० नेपालमा लोकतन्त्र पुनर्बहालीका लागि तपाइँ निःस्वार्थ संघर्ष गर्नुभयो, लोकतन्त्र आयो पनि । तर राजनीतिक संक्रमण बढ्दै गएको छ । यसैका लागि लोकतन्त्र आएको हो ?
—सत्तालिप्साका लागि त लोकतन्त्र पक्कै आएको होइन । लोकतन्त्र भनेको लोकको तन्त्र अर्थात् शासन व्यवस्था हो । लोक शासन भनेको लोक कल्याणका लागि हो । जनताको कल्याणका लागि काम गर्ने शासनलाई हामीले लोकतन्त्र भन्छौं । विगतमा विभिन्न शासकहरुले जनताको पक्षमा काम गरेन, त्यसपछि हामीले लोकतन्त्रका लागि संघर्ष ग¥यौं र फलस्वरुप राजतन्त्रलाई समाप्त पा¥यौं । त्यो आन्दोलनमा हामी सफलता पनि हासिल ग¥यौं र संघीय लोकतान्त्रिक गणतन्त्र अहिलेको उपलब्धि हो । त्यसपछि जननिर्वाचित नेताहरुले जुन किसिमले सत्ता सञ्चालनमा अगाडि बढ्नुपर्दथ्यो त्यसरी नभएर व्यक्तिगत स्वार्थका लागि सत्तालिप्सामा लागे । अहिलेका नेताहरुमा व्यक्तिवादि हावी भयो । राजनीतिलाई व्यापारको रुपमा लिइयो ।
० लोकतन्त्रका लागि संघर्ष गरेका तपाइँ जस्ता योद्धाहरुले अहिलेको राजनीतिक अवस्थालाई कसरी हेर्दै हुनुहुन्छ ?
— अहिलेको यस्तो अवस्था आउनुको मुख्य कारण नेताहरुमा राजनीतिक इमान्दारिताको एकदमै अभाव देखियो । नेपालको राजनीतिक वृत्तमा हेर्ने हो भने राजनीतिक नैतिकता खडेरी नै परेको छ । व्यक्तिवादिता एकदम बढी हावी भएर गएको छ । हरेक पार्टीको उदाहरण लिन सकिन्छ । सबै पार्टीभित्र सत्तालिप्सा, गुटगत लाभ र व्यक्तिवादिता चरम सीमामा रहेका छन् । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र असफलतातर्फ गइरहेको छ भन्ने किसिमका आवाजहरु पनि सुनिन्छ र देखिन्छ पनि । यसको मुख्य कारण राजनीतिक नैतिकताको अभावका कारण नै हो ।
० नेपालमा राजनेताको खडेरी नै परेको हो त ?
— बिल्कुल सत्य हो । हामीले गाउँघरमा भन्ने गरेका हुन्छौं कि जो मान्छे सबभन्दा बढी फटिचर हुन्छ, उसलाई हामीले नेता भनेर सम्बोधन गर्छौं । त्यस्ता नेताहरु मात्रै नेपालमा च्याउ उम्रेजस्तै उम्रियो । इतिहासमा राजनेताहरु पनि नेता थिए, तर वर्तमान परिवेशमा हामीकहाँ राजनेता त छँदैछैन । त्यसले नै अहिले हामीले नेपालको राजनीतिक दुर्गति हेरिरहेका छौं । यसको मुख्य कारण नै नेपालमा राजनेता भएन र व्यक्तिवादिता, राजनीतिलाई व्यवसायको रुपमा लिने र सोच भएका नेताहरु हावी भए ।
० निःस्वार्थ र देशहितलाई केन्द्रमा राखेर राजनीति गर्ने तपाइँजस्ता नेताहरु राजनीतिबाट अलग्गिएर बस्दा अहिलेको यस्तो अवस्था आएको होला नि ?
— तपाइँको प्रश्न बिल्कुलै जायज हो । म पनि एउटा साधारण मानिस हुँ, मभित्र पनि कमजोरी हुन सक्छ । मेरो विरुद्धमा आन्तरिक र बाह्य षड्यन्त्र घातप्रतिघात भयो । त्यसकारण म राजनीतिक वृत्तमा देखिएको छैन । मेरो विरुद्धमा भएका षड्यन्त्र र घात–प्रतिघातलाई जुन किसिमले न सामना गरेर अगाडि बढ्नुपर्ने थियो, त्यसमा म चुकेकै हुँ । घात–प्रतिघातको म डटेर मुकाबिला गर्न सकिनँ । घात–प्रतिघातकै फलस्वरुप राजनीतिबाट म अलिकति टाढा देखिएको हुँ । मेरो विरुद्धमा आन्तरिक र बाह्य हरेक किसिमका षड्यन्त्रहरु भए ।
० पछिल्लो समय तपाइँ उपेन्द्र यादव नेतृत्वको पार्टीमा जानुभएको थियो, फेरि किन अहिले निष्क्रिय हुनुहुन्छ ?
— मेरो राजनीतिक जन्म नै लोकतन्त्र र उपेक्षित मधेशी लगायतका समुदायको हकहितका लागि भएको हो । मैले राजनीतिमा लाग्नुका मुख्य यी दुई विषय नै हो । त्यही शिलशिलामा २०६२/६३ को आन्दोलनपश्चात् तत्कालीन नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)मा मविरुद्ध षड्यन्त्र गरेर राष्ट्रिय कार्यसमितिमा अल्पमतमा पारियो । म अपहेलित महसुस गरेपछि राजीनामा दिएर राजनीतिबाट अलग भएँ । मधेश आन्दोलनपश्चात् उपेन्द्र यादव चर्चामा आएका हुन् । तत्कालीन सद्भावना पार्टी (आनन्दीदेवी)को गलत नीतिका कारण उपेन्द्र यादवको राजनीतिमा जन्म भएको थियो । उपेन्द्र यादव बाह्य आवरणमा जुन देखिन्थ्यो त्यसको भित्री रुप बिल्कुलै फरक छ । उपेन्द्रमा जुन राजनीतिक इमान्दारिता र नैतिकता हुनुपर्दथ्यो, त्यो बिल्कुलै छैन । उपेन्द्र यादवले आफ्नो पार्टीमा मलाई वरिष्ठ नेता भनेर बनाए, पछि जुन किसिमले उसको क्रियाकलाप भए त्यो राजनीतिक इमान्दारिता र नैतिकताको विरुद्ध थियो । समग्रमा भन्ने हो भने उपेन्द्र यादवमा राजनीतिक इमान्दारिता र नैतिकता नामको चीजै छैन, पटकै अभाव छ । त्यसकारणले म उपेन्द्रको पार्टीबाट पनि राजीनामा दिएर अलग भएँ । त्यसपश्चात् म स्वतन्त्ररुपमा राजनीतिक हिसावले अध्ययन गर्दैछु । दलगत राजनीतिबाट त म टाढा देखिन्छु तर राजनीतिबाट सन्यास लिएको होइन । म राजनीतिमा वैचारिक र अध्ययनको शिलशिलामा अहिले पनि सक्रिय नै छु ।
० उपेन्द्र यादवमा राजनीतिक नैतिकता र इमान्दारिता छैन भन्नुभयो, तर उहाँलाई मधेशको मसिहा भनेर पनि चित्रण गरिन्छ नि ?
— गुण्डाहरुका नाइकेलाई पनि उसका मान्छेहरुले मसिहा भन्छन् । भनेपछि, त्यस्तै गिरोहका मान्छेहरुले उसलाई मसिहा भनेर प्रचार गरिरहेका छन् । उसले कस्तो क्रियाकलाप गरिरहेका छन् भन्ने कुरालाई विश्लेषण गरेर हामीले भन्ने हो ।
० अहिले प्रधानमन्त्री केपी ओलीको सरकारबाट माओवादी केन्द्रले समर्थन पनि फिर्ता लिएको छैन र समर्थन गरेको जस्तो पनि छैन । निकास के देख्नुहुन्छ ? चुनावतिरै मुलुक अगाडि बढेको हो त ?
