० मधेशको राजनीतिक दशा र दिशा कुन अवस्थामा छ ?
— मधेशी जनताका लागि कुनै पनि राजनीतिक दलले राजनीति गरिरहेको छैन । राजनीतिक नेतृत्वहरूमा भ्रष्टाचारको मनोबल एकदम उच्च छ । मधेशी जनताले आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलनहरू गरेका थिए । तर, नेताहरूले जनताको म्यान्डेडलाई दुरूपयोग गरी राज्यसँग सम्झौता गरेर आफ्नो दुनो सोझ्याए र जनतामाथि शासन गर्न थाले । हिजोका दिनमा राजा, राणा, शासनसत्ता र कांग्रेस–एमालेहरूले शासन गरे । तर अहिले त्योभन्दा पनि चर्कोरूपमा मधेशवादी भनाउँदाहरूले बर्बर किसिमले राजनीति सुरू गरेका छन् । यसको प्रतिकार गर्न जनता अब सचेत भइसकेका छन् ।
० मधेशमा अब वैकल्पिक शक्तिको महसुस हुन थालेको हो ?
— राजनीतिमा एकपटक मुद्दा उठिसकेपछि त्यो मुद्दा मर्दैन । नेताहरू विचलनमा पर्छन्, राजनीतिक दलहरू एउटा जान्छ, अर्को आउँछ । वैकल्पिक शक्ति जनताले खोजिरहेका छन् तर, यहीं नेताहरूको नेतृत्वमा होइन । यिनीहरूले बारम्बार धोका दिएका छन् । मधेशमा नयाँ युवापिढी, स्वच्छ छवि, पदपैसाको लोभलाभमा नफस्ने बुद्धिजीबी, नागरिक अगुवाहरूको नेतृत्वको खोजी भइरहेको छ । यी पक्षहरूले मधेशमा काम गरिरहेका छन् तर, राजनीति नै गर्ने मनस्थिति बनाइसकेका छैनन् । आवश्यकता परेको बेला यस्ता पक्षहरू मधेशको नेतृत्व लिन पनि सक्छन् ।
० डा.सीके राउत नेतृत्वको पार्टीको भविष्य मधेशमा कस्तो देख्नुहुन्छ ?
— मधेशका जनता अहिले चार कित्तामा विभाजित छन् । महन्थ ठाकुर–राजेन्द्र महतो, उपेन्द्र यादव, डा.सीके राउत र लक्ष्मण थारूको मोर्चा गरी मधेशमा चार वटा कित्ता अहिले देखिएको छ । यसले गर्दा अधिकार पाउनुभन्दा पाएको अधिकार पनि गुमाउँछ । किनभने शासकवर्गले जहिले पनि एकलाई अर्कोको विरूद्धमा प्रयोग गरिरहेको हुन्छ । त्यसैले, राजनीतिक शक्तिबाट मधेशी जनताको मुक्ति हुँदैन । नागरिक समाज र बुद्धिजीबीहरूको नेतृत्वमा जब थारू, मुस्लिम, दलित, मधेशी, पिछडावर्गका सम्पूर्ण मधेशी संगठित भएर राजनीतिक स्वार्थबाहेकका शक्तिले नेतृत्व दियो भने मात्र मधेशको मुक्ति हुन्छ । होइन भने राजनीतिक दलबाट यो जुनीमा होइन एक सय वर्षपछि पनि हुँदैन ।
० गैरराजनीतिक शक्तिहरू किन अगाडि आइरहेका छैनन् ?
— नागरिक समाज वा बुद्धिजीबीहरूले राजनीति गर्दैन । तर, हामीले विभाजित जनतालाई एकत्रित गर्न सक्छौं । हामीले बारम्बार भन्दै आएका छौं कि राजपा र समाजवादी मात्रै होइन, सीके राउत र लक्ष्मण थारूसहितको एकता हुनुपर्छ । मधेशका चारवटै पक्ष एक होस् भन्ने प्रयासमा हामी लाग्छौं । चारवटै पक्षलाई एक साथ लिएर मधेशमा जाने ताकत कसैमा छैन । अभिभावकीय भूमिका निर्वाह गर्ने मधेशमा नागरिक समाजबाहेक अरू कोही छैन ।
० अहिले राजपा र समाजवादीको अवस्था कस्तो देख्नुहुन्छ ?
— अहिले यी दुवै दल जागिर खान गएका छन् । समय अवधि सकिन्छ फेरि मधेशमा नै जान्छ । त्योभन्दा बाहेक अरू केही पनि छैन र केही गर्ने हैसियतमा पनि छैन । उपेन्द्र यादव उपप्रधानमन्त्री छन् तर, क्याबिनेट मिटिङ्गमा उनलाई बोलाउँदैन । उनी उपप्रधानमन्त्री हुँदा पनि त्यस्तो नाजुक अवस्था छ । राजपले सरकारबाट समर्थन फिर्ता लियो, यता राज्यले त्यसको काउन्टरमा सीके राउतलाई मूलधारमा ल्यायो । राजनीतिक दलबाट मधेशको मुक्ति हुँदैन, यो एकदम ध्रूवसत्य हो । जनताले यो कुरा जति ढिलो बुझ्छन्, त्यति नै दासताको अवधि लम्बिँदै जान्छ ।
० तर, समाजवादी पार्टीले त यो सरकारसँग सम्झौता गरेर सरकारमा गएको छ नि ?
— हेर्नुस्, मधेश समाजवादी पार्टीको ठेक्का होइन । उसले भनेको कुरा सरकारले मान्छ भन्ने पनि छैन । संविधान संशोधनका लागि मधेशका सबै पक्षको एकै श्वर हुनुप¥यो नि ।
० संविधान संशोधन गराउनकै लागि उपेन्द्र यादव सरकारमा गएका होइनन् ?
— पूरै मधेशको ठेकेदारी उनकै हो भन्ने सोच्छन् भने त्यसो नसोच्दा हुन्छ । किनभने केपी ओली र प्रचण्डलाई हामी पनि चिन्दछौं, उपेन्द्र यादवले भन्दैमा सबै कुरा गरिदिन्छन् भन्ने लाग्दैन । सबैको एउटा साझा माग भयो भने जस्तोसुकै मुद्दा सम्बोधन हुनसक्छ ।
० संविधान संशोधन आवश्यक छ कि छैन ?
— संविधान संशोधन हुनुपर्छ तर, के–के कुरामा गर्ने भन्ने कुरामा महन्थ ठाकुर, उपेन्द्र यादव, सीके राउत र लक्ष्मण थारू बसेर साझा कुरा ल्याउनुप¥यो । आफूमा यिनी मिल्न सकेको अवस्था छैन तर, कुनै एकपक्षले मात्र भनेर राज्यसत्ताको उसको माग पूरा गर्छ त ? कदापि गर्दैन । त्यसैले, उपेन्द्र यादवले यो जुनीमा मात्र होइन अर्को जुनीमा पनि संविधान संशोधन गराउन सक्दैन । उपेन्द्र यादवको कारणले गर्दा मधेशी जनता ठगिँदैछन् ।
० मधेशका सबै पक्षलाई एक ठाउँमा ल्याएर सहकार्य गराउने नागरिक समाजको भूमिका के छ त ?
— नागरिक समाजले जहिले पनि सहमति, सहकार्य र मधेशको एकताका लागि प्रयास गरिरहेकै छ । अन्ततः उहाँहरू यही लाइनमा आउनुपर्छ । हामीले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नका लागि पूर्णरूपमा तयार छौं ।
० भनेपछि अहिले मधेशका नागरिक समाज र बुद्धिजीबीहरू तटस्थरूपमा बसिरहेको छ ?
— नागरिक समाज र बुद्धिजीबीहरू कहिल्यै पनि तटस्थरूपमा बस्दैन । उसले समाजको हकहितका कुराहरू कुनै न कुनै रूपले गरिरहन्छ ।
० राजपा र समाजवादीको एकीकरणको चर्चालाई कसरी हेर्दैहुनुहुन्छ ?
— यिनीहरू मिलेर गएन भने आगामी चुनावमा जमानत जफत हुने अवस्था आउँदैछ । कोही कतैबाट चुनाव जित्दैन । हिजो ६ वटा पार्टी नमिलेको भए राजपाका नेताहरू चुनाव जित्थ्यो ? जित्दैनथ्यो नि । त्यो पनि कांग्रेस र कम्युनिष्टको मत लिएर जित्नुप¥यो । पहिलो कुरा त यिनीहरू मिल्दै मिल्दैन, मिले पनि जित्दैन ।
० यी दुई दलबीच एकता हुँदैन भन्ने तपाइँको ठहर हो ?
— यिनीहरूबीच एकता त हुँदै हुँदैन नि । एकताको लक्ष्य के हो भन्ने नै स्पष्ट छैन । सधैं चुनाव जितेर नेता बनिरहने यिनीहरूको लक्ष्य हो भनेर जनताले बुझिसकेका छन् । यिनीहरूले के–के कुकर्म गरेका छन् भन्ने कुरा जनताले बुझिसकेका छन् ।
० भनेपछि आगामी निर्वाचनमा राजपा र समाजवादीको अस्तित्व संकटमा छ ?
— निकै संकटमा छ । आगामी निर्वाचनसम्म त यिनीहरूमध्ये आधाभन्दा बढीलाई मुद्दा लागिसकेको हुन्छ ।
० कांग्रेसका सांसद मो.अफताब आलम प्रकरणलाई कसरी हेर्नुभएको छ ?
— उनको मुद्दामा राज्यले छानबिन गरिरहेको छ । तर, पीडितले न्याय पाउनुपर्छ । यदि आलम निर्दोष हुन् भने दुःख पाउनु हुँदैन ।
० तर, घटना भएको १२ वर्षपछि बाहिर किन आयो त ?
— दोषीका लागि वर्ष, भूगोल र जात केही हुँदैन । जतिबेला समयानुकूल हुन्छ, त्यतिखेर त्यो कुरा उजागर हुन्छ ।
० यो घटनासँगै गौर घटनाको पनि चर्चा चलिरहेको छ । यो एउटा षड्यन्त्र हो कि ?
— त्यतिखेर गौरमा दुईटा मधेशी संस्थाले नै कार्यक्रमको आयोजना गरेको थियो । एउटा मधेशी जनअधिकार फोरम र अर्को मधेशी मुक्ति मोर्चाले । दुइटै गौरमा आमसभा आयोजना गर्ने तय ग¥यो त्यो नियोजित र षड्यन्त्रपूर्वक थियो । किनभने एकै दिन एकै समयमा र एउटै ठाउँमा कार्यक्रम गर्दैछ भने त्यो त टशल हो नि । दुवै पक्षले किन सहमति गरेर आलोपालो कार्यक्रम गरेन ? एउटै ठाउँमा कार्यक्रमको उद्देश्य के थियो भने त्यतिखेर उपेन्द्र फोरमका अध्यक्ष थिए र अमर यादव रौतहटको जिल्ला अध्यक्ष थिए । आमसभाको तयारी भयो र त्यसपछि उपेन्द्र यादवलाई यहाँबाट बोलाउँदै थियो । तर, उहाँ जान मान्नुभएन । कार्यक्रम स्थगित गर्छु भन्दा पनि मान्नुभएन ।
०६२/६३ को आन्दोलनबाट दरबारलाई जनताले साइजमा ल्याइसकेको थियो । दरबारसँग कुनै पनि गोटी बाँकी थिएन । एउटा मात्र आश थियो कि मधेशीले केही गरिदेला भनेर । त्यसको गोटी उपेन्द्र यादव बन्यो । दरबारको डिजाइनमा फोरमको त्यो कार्यक्रम राखिएको थियो । त्यसको उद्देश्य थियो संविधानसभाको चुनाव हुन नदिने । चुनाव नहोस् भनेर त्यो कार्यक्रम फोरमबाट राख्न लगाएको थियो । त्यो वापत उपेन्द्र यादवले केही दानदक्षिणा पनि पाएका थिए । दान दक्षिणा पाइसकेपछि उपेन्द्र यादवले त्यो कार्यक्रम स्थगित गर्न सकेन । त्यसपछि त्यस्तो घटना घट्न गयो र २७ जनाको हत्या भयो । त्यतिबेला पूरै संविधानसभा भाँड्ने डिजाइनको एउटा गोटीको रूपमा प्रयोग भएका थिए । त्यतिखेर मुख छोपेर हिंडिरहेका थिए उपेन्द्र यादव । त्यतिखेर उपेन्द्र किन बच्यो भने भारतको युपीमा मुलायम सिंह र अखिलेश यादवहरू पावरमा थिए । बिहारमा लालु यादव केन्द्रीय मन्त्री थिए । उता शरद यादव केन्द्रमा सांसद थिए । उपेन्द्र यादवसँग उनीहरूको ब्याकअप थियो । आजको दिनमा भारतको त्यो ब्याकअपहरू उपेन्द्र यादवसँग छैन । अहिले यो कुरा मधेशी जनता र कम्युनिष्टहरूले पनि बुझिसकेका छन् । त्यतिखेर शरद यादवले गिरिजाबाबुलाई फोन नै गर्नुभएको थियो कि उपेन्द्रलाई संरक्षण दिनुपर्छ भनेर । तर, आज त्यो अवस्था छैन । त्यसैले, जुन डिजाइनमा मान्छेहरू मरेका छन् त्यसको छानबिन हुनुपर्छ ।
० गौरकाण्डको छानबिन भयो भने त्यसमा उपेन्द्र यादव मुछिने सम्भावना छ ?
— गौरकाण्डमा फोरमको तत्कालीन अध्यक्षको नाताले उपेन्द्र यादवले त त्यसको जवाफ दिनैपर्छ ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया