० तपाइँहरुले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गर्नुभयो । खासगरी मोर्चाबन्दी वा गठबन्धन चुनावमा जाँदा वा आन्दोलन गर्दा हुने गरेको थियो । तर, अहिले चुनाव पनि आएको छ, तपाइँहरुले आन्दोलन गर्ने अवस्था पनि छैन । यो मोर्चाबन्दी केको लागि हो ?
— अहिले हामीले सुरुवात गरेको मात्रै हो । सबैको प्रयासले गर्दा संघीय लोकतान्त्रिक मोर्चा बनाउन सफल भएका छौं । जब हामीले मधेशको राजनीति सुरु गरेका थियौं, त्यसबेला मेचिदेखि महाकालीसम्म मधेश एक थियो । भावनात्मकरुपले मात्रै होइन, भौगोलिकरुपले पनि मधेश जोडिएको थियो । आज त्यो अवस्था छैन । विशेषगरी, यो संविधान जारी भइसकेपछि मधेश टुक्रा–टुक्रामा विभाजित भयो । मधेशको भूगोल मात्र होइन, भावना पनि खण्डित भएको छ । पहिले कञ्चनपुरदेखि झापासम्मका आममधेशीहरु एकताको भावना थियो, गर्व गर्थे कि हामी मधेशी हौं । यसको कारण के थियो भने राज्यले गर्ने भेदभाव सबैसँग सम्मान थियो, सबै एउटै भेदभावका शिकार थिए । अहिले मधेशको भूगोल र समाज पनि विभाजित छ । समाज जात–जातमा विभाजित भयो । हामीले हिजो कल्पना गरेर देखेको अभ्यास गरेको तराई–मधेश अहिले छैन । त्यसकारणले सामान्य चुनाव–सुनावका लागि बनाइएको मोर्चा होइन । संघीय लोकतान्त्रिक मोर्चाको पहिलो चुनौती समग्र तराई–मधेशमा बस्ने सबैलाई एक सूत्रमा बाँध्ने कसरी । अहिले मधेश भूगोल र सामाजिकरुपले बाँडिएको छ । यी दुईटै चुनौती पार गर्न धेरै ठूलो त्याग, कठिनाई र संघर्षको आवश्यकता पर्छ । यसमा संघीय लोकतान्त्रिक मोर्चा सफल हुनैपर्छ । अन्यथा, दुईचार थान सांसद सदस्य, प्रदेशको सरकारमा मात्रै सीमित रह्यो भने अहिले पनि त छँदैछ । यदि त्यतिमा मात्रै सीमित रह्यो भने यो मोर्चाको कुनै खासै औचित्य देखा पर्दैन । त्यसकारणले यो चुनौतीपूर्ण काम छ । अहिले वर्तमान कथित मधेश प्रदेशभन्दा अलग क्षेत्रबाट प्रतिनिधत्व गर्ने पात्र हुँ । म लुम्बिनी प्रदेशबाट हुँ । हिजो लुम्बिनी मधेशको अभिभाज्य अंग थियो, अहिले विखण्डित छ । भावनात्मकरुपले पनि कसरी एक ठाउँमा ल्याउने यो मोर्चाको सबभन्दा ठूलो चुनौती हो र मोर्चामा रहेका अध्यक्षहरुका लागि अग्निपरीक्षा हो । यो अग्निपरीक्षामा उत्रियो भने मोर्चा सफल हुन्छ ।
० संघीय संसदका दुई प्रमुख पार्टीको सरकारले संविधान संशोधनमार्फत् थ्रेसहोल्ड बनाउने कुरा ल्याउँदा तपाइँहरु त्यसबाट भयभीत भएर मोर्चा बनाउनुभयो भन्ने सन्देश गएको छ नि ?
