० मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
— अहिले मुलुकको अवस्थालाई हेर्ने हो भने धेरै चोरहरुले आफ्ना सुरक्षाका लागि चारैतिरबाट घेरेको पर्खाल भित्र बसेका छन् । समस्या भागवण्डाभित्रै हुने हो । यस्तो अवस्थामा जुन विमतिहरु उत्पन्न हुन्छ, मुलुकमा झण्डै त्यस्तै स्थिति देखिएको छ । मुख्य राजनीतिक दलहरुले आफ्नो जातीय सुरक्षाका लागि, आफ्नो राजनीतिक हितका लागि यिनीहरुले संविधान बनाए । त्यो संविधान बनाउँदा अन्य स्टेकहोल्डरहरुलाई खासै ध्यान दिएनन् । उनीहरुका अपेक्षाहरुलाई कुनै ज्ञानगिद्दीमा राखेनन् । त्यसरी उनीहरुले बनाएका संविधानका बारेमा उनीहरु ढुक्क थिए कि हामीलाई कसैले भेदन गर्न सक्दैन, हाम्रो हितलाई कसैले नोक्सान पु¥याउन सक्दैन । तर संवैधानिक र कानूनीरुपले अत्यन्तै ठूलो प्रतिरक्षा घेरामा बसेपनि उनीहरुको स्वार्थको टकरावले गर्दा त्यो प्रतिरक्षाको घेरा टुट्न गएको छ र मुलुक एकैचोटि चुनावमा गएको छ । प्रजातन्त्र रहने कि नरहने त्यो प्रश्न अर्को उठेको छ, राष्ट्रपतिको गरिमामाथि गम्भीर चुनौतीहरु थपिएका छन्, अदालत सर्वत्रबाट दबाबमा परेको छ । यो दशक यता कहिल्यै पनि नेपालको यस्तो स्थिति थिएन ।
० नेकपाभित्रको विवादकै कारण संसद विघटन भयो कि यसका पछाडि अन्य केही कारणहरु पनि छन् ?
— नदेखिएका अन्तर्निहीत कारणहरुतिर म जान चाहन्न । तर देखिएको कारण नेपालमा एउटा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणका लागि दुईटा पृथककारी कार्यशैलीका पार्टीहरु चुनावपछि एक भए । तर उनीहरुले आफ्नो पार्टीको व्यवस्थापन गर्न सकेनन् । पार्टीभित्रका चुनौतीहरुलाई उनीहरुले मिलाउन सकेनन्, जसले गर्दा एकातिर जनअपेक्षाहरु पूरा भएन । समृद्धिको सपना जनतालाई उनीहरुले जसरी देखाएका थिए आफ्नै घर झगडाका कारण ध्यान दिन सकेनन् र आफ्नो घरझगडालाई पनि व्यवस्थित गर्न सकेनन् । फलतः उनीहरुले खेल्ने ठाउँ प्रजातन्त्र र संविधान भयो । घरझगडाकै कारणले यो परिस्थिति उत्पन्न भएपनि अहिले सबैभन्दा ठूलो प्रहार संविधानमाथि हुन गएको छ । भोलीको दिनमा निर्वाचन हुन्छ कि हुँदैन, निर्वाचन भए कस्तो परिस्थिति हुन्छ लगायतका अनेक प्रश्नहरु अहिले उत्पन्न भएको छ । तर यसको उत्पति नेकपाको आन्तरिक विवादकै कारण भएको हो ।
० प्रधानमन्त्रीले यस्तो ठूलो कदम चाल्नुको पछाडि अन्य कतैबाट निर्देशन वा सहयोग पाउनुभएको हो कि ?
— प्रधानमन्त्रीले बाहिरबाट निर्देशित वा प्रभावित भएर यस्तो कदम चाल्नु भएको हो कि भन्ने कुराहरु देखिँदैन । प्रधानमन्त्री संसदमा पनि शक्तिको आधारमा असुरक्षित देखिनु भएको थिएन । पार्टीभित्र पनि उहाँको स्थान बडो सुरक्षित थियो । उहाँका पार्टीभित्रका विरोधीहरु प्रचण्ड र माधव नेपालहरु मुख्य फोरमहरुमा जान सकिरहेका थिएनन् । मुख्य फोरम भनेको केन्द्रीय समितिको बैठक बसाउन सकिरहेका थिएनन्, जसको निर्णय प्रधानमन्त्रीका लागि बाध्यकारी हुन सकोस् । अथवा त्योभन्दा पनि बलियो फोरम भनेको संसद हो, जसले प्रधानमन्त्रीको चयन गर्दछ । त्यसबाट प्रधानमन्त्री असुरक्षित हुनुभयो भन्ने कुरा कतैबाट देखा परिरहेको थिएन । उहाँ नेकपाको संसदीय दलका नेता हुनुहुन्थ्यो, अपार बहुमत थियो । पार्टीको केन्द्रीय समितिमा पनि प्रधानमन्त्रीको विपक्षमा बहुमतको अवस्था थिएन । यस्तो अवस्थामा प्रधानमन्त्रीले यस्तो कदम चाल्नु बडो आश्चर्यजनक त भएको छ । तर यस्तो शक्तिशाली प्रधानमन्त्रीलाई कसले निर्देशन दिएका होलान् ।
० बाह्य शक्तिको निर्देशन होला कि ?