— कस्तो विडम्बना छ हाम्रो नेपालको राजनीतिमा । जुन प्रतिपक्षीहरुले केपी ओलीले असंवैधानिक काम गरे, अधिनायकवाद लाद्न खोजे, अराजनीतिक गरे, अनैतिक गरेर लगायत अनेकन आरोप लगाएर आन्दोलनसम्म पनि गरे । संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक नै ठहर ग¥यो र पुनस्र्थापित ग¥यो । कांग्रेस, माओवादी वा मसिहावाला भन्ने पार्टीहरु सबैले केपी ओलीको पुस ५ को कदमलाई असंवैधानिक भनेका थिए । अहिले माओवादीले यो सरकारबाट किन समर्थन फिर्ता नलिएको होला ? हिजो जसलाई तपाइँले अनैतिक, अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी भन्नुभयो त्यही सरकारलाई समर्थन गरिरहने हो भने तपाइँमाथि नैतिकताको प्रश्न उठ्दैन ? यो प्रश्न प्रमुख प्रतिपक्षी कांग्रेस र जसपामाथि पनि उठ्छ । जसपाभित्र हेर्नुस् कस्तो तमासा भइरहेको छ । पार्टी एक भएपनि व्यवहारतः छुट्टाछुट्टै देखिन्छ । महन्थ ठाकुर र राजेन्द्र महतो आफ्नै तालमा छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराई आफ्नै डफली बजाइरहेका छन् । एउटा गुटको डफली एकातिर छ भने अर्कोको डफली उतातिर छ । तपाइँले कसैले एउटा औंला देखाउनुहुन्छ भने चार वटा औंला तपाइँतिर नै तेर्सिन्छ नि । अरुलाई अनैतिक भन्नेले आफ्नो पनि नैतिकता देखाउनु पर्दैन ? त्यसैले यो हाम्रो देशको राजनीतिक विडम्बना हो । अब नेपालको राजनीति कता जान्छ भन्ने सन्दर्भमा प्रमुख चार वटा राजनीतिक दल एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपाको नैतिकताको कोर्सले निर्धारण गर्ने हो । माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने राजनीतिक कोर्ष एक किसिमले अगाडि बढ्छ । होइन भने केपी ओलीको सरकार एक किसिमले अगाडि बढ्दै आएको छ र बढिरहन्छ । संविधानले देखाएको बाटो, राजनीतिक इमान्दारिता, नैतिकतालाई निर्वाह गर्ने हरेक पार्टीको दायित्व हो । जुन अहिले देखा परिरहेको छैन । त्यसैले यी पार्टीहरुले कुन किसिमले राजनीतिक इमान्दारिता देखाउँछ, त्यसले भविष्यको राजनीतिक धार निर्धारण गर्छ ।
० अहिलेको राजनीतिक संक्रमणमा जनता समाजवादी पार्टी नेपालको भूमिकालाई महत्वका साथ हेरिँदैछ । जसपाको भूमिकालाई कसरी हेर्दै हुनुहुन्छ ?
— सूक्ष्मरुपमा हामीले विश्लेषण गर्ने हो भने जसपा एक पार्टी बनेकै होइन । बाध्यतावश राजपा र समाजवादी पार्टीबीच एकीकरण भएको हो । अहिले पनि एक पार्टीमा दुई पार्टी छन् । महन्थ ठाकुर र राजेन्द्र महतो एउटा पार्टी छ भने बाबुराम भट्टराई र उपेन्द्र यादवको अर्को पार्टी छ । बाबुरामको विचार हो कि प्रमुख प्रतिपक्षी कांग्रेससँग मिलेर यो सरकारलाई अपदस्थ गर्ने । केपी ओलीको असंवैधानिक संसद विघटनलाई मध्यनजर गर्दै हेर्ने हो भने बाबुरामको विचार ठिकै हो । तर महन्थ ठाकुर र राजेन्द्र महतोको जुन लाइन हो त्यो अलि भ्रमात्मक देखिन्छ । हिजो केपी ओलीको कदमलाई असंवैधानिक भनेर आन्दोलन गर्ने, अहिले केपी ओलीसँग साँठगाँठ बढाइरहेका छन् । अझ त्यागी, तपस्वी र सन्त नेता भनिएका महन्थ ठाकुरलाई लोभ लागेको छ कि कसरी प्रधानमन्त्री भइहालुँ । हुन नहुने आफ्नो ठाउँमा त छँदैछ । त्यो लोभमा महन्थ ठाकुर पनि अगाडि बढिरहेका छन् । पार्टीहरुभित्रको व्यक्तिवादिता सोचबाट जसपा पनि अलग छैन । पूर्वराजपा र पूर्वसमाजवादीबीच भावनात्मकरुपमा एकीकरण भएकै छैन, बाध्यात्मक रुपमा मात्र एक भएको हो ।
० भनेपछि, जसपाभित्र अहिले पनि वैचारिक र सैद्धान्तिक धार फरक–फरक छ ?
