‘सर्वोच्च निष्पक्ष भयो भने संसद विघटनलाई बदर गर्न सक्छ’

अन्तर्वार्ता

12/22/2020

० प्रतिनिधिसभा विघटन भइसकेपछि प्रधानमन्त्रीले देशबासीका नाममा गर्नुभएको सम्बोधनलाई कसरी हेर्नुहुन्छ ?

— प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीको सम्बोधनलाई मान्छेले लाज पचाउनका लागि जे मन लाग्यो त्यही बोल्ने हो जस्तै हो । आफ्नो आन्तरिक झगडाले गर्दा संसद विघटन गर्नुपर्ने तुकै छैन । प्रधानमन्त्रीलाई उनको पार्टीले सहयोग गरेन भनेर संसद विघटन गर्नु सम्बन्धित कुरा नै होइन । त्यसकारणले एउटा बहाना लिएर प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्नुभएको छ । यो त लाज पचाउने कुरा मात्र हो । कसैले आफ्नो लोग्ने स्वास्नीबीचको घरको झगडालाई सार्वजनिक गरेर अरुलाई बदनाम गर्नु राम्रो होइन ।

० जेसुकै भएपनि संसद त विघटन भइसक्यो, जसपाले अब के गर्छ ?

— यस विषयमा हाम्रो पार्टीले एउटा निर्णय गर्छ । त्यसमा सबै पार्टी मिलेर एउटा निर्णय गर्ने भन्ने कुरा पनि छ । त्यसको कानूनी उपचारको कुरा पनि भइरहेको छ । त्यसकारणले यस विषयमा केही प्रतिक्षा गर्नुपर्छ । हाम्रो पार्टीको अहिले बैठक चलिरहेको छ ।

० प्रतिनिधिसभा पुनर्बहाली हुने सम्भावना कति छ ?

— कानूनतः प्रतिनिधिसभा विघटन गर्नुपर्ने मिल्दैन, संविधानमा यसको बारेमा कही कतै उल्लेख नै छैन । जुन प्रक्रियाअनुसार विघटन गर्नुपर्ने हो त्यो समय नै आएको छैन । न कुनै अनिकाल आएको छ, न त विश्वासको मत नै दर्ता भएको छ । त्यसैले कुन कारणले विघटन गर्ने भन्ने कुरा त अन्योलमा छ । ‘नेपालको कानून दैवले जानून्’ भने जस्तै संसद विघटन भएको छ । यसमा सर्वोच्च अदालतले के गर्छ वा गर्दैन भन्ने कुरामा निर्भर छ । सर्वोच्च अदालतमा पनि पार्टीको कोटाअनुसार न्यायधीशहरु नियसक्ति गरिएको छ । त्यसबाट के अपेक्षा गर्न सकिन्छ त ? तैपनि विकल्प पनि छैन । सर्वोच्चमाथि आशा त गर्नैपर्छ ।

० प्रधानमन्त्रीले जनताको ताजा जनादेशका लागि निर्वाचन गराउने पनि भन्नुभएको छ ?

— प्रधानमन्त्रीसँग अरु उपाय नै छैन, अन्य कुनै बहाना नै छैन । यी सब कुरा लाज पचाउने कुरा मात्रै हो । ताजा जनादेश नै आवश्यक थियो भने संसदको आयु पाँच किन तोकेको हो ? एक–एक वर्षका लागि चुनाव गरिदिएको भए भइहाल्थ्यो नि । संसदको आयु पाँच वर्ष तोक्ने केही कारण त होला नि । अब जस–जसलाई चित बुझेन उसले संसद भंग गरिदियो भने त्यसको कुनै मतलबै भएन । तपाइँको आफ्नो घर झगडाका कारणले छिमेकीको घर जलाइदिने ? यदि अविश्वासको प्रस्ताव प्रक्रियागतरुपमा आएको छ भने सामना गर्नुपर्दथ्यो । त्यसमा यदि आफू सफल हुन नसकेको भए त्यसपछि त्यो बाटो रोज्नुपर्दथ्यो । त्यसरी गएको भए एउटा तर्कपूर्ण कुरा हुन्थ्यो । तर अविश्वासको प्रस्ताव प्रक्रियागत रुपमा आएको छ कि छैन, उहाँले सामना गर्न सक्नु हुन्छ कि हुन्न भन्ने कुराहरु नहेरिकन आफ्नो फेस ल्याण्डिङ्गका लागि यसरी भाग्नु राम्रो होइन ।

० यसमा प्रधानमन्त्रीको मात्रै दोष हो कि बाहिरी चलखेल पनि हो ?

— संसद विघटनमा बाहिरी दबाब होला जस्तो लाग्दैन । आन्तरिक कारणले नै संसद विघटन गर्नुपरेको कुरा उहाँ आफैले भनिहाल्नुभयो । जब उहाँको आफ्नो आन्तरिक कारणले विघटन गर्नुभएको छ भने अरु दोष दिएर त हुँदैन नि । यदि प्रधानमन्त्रीको पार्टीमा कसैले बदमासी गरेको छ भने पार्टी कानूनअनुसार कारबाही गर्नु प¥यो, त्यो त उनको आन्तरिक कुरा भयो ।

० तर प्रधानमन्त्री त चौतर्फी घेराबन्दीमा पर्नुभएको थियो नि ?

— इमान्दारीका साथ भन्ने हो भने विपक्षीसँग ताकत नै छैन । संख्यात्मक दृष्टिकोणले हेर्ने हो भने यति धेरै कम संख्या कि विपक्षीले केही गर्नै सक्दैन । आफ्नो आन्तरिक कुरा मिलाउन नसक्ने तर चौतर्फी घेराबन्दीमा परें, मलाई हटाउन खोज्यो लगायतका कुरा गर्नु केटाकेटीको कुरा हो । उहाँलाई कसले काम गर्न नदिएको हो ? जनतामा अलिकति पनि सन्तुष्टि छैन । यत्रो कोरोनाको महामारी थियो, तर आफ्नै आन्तरिक विवादमा लागिरह्यो । उहाँको कार्यले आफ्नै पार्टीका मान्छेहरु सन्तुष्ट देखिएनन् । त्यसकारणले यो सब बहानाबाजी हो कि मलाई घेराबन्दीमा गरे ।

० राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि पनि प्रश्न उठ्ने गरेको छ, यसलाई कसरी हेर्नुहुन्छ ?

— अध्यादेश ल्याउनु सरकारको कुरा हो । सरकारलाई गाह्रो–साह्रो प¥यो उसले अध्यादेश वा विधेयक ल्यायो । सरकारले जे सिफारिस गरेर पठाउँछ, त्यसलाई राष्ट्रपतिले स्वीकृत गर्ने हो । यसबाहेक राष्ट्रपतिको कुनै अधिकार नै छैन । हाम्रो देशमा अलंकारिक राष्ट्रपति मात्रै हो । सरकारले जे गर्छ त्यसमा छाप लगाउने बाहेक अन्य कामै छैन राष्ट्रपतिको । त्यसैले राष्ट्रपतिलाई दोष दिनु उचित होइन । कुनै गतिविधि गर्ने राष्ट्रपतिको क्षेत्र नै छैन नि । राष्ट्रपतिले एकचोटि पुनर्विचार गर्ने हो कि भन्ने मात्रै हो । नबुझ्नेहरुले मात्रै राष्ट्रपतिलाई मुछ्ने गरेका छन् । त्यसकारणले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउनुपर्ने कारण छैन । निरीह प्राणीजस्तै अहिले राष्ट्रपति हुनुहुन्छ ।

० तर, पूर्वराष्ट्रपति डा.रामवरण यादवले संसद विघटनको विषयमा राष्ट्रपति चुक्नुभयो भन्ने अभिव्यक्ति दिनुभएको छ नि ?

— डा.रामवरण यादवले आफ्नो पालाको सम्झनुभएको होला ।

० अहिले बल सर्वोच्च अदालतको कोर्टमा छ, सर्वोच्चले संसदलाई पुनर्बहाली गर्न सक्छ ?

— विगतका केही अभ्यासहरुलाई हामीले अध्ययन गर्ने हो भने सर्वोच्चका न्यायाधीशहरु पनि तीन किसिमका छन् । माओवादी, एमाले र कांग्रेसले आआफ्नो कोटाअनुसार सर्वोच्चमा न्यायाधीशहरु राखेका छन् । भनेपछि न्यायाधीशहरु त त्यही पक्षका हुन् । अब यी तीनटै पक्षमध्ये कसको बहुमत पुग्छ, त्यसमा भर पर्छ । किनभने कुनै एकल इजलासले यस विषयमा निर्णय गर्न मिल्दैन । यदि न्यायाधीशहरुले विवेकपूर्ण र संविधानको व्यवस्थाअनुसार गर्ने हो भने त संसद पुनर्बहाली हुनसक्छ । तर कोटामा न्यायाधीशहरु नियुक्त भएकाले के हुन्छ भन्न सकिन्न ।

० तर, निष्पक्षरुपमा सर्वोच्चले के गर्नुपर्ने हो ?

— कानूनतः अहिलेको अवस्थामा संसद विघटन गर्नुपर्ने कारण थिएन । यदि निष्पक्षताका साथ सर्वोच्चले फैसला गर्ने हो भने संसद विघटनलाई बदर गर्नुपर्ने हो । सर्वोच्चले चाह्यो भने संसदलाई पुनर्बहाली गर्न सक्छ । किनभने यस्ता नजीरहरु पनि छन् । सबभन्दा ठूलो कुरो संसद भंग गर्नुपर्ने आवश्यकता नै थिएन ।

० प्रतिनिधिसभाको निर्वाचन मितिसमेत तोकिसकिएको छ, अब झगडा नै गरिरहने हो कि ताजा जनादेशका लागि निर्वाचनको तयारी गर्ने ?

— अन्त्यमा निर्वाचनमै जानुपर्ने हो, अन्य कुनै विकल्प पनि छैन । कुकुरलाई घ्यू पच्दैन भन्नेझैं नेपालमा दुई तिहाइ कसैलाई पच्दोरहेनछ ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