० प्रदेश २ को नामाकरण कहिलेसम्म हुन्छ ?
— प्रदेश २ लाई दुई नम्बरीको जुन ट्याग लागेको छ यो कहिलेसम्म हट्छ भन्ने सम्पूर्ण जिम्मा प्रदेश २ सरकारसँग छ । नेकपा र नेपाली कांग्रेस सरकारभन्दा बाहिर रहेका दल हो । हामीले प्रदेशको नामाकरणका विषयमा संसदमा पटक–पटक कुरा उठायौं । सरकारले नाम र राजधानीको बारेमा प्रस्ताव दर्ता गराएको छ तर त्यसमाथि कुनै छलफल भएको छैन । संसद बैठक स्थगन भइरहेको छ । प्रदेशसभा अनिर्णयको बन्दी हुनुको प्रमुख कारण प्रदेश सरकार नै हो ।
० प्रदेश सरकारले मधेश प्रदेशको नाम सिफारिस गरेकोमा कांग्रेस र नेकपाको छुट्टा–छुट्टै प्रस्ताव पनि आएको छ, त्यसले गर्दा पनि सत्तापक्षले निर्णय गर्न नसकेको हो कि ?
— त्यस्तो पनि हुन सक्छ । कसरी सहमतिमा पुग्न सकिन्छ त्यसको लागि प्रयास त गर्नुप¥यो नि । छलफल नगरी अनिर्णयको बन्दी भएर बसिराख्न त भएन । प्रदेश २ को सरकारले मधेश प्रदेश, नेपाली कांग्रेसले मिथिला, भोजपुरा प्रदेशको प्रस्ताव राखेको छ हामीले जानकी प्रदेश भनेका छौं । सबै आ–आफ्नो अडानमा रहने हो भने समाधान निस्किदैंन । जनताले कुनै दललाई पनि दुई तिहाइको म्यान्डेट दिएको छैन । छलफल गरेर मिलन बिन्दु खोज्नुको विकल्प छैन । मधेश प्रदेशमा त हाम्रो सहमति हुनै सक्दैन । त्यसको अलवा अरू कुनै एउटा साझा नाम सबैलाई मान्य हुनेगरी प्रस्ताव आयो भने त्यसमा हामी सहमत हुन सक्छौं ।
० प्रदेशको नामको विषयमा सरकारले खुल्ला रूपमा असिहलेसम्म छलफल चलाएकै छैन ?
— छैन । प्रस्ताव मात्र गरेको छ, सूचना मार्फत । हामीले पनि प्रस्ताव दर्ता गराएका छौं र त्यो भन्दा अगाडि कुनै प्रक्रिया बढेको छैन ।
० तपाईहरूलाई मधेश प्रदेश किन स्वीकार हुँदैन ?
— मधेश कहिँ प्रदेश हुन्छ ? प्रदेशको नाम त कुनै ऐतिहासिक, सांस्कृतिक नामबाट हुनुपर्ने हो । अहिले मधेशी दलहरूको प्रदेश २ मा सरकार छ तर मधेश आन्दोलन हुनुभन्दा अगाडि कुन मधेशी दल थियो ? गजेन्द्रनारायण सिंहको नेतृत्वमा २०४५÷४६ सालमा गठन भएको सद्भावना मञ्चबाट सद्भावना पार्टी बनेको थियो । गजेन्द्रनारायण सिंहको अवसान पछि त्यो पनि ५÷६ टुक्रामा विभाजित भयो । रातारात मधेशी जनता माथि शोषण, उत्पीडन भइरहेकै थियो । त्यही बीचमा लाहन घटना भयो र त्यसपछि स्वर्तस्फूर्त रूपमा मधेश आन्दोलन उठ्यो । जो मधेशी जहाँ थिए त्यहीँबाट आन्दोलनलाई नैतिक समर्थन गरे । जुनसुकै पार्टीमा लागेको भएपनि सबैले मधेश आन्दोलनलाई नैतिक समर्थन गरे । त्यसपछि केही अवसरवादी चरित्रका, जो सबभन्दा ठूलो प्रजातान्त्रिक पार्टीको रूपमा रहेको नेपाली कांग्रेसमा आबद्ध थिए, उनीहरूले मधेश आन्दोलनको यश आफूलाई दिन थाले । त्यतिबेला सत्तामा पनि त्यही पार्टी थियो तर उनीहरू मधेशमा समस्या छ भनेर किन देखेनन ? महन्थ ठाकुर त कांग्रेसको कोषाध्यक्ष हुनुहुन्थ्यो, नेपाली कांगे्रसबाट मन्त्री समेत भइसक्नुभएको थियो । विजय गच्छदार, प्रकाश गुप्ता लगायत ५÷६ पटक मन्त्री भइसकेका नेताहरू पार्टी छोडेर आएर एउटा मधेशी दल गठन गरेका हुन् । पहिला मधेश आन्दोलनको जन्म हुन्छ, त्यसको स्वामित्व कांगे्रस छाडेर आएका व्यक्तिहरूबाट गठन भएको दलले लिन्छ । उपेन्द्र यादवको पार्टी त थिएन त्यतिबेला, मधेशी फोरम भन्ने एउटा एनजिओ थियो । त्यसपछि संविधानसभा बिथोल्नकै लागि विभिन्न किसिमले तत्कालीन राजासँग मिलेर गौर घटना गराए । एक मधेशीले अर्को मधेशीलाई जसरी पनि हत्या गराउने नियतले त्यो घटना गराइयो । त्यो मधेश आन्दोलन नै होइन त्यो त मानवता विरोधी आन्दोलन हो । मधेशी जनताको भित्रैदेखि त्यो लाहनको घटनामा समर्थन थियो तर जब त्यसको स्वामित्व मधे ीभनेका दलहरूले लिए, देशी विदेशी प्रतिक्रियावादीहरूसँग मिलेर हिजोसम्म हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्नेहरू रातारात मधेशका मसिहा भए । त्यसकारण मूल रूपमा मधेशका जनतालाई शोषण गर्ने मधेशकै शोषक सामन्तहरू नै हुन ।
० मधेशी दलले उठाएका मुद्दा सही छैन भन्न खोज्नुभएको ?
— उनीहरूले आफ्नो मुद्दालाई अगाडि बढाउनपर्छ र त्यहाँसम्म ठिक छ । राज्यले दिएका सबै सुख सुविधा उपभोग गरेकै हृन्, संघीय सरकारमा पनि सहभागी छन्, प्रदेश २ मा पनि उनीहरूकै सरकार छ । संविधानले प्रत्यायोजित गरेको अधिकार प्रयोग गरैकै हुन् । उनीहरूले नैतिकता खोज्न कहाँ जाने हो ? यही संविधानलाई मानेर सपथ खाएका छन् । ३६४ दिन यही संविधानलाई मानेर तलब, भत्ता थाप्ने अनि ३६५ औं दिन संविधान दिवसको दिनलाई कालो दिवस भन्ने ? मधेशका कत्ति जनताको घर छैन अब चिसोको मौसममा शीतलहरबाट कत्तिको मृत्यु हुन्छ त्यततर्फ ध्यान छैन । उनीहरूको लागि संघीयता त ठगी खाने भाँडोझै भएको छ भन्ने मलाई लाग्छ ।
० नामको टुंगो लगाउने सन्दर्भमा नेकपाको भूमिका के हुन्छ ?
– कि हामी इतिहासमा जाऔं कि जनक प्रदेश राखौं अथवा जानकी प्रदेश राखौं । हाम्रो मुलुक पूर्वी सभ्यताको जननी हो । हामी तीन करोड नेपालीहरूको र भारतका पनि हिन्दु धर्ममा आस्था राख्नेहरूले जप्ने नाम जानकी, सीता हो । मधेश नाममा उजीहरूको जुन अडान छ आखिर मधेशलाई संसारभर चिनाउने मधेशको गौरव भनेकै जानकीजी हो नि त । जानकी छैन भने मधेशको कुनै औचित्य र अस्तित्व नै छैन अनि किन यो नाम राख्न कन्जुस्याई गर्ने ।
० प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल हो, अहिले प्रदेश प्रमुख पनि नेकपा समर्थित नै आउनुभएको छ, त्यहाँ सत्ता समीकरण हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?
