० जनता समाजवादी पार्टी नेपालले अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैसँग वार्ता र सम्वादमा छ । अहिले जसपाको धार के हो ?
— विगतमा हामीसँग एमाले, माओवादी र कांग्रेसहरु पटक–पटक लिखित सम्झौताहरु गरेका छन् । ती सम्झौताहरु सम्झौताका लागि मात्रै गरियो, कार्यान्वयन भएन वा भनौं उनीहरुले चाहेनन् । ती पार्टीहरुले हामीलाई बारम्बार ठग्दै आएका छन् । यो देशका उत्पीडित वर्ग समुदायले आफ्ना अधिकार, सम्मान र पहिचानका लागि निरन्तर संघर्ष गर्दै आएका छन् । अहिले जनता समाजवादी पार्टी निर्णायक भूमिकामा छ । हामी अहिले सशक्त र सतर्क भएका छौं । हाम्रा लागि कांग्रेस, एमाले र माओवादी तीनै दल प्रतिगामी हुन । संविधान निर्माणका बेला हामीले हाम्रा माग र मुद्दाहरु पनि सम्बोधन होस् भनेर सडकमा रहँदा ती शासकवर्गले हाम्रा टाउको र छातीमा गोली चलाएर पनि संविधान जारी गरे । हामीसँग ती पार्टीहरुले आज वार्ता र सम्वाद गर्दा हामीले कुनै नयाँ कुरा भनिरहेका छैनौं । हामीसँग विगतमा गरिएका सहमति सम्झौताहरु कार्यान्वयन गरिदिनुस् भनेर स्पष्ट भन्दै आएका छौं र अहिले पनि भन्दै छौं । हाम्रा मागहरु कार्यान्वयन भएपछि मात्रै हामी सत्ता सहकार्यको कुरामा विचार गर्छौंं । हामीले सत्ताका लागि वार्ता वा छलफल गरिरहेका छैनौं । हाम्रो माग पहिला पूरा हुनुप¥यो, त्यसपछि सत्तामा सहकार्य पछिको कुरा हो ।
० तपाइँहरुले दुवै दलसँग वार्ता वा सम्वाद गर्दा तपाइँहरुको मागप्रति को बढी सकारात्मक देखिन्छ ?
— नेकपा एमालेका नेता सुवास नेम्वाङले सार्वजनिक रुपमा भन्नुभयो कि जसपाको मागप्रति सरकार सकारात्मक छ । तर सकारात्मक मात्र भएर हुँदैन, गरेर देखाउनुप¥यो नि । जसले हाम्रा मागहरु पूरा गर्छन् उसलाई नै हाम्रो समर्थन हुनेछ । हाम्रा मागप्रति त पहिला नेकपा एमाले सकारात्मक थियो । यसभन्दा पहिला पनि हामीले आश्वासनको भरमा यो सरकारलाई समर्थन गरेका थियौं । त्यतिबेला हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेका थियौं र उहाँले हाम्रो माग सम्बोधन हुन्छ भनेर पनि भन्नुभएको थियो । उहाँले आवश्यकता र औचित्यको आधारमा संविधान संशोधनदेखि लिएर अन्य कुराहरु पनि पूरा गर्नेछौं भन्नुभएकै थियो । त्यसले गर्दा यिनीहरुको नियत र व्यवहारमाथि हाम्रो शंका छ । त्यसले गर्दा हामी यसपटक आश्वासन वा सहमति गरेकै भरमा समर्थन गर्न जाँदैनौं । हामी सतर्क छौं । हामीले स्पष्टरुपमा आफ्ना कुराहरु राखिरहेका छौं कि हाम्रा मागप्रति सकारात्मक भएर मात्रै हुँदैन, पहिला गरेर देखाउनुस् । त्यसपछि अरु कुराहरु हुन्छ । हाम्रो संसदीय दल स्पष्ट छ । केपी ओलीलाई नै समर्थन गर्नुपर्ने वा प्रचण्डलाई नै साथ दिनुपर्ने भन्ने हाम्रो कुनै धार छैन ।
० तपाइँहरुले वार्ता र सम्वादमा संविधान संशोधनको आवश्यकता र औचित्य पुष्टि भएको हो कि होइन भन्ने प्रश्न किन गर्नुहुन्न ?
