० संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा आवाज उठ्न थालेका छन्, यसलाई कसरी हेर्नुभएको छ ?
— अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र हो । यो स्थापनाका लागि सयौं मधेशी, मुस्लिम, महिला, दलितले सहादत दिएका छन् । यहाँ संघीयता कसलाई चाहिन्छ भन्ने कुरा मूल हो । संघीयता र समानुपातिक समावेशिता आवश्यकता भनेको मधेशी, जनजाति, मुस्लिम, महिलालगायत उत्पीडितमा परेका समुदायका लागि हो । संघीयता यस्तो व्यवस्था हो जसमा उपेक्षित समुदायले अधिकार पाउने हो । संघीयता खास गरेर मधेश र जनजातिहरुको बलिदानीबाट आएको हो । संघीयतालाई समाप्त पार्न एउटा नश्लीय चिन्तन बोकेका केही समूह लागेका छन् । त्यो नश्लीय समूहले यहाँका राज्यसत्ता चलाइरहेका छन् । मधेशीले यो देशमा पहिचान पाएको अवस्था छ । मधेशमा ठूलो आन्दोलन भयो । स्वायत्त मधेश प्रदेशको अवधारणाले मधेशमा आन्दोलन अगाडि बढ्यो । त्यसरी राज्यले विभिन्न बुँदे सम्झौताहरु पनि ग¥यो । संविधान निर्माणका बेला राज्य पुनर्संरचना आयोगले पनि मधेशमा दुई प्रदेशको प्रतिवेदन दिएको थियो । हाम्रो त्यो लडाइ अझै पनि अधुरो र अपूरो छ । हामी आन्दोलनमै छौं । अहिले पनि राज्यका अंगहरुमा समानुपातिक समावेशिता भइरहेको छैन । अहिले एक सयमा एक जनालाई समावेश गरेर समावेशिता देखाउन खोजिएको छ । हालैका विभिन्न नियुक्तिहरुलाई हेर्दा मधेशी, जनजातिको अनुहार देखिँदैन । त्यो किन देखिँदैन भने संघीयता समाप्त पार्ने षड्यन्त्र हो । प्रतिनिधिसभामा अहिले पनि जसले सदियौंदेखि शासन गर्दै आएका छन्, तिनीहरुकै बोलवाला छ । जुनबेला हामीले समानुपातिक समावेशी, संघीयताको कुरा उठायौं, त्यो बेला यही देशमा हामीलाई राष्ट्रघाती भनिएको थियो । मधेश आन्दोलनपश्चात् जब यो मुलुकमा आरक्षणको व्यवस्था भयो, तब मधेशी मूलका महिलाभन्दा गैरमधेशी मूलका महिलाहरुले बढी अवसर पाएका छन् । अहिले यो देशमा ९ जना सचिव छन्, तर एउटा पनि मधेशी, जनजातिका छैनन् । हामीले भनेअनुसारको संघीयता अहिले भएकै छैन । मधेशमा दुई प्रदेश हुनुपर्छ भन्ने हाम्रो बटमलाइन थियो । तर त्यो पनि गरिएन, मधेशलाई ६ टुक्रामा विभाजन गरियो । नागरिकताका लागि अहिलेसम्म मान्छे लडिरहेका छन् ।
० यो व्यवस्थाप्रति जनताको वितृष्णा फैलिँदैछ, संघीयता अब समाप्तितिर जाँदैछ त ?
— दुई/चार जनाले भनेर यो व्यवस्था समाप्त हुनेवाला छैन । यो व्यवस्था ल्याउनका लागि सयौंले सहादत दिनुप¥यौं, हजारौंहजार अहिले पनि मधेशमा अंगभंग अवस्थामा छन् । कसैले भनिदिँदैमा, सुनियोजित तरिकाले प्रचार गर्दैमा यो देशबाट संघीयता जाँदैन । संघीयता र समानुपातिक समावेशिताको लडाइँ अहिले पनि अपुरो र अधुरो छ । मधेश, जनजाति अहिले पनि आन्दोलित छ । अहिले संघीयतालाई संस्थागत गर्नुपर्ने बेला छ । समानुपातिक समावेशितालाई अझ परिष्कृत गर्नुपर्ने बेला छ । तर, जसरी सुनियोजित तरिकाले संघीयतालाई समाप्त पर्ने जुन खेल भइरहेका छन्, त्यो खेल सफल हुने सम्भव छैन । कसैको आशिर्वादले यो देशमा संघीयता आएको होइन । मधेशी, जनजाति, थारु, मुस्लिम, महिलाहरुको सहादतबाट संघीयता यो देशमा आएको हो । अहिले पनि हामीले भनिरहेका छौं कि संविधान संशोधनको आवश्यकता छ । संविधान संशोधन गरिएन भने मधेश अहिले पनि आन्दोलित छ ।
० तपाइँहरु सरकारमा पनि बस्ने र आन्दोलनमा छौं भन्ने ?
— सडक, सदन र सरकार तीनै ठाउँबाट हामी अहिले पनि आन्दोलनमा छौं । मधेशी, जनजाति, मुस्लिम, थारु, महिलाको मुद्दा हामी अहिले पनि छोडेका छैनौं ।
० तपाइँहरु जहिले पनि सरकारमा बस्नुहुन्छ र मधेशका मुद्दालाई एउटा बार्गेनिङ्ग प्वाइन्ट मात्रै बनाउँदै आएको आरोप छ नि ?
— यो देशमा मधेश आन्दोलन भयो पहिचान र समानुपातिक समावेशिताका लागि । अहिलेको सात वटा प्रदेशमा एउटा मात्रै मधेश प्रदेश हो जुन पहिचानमा आधारित रहेको छ । कोशी प्रदेशमा अहिले पनि पहिचानको आधारमा नामाकरणका लागि आन्दोलन भइरहेको छ । यो देशमा संघीयता कसलाई चाहिएको छ भन्दाखेरि मधेशी र जनजातिलाई चाहिएको छ । जबसम्म नश्लीय चिन्तनबाट माथि उठ्दैन भने संघीयतालाई बदनाम गर्ने खेलहरु भइरहन्छन् । संघीयता भनेको त्यसमा सबैले अपनत्व महसुस गर्ने र सबैको अनुहार देखिनु हो । ६ वटा प्रदेशको नामाकरण किन पहिचानको आधारमा गरिएन ?
० पहिचानको आधारमा प्रदेशको नाम मात्रै राखेर हुन्छ त ? मधेश प्रदेश त नामाकरण गरियो तर, त्यहाँ विकास र समृद्धि हुन सकेको छैन नि ?
— यही देशमा मधेशी भनेर हेप्ने गरिन्थ्यो । तर आज हामी गर्वले मधेशी भन्न पाएका छौं । मधेशीले आज पहिचान पाएको अवस्था छ । त्यसै कारण मधेश प्रदेश नामाकरण भयो । मधेशमा केही भएको छैन भनेर प्रचार गरिन्छ । मधेशलाई बदनाम गर्न षड्यन्त्रहरु भएका छन् । मधेश प्रदेशमा अहिले विश्वविद्यालय, कृषि विश्वविद्यालय लगायतका विभिन्न उपलब्धिहरु भएका छन् । अहिले पनि कर्मचारीतन्त्रमा पञ्चायती व्यवस्थाकै सोच र चिन्तन देखिन्छ । प्रदेशहरुमा यहींबाट कर्मचारीहरु पठाउँछन् । जबसम्म कर्मचारीतन्त्रमा पञ्चायती व्यवस्थाको झझल्को हट्दैन, तबसम्म प्रदेशले राम्रोसँग काम गर्न सक्दैन ।
० यो व्यवस्थाको विकल्प खोज्न थालिएको छ। यसको भविष्य कति देख्नुहुन्छ ?
— यो व्यवस्था विकल्प खोज्ने अहिले बेला नै भएको छैन । एउटा सुनियोजित तरिकाले संघीयतालाई बदनाम गरिँदैछ । संघीयतामा अब मधेशी, जनजाति, महिला, थारु, मुस्लिम लगायतका उत्पीडित र उपेक्षित समुदायले अधिकार पाउने भयो । मधेश एउटा उर्बर भूमि हो र जनसंख्याको हिसावले पनि ठूलो तप्काको बसोबास छ । शासकवर्गको जुन पहिलाको मनोावृत्ति थियो कि डिभाइड एण्ड रुल त्यसैलाई निरन्तरता दिइरहेका छन् । जसले गर्दा संघीयताप्र आमजनतामा भ्रम सिर्जना भइरहेको छ । राणाकाल, पञ्चायती व्यवस्था हुँदै अहिलेसम्म आउँदा मधेशीलाई गर्ने व्यवहारमा खासै फरक आएको छैन । मधेशको भूमिबाट कर असुल्ने, मधेशीलाई मतदाताको रुपमा मात्रै हेर्ने तर त्यहाँका जनतालाई अधिकार नदिने प्रपण्च भइरहेको छ । संघीयतालाई यो देशमा बदनाम गरिँदैछ ।
० तपाइँहरु निरन्तर शासन सत्तामा हुनुहुन्छ, संघीयतालाई कसले बदनाम गराउन खोज्दैछ ?
