० हालै भारत र चीनबाट उच्च स्तरको भ्रमणहरु भएका छन्, यी भ्रमणहरुको सन्देश के हो ?
— भारतसँग हाम्रो सम्बन्ध अलिकति चिसिएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुराको कुरा, नक्साको कुरा आयो । यसबाट भारत खुशी भएको थिएन । हामीले जहिले पनि वार्ता गरौं भनेर ताकेता गरिरहँदा सधैंभरि यसैगरी सम्बन्ध चिसिएर राख्नु त्यो पनि नेपालजस्तो छिमेकीलाई त्यो ठिक छैन भनेर सम्बन्धलाई फेरि सामान्य बनाउँदै लाने र वार्ता र सम्वादको वातावरण निर्माणको पहल गर्नुपर्ने भारतलाई पनि महसुस भयो । भारतको नीति अलिकति परिवर्तन भएको जस्तो लाग्छ । सम्बन्धलाई सुधार गरिएन भने फेरि अर्कोतिर संलग्न होला भन्ने पनि भारतको आशंका हुनसक्छ । त्यो दृष्टिकोणले भारतले सम्बन्ध बढाउन खोजेको हो । हामीले पनि बेला–बेलामा ताकेता गर्दै गरेकोले पनि अहिले वार्ता र सम्वादको थालनी भइरहेको छ ।
जहाँसम्म उत्तरतिरका छिमेकीको कुरा हो, अहिलेको भूराजनीतिक अवस्थाले गर्दा चीन अलिकति महत्वाकांक्षी पनि भएको छ । त्यसले गर्दा उसले अलि सक्रिय रुपमा नेपाल लगायत अरु–अरु मुलुकहरुसँग पनि सहकार्य गर्ने नीति अपनाएको छ । पहिले राज्य–राज्यबीचको सम्बन्ध हुन्थ्यो । कोही एक जना व्यक्ति राजा वा दरबारसँग सम्बन्ध राख्थ्यो । तर अहिले त उनीहरुले चाहेको जस्तो कम्युनिष्ट पार्टी करिब दुई तिहाइको बहुमतसहित शासनमा रहेकोले त्योसँग बढी संलग्नता देखाउन चाहेको हो । हामीले पनि २०१६ को नाकाबन्दीको सिलसिलामा पनि चीनसँग अलिकति बढी संलग्न भएको देखाएको हुनाले पहिले भारतको प्रभाव क्षेत्र भनिएकोमा अहिले चीन पनि अलिकति सक्रिय भएको छ । त्यो दृष्टिकोणले नेपाललाई धेरै टाढा राखियो भने पश्चिमा मुलुकहरुले नेपाललाई प्रयोग गर्ला कि भन्ने पनि चीनको आशंका छ । त्यसले गर्दा सन्तुलनका लागि चीन अलिकति अगाडि आएको छ । अहिले चीनको विश्वव्यापीरुपमा आक्रामक उपस्थिति देखिन्छ जस्तो अहिले नेकपाको आन्तरिक विवादमा राजदूतको संलग्नता, पार्टीलाई मिलाउँदै हिंड्ने कामहरु भएको । पहिले भारतलाई यसै कुरामा दोष दिन्थ्यो । सानो–सानो कुरामा पनि भारत लागेको आरोप लाग्थ्यो, माइक्रो म्यानेजमेन्ट भन्थे । अहिले चीन पनि त्यस्तैमा लागेको हो कि भन्ने देखिन्छ । किनभने यहाँ राजनीति बिग्रिन्छ कि भन्ने चीनको चाहना छ ।
० उत्तर र दक्षिणबाट भएका लगातारका भ्रमणहरुले नेपालको भूराजनीतिक क्षमतालाई कति र कसरी प्रदर्शित गरेको छ ?
— संसारभरिका मानिसहरु नेपाल आउनु राम्रै हो, तर त्यो हाम्रो हितमा हुन्छ कि हुँदैन ? हामीले त्यसलाई म्यानेज गर्न सक्छौं कि सक्दैनौं भन्ने मुख्य कुरा हो । ठूल–ठूला राष्ट्रबाट आउने, गतिविधि गर्ने त्यसमा हामी सन्तुलित नीति लिन सक्छौं कि सक्दैनौं भन्ने कुरा हामीले हेक्का राख्नुपर्ने कुरा छ । विशेषगरी नेकपा भन्ने जुन पार्टी छ, त्यसले सि जिङपिङ विचारधारा, चिनियाँ कम्युनिष्ट पार्टीको लाइनमा काम गर्ने र सि जिङपिङ विचारधाराको पनि प्रचार गर्ने जस्तो नेकपामा अलि बढी सक्रियता देखाइएको छ र राज्य–राज्य बीचमा पनि सम्बन्ध छ । अलिकति बढी चीनको संलग्नता बढ्दै गएको हो कि भन्ने लाग्छ । त्यसकारणले सन्तुलन कायम गर्न सकेन भने नेपालको हितमा हुँदैन ।
० नक्सा विवादपछि नेपाल र भारतबीच संवादहीनताको अवस्था थियो, वार्ताका लागि नेपालको आग्रह भारतले अस्वीकार गरेको थियो । तर विगतको दुई तीन हप्तामा भारतबाट तीन तहको भ्रमणहरु भएका छन्, यसको के अर्थ लाग्छ ?
— यी भ्रमणहरुले नेपालसँगको सम्बन्ध अलिकति राम्रो पारौं भन्ने अर्थ राख्दछ । एउटा नयाँ कुरा के भइदियो भने सांकेतिकरुपमा रअका प्रमुखलाई विशेष विमानमा भारत सरकारको तर्फबाट आएर भेटेर गएको हुनाले रअका प्रमुखलाई पठाउनुपर्ने के कारण भन्ने कुरा सबैको चासोको विषय बनेको छ । अरु आए पनि हुन्थ्यो नि । परराष्ट्र सचिव आए हुन्थ्यो अथवा अन्य कोही आएको हुन्थ्यो दूतको रुपमा । सुरक्षाको दृष्टिकोणले भारत अलि बढी संवेदनशील भइरहेको छ कि भन्ने अर्थ लगाइएको छ । अब रअ प्रमुख र प्रधानमन्त्रीबीच के कुरा भएको छ भन्ने कुरा अहिलेसम्म खुलेको छैन । सम्बन्ध सुधार गर्दै लाने, वार्ता गर्ने भन्ने कुराहरु बाहिर त आएका छन् ।
० भारतले पहिला वार्ता गर्न चाहेन, अहिले उच्च स्तरको भ्रमण भएको छ । के यसले नेपालसँगको सम्बन्ध सुधार्न मात्र खोजेको छ कि यसको भूमि राजनीतिक प्रभाव वा अन्तर्राष्ट्रिय दबाब पनि छ ?
— अन्तर्राष्ट्रिय दबाब यसमा केही पनि छैन । भारतले नेपाललाई ब्रिटिशकै पालादेखि सामिप्यता रहेको पुष्टि गर्दै आएको छ । भारतसँग हाम्रो हजारौं किसिमका सम्बन्ध छन् । बहुआयामिक सम्बन्ध छ भारतसँग । त्यो भएको हुनाले नेपाल–भारत सम्बन्धको महत्व छँदैछ । तर भूराजनीतिक अवस्था पनि र नेपाललाई अन्य मुलुकले प्रयोग गर्ने हुन् कि भारतलाई चासो छ । भारतले नेपाल आफ्नो प्रभाव क्षेत्रमै रहोस् भन्ने चाहना राखेकै हो । नेपालसँग विशेष सम्बन्ध पनि छ । यस्तो सम्बन्ध संसारमा कँहीं छँदैछैन । त्यो सम्बन्ध कहीं बिग्रिन्छ कि, अरुले विशेष प्रभाव पार्छन् कि भन्ने भारतलाई चासो हो ।
० भारतबाट भएका भ्रमणहरु र अब हुने दुवै देशका परराष्ट्रमन्त्रीहरुको वार्ताबाट सीमाको विवाद समाधान होला भन्ने आशा गर्न सकिन्छ ?
— सिमानाको कुरा भनेको जटिल समस्या हो । कालीपूर्वको भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो भनेका छौं । सिमानाको समस्या भनेको तुरुन्त समाधान हुने पनि होइन । यतिका वर्षसम्म हामीले पनि त्यति वास्ता गरेनौं । कालापानीको कुरा आएपछि यो हाम्रो पो हो भन्यौं । त्यो पनि ५०–६० वर्ष भइसक्यो भने भारतको फौज बसेको । अहिले आएर हाम्रो हो भनिसकेपछि ती भूभाग त्यति सजिलै फर्किन्छ भन्ने लाग्दैन । यसमा धेरै समय लाग्छ । समझदारी पनि चाहिन्छ, एकअर्काको विश्वास पनि चाहिन्छ । त्यो खालको विश्वास र आत्मियता छ कि छैन ? हामीले यसलाई नक्सा निकालिसक्यौं, दुई तिहाइले पास गरिसक्यौं । अब त्यो त्यतिकै फर्केर आउने अवस्था पनि छैन । भोली वार्ता गर्दा अलिकति भूभाग छोड्ने कुरा पनि हुनसक्छ । त्यो नक्सा निकालिसकेकोले त्यो अनुसारको भूभाग नेपाली जनताले खोज्छन् । नक्सा ननिक्लेको भएदेखि नक्सा तयार पारेर राखेर वार्ता टेवलमा लाँदाखेरि अलिकति लेनदेन हामीलाई मौका मिल्थ्यो । तर अब लेनदेन गर्न पनि गाह्रो छ । हामीले यो हाम्रै हो भन्छौं, उसले हाम्रो भन्छ । त्यसैले यो जटिल कुरा छ, यति सजिलोसँग समाधान होला जस्तो लाग्दैन । तर छिमेकी भएको हुनाले त्यहीं समस्याले गर्दा अरु सम्बन्धलाई त बिगार्नु भएन । ९७ प्रतिशत सिमानाका कुरा समाधान भइसकेको छ । सिमानाको कुरामा विस्तारै वार्ता गर्दै जाने, सद्भावना बढाउँदै जाने, एकअर्काको विश्वास बढाउँदै जाने । त्यसकारणले अरु कुरामा नेपाल–भारत सम्बन्धलाई धेरै अगाडि बढाउँदै लाने तर सिमानाको विषयमा विस्तारै कुरा गर्दै लाने नै नीति हुन्छ होला । होहल्ला गरेर, नाराबाजी र जुलुस निकालेर, राष्ट्रवादी भएर त्यो समस्या सुल्झिने होइन । शान्त कुटनीतिबाटै हुने हो ।
० भनेपछि सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा नक्सामा राख्न अलि हतार गर्यो ?
