० राष्ट्रिय मुक्ति क्रान्ति भनेर एक वर्षसम्म देशव्यापी अभियान चलाउनुभयो । तर, त्यो अभियानलाई पार्टीमा किन रुपानतरण गर्नुभयो ?
— राष्ट्रिय मुक्ति क्रान्ति अभियान अहिले पनि छ । तर हाम्रो उद्देश्य पूरा गर्नका लागि कुनै राजनीतिक प्लेटफर्मको आवश्यकता महसुस भयो । त्यसैले राष्ट्रिय मुक्ति पार्टी गठन भयो । त्यो तहत नै दल निर्माण गरिएको हो । अभियान तहत अब संघर्ष हुन्छ र त्यसपछिको यात्रा विद्रोहमा जान्छ । राष्ट्रिय मुक्ति पार्टीको तीन वटा उद्देश्य होः अभियान, संघर्ष र विद्रोह । हामीले अभियान अगाडि बढायौं । त्यो अभियान पार्टीमा परिणत भयो । सोहीअनुरुप हाम्रो अध्यक्ष राजेन्द्र महतो मुक्कुमलुङ यपदयात्रामा जानुभएको छ । त्यो एउटा अभियान नै हो । त्यो अभियान अब संघर्षमा परिणत हुन्छ ।
० कस्तो किसिमको संघर्ष हुन्छ अब ?
— संघर्ष भन्नाले जुन अधिकार, पहिचानका विगतमा विभिन्न समुदायले आन्दोलन गरे, त्यो सफल हुन सकेन । यो देशमा कहिल्यै नभएको आन्दोलन मधेशमा भयो तर त्यो आन्दोलनलाई राज्यले असफल बनाइदिए । संविधान बनाउने बेलामा हामीले सबैको लागि संविधान बनाइदेऊ भन्यौं तर, कांग्रेस, एमाले र माओवादीले मानेनन् । उनीहरुले एकलौटी रुपमा नश्लीय संविधान बनाए । त्यो बेला हाम्रो मधेशी मोर्चाले विरोध गर्दागर्दै पनि हामी सकेनौं । हामीमाथि गोली चलाएर तीन ठूला दलले संविधान बनाए । त्यस्तै, विगतमा आदिवासी जनजाति, थारु लगायतले पनि छुट्टाछुट्टै आन्दोलन गरे त्यो पनि असफल भयो । त्यसैले अब यो देशका सम्पूर्ण उत्पीडित, उपेक्षित र अधिकार पहिचानबाट वञ्चितहरु मिलेर अन्तिम संघर्ष गर्न आवश्यक छ ।
० तपाइँहरु सुरुदेखि मधेशकेन्द्रित राजनीति गर्दै आउनुभयो, अहिले आएर राष्ट्रिय मुक्ति क्रान्ति भनेर अगाडि बढ्नुभएको छ । मूल उद्देश्य के हो ?
— जुन बेला हामी गजेन्द्रबाबुको नेतृत्वमा नेपाल सद्भावना पार्टीमा आबद्ध थियौं, त्यो बेला गजेन्द्रबाबु भन्नुहुन्थ्यो कि यो देशमा जति पनि शोषित, पीडित र विभेदमा पारिएका जातजाति समुदायका लागि नेपाल सद्भावना पार्टी स्थापना भएको छ । त्यो बेला पनि धेरै प्रयास भए, तर सफल भएन । त्यसैको रुप यो राष्ट्रिय मुक्ति क्रान्ति हो । यो अपूरो संविधानको विरुद्धमा मधेशमा ६ महिनासम्म आन्दोलन भयो तर सफल भएन । त्यो असफलतालाई सफल बनाउनका लागि राजेन्द्र महतो नयाँ सूत्र बनाउने कार्यमा लाग्नुभयो । असफलतालाई सफलतामा कसरी बदल्ने उपायको खोजीमा लाग्नुभयो । मधेशमा हामीले ६ महिना आन्दोलन ग¥यौं, थारुहरुले पनि आन्दोलन गरे, आदिवासी जनजातिले आन्दोलन गरे, नेवारहरुले पनि आन्दोलन गरे तर कसैको आन्दोलन सफल भएन । ती असफलताहरुलाई सफलतामा परिणत गर्नका असफल भएका सबैलाई जोड्नुप¥यो । अब सबैलाई एकै ठाउँमा ल्याउनुप¥यो । अनि मात्रै यो देशको मुक्ति हुन्छ, नत्र यी नश्लवादीहरुबाट मुक्ति पाउनेवाला छैन । यो नश्लीय राज्यसत्तासँग अब हामी एकजुट भएर अधिकार र पहिचानका लागि लड्छौं । त्यसैले यो पार्टीको उद्देश्य भनेको राष्ट्रिय मुक्ति नै हो ।
० सम्पूर्ण उपेक्षित र उत्पीडितलाई तपाइँहरुले समेट्न सक्नुहुन्छ ?
— निश्चितरुपमा यो देशका सम्पूर्ण अधिकार र पहिचानवादीहरुलाई हामी समेटेर अन्तिम क्रान्ति गर्छौं । अहिले पनि हेर्न सक्नुहुन्छ कि हाम्रो पार्टीका अध्यक्ष मुक्कुम्लुङमा पदयात्रा गर्दै हुनुहुन्छ । त्यहाँका आदिवासी जनजातिहरु पनि त पीडित छन् । अहिलेसम्म कुनै पार्टीका शीर्ष नेता त्यहाँ पुगेका छैनन्, हाम्रो अध्यक्ष राजेन्द्र महतोबाहेक । देशका हरेक आन्दोलनमा उहाँ आफै उपस्थिति जनाएर ती सबै आन्दोलनहरुमा ऐक्यबद्धता जनाउनुभएको छ । अब कोही पराई छैन, चाहे त्यो हिमाल वा पहाडका उत्पीडित होस् । हामी सबैसँग हातेमालो गरेर राष्ट्रिय मुक्ति क्रान्तिलाई सफल बनाउँछौं । शोषण उत्पीडनमा परेका समुदायका हकअधिकारका लागि राष्ट्रिय मुक्ति पार्टी अगाडि बढ्छ ।
० मधेशमा त्यत्रो लामो आन्दोलन चल्यो र त्यो आन्दोलनका सहकर्मीहरुलाई त मिलाउन सक्नुभएको छैन नि ?
— अहिले पनि हाम्रो आठ राजनीतिक दलको मोर्चाबन्दी बनेको छ । आवश्यकता प¥यो भने हामी सबै एक ठाउँमा आउन सक्छौं । विगतमा पनि हेर्नुभएको होला, हामीले ६ राजनीतिक दललाई मिलाएर राजपा बनाएका थियौं । त्यसपछि उपेन्द्र यादवको समाजवादी पार्टीसँग मिलेर जसपा निर्माण गरेका थियौं । प्राविधिक कारणले त्यो पार्टी एकजुट रहन सकेन । त्यस्तो आवश्यकता प¥यो भने सबै पार्टी र नेताहरु एक ठाउँमा आउँछन् र त्यो प्रयासमा हामी अहिले पनि छौं । अहिले जुन अवस्था सिर्जना भएको छ, त्यसका लागि आठ दलबीच मोर्चाबन्दी त भएको छ नि ।
० अहिले मोर्चाबन्दीको आवश्यकता किन प¥यो ?
— यो राज्यले राजनीतिक दलहरुलाई समाप्त पार्ने रणनीति बनाएको छ । कांग्रेस एमालेको सरकारले अहिले ६ वटा अध्यादेशहरु ल्याएको छ । त्यसको सर्वत्र आलोचना भइरहेका छन् । सुकुम्वासी समस्या समाधान गरेर यसअघि नै राज्यले २६ वटा कमिटी बनाइसकेको छ, तैपनि समस्या समाधान भएन । अहिले भूमिसम्बन्धी अध्यादेश ल्याएर सार्वजनिक जग्गा, खोला, वन, निकुञ्ज, गौचर, हाटघाट, सडक छेउको जग्गा र बुट्यान क्षेत्रलाई अतिक्रमण गर्नेहरुलाई प्रोत्साहन गर्न खोजेको छ । हाम्रो पार्टीले प्रेस विज्ञप्ति नै जारी गरेर विरोध गरेको छ । भूमिसम्बन्धी अध्यादेशबारे हामीले विज्ञहरुसँग छलफल गरेर त्यो विज्ञप्ति निकालेका छौं । त्यो अध्यादेशको मनसाय गलत हो, मधेशलाई कमजोर गर्ने षड्यन्त्र हो । त्यस्तै, थ्रेसहोल्ड बनाउने कुरा गरिरहेका छन् । दुनियाँ नभएको कार्य यहाँ भएको छ । संसदको पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको हो । दुई प्रमुख दल मिलेर सरकार बनाउनुको उद्देश्य के हो ? कांग्रेस र एमालेको मनसाय हो कि यो देशमा दुई दलीय व्यवस्था होस् । यस्तै, संविधान संशोधन लगायतका विषयहरुलाई मध्यनजर गर्दै आठ दलीय मोर्चाबन्दी भएको हो । यो मोर्चाबन्दी आठ दलमा मात्रै सीमित रहँदैन, यो देशमा जति पनि अधिकार र पहिचानवादी शक्तिहरु छन्, ती सबैलाई हामी जोड्छौं र एउटा बृहत् मोर्चा बनाउँछौं । त्यो उद्देश्यका लागि हामी काम गरिरहेका छौं । बृहत् मोर्चा बनाएर हामी राज्यसँग लड्छौं । सबै अधिकार र पहिचानवादी एकजुट भएर लड्छौं र अधिकार–पहिचान स्थापित गराउँछौं ।
० आठ दलीय मोर्चामा रहेकामध्ये कतिपय दल सरकारमा सहभागी छन्, कसैले समर्थन गरेका छन् र कसैले प्रदेश सरकार चलाइरहेका छन् । तपाइँहरुबीच मोर्चाबन्दी सफल होला ?
— हामी सबैको मुद्दा त एउटै छ नि । अहिले विभिन्न कारणले कुनै पार्टी सरकारमा छ, कसैले समर्थन गरेका छन् । यो मोर्चामा संसद र सरकारभन्दा बाहिरका पनि दल छन्, कुनै दल संसदमा छ तर सरकारमा छैन र केही दल सरकारमा पनि छन् । तर हाम्रो विचार र मुद्दा त मिलिरहेको छ । जब मोर्चा परिपक्व हुँदै जान्छ तब उहाँहरु स्वयम् सोच्नुहुन्छ । जनताले त उहाँहरुसँग प्रश्न गर्छन् कि जब सरकारमा बसेर तपाइँहरु काम गराउन सक्नुहुन्न भने सडकमा आइदिनुप¥यो नि । उहाँहरु स्वयम् सोच्नुहुन्छ र समय आएपछि सबै एकजुट भएर अगाडि बढ्छन् ।
० खासगरी, चुनावका बेला वा आन्दोलन गर्नुपर्ने बेला मोर्चाबन्दी गरिन्छ । तर, अहिले त चुनाव पनि छैन । थ्रेसहोल्ड बढाउने कुराले तपाइँहरुलाई एक ठाउँमा आउन बाध्य पारिएको हो ?
— मोर्चाबन्दी र संघर्ष अधिकारका लागि हुन्छ । जुन दिनदेखि मधेशको आन्दोलन असफल भयो, त्यो दिनदेखि नै हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र महतोले त्यसको कारण खोज्न थाल्नुभयो । उहाँले अनुसन्धान गर्दै जाँदा एउटा निष्कर्षमा पुग्नुभयो कि यो देशका सम्पूर्ण शोषित, पीडितहरु एकजुट भएर संघर्ष नगरेसम्म कुनै पनि आन्दोलन सफल हुनेवाला छैन । त्यसकै परिणाम हो यो राष्ट्रिय मुक्ति पार्टी । हाम्रो पार्टीको केन्द्रीय समितिलाई हेर्नुभयो भने सबै जातजाति, समुदाय, वर्गको प्रतिनिधित्व छ । दिनप्रति दिन पहिचानवादीहरु यो पार्टीमा आबद्ध भइरहेका छन् । पार्टीमा आबद्ध नभएपनि यो मोर्चालाई हामी बृहत बनाउँछौं । विभिन्न पहिचान र अधिकारवादी संघ, संस्था एवं दलहरुलाई जोडेर बृहत मोर्चा निर्माण गरेर राज्यसँग हाम्रो अधिकार र पहिचान स्थापित गराउँछौं ।
० भनेपछि २०८४ को चुनावमा पनि यो मोर्चाबन्दी रहन्छ ?
— चुनाव त २०८४ मा छ तर अहिले मोर्चाबन्दी किन भयो भन्ने कुरा सोच्नुपर्छ । चुनावका लागि मात्रै गठबन्धन वा मोर्चाबन्दी हुने, अधिकार र पहिचानका लागि गठबन्धन नगर्ने ? अहिले चुनावको अहिले धेरै समय बाँकी छ । हामी चाहन्छौं कि २०८४ को चुनाव अगावै सबैलाई एकजुट गरेर हाम्रो विद्रोहलाई सफल बनाउँछौं ।
० तपाइँहरुको राष्ट्रिय मुक्ति क्रान्ति सफल हुन्छ ?
— नेपालमा आजसम्म जति पनि परिवर्तन भएका छन्, सडकबाट नै भएका छन् । सडक संघर्षबाट सबै छिनोफानो हुन्छ । हाम्रो पार्टी अहिले सदनमा त छैन नि । सडकको संघर्षबाट हामी यो राज्यलाई बाध्य बनाउँछौं ।
० राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगबाट प्रमाणपत्र पाइसक्यो, संगठन विस्तार कसरी हुँदैछ ?
— आगामी फागुन १२ गतेदेखि राष्ट्रिय मुक्ति पार्टी नेपालको प्रथम केन्द्रीय समिति बैठक हुँदैछ । त्यो बैठकमा संगठन निर्माणदेखि पदाधिकारी चयनबारे छलफल हुनेछ । त्यो पहिलो केन्द्रीय समितिको बैठकबाट निर्णय भएर आगामी कार्यदिशा तय हुन्छ ।
० तपाइँ मधेश प्रदेशमा मन्त्री भएर पनि काम गरिसक्नुभयो, अहिले प्रदेश सरकारको कामकारबाहीलाई कसरी हेरिरहनुभएको छ ?
— प्रदेश सरकारको कामकारबाही बारे अहिले नै टिप्पणी गर्ने बेला भएको छैन । समय आएपछि भनौंला । अहिले हामी हेरिरहेका छौं । प्रथम निर्वाचनमा राजपा र संघीय समाजवादी पार्टीबीच गठबन्धन भएर चुनाव लड्यौं र संयुक्तरुपमा सरकार बनायौं । त्यतिबेला राजपाबाट म पनि मन्त्री भएको थिएँ । पछि गएर जसपाको निर्माण भयो । सबैको लेखाजोखा जनताले राखेका छन् । हामीले भन्छौं कि संघीय सरकार चलाउनेहरुले काण्डैकाण्ड मचाए, यो सत्य हो । तर प्रदेशमा पनि काण्डैकाण्ड भएका छन् । त्यो काण्ड गर्ने र गराउने को हुन् ? त्यसको पनि पहिचान समय आएपछि हुन्छ । अहिले नयाँ पार्टीले मधेश सरकारको नेतृत्व गर्दैछ । त्यो पार्टीले पनि सुरुमा कुन नारा लगाएको थियो, त्यो नारा कहाँ गयो ? त्यो पार्टीले किसानका लागि आन्दोलन ग¥यो, त्यो नारा कहाँ गयो ? अहिले प्रदेश सरकारको नेतृत्व नै उहाँहरुले गरिरहनुभएको छ । उहाँहरुको समय पूरा भएपछि त्यसको मूल्यांकन पनि जनताले गर्छन् । अहिले हामी एकजुटताका साथ राज्यसँग लडेर आफ्नो पहिचान र अधिकार लिऔं ।
तपाईको प्रतिक्रिया