— राजनीतिमा कुनै चिज असम्भव हुँदैन । अहिलेसम्म हामीले यो विषयमा छलफल गरेका छैनौं । म प्रदेश २ को इन्चार्ज पनि हो । अहिलेको सत्तापक्षसँग पनि कुराकानी भएको छैन । सुरूमा त्यहाँ प्रदेश सरकार बन्दा हामीसँग विश्वासको मत माग्नुभएको थियो । हामीले पार्टीभित्र छलफल गरेर विश्वासको मत दिएका हौं । हामी नयाँ राजनीतिक प्रणालीमा गएका छौं । हामीले संघीय व्यवस्थाको अभ्यास गरेका थिएनौं । त्यसकारण अहिले नै सत्ताको, पदको लोभ गरेर तुरून्तै अगाडि बढिहाल्न हुँदैन । यसले जनतामा यो व्यवस्थाप्रति नै निराशा पैदा गर्छ । त्यसकारण धैर्यतापूर्वक अगाडि बढ्नुपर्छ । जतिपनि बजेटहरू आएका छन् विधेयकहरू आएका छन् हामीले पास गरिदिएका छौं । प्रदेश प्रहरी सम्बन्धी विधेयकमा हाम्रो असहमति रहेको थियो । तर, लोकतान्त्रिक मान्यता अनुरूप प्रदेश सरकारले विपक्षी दलहरूसँग छलफल र व्यवहार गरेको छैन । हामीलाई पनि महसुस हुन थालेको छ उनीहरूलाई आवश्यक छैन हामीले उल्टै सहयोग पु¥याइदिएका छौं । बजेटहरू निर्माण गर्दाखेरी हामीसँग सल्लाह हुँदैन । हामीले सांसदको भूमिकामा रहेर आफ्नो योजना राख्छौं त्यो कतिपय स्वीकृत हुन्छ कति हुँदैन । पछि स्वीकृत भएको पनि काट्छन् । मन्त्रीहरूले सिधैं आदेश गर्छन् २०% ल्याउ भनेर, अनि योजना अगाडि बढाइन्छ । कुन व्यक्तिले उनीहरूले भनेअनुरूप प्रतिशत दिन्छन् त्यसलाई योजनाको जिम्मा लगाइन्छ र कर्मचारी र प्राविधिक खटाइन्छ ।
० मन्त्रीहरू नै कमिसन लिन्छन् ?
— खुल्लमखुल्ला कमिशनको चलखेल हुन्छ । राजपाका दुईजना केन्द्रीय सदस्यले सप्तरीको मेरै निर्वाचन क्षेत्रमा बदमासी ग¥यो । अहिले राजकुमार गोइत भन्ने इन्जिनियर र राजपाको दुईजना केन्द्रीय सदस्य जेलमा छन् । म ५२ वर्षदेखि राजनीतिमा सक्रिय छु । यस्तो नांगो भ्रष्टाचार मैले अहिलेसम्म देखेको थिइन ।
० सरकारले पहिले नियुक्त भएका प्रदेश प्रमुखहरू एकैचोटि हटाएर नयाँ प्रदेश प्रमुखहरू नियुक्त ग¥यो । प्रदेश प्रमुखहरूको केही असहयोग थियो कि अथवा किन यस्तो निर्णय भयो ?
— किन हटायो भन्ने त संघीय सरकारले भन्ने विषय हो । हामी त प्रदेशसभामा छौं । हाम्रो प्रदेशमा जुन पार्टीको सरकार थियो त्यही पार्टीको प्रदेश प्रमुख थियो त्यहाँ त सहयोग र असहयोगको त अनुभूति नै गर्न सकिदैंन । तत्कालीन शेरबहादुर देउवाको सरकारले हाम्रो पार्टीको विरोधका बाबजुत किन प्रदेश प्रमुख नियुक्त गरे ? यिनीहरूको पुरानो सामन्ती संस्कार छ । अरूलाई थिचोमिचो गर्ने र आफूलाई जे मन लाग्यो त्यही नै लोकतन्त्र हो भन्ने उनीहरूको सोचाई हुन्छ । यो ठूलो विषय होइन । कानुन र संविधानले संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्छ कसलाई राख्ने कसलाई हटाउने भन्ने कुरा । त्यसकारण यो विषयमा मलाई खासै जानकारी छैन ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)
तपाईको प्रतिक्रिया