मधेश अहिले पनि दोहनको शिकार भएकै छ : देवराम मधेशी

अन्तर्वार्ता

11/12/2020

० अब उपरान्त सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” नलेख्न परिपत्र गरेको छ, यसलाई कसरी हेर्नुहुन्छ ?

— नेपाल सरकारले जसरी ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’लाई अब उपरान्त नेपाल मात्रै लेख्ने जुन परिपत्र गरेको छ, यसबाट प्रष्ट देखिन्छ कि कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले राज्यलाई अधिनायकवादतर्फ धकेल्ने प्रयास गरेको छ  । किनभने नेपाल मात्रै लेख्ने हो भने नेपाल भनेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला मात्रै हो । जब नेपाललाई २२ र २४ राज्यमा विभाजित गरिएको थियो, ५१ प्रखण्ड नेपालभित्र थियो । जुन भारत वर्षको एउटा अभिन्न अंग थियो । भारत वर्षको अंग भएको नाताले नेपाल भनेको काठमाडौं, भक्तपुर र ललितपुर मात्रै हुन्छ, बाँकी सबै त भारतको भूमि हो । यसबाट मधेशका जनतालाई नै फाइदा हुन्छ । किनभने मधेशका जनताले सदियौंदेखि आफ्नो भाषा, रहनसहन, संस्कृति, सभ्यता, स्वाभिमान, पहिचान र सम्मानलाई यो राज्यले एउटा भाषा, एउटा भेषको आधारमा गुलाम बनाएर राखेको छ । यो बीचमा मधेश जनविद्रोह भयो, माओवादी जनविद्रोह भयो, त्यो विद्रोहबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अब उपरान्त नेपाल मात्रै लेख्ने हो भने कम्युनिष्ट पार्टीको अधिनायकवादी चरित्र हो ।

० नेपाल मात्रै लेख्दा काठमाडौं, भक्तपुर र ललितपुरलाई मात्रै कसरी जनाउँदछ त ?

— पूर्वपराकालदेखि नै जुन इतिहास लेखिएको छ, जुन हामी पढेका छौं त्यसमा स्पष्ट रुपमा छ ‘भरतखण्डे जम्बुदीपे आर्यवर्ते काशीकौशल मगध मिथिला अयोध्या विराट राज्ये, यथेष्ठ भूमियस्यचः’ जुन भूमिमा हामी बसेका छौं, त्यो भूमिमा जतिखेर अँग्रेजले भारतमा शासन गरिरहेको थियो, त्यो समयमा अँग्रेजले सिन्धुलीमा आफ्नो तोप राखेको थियो । अँग्रेजले काठमाडौंमा पनि हमला गर्ने हिसावले चिसागढी भन्ने ठाउँमा तोप राखेको थियो । त्यसबाट स्पष्ट हुन्छ कि अँग्रेजले नेपाललाई पनि कब्जा गर्ने रणनीति बनाएको थियो । जब नेपालका राजा पृथ्वीनारायण शाहले नेपालभित्र बाइसे र चौबिसे भनेपछि ४६ राज्यलाई सशक्तिकरण गरे । तर पाँच वटा राज्य यस्तो थियो जसलाई पृथ्वीनारायण शाहले सशक्तिकरण गर्न सकेन । त्यसपछि बृटिश इष्टइण्डिया कम्पनीसँग पृथ्वीनारायण शाहले सम्झौता गरे र मधेशका भूमिहरु नेपालमा गाभियो । झापा, मोरङ, सुनसरीको कुरा गरौं, त्यसबेला सुनसरी, सिरहा लगायतका जिल्लाहरु थिएन । पूर्वपराकालमा ३७ वटा मात्रै जिल्ला थियो, त्यसपछि ७५ र अहिले ७७ भएको छ । ७७ बाट १०२ पनि हुनसक्छ ।

० संघीय लोकतान्त्रिक गणतन्त्र हटाउँदा नेपालमा विभाजनको रेखा कोरिन्छ ?

— निश्चितरुपमा संघीय लोकतान्त्रिक गणतन्त्र हटाएर यदि नेपाल मात्रै लेखिने हो भने विभाजनको रेखा कोरिन्छ । नेपाल लेख्ने भनेको तीन वटा जिल्लामा सम्बोधन गर्छ, बाँकी सबै भारतलाई दिने जस्तो हामीलाई लाग्दैछ ।

० यसको प्रभाव मधेशमा कस्तो पर्छ ?

— यसको प्रभावमा मधेशको जनतामा एउटा उमंग र उल्लासको आउनेछ । जनताले नचाहेका कुराहरुले राज्यले यदि लाद्न खोज्छ भने जनताले आफ्नो स्पष्ट निर्णय गरेर जता जान इच्छा लाग्छ, त्यता जान्छन् । जनताको स्वतन्त्र र स्वाधिनतामा कुठाराघात भयो भने जनताले आफ्नो निर्णय लिन सक्छन् । संघीय लोकतान्त्रिक गणतन्त्र एउटा व्यवस्था हो, त्यसलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवादतर्फ लग्दै हुनुहुन्छ ।

० यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने कुरा बहसको विषय बनेको देखिदैँन नि ?

— अहिलेका नेपालका राजनीतिक दल वा पार्टीहरु जुन छन्, त्यसमा एउटा खस मानसिकतावादी दल छ भने अर्को मधेशको गैरमधेशवादी चरित्रका पार्टीहरु छन् । गैरमधेशवादी चरित्र भएका मधेशका पार्टीहरुले यस विषयमा केही बोल्यो भने उनीहरुले राज्यबाट पाइरहेका कमिशन गुमाउने डर छ । त्यो मानसिकताबाट यिनीहरु ग्रसित छन् । त्यसैकारणले यो विषय अहिलेसम्म बहसमा आएको छैन ।

० मधेशका गैरमधेशवादी चरित्रका पार्टी कुन हो ?

— मधेशका गैरमधेशवादी चरित्र भएका जनता समाजवादी पार्टी पनि हो र जनमत पार्टी हो । किनभने जसले मधेशी जनताको हकअधिकारको लागि लड्दैछु भनेर मधेशी जनताको मत लिए, उनीहरु काठमाडौं आइसकेपछि उनीहरुको बिर्सिने गर्छन् । मधेश अहिले पनि दोहनको शिकार भएकै छ ।

० मधेशको राजनीतिक दिशा कतातिर गइरहेको छ ?

— मधेशको राजनीतिक दिशा अन्योलमा छ । मधेशबाट राजनीति गर्ने मधेशवादी नेताहरुले मधेशलाई बेचेर आफ्नो निहीत स्वार्थमा लगानी गरेका छन् । मधेश अहिले नयाँ शक्तिको खोजीमा छ । अब मधेशका जनताले नयाँ क्रान्ति, नयाँ सोच र नयाँ आमूल परिवर्तनको पक्षमा झापादेखि कञ्चनपुरसम्मका जनता छन् । आफ्नो न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकाको पक्षमा छन् । कञ्चनपुरदेखि झापासम्मको मधेशलाई जोड्ने मूल भाषा थियो हिन्दी । भाषा कुनै राष्ट्रले निर्माण गरेको होइन । भूमि र भूगोलले भाषा निर्माण गरेको हो । तर, हामी जतिखेर हिन्दीमा कुरा ग¥यौं भने यो मान्छे भारतीय रहेछन् भन्ने मानसिकता छन् । किनभने हामीसँग विभेद नै विभेद भएका छन् ।

० मधेशमा रहेका राजनीतिक दल वा संगठनहरु मधेशको वैकल्पिक शक्ति बन्न सक्दैनन् ?

— गुरु जस्ता हुन्छ, चेला त्यस्तै निर्माण हुन्छ । मधेशको समस्यामा आधारित र मधेशीको नाममै राजनीतिक दल खुल्यो मधेशी जनअधिकार फोरम नेपाल । नेपालभित्र मधेशी छ र मधेशीहरुको एउटा प्लेटफर्म बनाइयो । आज १३ वर्ष नबित्दै मधेशी जनअधिकार फोरम नेपाल भन्ने पार्टी कता गयो त ? त्यो विचारलाई बेचेर आफ्नो निहीत स्वार्थका निम्ति संघीय समाजवादी फोरम बन्यो, समाजवादी बन्यो, त्यसपछि अहिले जसपा बनेको छ । नेपाल सद्भावना पार्टी भन्ने गजेन्द्र बाबुको समयमा निर्माण भयो र समानताको आधारमा हामी बाँच्नुपर्ने भन्ने जुन भावना थियो त्यो कता गयो ? हामीलाई नेपाली बनाएर नेपाली भन्ने तर अधिकार नदिने, समानताको अधिकारमा हामीलाई चल्न नदिने जुन प्रवृत्ति छ त्यसलाई राज्यले कहिल्यै समाप्त गरेको छैन । राजा महेन्द्रको जुन एकात्मक शासन गर्ने नीति थियो, त्यहीं नीतिअनुसार राज्य अहिले पनि चलिरहेको छ । महेन्द्र नीति र नेपाल कम्युनिष्ट पार्टीको नीतिमा कुनै फरक छैन ।

० त्यसो भए मधेशी महासभा के गर्दैछ ?

— मधेशी महासभाले मधेशका जनताका भाषा, रहनसहन, संस्कृति, सभ्यता, स्वाभिमान, पहिचान र सम्मानको रक्षा गर्नका निम्ति निर्माण गरिएको स्वतन्त्र थलो हो । मधेशी भूमिपुत्रका विभिन्न जातजातिका मान्छे छन् । सयौं थुंगा फुलका हामी एउटै माला नेपाली भन्ने त गरिन्छ तर अधिकारका लागि ‘सयौं थुंगा फुलका हामी एउटै माला नेपाली, अधिकारका लागि खसवादी जाने कासी र मधेशिया जाने फाँसी ।’ यो अवस्था छ नेपालमा । मधेशीहरुलाई नेपालमा समानताको अधिकार छैन । समानुपातिक समावेशिताका लागि राज्यले एक दुई जनालाई अवसर दिने गरेको छ । निर्वाचन क्षेत्रको निर्माण जनसंख्याको आधारमा गर्नुपर्ने हो तर भूगोलको आधारमा गरिन्छ । समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्माण भएको भए मधेशबाट दुई सय ६५ वटा सांसद आउँथ्यो । यहाँ राज्यको मोडेल नै यस्तो बनाएको छ कि जनता र राष्ट्रलाई सम्बोधन गरिएको छैन ।

० तपाइँहरुले चलाउने अभियान के हो त ?

— हामीले मेचीदेखि महाकालीसम्म मधेश मूलका जुन मधेशी नागरिकहरु छन् उनीहरुलाई जागरुक बनाउने हो । मधेशका ९९ प्रतिशत जनता किसान नै छन् । नेपाल सरकारले किसानको नाममा धेरै बजेट दिन्छ, तर मधेशका किसानहरु वञ्चित छन् । किसानले सुलभ र उचित ढंगले मलखाद्य पाउनुपर्ने हो तर पाइरहेको छैन । मधेशका जनतासँग राज्यको ममत्व खोई त ? राज्यले जनताबाट विभिन्न कर त लिएको छ, त्यो वापतको सुविधा जनतालाई खोई दिएको त ? त्यही कुराहरु जानकारी गराउन हामी अभियान चलाउँदैछौं । त्यही समानताको अधिकारका लागि हामीले मेचीदेखि महाकालीसम्मका जनताका लागि जनजागरण अभियानमा लाग्दैछौं ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