‘जसपा जोसँग ठगियो आज उसैसँग मिठाई खान खोज्दैछ’

अन्तर्वार्ता

3/19/2021

० अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अलमलमा परेको हो ?

— प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमविरूद्ध नेपाली कांग्रेसले पनि संघर्ष गरेको थियो । सर्वोच्च अदालतले केपी ओलीको प्रतिगमनकारी कदमलाई खारेज गरेपछि अहिले कांग्रेस मौन बसेको छैन । मूल कुरा के हो भने नेपाली कांग्रेससँग एक्लैले सरकार बनाउने संख्या छैन । कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालबीच सहकार्य हुनुपर्छ । यी तीनै पार्टीले केपी ओलीको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरूद्धमा सडकमा थिए । यी तीनै पार्टीको निष्कर्ष के थियो भने केपी ओलीले संविधान विरोधी काम गरे । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिसकेपछि यी तीनवटा शक्तिले वैकल्पिक सरकार निर्माण गर्ने कार्य गर्नुपर्ने हो ।

० कसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनुपर्ने हो त ?

— नेपाली कांग्रेस यी तीनवटै दलमा सबभन्दा ठूलो पार्टी भएको हुनाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने अग्रसरता लिनुपर्दथ्यो । तर अहिले जनता समाजवादी पार्टी नेपालको निष्कर्ष पनि आइसकेको छैन । केपी ओलीसँग पनि जसपाको वार्ता सघन भइरहेको छ । सकारात्मक वार्ता भइरहेको छ भन्ने कुराहरू मिडियामा आइरहेका छन् । अर्को कुरा माओवादी केन्द्रले ओलीसँग मिलेर नेकपा पार्टी बनाएको र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छैन । भनेपछि यो अवस्थामा कांग्रेसले सरकार बनाउन अग्रसरता लिनु मुनासिब देखिँदैन । त्यसकारण कांग्रेस माओवादी केन्द्र र जसपासँग वार्तामा छ । कांग्रेसले वार्ता र छलफल गरिरहेको छ, परिस्थितिको मूल्यांकन गरिरहेको छ । तर अहिले मूल रूपमा कुनै निष्कर्षमा पुग्ने अवस्था छैन ।

० वैकल्पिक सरकारको नेतृत्वबारे कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति जुट्न नसकेको हो ?

— वैकल्पिक सरकारको नेतृत्व कसले गर्ने भन्ने तहसम्म अहिले कुराकानी भएकै छैन । मिडियामा आइरहेका कुराहरूको आधारमा जसपा निष्कर्षमा पुग्न सकिरहेको छैन । किनभने जसपाको केपी ओलीसँग बालुवाटारमा विभिन्न चरणमा वार्ता भइरहेका छन् । ती वार्ताहरू सकारात्मक छ र सबै पार्टीहरूसँग वार्ता चलाइरहेका छौं भन्ने कुराहरू उहाँहरूको आइरहेका छन् । केपी ओली नेतृत्वको सरकार बन्ने समयमा माओवादी केन्द्रले समर्थन गरेर पार्टी नै विलय गरायो । तत्कालीन अवस्थामा राजपा र समाजवादी पार्टीले पनि केपी ओली नेतृत्वको सरकारलाई समर्थन ग¥यो । उपेन्द्र यादवको पार्टीले सहमति गरेर सरकारमा सहभागी नै भयो र राजपाले समर्थन ग¥यो । त्यो अवधिमा मधेशका कुनै पनि मुद्दाको सम्बोधन केपी ओली नेतृत्वको सरकारले गरेन । केपी ओलीको व्यवहारले तत्कालीन ती दुवै पार्टीलाई सडकमा पु¥यायो । यता आएर केपी ओलीले संसद विघटन गरेपछि केपी ओलीसँग वार्ता गर्नुपर्ने, केपी ओलीसँग आशाको नजरले हेर्नुपर्ने, केपी ओलीले मधेशबाट मुद्दाहरू सम्बोधन हुन सक्छ भन्ने आशा गर्नु उचित होइन । तर उहाँहरूले केपी ओलीमा के हेर्नुभएको छ, त्यो उहाँहरूको कुरा हो । अहिले जसपाका साथीहरू फेरि किन केपी ओलीसँग लसफस गरिरहेका छन् त्यो बुझ्न सकिरहेको छैन । अहिले पनि हामी चाहन्छौं कि जसपाले एउटा ठोस निर्णय लिओस् ।

० कांग्रेसले जसपाको माग सम्बोधन गर्छ त ?

— पहिला पनि तत्कालीन मधेशकेन्द्रित दलहरूले संविधान संशोधनको कुरा उठाउँदा नेपाली कांग्रेसको सरकार भनौं वा समर्थित सरकारले दुई–दुई पटक संशोधन प्रस्ताव दर्ता ग¥यो । तर तत्कालीन एमालेको विरोधका कारण संविधान संशोधनको मुद्दा विफल भएको थियो । त्यस कारणले जुन सहमति गरेको थियो वा जुन कुरा गरेको थियो त्यसमा खरो रूपमा उत्रेको छ । अहिले पनि जुन कुराको सहमति हुन्छ, त्यसलाई इमान्दारीपूर्वक कांग्रेसले लागू गर्छ । कांग्रेसले जे भन्छ, त्यो गर्छ, झुठा आश्वासन दिने कुरा छैन । जसपा आफै अहिले निर्णय गर्ने अवस्थामा पुगेको छैन । त्यसकारणले पनि राजनीतिक निकास आउन सकेको छैन ।

० एमालेले जसपाको माग पूरा गर्न सक्दैन ?

— नेपाली कांग्रेस नेतृत्वको सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधनको प्रस्ताव ल्याउँदा नेकपा एमालेले विपक्षमा मतदान गरेकोले त्यो विफल भएको थियो । अर्को कुरा करिब दुई वर्षसम्म तत्कालीन राजपाले सरकारलाई समर्थन दिएको र उपेन्द्र यादवको पार्टीमा सरकारमै गएपनि संविधान संशोधन, मधेशको सवाल, नागरिकता समस्या समाधान वा संघीयता कार्यान्वयन गर्ने सवालमा केपी ओलीको सरकारले उल्टो अपमानित गरेर दुईटै पार्टीलाई सडकमा पठाएको दृष्टान्त अगाडि छ । भनेपछि यति हुँदाहुँदै पनि केपी ओलीप्रति जसपाका साथीहरूले कसरी विश्वास गर्न सक्नुभएको छ, आश्चर्य लागिरहेको छ । विगतमा केपी ओलीको मधेशप्रतिको दुर्भावना र नकारात्मक चरित्र हेर्दा केपी ओलीसँग सहकार्य गर्ने सोच्नु बुद्धिमानी हुनेछैन ।

० भनेपछि कांग्रेस, माओवादी केन्द्र र जसपाको वैकल्पिक शक्तिले मधेशका मुद्दाहरू सम्बोधन गर्छ ?

— कांग्रेस, माओवादी केन्द्र र जसपा यी तीनै पार्टीको विचार मिलेको देखिन्छ । केपी ओलीले लोकतन्त्रलाई समाप्त गर्ने कदम चाल्नुभयो । केपी ओली सरकारको तीन वर्षको अवधि हेर्दा उहाँले धेरै लोकतन्त्र विरोधी कानून बनाउनुभएको छ, अध्यादेशहरू ल्याउनुभएको छ । यस्तो अवस्थामा केपी ओलीको विकल्पमा यी तीनै पार्टी मिलेर सरकार बनाउनु उचित हुनेछ । अहिले नेपाली जनताले पनि आशाको नजरले हेरिरहेका छन्, यी तीनै पार्टीबीचको सहकार्य उचित छ र हुनुपर्छ । यी तीनवटै पार्टी बसेर छलफल गरेर जसपाका मागहरू सम्बोधन गरेर अगाडि बढ्दा उचित हुनेछ ।

० माओवादी केन्द्रले केपी ओली सरकारबाट समर्थन पनि फिर्ता लिएको अवस्था छैन नि ?

— अहिले के कुरामा अलमल छ, त्यो बुझ्न सकिएको छैन । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो भन्नुहुन्छ कि हामी चारैतिरबाट ठगिएका छौं । कुन जमानामा कहाँ के ठगिनु भयो त्यो त विगतको कुरा हो । तत्काल ठगिएको मान्छेसँग गएर मिठाइ खाइरहनुभएको छ । केपीलाई दुई वर्षसम्म समर्थन गर्दा खेलायो–खेलायो र सडकमा पछारिदियो । त्यो कुरा तपाइँ बिर्सिरहनुभएको छ, संसद विघटन ग¥यो त्यो कुरा बिर्सिरहनुभएको छ । एउटा निर्णयमा जसपा पनि पुग्नुप¥यो । माओवादी केन्द्र पनि एउटा प्रष्ट दृष्टिकोण लिएर आएपछि तीनवटै दल मिलेर अगाडि बढ्दा लोकतन्त्रको पनि हित हुन्छ । लोकतन्त्र विरोधी शक्तिको रूपमा अहिले स्थापित केपी ओलीलाई हामीले परास्त गर्न सक्छौं ।

० सरकारको नेतृत्वबारे पनि सहमति जुट्न नसकेर पनि अहिले अनिर्णित देखिएको हो कि ?

— साधारण सामान्य ज्ञानको कुरो हो कि यी तीनटा पार्टीमा सबभन्दा ठूलो कांग्रेस रहेकोले कांग्रेसकै नेतृत्वमा जानुपर्छ । यो न्यायोचित पनि हुन्छ । जो ठूलो पार्टी हुन्छ, उसैले नै नेतृत्व गर्ने सम्भावना हुन्छ ।

० कांग्रेसले माओवादीको नेतृत्वलाई स्वीकार गर्ने अवस्था छ ?

— माओवादी त अहिले पनि सरकारमै छ । त्यसकारण माओवादीले नेतृत्व गर्ने कुरा राख्नु उचित देखिँदैन । केपी ओलीको विकल्पको सरकार दिँदा केपी ओलीलाई नै समर्थन गरेको अहिलेको जसपाले पनि दाबी गर्नु हुँदैन । तर ठूलो पार्टी कांग्रेस भएकोले कांग्रेसकै नेतृत्वमा वैकल्पिक सरकार बन्नु न्यायिक हुनेछ ।

० अब मुलुक फेरि चुनावतिरै जाँदैछ त ?

— केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक तवरले संसद विघटन गरिसकेपछि संसद स्थापित गर्न सबैभन्दा आवश्यक विषय थियो । संसद स्थापित हुने दुईटा बाटो मात्रै थियो । एउटा सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना गर्ने वा निर्वाचनद्वारा संसद स्थापित हुन्थ्यो । अहिले पनि संसदबाट निकास निस्कँदैन भने निर्वाचन हुन्छ भने कांग्रेस त्यसका लागि पनि तयार छ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