— सरकारले हतार गरेकै हो । संसदबाट पारित नगरेर अन्य प्रमाणहरु जस्तै नक्सालाई एउटा प्रमाण रुपमा हो भनेर रणनीतिरुपमा जानुपर्दथ्यो । तर पहिले नै नक्सामा ती भूभागहरु राखिसकेपछि फिर्ता त गराउनुप¥यो । नभए नेपाली जनताले शासकलाई समाउँछन् । तपाइँले दाबी गरेको जस्ताको तस्तै दिन्छु भनेर भारतले भन्यो भने त राम्रो । तर त्यहाँका राजनीतिक नेतृत्वले पनि सजिलैसँग दिन सक्ने अवस्था अलि अप्ठ्यारो छ । अब हुने कुरा भइसक्यो, संसदबाट सर्वसम्मतले पास भइसक्यो । तर अब कसरी गर्ने भन्ने विश्वास चाहिन्छ, एकअर्कामा सद्भावना चाहिन्छ । त्यो वातावरण बनाएर मात्रै कुराकानी गर्दा फर्किहाल्छ भन्न सकिँदैन तर वातावरण बनाउँदै लाने ।
० सरकारले हतारमा नक्सा पारित गर्नुको पछाडि बाह्य दबाब पनि थियो कि ?
— भारतका पक्षबाट त्यस्तो आरोप लगाउन हुन्थेन । त्यहाँका प्रधानसेनापतिले त्यसलाई सच्याएको पनि छ । त्यहाँका मिडियाले पनि अनावश्यक रुपमा धेरै कुराहरु उचालेको हो । यहाँ पनि राष्ट्रवादको कुरा उठिहाल्छ । तर सरकारको तर्फबाट त्यस्तो खालको प्रतिक्रिया होइन ।
० भारतबाट भएका भ्रमणहरुमा उसको केही राजनीतिक महत्वाकांक्षा पनि छ कि ?
— यो क्षेत्रको एउटा ठूलै राइजिङ्ग पावर हो । स्वाभाविकरुपले अन्य मुलुकहरुको चलखेल नहोस्, विशेषगरी चीनको चलखेल नहोस् भन्ने भारतको इच्छा हो । त्यसमा सतर्क भएरै भारत अहिले सम्बन्धलाई अलिकति सुधार्न लागेको हो ।
० चिनियाँ रक्षामन्त्रीको हालै भएको भ्रमणको निहित अर्थ के हो ?
— नेपालको सेनासँग सम्बन्ध जोड्न खोजेको छ । ५–७ घन्टाको बसाईको क्रममा नेपाली सेनासँग नै धेरै छलफल भयो । दुवै देशको सेनाले संयुक्तरुपमा सैन्य अभ्यास गर्ने लगायतका कुराहरु छन् । चीनले अलिकति संलग्नता बढी खोजेको छ । चीनले सम्बन्ध अलि कति बढी बढाउने, सामरिक महत्वका कुरा लगायतको रणनीतिक हिसावले नेपाल आएको देखिन्छ ।
० यी भ्रमणहरुले नेपालको भारत र चीनसँगको सम्बन्धमा कस्तो प्रभाव पार्छ ?
— हामी सन्तुलित हुनुपर्छ । उनीहरु आउँछन्, नआऊ भन्न सक्दैनौं । हामीले उनीहरुसँग व्यवहार कसरी गर्ने, कति संलग्न हुने त्यो हाम्रो रणनीतिमा भर पर्छ । त्यसकारणले हामी धेरै सतर्क हुनुपर्छ ।
० चीन र भारतबीच बढ्दो असमझदारी र प्रतिस्पर्धाले भूराजनीतिक संवेदनशीलतासँगै चीनको आक्रामक शैली र प्रभाव नेपालमा बढेको हो ?
— त्यो त देखिएकै छ । संसारमै अहिले अमेरिकालाई उछिन्नुपर्ने भनेको छ । भारतलाई उसले ठूला शक्ति मान्दैन । तर जे भएपनि भारत पनि एउटा ठूलै शक्ति हो । चीन जतिको विकसित नभएको होला, तर अरु किसिमले भारत धेरै अगाडि छ । भारत ठूलै शक्ति हो, यो क्षेत्रको । प्रतिस्पर्धात्मक सम्बन्ध त ठिकै हो तर सैनिकरुपले प्रतिस्पर्धा भयो भने युद्धको अवस्थामा पुग्ला भन्ने डर मात्रै हो । युद्धको अवस्था नआउँला । किनभने दुइटैलाई अहित हुन्छ । चीनको पनि महत्वकांक्षा खत्तम हुन्छ ।
० भारत र चीनको तनावले नेपाललाई कस्तो असर गर्छ ?
— नेपाल अब सतर्क हुनुपर्छ । दुई मुलुकबीचको तनावमा हामी संलग्न हुने होइन । पहिला पनि हामी संलग्न भएका थिएनौं । धेरै कुरामा हामी सतर्क हुनुपर्छ । अहिले भूराजनीतिक अवस्था झन्–झन् जटिल हुँदैछ, हामी पनि आर्थिकरुपले कमजोर हुन लागेका छौं । राजनीतिक खिचातानी र मारामारले गर्दा हामीलाई कमजोर बनाइरहेको छ । दुई तिहाइको सरकार भनिए पनि झन् बढी कमजोर देखिन्छ । दुई तिहाइ मात्रै भएर स्थिरता आउँदैन । मानसिकरुपले अस्थिर छ यो सरकार । यस्तो बेला झन् बाहिरको शक्तिले त मौका पायो भने राम्रो हुँदैन नि ।
० सीमा विवाद पछि भारतको नेपाल नीतिमा परिवर्तन भएको हो ?
— नेपाल र भारतबीच यस्तो सम्बन्ध छ कि मूलभूतरुपमा नीति परिवर्तनै हुँदैन । कतैतिर संलग्न नभइकन राम्रोसँग बस्नु बाहेक हामीसँग विकल्प छैन । नेपालको त नीति नै छैन । नेपाल र भारतले एउटा प्रबुद्ध व्यक्तिको समूह बनायो । उसले आफ्नो रिपोर्ट दिएपछि बुझ्नुपर्ने थियो भारतले पनि । किनभने त्यो रिपोर्टमा भारतका मान्छे पनि संलग्न छन् । त्यसकारणले भारत सरकारले नेपालसँगको रणनीतिमा परिवर्तन गरेको जस्तो लाग्दैन । नेपालले त्यसमा अलिकति परिवर्तन गरौं भन्नेमा छ । त्यस विषयमा कुरा मिलेको छैन । त्यसैले मूलभूत रुपमा फ्रेमवर्कमा परिवर्तन हुँदैन । नेपाल–भारत सम्बन्ध जे जस्तो भएपनि मूलभूतरुपमा यस्तै नै रहन्छ ।
० सीमासहित अन्य विषयहरुमा नेपालले भारतसँग कसरी प्रस्तुत हुनुपर्छ ?
— नेपालले आफ्नो गृहकार्य राम्रोसँग गर्नुपर्छ । होहल्ला गरेर, नारा–जुलुस गरेर राष्ट्रवादको नाममा उछाल्नु हुँदैन । शान्त कुटनीतिक तवरले कुरा मिलाउनु पर्छ । समझदारी बनाउनुपर्छ । उसलाई विश्वास चाहियो । कतै नेपाल चीनसँग मिलेको छ कि भन्ने शंका छ, त्यो शंका हटाउनुपर्छ । त्यसकारणले शान्त कुटनीतिक आधारमा यी समस्याहरुलाई समाधान गर्नुपर्छ ।
० अब हुने परराष्ट्रस्तरीय बैठकले विवादहरु समाधान गर्न समक्ष होला ?
— समाधान भइदियो भने राम्रो तर त्यति सजिलोसँग एउटै वा दुइटै वार्तामा हुँदैन । यसमा धेरै समय लाग्छ । साधारण सिमानाको कुरा समाधान भएको छैन । यसमा समय लाग्छ । यसको समाधान कसरी हुन्छ, कहिले हुन्छ भन्न सक्ने अवस्था छैन । अन्य सम्बन्धहरु सुमधुर हुँदै जानुपर्छ । अन्य आयामहरु पनि त छन् नि, त्यसमा सुधार हुँदै जानुपर्छ ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया