प्रदेश ५ को नाम “लुम्बिनी” हुनुपर्छ : कल्पना पाण्डे

प्रदेशसभा सदस्य, प्रदेश नं. ५ राष्ट्रिय जनता पार्टी नेपाल

अन्तर्वार्ता

1/11/2019

० प्रदेश ५ सरकारको कामकारबाहीलाई कसरी हेरिरहनुभएको छ ?

— प्रदेश सरकारको काम कारवाही सन्तोषजनक छैन । किनभने संविधानमा उल्लेख भएको अधिकार संघीय सरकारले अवलम्बन गरेको छैन । जताततै अन्योलता छ । सरकार आफ्नै शैलीमा अगाडि बढेको छ । हामीसँग सरोकार पनि राखेको छैन ।

० प्रदेश सरकारले जनअपेक्षाअनुसार कतिको काम गर्न सकिरहेको छ त ?

— सरकार अहिलेसम्म जनअपेक्षाअनुसार कानूनको अभाव र संक्रमणकालको कारण काम गर्न सकेको छैन । हामीले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न दबाब दिएका छौं । यस समन्धमा संसदमा कुरा उठाएको छु ।

० जनताले प्रदेश सरकारको कामबाट सन्तुष्टि किन पाउन सकेका छैनन् ?

— अघि नै भनिसकेको छु । कानुनको अभाव र संविधानमा उल्लेखित अधिकार कार्यान्वयन गर्न संघीय सरकारको भूमिका प्रथम हुन्छ सो बमोजिम काम भएको छैन । त्यसकारण जनताले अनन्तुष्टि व्यक्त गरेका छन् ।

० प्रदेश ५ को संसद्मा तपाइँ राजपाबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ, केकस्ता मुद्दाहरू उठाइरहनुभएको छ ?
— प्रदेश ५ को संसदमा राजपाको प्रतिनिधि म मात्रै छु । अहिलेसम्म हाम्रो पार्टीले संघीय संसदमा जे आवाज उठाएको छ र जुन एजेण्डा लिएर आन्दोलन गरेको छ । सवै कुरा यो सदनमा मैले उठाएकै छु । जस्तै नागरिकताको सवाल, भाषा, सीमान्तकृत समुदाय, आदिवासी जनजातिको सवाल, किसानका हकहितका कुरा सबै मैले सदनमा उठाएकी छु । अहिले पनि तराई र पहाडको विभेद रहेको छ । मधेशभन्दा अलि फरक तरिकाले प्रस्तुत भएको कारण मैले दबाब दिएको छु, काम मधेशमा बढी चाहियो भनेर ।

० राजपालाई मधेशकेन्द्रित दल भन्ने गरिन्छ, भनेपछि तपाइँले मधेशका के कस्ता समस्याहरूबारे संसदमा उठाउनुभयो ?
— पहिलो कुरा राजपा मधेशकेन्द्रित दल होइन, यो भ्रम नरहोस् । राजपा नेपाल यो देशको तेस्रो ठूलो राष्ट्रिय दल हो । हाम्रो पार्टीले हिमाल, पहाड र तराईको समग्र समस्याको उठान गरेको छ । राई, लिम्बु, खुम्वूवान आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, महिला सीमान्तकृत सबैको हक अधिकारका लागि लड्ने हाम्रो पार्टी हो । यसको म स्वयम् उदाहरण छु ।

० तपाइँको सल्लाह वा सुझाव यो सरकारले कतिको ग्रहण गरिरहेको छ ?

—.अहिलेको सरकार खासै हाम्रो कुराको महत्व दिएको छैन । किनभने हामी सरकारमा सहभागी छैनौं । उहाँहरूको पूर्ण बहुमत छ । त्यसमा पनि हामीहरू अन्य प्रतिपक्षसँग सहकार्य गरेर अघि बढेका छौं ।

० प्रदेशको नामांकन सम्बन्धमा तपाइँको धारणा के छ ?

— प्रदेशको नाम लुम्बिनी राख्ने हाम्रो पार्टीको धारणा हो । म स्वयम् त्यस संसदीय समितिमा छु । मेरो भूमिका यसै अनुसार हुन्छ । अरू नाम कल्पना नगर्दा हुन्छ । भगबान गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वमै परिचित छ । लुम्बिनी नै उपयुक्त हो, अरू हुुँदैन ।

० अहिलेसम्म प्रदेशको नामांकन किन टुंगो लागेको छैन ?

—.नामाकरण सम्बन्धि छलफल चलेकै छ । छिट्टै टुङ्गोमा पुगिन्छ । अरू प्रदेश जस्तै हाम्रो प्रदेश पनि नामको कुरामा अलमलिएको छ । सम्भवतः छिटो होला आशा गरौं ।

० राजपाले आगामी बैशाखमा महाधिवेशन गर्ने भनेको छ, प्रदेशमा कस्तो तयारी भइरहेको छ ?

— देशभरि विस्तारित बैठक भयो । यसमा सम्पूर्ण जिल्लाभरि सदस्यता नवीकरण सम्बन्धित अभियान चलाउने र माघको अन्तिमसम्म स्थानीय तहमा अधिवेशन गरेर फागुन मसान्तसम्म जिल्ला अधिवेशन गर्ने कार्यक्रम छ । ढुक्क हुनुस् हाम्रो अभियान सुरू भइसकेको छ । यसको परिणाम तपाईहरू छिट्टै देख्नु हुनेछ ।

० राजपाभित्र विवादै विवाद देखिएको छ, यसको प्रभाव प्रदेश ५ मा कतिको परेको छ ?

— राजपाभित्र कुनै विवाद छैन । जीवन्त पार्टीमा बहस हुनु स्वाभाविक नै हो । प्रदेश नं. ५ मात्र होइन, कहि पनि कुनै पनि किसिमको बाधा अवरोध छैन । ६ वटा पार्टी मिलेर बनेको पार्टी हो राजपा । ६ वटा धारका मान्छे छन् त्यहींभएर अधिवेशन हुन जरूरी छ । अहिले भएको सानातिना कुरा पनि यसले अन्त्य गर्छ, मलाई पूर्ण विश्वास छ । शतप्रतिशत अधिवेशन हुन्छ । त्यसपछि सनामसिना कुरा हराएर जान्छन् ।

० विवादका बाबजुद राजपाको निर्धारित समयमै महाधिवेशन हुन्छ त ?
— म भन्न चाहन्छु मधेणवाणिबाट, हाम्रोमा कुनै विवाद छैन । समयमा अधिवेशन हुन्छ । शोसल मिडियालाई अनुरोध गर्न चाहन्छु, तपाइहरू ढुक्क हुनुस् राजपामा कुनै विवाद छैन । निर्धारित समयमा नै अधिवेशन हुन्छ ।


प्रस्तुती : चन्द्रकान्त खनाल प्रदेश नं. ५, बुटबल ब्युरो

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