— हामीले दुवै पक्षलाई यो प्रश्न गरिरहेका छौं । यति मात्रै होइन, हामीले विगतका दिनलाई सम्झाइरहेका छौं । विगतमा हामीलाई दिइएको पीडा बिर्सिएका छैनौं भन्ने पनि भनिरहेका छौं । त्यसैले हाम्रो मुद्दामा जो सकारात्मक रुपमा आउँछ र गर्ने इच्छा शक्ति जाहेर गर्छ उहाँसँग हामी जान तयार छौं ।
० तर अहिले तपाइँहरुको माग पूरा गर्ने ठाउँमा नेकपा एमाले देखिएको छ नि ?
— निश्चितरुपमा नेकपा एमाले अहिले गर्ने ठाउँमा नै छ । तर उहाँहरु त्यति नै सकारात्मक हुनुहुन्छ भने गरेर देखाइदिनु प¥यो नि । कमसेकम सरकारले तत्काल गर्न सक्ने कामहरु पूरा गर्न सक्छ । हाम्रा आन्दोलनकारीहरुमाथि लगाइएको मुद्दा फिर्ता, क्षतिपूर्ति दिने, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका कुराहरु सरकारले सजिलै र तत्काल गर्न सक्छ ।
० तपाइँहरु त दुवै पक्षसँग बार्गेनिङ्ग गरिरहनुभएको छ भन्ने आशंका गरिँदैछ नि ?
— हामी स्पष्ट छौं कि जसले माग पूरा गर्छ उसलाई समर्थन गर्ने हो । हामीले सत्ताका लागि बार्गेनिङ्ग गरिरहेको होइन । जसले हाम्रो आवश्यकता र औचित्य बुझेको छ र जसको कदम अगाडि बढ्छ, उसलाई नै समर्थन गर्छौं । कतिपय मिडियाहरुले अफवाह फैलाइरहेका छन् कि सत्ता सहकार्यका लागि समर्थन नै गरिसक्यो । कतिपय मिडिया पनि नश्लवादी सोचबाट ग्रसित भएर समाचार सम्प्रेषण गर्छन् । हामीले सत्ता समीकरणको कुरा गरेकै छैनौं तर कतिपयले सत्ता सहकार्यका लागि वार्ता ग¥यो लगायतका भ्रम फैलाउन खोजिरहेका छन् । हाम्रो संसदीय दलको बैठकबाट स्पष्ट निर्णय भएको छ कि हाम्रो प्राथमिकता मुद्दा हो, सत्ता होइन ।
० सत्तामै भएको दलसँग ठोसरुपमा वार्ता गरी माग पूरा गराउने अवस्था छैन ?
— हामीले त्यसैका लागि एउटा वार्ता समिति पनि बनाएकै छौं र सम्वाद भइरहेकै छ । सरकारले चाहयो भने हाम्रा एक हप्ताभित्रै पूरा गर्न सक्छ । संविधान संशोधनको प्रक्रियामा जान समय चाहिन्छ तर तत्काल गर्न सक्ने कामहरु गरेर देखाउनुपर्छ । विगतको दिनमा कांग्रेसले नै संविधान संशोधनको विषय संसदमा ल्यायो, पास हुन सकेन । संसदले गर्ने काम पछि हुँदै जाला तर कमसेकम सरकारले गर्ने काम गरिदिनु प¥यो । हामीले आश्वासन वा सहमतिकै आधारमा सरकारलाई समर्थन गर्ने वातावरण नै छैन । बारम्बार हामीसँग धोका भएको छ । कति पटक हामी ठगिने ? हामी समर्थन गर्नकै लागि जन्मिएको होइन नि । उहाँहरुले त पटक–पटक लिखित सम्झौता गर्नुभएको छ । कुनै व्यक्तिले लिखित सम्झौता गरेपछि पूरा नगर्दा कानूनी अपराध भनेर दण्ड सजायको व्यवस्था छ । त्यसले यिनीहरुले विश्वास गुमाएका छन् ।
० जसपाभित्रै अहिले दुई धार प्रष्ट देखिएको छ नि ?