— प्रधानमन्त्रीको यो कदमबाट नेपाल अस्थिर भएको छ । भनेपछि सहजरुपमा अनुमान गर्न सकिन्छ कि अस्थिर नेपाल भारत वा चीनको स्वार्थलाई पूरा गर्दैन । नेपालमा जति अस्थिरता वा हलचल हुन्छ, छिमेकीहरुलाई त्यति नै असर गर्छ । हामीले सुन्दै पनि आएका छौं कि यहाँ ठूलठूला आन्दोलन हुँदा चीन र भारत दुवै सतर्क हुन्छन् कि यहाँको अस्थिरताले हामीलाई पनि असर गर्छ । यो राजनीतिक कदमले गर्दा नेपाल त अस्थिर भयो, त्यसले उनीहरुलाई कुनै फाइदा पुगेको जस्तो लाग्दैन । त्यसकारणले प्रधानमन्त्रीले आफ्नै आन्तरिक कारणले यो निर्णय लिन बाध्य भएको हुनुपर्दछ ।
० केही दिन पहिला राजावादीहरुको प्रदर्शनहरु धेरै भइरहेको थियो, यसको प्रभाव कतिको हुन सक्छ ?
— यता केही दिनदेखि मुलुकका केही प्रमुख शहरी क्षेत्रहरुमा राजाको पक्षमा नारा जुलुसहरु लाग्यो । तर त्यो बडो कुहिरोभित्रको प्रदर्शन हो । त्यसका उद्देश्यहरु सफारुपमा सार्वजनिक भइरहेको थिएन । केही ठाउँहरुको जुलुसमा राजा आउ देश बचाउ भनेर नारा लाग्यो । ठिक छ, त्यो एउटा अमूर्त कुरा हो, राजा आएर देश जोगिन्छ वा जोगिदैन । राजनीतिकरुपले उनीहरुले उठाएका कुराहरु ०४७ सालको संविधानलाई फेरि लागू गर्नुपर्दछ र संवैधानिक राजतन्त्रलाई पुनस्र्थापित गर्नुपर्दछ । यदि अहिलेको राजनीतिक दलहरुका कारण मुलुकमा बेथिती उत्पन्न भएको छ, यदि अहिले राजनीतिक दलहरुले मुलुकलाई सम्हाल्न सकेको छैन भने विद्या भण्डारी राष्ट्रपतिको ठाउँमा संवैधानिक राजाको ठाउँमा ज्ञानेन्द्रलाई फेरि पदार्पण हुन्छ भने राजनीतिक पार्टीहरु त यिनै रहने हो । फेरि पञ्चायती व्यवस्था त आउने होइन । आजको दिनमा राजाको अभिष्ट पूरा गर्ने राप्रपा जस्तो पार्टी निर्णायक पनि हुने छैन । त्यसकारण यही कांग्रेस, कम्युनिष्ट र मधेशवादीको संसद रहेर र चुनावबाट यिनीहरु नै जितेर गएर संवैधानिक राजाको रुपमा ज्ञानेन्द्र आउँदा मुलुकमा कुन चाँहि थिति वा परिवर्तन आउनेबाला छ ? त्यसले गर्दा त्यो एउटा कुहिरोभित्रको मोभमेन्ट थियो ।
० यदि संसद पुनर्बहाली भयो भने त्यसपछिको सत्ता समीकरण कस्तो बन्ने देख्नुहुन्छ ?