— यो गलत सोचाइ हो । किनभने हामीले विगत डेढ वर्षदेखि यसका लागि प्रयास गरिरहेका थियौं । त्यसबेला हाम्रै पार्टीले निर्णय गरेको थियो केही विषयमा हामी सहकार्य गर्नेछौं भनेर लुज एलायन्स बनाउने । जसमा तराई–मधेश लोकतान्त्रिक पार्टी र हाम्रो जनता प्रगतिशील पार्टीबीच पहिलो एलायन्स ग¥यौं । त्यसको केही समयपछि जनमत पार्टीसँग पनि सहमति भयो । त्यसबेला थ्रेसहोल्ड वा अहिलेको कांग्रेस–एमाले गठबन्धनको सरकार थिएन । त्यसबेला यिनीहरुले आफ्नो एजेण्डा सारेकै थिएनन् । मैले भन्दै आएको छु कि तराई–मधेश विखण्डित छ, यसलाई कसरी एकाकार गराउने, यी चुनौती सामना गर्नका लागि नै हामीले सुरुवात गरेका हौं ।
वर्तमान राजनीतिक अवस्थामा यदि २०८४ को चुनाव भयो भने धेरै तात्विक असर पर्दैन । पात्रहरु बदलिन्छन्, पार्टीको संख्या तल–माथि होला तर जति क्रियाकलापहरु भइरहेका छन्, ती करिब–करिब उस्तै रहन्छन् । अर्थात् २०८४ को चुनावले पनि समाधान दिँदैन । यो भूमरिमा अहिले देश फँसेको अवस्था छ । यथास्थितिलाई नै अगाडि बढाउँदै जाने हो भने पनि समाधान दिनेवाला छैन र अर्को समाधानको बाटो अहिले आइसकेको छैन । विकल्प दिने भनेर केही शक्ति र पार्टीहरु आइरहेका छन्, तिनले प्रतिक्रियामा आफ्नो प्रतिक्रिया मात्र दिइरहेका छन् । अहिले जनतामा जुन असन्तुष्टि छन्, त्यसको लाभ उठाएर तिनीहरु आफ्नो राजनीतिक खेतिपाती गरिरहेका छन् । नेपालको अहिले जटिल अर्थतन्त्रलाई समाधान गर्ने उहाँहरुसँग के बाटो छ ? सामाजिक समस्याहरुलाई समाधान गर्ने के बाटो छ ? उहाँहरु कस्तो शासकीय स्वरुप खोज्नुभएको छ ? अर्थात् संविधानमा उहाँहरु के–के परिवर्तन खोज्नुभएको छ ? यी कुराहरु नप्रष्ट्याएर भावनामा बगेर विकल्प दिन्छु भनेर जसरी लाग्नुभएको छ, त्यो झन् कमजोर, अर्थहीन र विवेकहीन बाटोमा देशलाई लग्दैछ । त्यसकारणले समग्रमा नेपाल अहिले जटिल मोडमा पुगेको छ । यसको कसैले विकल्प खोजेका छन् भने उसले वैकल्पिक प्रस्ताव पनि दिनुप¥यो ।
० समग्र तराई–मधेशको भूगोल र भावना खण्डित भएको छ भन्नुभयो, यसलाई कसरी जोड्नुहुन्छ ?
— अहिले मोर्चा बनेको छ, मोर्चाले ती कामहरुलाई अगाडि बढाउँछ । मोर्चाभित्र गहिराईपूर्वक छलफल हुन्छ । यो सही हो कि मोर्चाका अधिकांश नेताहरु मधेश प्रदेशकै हुनुहुन्छ र उहाँहरुबीच पनि एक किसिमको प्रतिस्पर्धा मधेश प्रदेशभित्रै छ । उहाँहरु पनि यसबाट अलि माथि उठ्नुपर्ला । हामीले मधेशको राजनीति सुरु गर्दा विशेषगरी गजेन्द्रबाबुको नेतृत्वमा राजनीति भो, त्यसबेला त भावनात्मकरुपमा मधेश एक थियो । कसरी विखण्डित भो, के कारणले विखण्डित भो, अब यसको बाटो के हो ? त्यसकारणले ये ठूलो चुनौती हो । यो चुनौतीलाई मोर्चाले पार गर्नैपर्छ र त्यतातर्फ सोच्नुपर्छ ।
० विगतमा मधेशकेन्द्रित दलहरुबीच मोर्चाबन्दी, गठबन्धन वा एकता हुँदा जनतामा एक किसिमे उत्साह देखिन्थ्यो, तर यो तपाइँहरुको मोर्चाबन्दीले जनतामा खासै उत्साह जगाएको देखिएन नि ?