— जसपाभित्र एउटा मात्रै धार हो, जसले हाम्रो माग पूरा गर्छ उसलाई समर्थन जान्छ । हाम्रा वार्ता टोलीमा पूर्वराजपाका मात्रै छन् भन्ने प्रश्नहरु पनि उठेका छन् । अचानक वार्ताका लागि बोलाइएपछि संयोगवश पूर्वराजपाका दुई जनाको नाम गयो । सो वार्ता टोलीमा पूर्वसमाजवादीका साथीहरुलाई राखिनेछ ।
० अहिले पूर्वराजपा र पूर्वसमाजवादीका नेताहरुले छुट्टाछुट्टै रुपमा एमाले र माओवादीका नेताहरुसँग वार्ता गरिरहेको छन्, किन ?
— संयुक्तरुपमा वार्ता टोली गठन भएपछि छुट्टाछुट्टै वार्ता हुँदैन । अहिले अनौपचारिक छलफल मात्रै भइरहेको छ ।
० जसरी प्रधानमन्त्री ओलीकै कारण जसपाको निर्माण भयो, त्यसरी नै अहिलेको प्रक्रियाकै कारण जसपा फुट्ने सम्भावना छ कि छैन ?
— यो बाहिरी हल्ला मात्रै हो । त्यस्तो कुनै सम्भावना छैन । हाम्रा एकताका लागि लामो समयदेखि वार्ता र सम्वाद चलिरहेको थियो, हामी एकता गर्ने निष्कर्षमा पुगिसकेकै थियौं । तर, जतिबेला प्रधानमन्त्रीले राजनीतिक दल फुटाउनेसम्बन्धी अध्यादेश ल्याउनुभयो, त्यही बेला एकता घोषणा भयो । त्यसैले सत्ता सहकार्यका लागि जसपा फुट्छ भन्ने भ्रमको पछि नलागौं । जसपा एकढिक्का छ र रहिनेछ । हामीले संसदीय दल पनि समायोजन गरिसकेका छौं । यदि फुट्ने अवस्था आएको भए अहिले संसदीय दल समायोजन गर्नुपर्ने आवश्यकता थिएन । हाम्रो संसदीय दलको बैठक करिब–करिब पाँच–छ घन्टासम्म चल्यो र त्यसले केही निर्णयहरु पनि गरेको सार्वजनिक भएकै हो । त्यसैले गर्दा जसपाभित्र कुनै विवाद छैन । लोकतान्त्रिक पार्टीमा सबैको आआफ्नो विचार र मत अवश्य नै हुन्छ । ठूलो त्याग र तपस्याबाट यो पार्टीको निर्माण भएको हो । अहिलेको राजनीतिक गतिविधिले जसपा फुट्न लाग्यो भन्ने खालका कुराहरु गलत प्रचार हो, यो भ्रममा नपर्न म सबैलाई आग्रह पनि गर्न चाहन्छु ।
० जसपाले आफ्नो संसदीय दलको नेता कहिलेसम्म टुंगो लगाउँछ ?
— अबको एक दुई हप्ताभित्र नै जसपाले आफ्नो संसदीय दलको नेता चयन गर्छ ।
० जसपाले एमाले र माओवादीसँग वार्ता वा सम्वाद गर्दा जसपालाई सरकारको नेतृत्व दिने अफर आउँछ कि आउँदैन ?
— त्यस्ता अफरहरु आउँदा हामीले त्यसमा प्रवेश नै गर्न चाहेका छैनौं । हाम्रा नेतृत्व पंक्तिले स्पष्टरुपमा भनेकोे छ कि अहिले हामी त्यो विषयमा प्रवेश नगरौं । विगतमा तपाइँहरुले हामीसँग गर्नुभएका सहमतिहरु कार्यान्वयन गर्नुस् । हाम्रा मागहरु सम्बोधन भएपछि देखा जाला ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
<iframe src="//www.youtube.com/embed/nVSQ3Z2yMIM" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>
तपाईको प्रतिक्रिया