एउटा पनि गरिब वा विपन्नलाई कुनै पनि किसिमको दुःख वा कष्ट हुन दिँदैनौं’

अन्तर्वार्ता

4/1/2020

० वैश्विक महामारी नोवेल कोरोना भाइरस (कोभिड–१९) नेपालमा फैलिन नदिन सरकारको कदम प्रभावकारी छ त ?

— वैश्विक महामारी कोरोना भाइरस नेपालमा फैलिन नदिनका लागि हामीले फास्ट ट्रयाकमा काम गरिरहेका छौं । अन्य देशहरुमा जसरी तीव्र गतिमा फैलिएको छ, त्यसमा सरकार सचेत छ । हाम्रो फास्ट ट्रयाकको काम गराइले गर्दा नेपालमा कोरोनको संक्रमण अहिलेसम्म फैलिन सकेको छैन । यो संक्रमण नफैलियोस् भनेर जनचेतना पनि फैलाइरहेका छौं । विरामीहरुलाई जाँच गरेर हामी क्वारेन्टाइनमा राख्ने व्यवस्था पनि गरिरहेका छौं र विदेशमा रहेका नेपालीहरुलाई पनि सुरक्षित साथ नेपाल फर्काउने काममा लागेका छौं ।

० तर, जनताले त्यस्तो महसुस गर्न सकेका छैनन् । राज्यविहीनताको अवस्थामा जनता छन् नि ?

— जनता अहिले राज्यविहीनताको अवस्थामा छ भने कसरी भन्नुहुन्छ ? सरकारले औषधोपचारदेखि लिएर गरीब निमुखाको खाना, कुनै पनि चीजको आपूर्तिको व्यवस्थामा कमी आउन दिएको छैन । हाम्रा खाद्य संस्थानका गोदामहरुदेखि लिएर हरेक वस्तुहरुको आपूर्ति हामीले गरिरहेका छौं । कुनै पनि अत्यावश्यक वस्तु आपूर्तिमा हामी अभाव हुन दिएका छैनौं । यस्तो अवस्थामा सरकारको अनुभूति छैन वा सरकारको उपस्थिति देखिएन भन्ने कुरा मान्न सकिँदैन । सरकारसँग सीमित स्रोत र साधनहरु छन्, तैपनि सरकारले आफ्नो तर्फबाट पूरा प्रयास गरिरहेको छ । समग्रमा भन्नुपर्दा कहींँ पनि हामीले कमी हुन दिएका छैनौं र जनता पनि खुशी छन् । नेपालमा अहिलेसम्म जम्मा ५ जना कोरोना संक्रमित फेला परेका छन्, जसमध्ये एकजना निको पनि भइसकेका छन् । यो पनि हाम्रो उपलब्धि नै हो । छिमेकी देश भारतमा हजारौं संक्रमित भइसकेका छन् र धेरै जनाको मृत्यु भइसकेको छ । यस्तो अवस्थामा हामीले बचाउनका लागि भरपूर प्रयास गरिरहेका छौं ।

० दैनिक ज्यालादारी गर्ने वा विपन्न वर्गसम्म तपाइँले भनेको कुरा पुग्न सकेको छैन नि ?

— हामीले मन्त्रालयबाट विभिन्न संघसंस्थाहरुबाट बोलाएर राहत प्याकेजहरु नेपालभरि १० लाख मान्छेलाई बाँड्ने भनेर सुरुवात गरिसकेका छौं । पूर्णरुपमा हाम्रो काम सुरु भइसकेको छ । गरिब, निमुखा र बेरोजगार भएका जनताहरुलाई एक दिन पनि भोको सुत्न नदिने हाम्रो मिशन हो । त्यसका लागि हामीले हरेक नेपालीहरुका लागि हरेक किसिमका सेवा, सुविधा र सहयोग दिन तयार छौं । कोही विरामी छन् भने घर–घरमा गएर उपचार गर्ने व्यवस्था पनि मिलाइरहेका छौं । लकडाउनको अवस्थामा पनि हाम्रा कार्यकर्ता, स्वयम्सेवकहरु घर–घरमा पुगेर सेवा दिइरहेका छन् ।

० तर, ग्राउण्ड लेवलका जनतासम्म पुग्न सकेको छैन भन्ने गुनासाहरु पनि त छन् ?

— ग्राउण्ड लेवलका जनतासम्म सेवा सुविधाहरु पुगिरहेका छन् । म मन्त्री भएर झुठो बोलेको छैन । तपाइँहरु आफै गएर रिपोर्टिङ्ग गर्नुस् । हामीले एउटा गरिब वा विपन्नलाई पनि कुनै पनि किसिमको दुःख वा कष्ट हुन दिँदैनौं । यो हाम्रो प्रतिबद्धता हो र हामी त्यसैमा लागेका छौं ।

० अहिले टोल–टोलमा सरकारको उपस्थिति छ, तर स्थानीय सरकार प्रदेश सरकारको मुख ताकिरहेका छन् भने प्रदेश सरकार केन्द्रीय सरकारको । तीनै तहको सरकारबीच सहकार्य वा समन्वय देखिएको छैन नि ?

— अहिले सरकारको आलोचना गर्ने बेला होइन । हामीले काम गरिरहेका छौं । अहिले हामीले विपन्नहरुको घर–घरमा राहत पु¥याइरहेका छौं । त्यसका लागि हामीले स्थानीय सरकारहरुसँग समन्वय गरेर वडा–वडामा गएर सामग्रीहरु पु¥याइरहेका छौं । यस्तै, प्रदेश सरकारसँग समन्वय गरेर सबै प्रदेशहरुमा आइसोलेशन बनाउने, क्वारेन्टाइन बनाउने, स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिदिने, अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरु सुचारु राख्ने लगायतका कामहरु हामी गरिरहेका छौं । हामीबीच राम्रो समन्वय र सहकार्य छ ।

० अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुसँग पीपीई (पर्सनल प्रोटेक्सन इक्विपमेन्ट) छैन, किटहरु पनि उपलब्ध छैन भन्ने गुनासाहरु आइरहेका छन् नि ?

— हामीसँग किटहरु पर्याप्त मात्रामा छन्, केही स्वास्थ्य सामग्रीहरु कम थियो । त्यो पनि हामीले चीनबाट मगाइसकेका छौं । केही किट र स्वास्थ्य सामग्रीहरु भारतबाट पनि आएको छ । हामीसँग थर्मल गन, पीपीई, भेन्टिलेटरहरु पनि पर्याप्त मात्रामा छन् । अहिले केही पनि कमी छैन । कुनै पनि ठूलो समस्यासँग जुध्न हामी तयार छौं । स्वास्थ्यकर्मीहरुको मनोवल बढाउनका लागि विभिन्न कार्यक्रमहरु लिएर आएका छौं । विदेशबाट आउने नेपालीहरुका लागि हामीले क्वारेन्टाइनको व्यवस्था गरेका छौं, उहाँहरुलाई कम्तीमा दुई हप्तासम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौं ।

० मन्त्रिपरिषद्को बैठकबाट सरकारले केही विशेष प्याकेज घोषणा गर्छ भन्ने अपेक्षा थियो, तर त्यस्तो केही देखिएन ?

— सरकारले राहतका प्याकेजहरु घोषणा गरेको छ । मेरो संयोजकत्वमा पनि एउटा आपूर्ति र राहत व्यवस्था गर्ने समिति बनेको छ । जनतालाई कुनै पनि चीजको अभाव हुन नदिने र उद्योगधन्धाहरु पनि सुचारु राख्न सक्ने वातावरणको सिर्जना गर्ने काम हामीले गरिरहेका छौं । यो सँगसँगै हामीले राहत वितरण गर्ने कामलाई पनि व्यवस्थित तरिकाले निरन्तरता दिइरहेका छौं । अहिले ठूलो आर्थिक मन्दी आउने अवस्था देखिएको छ, त्यसका लागि सरकारले निजी क्षेत्रका लागि पनि अर्थ मन्त्रालयले एउटा राहत प्याकेज ल्याएको छ ।

० अहिले २५ गतेसम्म तोकिएको लकडाउन फेरि लम्बिन सक्छ कि ?

— यस विषयमा अहिले हामी केही भन्न सक्दैनौं । यो संक्रमण भारतमा यदि उग्ररुपमा फैलियो भने लकडाउनको अवधि लम्बिन पनि सक्छ । हामी अहिले सुरक्षित छौं, हामी धेरै आतिनुपर्ने अवस्था छैन । तर, सतर्क र सचेत रहनुपर्ने आवश्यकता छ । भारत र नेपालको खुला सिमाना छ, निर्वाधरुपमा आवत जावत हुने गर्छ । त्यसैले, यदि भारतमा कोरोना संक्रमण नियन्त्रण भयो भने २५ गतेसम्म नै रहन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