— स्थायी सत्ता भनेको कर्मचारीतन्त्र हो । जबसम्म कर्मचारीतन्त्रको मनोविज्ञान परिवर्तन हुँदैन तबसम्म यो समस्या रहिरहन्छ । कर्मचारीतन्त्रको सोच, चिन्तन र कार्यशैलीमा परिवर्तन नभईकन संघीयतालाई संस्थागत गर्न सकिँदैन । सुनियोजित तरिकाले मधेश प्रदेशलाई बदनाम गरिँदैछ । एउटा मात्र डिजाइन भइरहेको छ कि संघीयता र समानुपातिक समावेशितालाई समाप्त पार्ने । तर, यति सजिलो तरिकाले दुईचार जनाले भन्दैमा संघीयता जाँदैन । संघीयता त्यतिकै आएको होइन वा कसैले दानमा दिएको पनि होइन । धेरै लामो संघर्ष र ठूलो बलिदानबाट संघीयता आएको हो । त्यो पनि अपुरो र अधुरो छ । संघीयतालाई संस्थागत गर्न संविधान संशोधनको आवाज उठिरहेको ठाउँमा संघीयता असफल भयो, संघीयता खराब हो भन्ने भ्रम सिर्जना गरिँदैछ । संघीयतामा अहिले जनताको घरदैलोमा सरकार पुगेको छ । दूरदराजका जनताले अधिकार पाएको अवस्था छ । प्रदेशलाई अहिले एउटा प्रशासनिक निकाय बनाइदिएको छ । प्रशासनिक निकाय त पहिला पनि थियो पाँच विकास क्षेत्रको नाउँमा । संघीयतालाई पाँच विकास क्षेत्रको मोडलमा लगेर संघीयता असफल भयो भनेर सुनियोजित तरिकाले बदनाम गर्न खोजिँदैछ । जो शासक थिए, उ अहिले पनि शासन गरिरहेका छन् । उपेक्षित र उत्पीडनमा परेका समुदायलाई नै संघीयता चाहिएको हो । सदियौंदेखि शासन गरेकालाई किन संघीयता चाहियो ? संघीयता हटे भने उनीहरुका लागि झन् राम्रो, उनीहरुालो आफ्नो शासनसत्ता जोगाउन पाउँछन् ।
० मधेशका लागि खोलिएका मुख्यतः दुईवटा दल जसपा र जनमतबीच किन टकराव भइरहन्छ ?
— जसपा भनेको मधेश आन्दोलनको रापतापबाट संघीयता, समानुपातिक समावेशिता मुद्दाको आधारमा स्थापित भएको पार्टी हो । अहिले पनि जसपासँग मुद्दा छ । जसपाले मधेश मुद्दासँग कहिल्यै पनि बेइमानी गरेन । तर, जनमत पार्टीको कुरा गर्ने हो भने त्यो दलसँग मुद्दा के छ ? जनमतले अलग देश बनाउने कुरा गरेको थियो नि । म पनि जनमतका नेता कार्यकर्तालाई राम्ररी चिन्दछु । स्टन्टबाजी गर्ने र मधेशमा खेल्न पाइन्छ भनेर जसपासँग निहुँ खोजिरहेको छ । मधेश आन्दोलन हुँदा त्यतिबेला संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा थियो । मधेशी मोर्चाको आह्वानमा मधेशमा लाखौंलाख जनता सडकमा आउँथ्यो । सयौंले सहादत दिए, अझै पनि हजारौंका संख्यामा मधेशीहरु घाइते छन् । त्यो बेला जनमत कहाँ थियो ? जनमतका नेताहरुले स्वतन्त्र मधेश देशको कुरा उठाएको थियो, किन छोड्यो ? पोलिटिकल स्टन्टबाजी गरेर चाँडै नेता बनिन्छ भनेर ?
० जतिबेला तपाइँहरु समग्र मधेश स्वायत्त प्रदेशको लागि आन्दोलन गरिरहनुभएको थियो, त्यतिबेला नै डा.सीके राउतले स्वतन्त्र मधेश देशको अभियान चलाउनुभयो । भनेपछि मधेश छुट्टै देश बन्छ कि भन्ने आशंकाले अहिले मधेशलाई ६ प्रदेशमा विभाजित गरिएको हो कि ?
— हामी सुरुदेखि संघीयताको पक्षधर थियौं, अलग देश बनाउने अभियानमा कहिल्यै थिएनौं । यो देशमा मधेशीको जनसंख्या आधाभन्दा बढी छ, सोहीअनुसार हामीले अधिकार पाउनुपर्छ । त्यो बेला पनि हामीले भन्यौं कि हामी अलगावको पक्षमा छैनौं, देश विखण्डनको पक्षमा छैनौं । देशभित्र रहेर हामी अधिकार र पहिचानको कुरा गर्छौं । त्यो बेला पनि हामी भन्यौं कि मधेशलाई कमजोर गराउने हिसावले जनमत पार्टीको जन्म भएको हो । हामीले उठाउँदै आएको संघीयता, समानुपातिक समावेशिता गैरकानूनी हो भनेर कसैले भन्न सकेका छैनन् । मधेश आन्दोलनमा कमजोर गर्न र चाँडै चर्चामा आइन्छ भन्ने उद्देश्यले जनमत पार्टी आयो । त्यो आज प्रमाणित भएको छ । यो देशमा मधेशी जनताले संघीयता, समानुपातिक समावेशी, पहिचान र अधिकारका लागि लडिरहेको अवस्था छ । तर, आन्दोलनलाई कमजोर गर्न देश अलग गर्नुपर्छ भन्ने नारा लगाइयो । सीके राउतको छुट्टै देशको मुद्दा कहाँ गयो ? अब जनता सचेत भइसकेको अवस्था हो । कुन पार्टी मधेशको मुद्दाप्रति समर्पित छ, कुन पार्टीले मधेशको मुद्दा बोकेर अहिलेसम्म हिंडिरहेको छ, त्यो छिनोफानो गर्ने बेला भएको छ ।
० मधेश प्रदेशको सरकारमा जनमत पार्टी केही दिनसम्म बस्यो र पछि सरकारबाट बाहिरियो । जसपा नेतृत्वको सरकारले जनमत पार्टीका मन्त्रीहरुलाई काम नै गर्न दिएको भनेर जनमत पार्टीले आरोप लगाइरहेको छ नि ?
— गठबन्धनको सरकार छ, त्यसमा जनमत पार्टीका पनि मन्त्रीहरु थिए । अब उहाँहरु गठबन्धन सरकारले कसरी काम गर्न दिएन ? उहाँहरु मुद्दाभन्दा फरक स्टन्टबाजी कसरी गर्न सकिन्छ, त्यसमा नै लागिरह्यो । एउटा मन्त्री जस्तो मान्छे निषेधित क्षेत्र तोड्न जाने, प्रहरी प्रशासनसँग धक्कामुक्की गर्ने, यो स्टन्टबाजी होइन ? जनमतका अध्यक्ष सीके राउत दिनरात सुट र टाईमा घुम्नु हुन्छ, अनि एक धोति लगाएर निषेधित क्षेत्र तोड्न जाँदा प्रहरीले हस्तक्षेप गर्दा अन्याय भयो भन्ने ? यो सस्तो लोकप्रियता बाहेक अरु केही पनि होइन । यस्ता गतिविधिले मधेशलाई कमजोर गरिरहेको छ । शासकवर्गको जुन डिभाइड एण्ड रुल छ, त्यसमा खेल्न पाएको छ । त्यसकारण हामी हेरिरहेका छौं कि जनमतले मधेशको मुद्दालाई मजबुत होइन, कमजोर पार्ने षड्यन्त्रमा लागेको छ ।
० जसपाले आफ्नो महाधिवेशनको मिति तोकिसकेको छ । यो महाधिवेशन औपचारिकता मात्र हो कि यसमा नेतृत्व पनि परिवर्तन हुन्छ ?
— लोकतान्त्रिक पद्धतिमा पार्टीलाई जीवन्त बनाउन महाधिवेशन हुनुपर्छ । अहिले हामी सदस्यता वितरणको अभियानमा छौं । हाम्रो केन्द्रीय समितिले आगामी वर्षको जेठ २८, २९ र ३० गते धनुषामा महाधिवेशन गर्ने भनेर निर्णय गरिसकेको छ । यो महाधिवेशन औपचारिकतामा मात्रै सीमित हुँदैन । महाधिवेशनलाई नेता कार्यकर्ताले महापर्वको रुपमा लिएका छन् । महाधिवेशनलाई सभ्य र भव्यरुपमा सफल बनाउन हामी जुटिसकेका छौं ।
तपाईको प्रतिक्रिया