— बिल्कुल । जसपाभित्र वैचारिक र सैद्धान्तिकरुपमै मतभिन्नता देखिएका छन् । महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्नो हिसावले अभिव्यक्ति र क्रियाकलाप गरिरहेका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादवको अफ्नै लाइन छ । अहिलेको अवस्थालाई हेर्दा जसपा पनि विभाजित भएर दुवै आआफ्नै बाटो लाग्छन् जस्तो देखिएको छ । यदि प्रधानमन्त्रीले आफै विश्वासको मतका लागि संसदमा गयो वा प्रतिपक्षीले अविश्वासको प्रस्ताव दर्ता गराएमा जसपा दुई पार्टीमा विभक्त हुने पक्कापक्की जस्तो छ ।
० माओवादीले यदि समर्थन फिर्ता लियो भने जसपा फुट्छ त ?
— माओवादीले यदि समर्थन फिर्ता लियो भने प्रधानमन्त्री बाध्य भएर संसदको सामना गर्नैपर्छ, संवैधानिक बाध्यता पनि हो । त्यो अवस्थामा केपी ओलीको प्रमुख टारगेट महन्थ ठाकुर हो । उनले महन्थ ठाकुरलाई लोभलालच देखाएर जसपाको समर्थन लिन खोज्छ । ओलीलाई समर्थन गर्ने मनस्थितिमा महन्थ ठाकुर र राजेन्द्र महतो देखिन्छ । त्यो अवस्थामा उपेन्द्र यादव र बाबुराम भट्टराई केपी ओलीलाई कुनै पनि हालतमा समर्थन गर्ने पक्षमा देखिँदैन । यसको प्रमुख कारण केपी ओलीले जुन किसिमले उपेन्द्रलाई औकात देखाइदिए, त्यो आफ्नो घृणित भावनालाई उपेन्द्रले व्यक्त गर्छ । त्यस्तै किसिमको भावना डा.बाबुराम भट्टराईमा छ । त्यसैले, बाबुराम र उपेन्द्रले केपी ओलीलाई कुनै पनि हालतमा समर्थन गर्दैन । यही कारणले जसपा फुटेर जान्छ ।
० केपी ओलीले यदि जसपाका मागहरु पूरा ग¥यो जसपाले किन समर्थन नगर्ने भन्ने तर्क महन्थ–राजेन्द्रको छ नि ?
— मधेशका सोझासाझा जनतालाई अल्मलाएर आफ्नो स्वार्थ कसरी पूरा गर्न सकिन्छ भन्ने सोच हावी भएको छ । मलाई सम्झना छ कि सद्भावना पार्टी भएको बेलामा केही नेताले भन्ने गर्थे कि हामंो लागि कांग्रेस पनि सर्पनाथ र राजा पनि नागनाथ हो । जस्तो राजा त्यस्तै कांग्रेस–एमाले जस्ता कुरा उठाउँथे । यही घटिया सोच हो । यदि लोकतन्त्रवादी हो भने राजालाई कसरी समर्थन गर्छ ? त्यस्तै, अहिले यदि आफूलाई लोकतन्त्रवादी भन्नुहुन्छ भने गैरसंवैधानिक कदम चाल्ने व्यक्तिलाई कसरी समर्थन गर्न सकिन्छ । त्यसैले आफ्नो लोभका लागि जनतालाई ठग्ने प्रवृत्ति मात्रै हो ।
० भनेपछि केपी ओलीले मधेशका माग पूरा गर्छन् भन्नु भ्रम मात्रै हो ?
— बिल्कुल । यो सरकारको पनि एउटा संवैधानिक बाध्यता छ । जुन संविधान संशोधनको कुरा महन्थ र राजेन्द्रले गरिरहेका छन्, केपी ओली दुई तिहाइको सरकारको नेतृत्व गरिरहँदा ठेंगा देखाइदिए । अहिले केपी आफैलाई सरकार टिकाउन धौ–धौ परिरहेको बेला संविधान संशोधन कसरी गरिदिन्छ ? जहाँसम्म रेशमलाई रिहाइ तथा मुद्दाहरु फिर्ताका विषयमा यिनीहरुलाई अलमलाएर राख्छन् । रेशम चौधरीको रिहाइको सवालमा पनि कुनै कानूनी अड्चन देखाएर अलमलाइदिन्छ । त्यसैले केपी ओलीले अलमलाउने काम मात्र गर्छन्, उसले मधेशका एउटा पनि जायज मागलाई सम्बोधन गर्दैन ।
० यसको निकास के देख्नुहुन्छ ?
— राजनीतिक कोर्सलाई सही ढंगले अगाडि बढाउनका लागि संविधानअनुसार राजनीतिक नैतिकताको परिपालन गर्नुपर्छ । यदि प्रधानमन्त्रीले पनि आफूलाई म गैरसंवैधानिक होइन, तानाशाही होइन भन्ने प्रमाणित गर्नुछ भने उहाँले विश्वासको मत लिनुपर्छ । प्रचण्ड, शेरबहादुर देउवा लगायतले हिजो केपी ओलीलाई असंवैधानिक, अनैतिक, तानाशाह भनेर जुन आरोपहरु लगाए, त्यस्ता व्यक्तिलाई समर्थन दिइराख्नु र अविश्वासको प्रस्ताव नल्याउनु यो पनि संविधानको मर्यादा विपरीत हो । प्रधानमन्त्री यदि विश्वासको मतका लागि संसदमा आउँदैन भने प्रतिपक्षहरुले अविश्वासको प्रस्ताव संसदमा लानैपर्छ । त्यो हिसावले राजनीतिक कोर्स आफै निर्धारण हुन्छ र मुलुकले एउटा निकास पाउँछ ।
० अविश्वासको प्रस्ताव वैकल्पिक प्रधानमन्त्रीको नाम राख्नै पर्ने संवैधानिक व्यवस्था भएकोले कसले नेतृत्व गर्ने भन्नेमा विपक्षीहरुबीच सहमति नजुटेको हो त ?
— यिनीहरुले आफू सत्तामा पुग्नकै लागि केपी ओलीलाई विभिन्न किसिमका आरोपहरु लगाइरहेका छन् । यदि केपी ओली असंवैधानिक नै हो भने यिनीहरुले एउटा अविश्वासको प्रस्ताव किन ल्याउन सकिरहेका छैनन् ? केपी ओली असंवैधानिक हुन् भने प्रचण्ड र देउवाहरु पनि संविधानको मर्यादाविपरीत काम गरिरहेका छन् ।
० भनेपछि सत्ता प्राप्तिकै लागि प्रचण्डले आफ्नै करिब दुई तिहाइ बहुमतको सरकारलाई अल्पमतमा पु¥याए ?
— हो, चुरो कुरो यही थियो । यिनीहरुले जसरी आफूलाई जनतासामु प्रस्तुत गरे, त्यो किसिमको क्रियाकलाप पनि देखाउनु प¥यो नि । सत्तामोह हामीमा थिएन, संविधानको मर्यादाका लागि हामी यसो गरेको हो यदि भन्छन् भने संविधानले देखाएको बाटोमा गएर देखाउनुप¥यो । प्रधानमन्त्रीले यदि संवैधानिक दायित्व पूरा गर्दैन भने त्यसको विरुद्धमा प्रतिपक्षले कदम चाल्ने दायित्व होइन ? त्यसैले प्रधानमन्त्रीले यदि विश्वासको मत लिँदैन भने प्रतिपक्षीले अविश्वासको प्रस्ताव पेश गर्नैपर्छ, परिणाम जेसुकै होस् । यदि अविश्वासको प्रस्ताव पारित भएन भने यही सरकारले निरन्तरता पाउँछ । तर यसले संविधानको परिपालना त हुन्छ नि ।
० त्यसो हो भने सत्तापक्ष र विपक्षी सबैले संविधानको मानमर्दन गर्दैछन् ?
— जुन किसिमको यिनीहरुको क्रियाकलापहरु भइरहेका छन्, त्यसबाट संविधानको मर्यादा परिपालना भइरहेको छैन ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया