६४–६५ सालमा हाम्रै पाटीबाट शिक्षामन्त्री हुनुहुन्थ्यो, त्यो बेला प्रत्येक निर्वाचन क्षेत्रमा एउटा–एउटा साइन्स कलेट खोल्ने नीति ल्याइयो । त्यो नीतिले गर्दा साइन्स पढ्नका लागि बच्चाहरु बाहिर जाने अवस्था अन्त्य भयो । भनेपछि सांसदले कृषि, स्वास्थ्य, शिक्षा वा सिंचाइसम्बन्धी राम्रो नीति बनाइदियो भने धेरै हदसम्म समस्याहरु समाधान हुन्छन् । एउटा सांसदले चाह्यो भने आफ्नो क्षेत्रलाई उदाहरणीय बनाउन सक्छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