— यसको मैले मापन त गरेको छैन । तर, मधेशमा एउटा चरण थियो मोर्चाबन्दी, त्यसपछि दोस्रो चरण आयो एकीकरण र त्यसपछि चरण आयो विखण्डिकरण र विभाजनको । यो प्रक्रिया लामो अवधि चल्यो । एउटै पार्टीबाट विभाजित हुँदाहुँदै कयौं पार्टी बने । अहिले हामीले कम्तीमा लूज एलायन्सबाट सुरु गरेर मोर्चासम्म एक कदम अगाडि बढेका हौं । एकीकरण अवस्था अहिले मैले देखेको छैन । नेपालको जनतामा एउटा के भाष्य तयार भएको छ भने नेताहरु भ्रष्ट र बेइमान छन्, पार्टीहरु काम लाग्ने भएन । त्यो भाष्य मधेशमा पनि छ । त्यो भाष्यलाई चिर्दै फेरि कसरी विश्वासको वातावरण बनाउने मोर्चाका लागि तेस्रो महत्वपूर्ण चुनौती हो ।
० यो मोर्चामा अन्य दलहरु जस्तै, अशोक राईको जसपा, प्रभु साहको आजपा लगायतका दलहरु किन अटाउन सकेनन् ?
— प्रभु साहजीले इमान्दारीपूर्वक भन्नुभयो कि लूज एलायन्समा हामी सरिक हुनसक्ने अवस्था छैन । सुरुदेखि आठ दलको बैठकहरुमा उहाँको पार्टी भाग लिन सकेन । अशोक राईजीको पार्टीले आठ दलको बैठकमा भाग लियो, कार्यदलसम्म पनि भूमिका थियो । उहाँहरुको भनाई थियो कि लूज एलायन्ससम्म हामी रहन्छौं, मोर्चा निर्माणबारे पार्टीभित्र व्यापक छलफल गर्नुपर्छ । मोर्चामै जाने विषयमा उहाँहरु पार्टीभित्र छलफल गर्न बाँकी छ ।
० अशोक राईको पार्टी यो मोर्चामा नअटाउनुको मुख्य कारण उपेन्द्र यादव हुनुहुन्छ भन्ने कुरा बाहिर आएको छ नि ?
— यो एकदम गलत कुरा हो । आठ दलको लूज एलायन्स बैठकमा अशोक राईजी पनि हुनुहुन्थ्यो र उपेन्द्र यादवजी पनि हुनुहुन्थ्यो ।
० अहिले खासगरी तराई–मधेशकेन्द्रित विभिन्न दल र समूहहरुले अभियान कार्यक्रमहरु चलाउँदैछ । तपाइँहरुको यो मोर्चा जनतामाझ कहिले जान्छ ?
— पहिलो कुरा, यो मोर्चा कुनै समुदाय, दल वा शक्तिको विरुद्धमा गठित भएको होइन । यसको आफ्नै चुनौती छन्, त्यसलाई पार गर्नुपर्ने हुन्छ । मोर्चाको केही आचारसंहिता पारित गरिएको छ । त्यो आचारसंहिताअनुसार अध्यक्ष र दुई जना सदस्य रहने सचिवालय गठन हुन्छ । सचिवालयले समानान्तररुपले दुईटा काम गर्छ, एउटा राजनीतिक पक्ष र अर्को कार्यक्रमिक पक्ष । अहिले हामी त्यसको प्रक्रियामै छौं ।
० यो मोर्चा कहीं घोषणामै सीमित त हुने होइन ?
— घोषणा गर्नका लागि त सबैको आआफ्नो पार्टी छँदैछ, तर केही महत्वपूर्ण विषयमा हामी अगाडि बढ्नका लागि मोर्चाको घोषणा गरेका हौं । निष्क्रिय भएर बस्नका लागि मोर्चाको गठन भएको होइन ।
० तपाइँहरुले विगतमा गर्नुभएको कमी कमजोरीलाई समीक्षा गर्दै जनतासँग क्षमायाचना गर्ने कि नगर्ने ?
— हामीले क्षमायाचना त गर्नैपर्छ । विगतमा हामीबाट धेरै कमी कमजोरीहरु भएका छन् । आजसम्म कुनै पनि मधेशी पार्टी सैद्धान्तिक विभाजन भएको होइन । सबै स्वार्थपूर्ण अवसरवादी विभाजन हो । सबभन्दा ठूलो गल्ती त त्यहीं हो । त्यसका लागि त क्षमा माग्नैपर्छ ।
० तपाइँहरु मोर्चा घोषणा सभामा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता जनाउनुभएको थियो, यसको विकल्प खोज्न नसकिने भन्नुभएको थियो । तर, अहिले देशमा संघीयता र गणतन्त्रका विरुद्धमा राजावादीहरु सक्रिय भएका छन् । यसलाई कसरी हेर्नुभएको छ ?
— त्यसैले त लोकतन्त्र आएको हो नि । राजतन्त्रमा त पार्टीको उच्चारण नै गर्न सक्दैनथ्यो । राजावादीले कमसेकम लोकतन्त्रमा त्यतिसम्म राहत पाएका छन्, लोकतन्त्रको लाभ उठाइरहेका छन् । तर, हाम्रो प्रतिबद्धता संघीय लोकतान्त्रिक गणतन्त्र नै हो ।
० गणतन्त्र अहिले खतरामा छैन ?
— छैन । यो बाहिरिया हल्ला मात्रै हो । गणतन्त्र जनताले ल्याएको हुनाले जनता खतरामा हुँदैहुँदैन ।
० तर गणतन्त्रका विरुद्धमा र राजाको पक्षमा जनता सडकमा आइरहेका छन् नि ?
— त्यसको केही अंश देखिन्छन् । किनभने अढाई सय वर्षको इतिहास छ राजतन्त्रको । कति परिवार जोडिएका होलान्, कतिपयले लाभ उठाएका होलान्, कतिपयलाई दलहरुसँग लाभ नभएको होला । ती सबै एकत्रित हुँदा त्यो कुनै ठूलो कुरो होइन । त्यसलाई हामीले धेरै गम्भीरतापूर्वक लिनुपर्ने अवस्था छैन ।
० भनेपछि, नेपालमा राजसंस्था पुनस्र्थापना सम्भव छैन ?
— जनता अहिले राजसंस्था ल्याउनुपर्छ भन्ने निष्कर्षमा पुगेका छैनन् । राजालाई यी दलहरुले मानेकै हुन् । संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थालाई हामी सबैले स्वीकार गरेर अगाडि बढेकै हो नि । कहाँबाट त्यो अतिक्रमण भो ? दलहरुले त अतिक्रमण गरेनन् । जहाँबाट अतिक्रमण भयो, त्यसपछि जनताले संघर्ष गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । यो कुनै चन्दा, पुरस्कार, दानबाट आएको होइन, यो संघर्षबाट नै प्राप्त भएको उपलब्धि हो ।
० संवैधानिक राजसंस्था सम्भव छैन ?
— अब छैन । किनभने ०४७ को संविधानले हामीले मानेर नै बसेकै हो नि । तर राजा नै संवैधानिक हुन चाहेन, उनले निरंकुृशता रुचाए । उनलाई दलहरुको उपस्थिति नै मन परेन । भनेपछि दलहरुलाई उनको उपस्थिति मन पराउनुपर्ने कारण छैन ।
० राजावादी आन्दोलनले राजसंस्था पुनस्र्थापना हुन सक्दैन ?
— अहिलेको राजावादी आन्दोलनमा राजा लोकप्रिय हुँदैनन्, त्यसकारणले उहाँहरुले धर्मलाई जोडेर अगाडि बढाउन खोजिरहनुभएको छ । राजासँग जोडिएर नै हिन्दू धर्म जोखिममा परेको हो । देशमा बहुसंख्यक जनता सनातनी नै छन् । धर्मलाई राजासँग जोडेर हिन्दू धर्मलाई घाइते बनाउन खोजिएको हो । हामीले स्वीकार गर्नैपर्छ कि हाम्रो समाज सनातनी हो ।
० भनेपछि, हिन्दूराष्ट्रको पक्षमा तपाइँहरु पनि हुनुहुन्छ ?
— पहिलो कुरा राष्ट्र र देशकै परिभाषा गहन अध्ययनकै विषय हो । देश, राष्ट्र र राज्य के हो भन्ने कुराको गहन अध्ययनको विषय हो । हामीकहाँ यसलाई मिसाइदिएको छ । तर, यहाँ बहुसंख्यक जनता सनातनी छन्, यसमा दुईमत छैन ।
० छिमेकी मित्रराष्ट्रहरुसँग सरकारको सम्बन्धलाई कसरी हेर्नुभएको छ ?
— नेपाल र भारतबीचको सम्बन्ध कुनै राजा महाराजाले बनाएको सम्बन्ध होइन । कुनै प्रधानमन्त्री, मन्त्री र सांसदले पनि बनाएको सम्बन्ध होइन । यो आम जनताले निर्माण गरेको सम्बन्ध हो । उदाहरणका लागि महाकुम्भमा स्नानका लागि नेपाली जनताले सरकारसँग अनुमति लिएर गएका थिएनन् । वा पशुपतिनाथ दर्शन गर्न आउने भारतीयहरुले भारत सरकारसँग अनुमति लिनु पर्दैन । अरुले यो सम्बन्धलाई अप्ठ्यारोमा पार्न मात्रै खोज्छन्, जनताबीच अप्ठ्यारो छैन । मूल हाम्रो सम्बन्धको आधार के हो भने हाम्रो भूमिलाई कुनै पनि छिमेकीको विरुद्धमा हामी प्रयोग गर्न दिँदैनौं । हाम्रा छिमेकीहरुको सुरक्षा सम्वेदनशीलतालाई हामीले बुझेर त्यहींअनुसार व्यवहार गर्नुपर्छ । त्यसमा तल–माथि भयो भने सम्बन्धमा तल–माथि हुन्छ ।
० छिमेकीहरुसँग हाम्रो परराष्ट्र सम्बन्ध कस्तो देख्नुहुन्छ ?
— बडबोलापनको शिकार भयो हाम्रो परराष्ट्र सम्बन्ध । आवश्यकताभन्दा बढी बोल्न थाल्ने, अनावश्यक टिकाटिप्पणी गर्नाले अलि समस्या देखिन्छ ।
० प्रधानमन्त्री चीन जाँदा बीआरआई सम्झौता गरेर आउनुभयो । बीआरआई सम्झौतालाई कसरी हेरिरहनुभएको छ ?
— प्रधानमन्त्री, परराष्ट्रमन्त्री र सरकारका निकायले हामी ऋण लिँदैनौं, अनुदान मात्रै लिन्छौं भन्दै आउनुभएको थियो । तर, बीआरआई सम्झौतामा त्यो देखिएन ।
० पछिल्लो निर्वाचनमा तपाइँ नेपालकै सबैभन्दा धनाढ्य व्यसायीसँग पराजित हुनुभयो । यसबारे के भन्नुहुन्छ ?
— यसलाई मैले कुनै अनौठो मानेको छैन । उहाँ एउटा गठबन्धनको उम्मेद्वार हुनुहुन्थ्यो । उहाँ आफै पनि नेपालकै सबभन्दा बढी धनी हुनुहुन्छ । त्यो चुनावमा जनताको जे निर्णय भयो, त्यसलाई मैले सहजै स्वीकार गरेको हुँ ।
० अब अन्त्यमा, मधेशवाणी आफ्नो प्रकाशनको २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गर्दैछ, के सन्देश दिन चाहनुहुन्छ ?
— म सबभन्दा पहिला मधेशवाणीलाई शुभकामना दिन चाहन्छु, उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु । तराई–मधेशको जनताको जो उत्पीडित छन्, संस्थागत भेदभावका शिकार छन् तिनको आवाज उठाउन विभिन्न कठिनाई चुनौती झेल्दै मधेशवाणी जसरी अगाडि बढेको छ, यसको म उच्च सम्मान गर्दै सफलताको कामना गर्दछु ।
तपाईको प्रतिक्रिया