— पहिलो कुरा त यस्ता विषयहरु सर्वोच्च अदालतमा किन पुग्दछ । यो अस्वाभाविक होइन । अहिलेको यो राजनीतिक विमती छ, जसको कारणले प्रधानमन्त्रीले यस्तो निर्णय गरे । भनेपछि यदि सर्वोच्चले संसदको पुनस्र्थापन गर्दछ भने पनि राजनीतिक अस्थिरता नै रहन्छ । किनकि यी सबै कुरालाई एकरातमै बिर्सेर बहुमत प्राप्त नेकपा उही सौहार्दताका साथ सरकारमा काम गर्न सक्दैन र आपसमा उनीहरुमा समझदारी हुन सक्दैन । स्वाभाविकरुपले संसद पुनस्र्थापन भयो भने केही हारेको पक्ष बन्न जान्छ, माधव नेपाल र प्रचण्ड पक्ष विजेता पक्षको रुपमा अगाडि आउँछन् । उनीहरुको पहिलो काम नै ओलीलाई सरकारबाट हटाउनु हुनेछ । त्यसले गर्दा यो दुई वर्षमा राजनीतिक स्थायित्व हुने छैन । यदि पुनस्र्थापित भयो भने यो संसदको अवधि पूरा उथल–पुथल रहन्छ । यदि चुनाव भयो भने बरु देशले एउटा नयाँ कोर्स लिन्छ ।
० यो संविधानलाई कालो भन्दै विरोध गर्दै आएको जसपाले संविधान रक्षाका लागि भन्दै गरिरहेको आन्दोलनलाई कसरी हेरिरहनु भएको छ ?
— प्रधानमन्त्रीले संसद विघटन गरे, यो संविधान समाप्त भयो, अब हामी रमाइलो गरौं भन्ने स्थिति जसपाको छैन । जसपाले एउटा जिम्मेवार राजनीतिक पार्टीको रुपमा त्यसरी सोच्नु पनि हुँदैन । मैले बुझेअनुसार जसपाका नेताहरुको धारणा जसरी सार्वजनिक भइरहेको छ, खासगरी अरु नेताभन्दा पनि महन्थ ठाकुरको विचारलाई प्राथमिकता र प्रमुखता मान्नुपर्छ । उहाँको एउटा कुरा प्रष्टरुपमा आएको छ कि यो प्रजातन्त्रमाथिको प्रहार हो । यदि यस प्रहारबाट प्रजातन्त्रलाई जोगाउन सकिएन भने समाप्त भएर जान्छ र मधेशीले फेरि लामो संघर्ष गर्नुपर्ने हुन्छ । मधेशका मुद्दाहरुका बारेमा नेपाली कांग्रेस अथवा प्रचण्ड–माधव नेपालहरुको नकारात्मक दृष्टिकोण हुँदाहुँदै पनि कमसेकम प्रजातन्त्र समाप्त नहोस्, त्यसका निम्ति हामी आन्दोलनमा छौं, महन्थ ठाकुरजीले भन्नुभएको छ । यो एउटा बडो महत्वपूर्ण कुरा हो । अहिले जसपा आन्दोलनमा जाँदा एउटा फेससेभ पनि पाएको छ । काठमाडौंमा घाम तापेर बस्नुभन्दा जसपाले एउटा नयाँ मुद्दा लिएर जनतामाझ गएको छ । यसबाट अनुहार लुकाउने मौका पनि जसपाले पाएको छ ।
० संसद विघटनबाट मधेशमा कस्तो प्रभाव परेको छ ?
— मधेश देशको एउटा अभिन्न भाग हो । यो मुलुकमा हुने हरेक घटनाले मधेशलाई पनि बराबर असर पार्दछ । वैश्विक महामारी कोरोनाबाट पूरा विश्व अप्ठ्यारोमा परेको छ, देश पनि अप्ठ्यारोमा छ र मधेश पनि अप्ठ्यारोमा परेको छ । अहिले वर्ष दिन हुन लाग्यो सीमा बन्द छ । मधेशको व्यापार भारतसँग बडो गहिरो गरी स्तर आबद्धता थियो । मान्छेहरु सामाजिकरुपमा जोडिएको थियो, औषधि उपचारका लागि भारतप्रति निर्भरता थियो । भनेपछि अहिले सबै कुरा लथालिङ्ग छ । सीमाको सवालमा पहाडका मान्छेले त्यति साह्रो पीडा भोग्नुपर्दैन । तर मधेश अति नै पीडामा छ । अहिलेको राजनीतिक समस्याबाट पूरै नेपाल समाधान चाहेको छ र मधेशले पनि त्यहीं कुरा चाहेको छ । अहिलेको बेलामा मधेशको धेरै ठूलो वा भिन्न खालको अपेक्षा हुनुपर्छ जस्तो लाग्दैन ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया