संसद पुनर्स्थापना भए के नै हुने हो र ? : डा.सीके राउत (विशेष अन्तर्वार्ता)

अन्तर्वार्ता

1/29/2021

० संसद विघटनलाई जनमत पार्टीले कसरी लिएको छ ?

— संसद विघटनबारे जनमत पार्टीले आधिकारिक रुपमा प्रेस विज्ञप्ति गरी आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । तर पनि यस विषयमा जनमत पार्टी छलफल गर्ने क्रममा रहेको छ । यो मुद्दामा अहिले सर्वोच्च अदालतमा बहस भइरहेको छ । हामीले सर्वोच्चको फैसलाको प्रतिक्षा गरिरहेका छौं । सर्वोच्च के फैसला आउँछ त्यसपछि हामी आफ्नो थप धारणा सार्वजनिक गर्नेछौं ।

० तर,संसद विघटन संवैधानिक कि असंवैधानिक भन्ने प्रष्ट धारणा आएको छैन नि ?

— हामी संविधानविद् होइनौं । संविधान व्याख्या गर्ने सबभन्दा ठूलो र संवैधानिक विशेषाधिकार सर्वोच्च अदालतलाई नै छ । यसमा ठूल–ठूला अधिवक्ता र न्यायाधीशहरु लाग्नुभएको छ, संवैधानिक इजलासमा बहस भइरहेको छ । उहाँहरुले जुन धारणा ल्याउँछ त्यसलाई नै हामीले आधिकारिक मानेर आफ्नो आधिकारिक धारणा बनाउनेछौं । तर संसद विघटन दुःखद घटना हो भनेर हामीले भनिसकेका छौं । पार्टीको केन्द्रीय समितिको बैठक पनि बस्न लागेको छ, त्यसमा छलफल गरेर अगाडि बढ्छौं ।

० संविधानमै नभएको धाराहरु प्रयोग गरेर संसद विघटन गरिएको छ भनेर व्यापक विरोध भइरहेको छ नि ?

— संसद विघटन संविधानविपरीत भयो कि संविधानसम्मत छ भन्ने कुरा हामीले भन्न सक्दैनौं । किनभने यो अदालतमा विचाराधीन छ । यो विषय सजिलो भएको भए सर्वोच्च अदालतको संवैधानिक इजलासमा त्यत्रो दिन लाग्ने नै थिएन ।

० संसद विघटनको विरुद्धमा सबै राजनीतिक दलहरु आन्दोलित छन्, तर अहिले तपाइँहरुको कुनै विरोध कार्यक्रम देखिएको छैन । संसद विघटनको पक्षमा हो जनमत पार्टी ?

— हामी स्थापनाकालदेखि नै आन्दोलित छौं । हामीले पनि आन्दोलन गरिरहेकै छौं । हाम्रो आन्दोलनको स्वरुप अलिकति फरक हुन्छ । हामीले माघ ५ गते विरोध सभा गरेकै हौं । हामीले ओलीको पनि ठूलो विरोध गरिरहेका छौं । यसअघि सरकारले नागरिकता विधेयक ल्याउँदा विभिन्न जिल्लाहरुमा प्रधानमन्त्री ओलीको पुतला दहन नै गरेका हौं । सरकारले यदि असंवैधानिक वा गलत काम गरेको हो भने हामी घोर विरोध गर्नेछौं । यसमा कुनै दुईमत छैन । तर, पहिला अदालतको फैसला आउनुप¥यो, त्यस आधारमा हामी निर्णय गर्नेछौं ।

० प्रधानमन्त्रीको यो कदममा प्रधानमन्त्री ओलीलाई मधेशमा डा.सीके राउतको साथ छ भन्ने कुराहरु पनि आएको थियो नि ?

— मधेशमा प्रधानमन्त्री ओलीलाई डा.सीके राउतको साथ छ भन्ने समाचारहरुमा कुनै आधार देखाएको छैन, कुनै सत्याता छैन । म जनकपुरमा बस्ने मान्छे, विगत ८–९ महिनादेखि काठमाडौं आएकै छैन, हाम्रो भेटघाट पनि हुँदैन । यस्ता समाचारहरु जुन आउँछन्, विभिन्न पार्टीहरुले प्रोपोगण्डा गरेर भ्रमहरु फैलाउने गरेका छन् । केही सीमित मान्छे कुर्सीमा जाँदैमा उनीहरुले कुर्सी बचाउनका लागि आन्दोलन गरे भने हामी पनि साथ दिनुपर्छ भन्ने कुरा होइन ।

० तर तपाइँले त प्रधानमन्त्री केपी ओली राजनेता हुन्, उहाँकै नेतृत्वमा मुलुक समृद्ध हुन्छ लगायतका अभिव्यक्ति दिनुभएको थियो नि त ?

— केही सञ्चारमाध्यमहरुले केपी ओली राजनेता हुन् भन्ने खालका समाचारहरु छापेका थिए, त्यसका कुनै आधारहरु खुलाएकै छैनन् । ती सञ्चारमाध्यमले जेसुकै छाप्दा पनि त्यसको स्पष्टीकरण दिनुपर्छ भन्ने मैले ठानेको छैन । मैले यस्तो कुरा भनेकै छैन । मैले गरेको सम्बोधन अहिले पनि इन्टरनेटमा भेटिन्छ, सुन्न सक्नुहुन्छ । मैले आफ्नो सम्बोधनमा भनेको थिएँ कि हाम्रो संगठनले कसरी विजय हासिल ग¥यो, कसरी जनताले विजय हासिल ग¥यो, कसरी पूरै जनता विजयी भए भनेर ठोकुवा गरेको थिएँ ।

० तपाइँहरुले सरकारसँग ११बुँदे सहमति गर्दा मधेशको ऐतिहासिक विजय भयो भनेर दाबी गर्नुभयो, कसरी ?

— हाम्रो संगठनको दृष्टिकोणले धेरै कुराहरु छन् । सबैलाई थाहा छ कि हामीले कहिल्यै पनि खुलमखुल्लारुपले कुनै कार्यक्रम गर्न सकिरहेका थिएनौं । हामीले सामान्य सामाजिक कार्यक्रमसमेत गर्न सकेका थिएनौं, राजनीतिक कार्यक्रमको त कुरै भएन । अहिले हाम्रा लाखौं कार्यकर्ताहरु सुरक्षित भएर सामाजिक कार्यक्रमहरु गर्न पाएका छन्, राजनीतिक गतिविधि सञ्चालन गर्न पाएका छौं । हाम्रो संगठन सुदृढ भइरहेको छ, ठाउँ–ठाउँमा वडा अधिवेशनहरु भइरहेका छन् । हाम्रो संगठन र कार्यकर्ताको दृष्टिकोणले धेरै ठूलो कुरा हो । जहाँसम्म मधेशको कुरा छ, जनमत निर्माण भएपछि केही कुरा गर्ने हो । त्यो सम्झौतामा जनमतमा आधारित निर्णय लिने जुन बुँदा उल्लेख छ, त्यसको ठोस उपलब्धि आउँदा दिनमा हुनेछ । पहिला हामीले जनमत निर्माण गर्नेछौं, त्यसपछि अन्य उपलब्धिहरु देखिनेछन् ।

० तपाइँहरुले खुल्लारुपमा राजनीतिक गतिविधि गर्न पाउनु त मधेशको विजय कसरी भयो ?

— मधेशले भविष्यमा उपलब्धिहरु पाउँछ । जनमतको निर्माण भएपछि मात्रै मधेशले केही पाउने हो । कोही व्यक्ति मन्त्री हुँदैमा वा कुनै पदमा पुग्दैमा मधेशले केही पनि पाउने होइन । त्यसैले अहिले हामी जनमत निर्माणको क्रममा छौं ।

० ११ बुँदे सम्झौताका कति बुँदाहरु लागू भए ?

— लगभग सबै बुँदाहरु लागू भइरहेका छन् । हाम्रो सम्झौताअनुसार लगभग ७०–८० प्रतिशत काम भइसकेको छ ।

० तपाइँले जहिले पनि जसपाको आलोचना मात्रै किन गर्नुहुन्छ ?

— हामीले सबै पार्टीको आलोचना गर्छौं । तर, जसपाप्रति गरिने टिप्पणीबारे मात्रै मिडियाहरुले प्राथमिकता दिने गरेका छन् । किनभने हाम्रो आफ्नो कुनै मिडिया छैन, मिडियाको कुनै संगठन छैन, हामीले आफ्नो एफएम वा कुनै सञ्चार माध्यम सञ्चालन गरेका छैनौं । त्यसैले सत्तामा रहेका पार्टीहरुले जुन भ्रम फैलाउँछन्, त्यहीं कुराहरु मिडियाहरुमा आउँछन् । हामीले सबै पुराना पार्टीहरुको आलोचना गर्ने गरेका छौं । किनकि ती पार्टीहरु म्याद गुज्रेका औषधिसरह नै हुन् । त्यसैले यिनीहरुबाट कहिले पनि केही हुन सकेन र अब नयाँ विकल्पको खोजी गर्नैपर्छ भन्ने हाम्रो मूल अवधारणा हो ।

० अस्ति भर्खरै तपाइँले सामाजिक सञ्जालमा जसपाप्रति लक्षित गरी विभिन्न आरोपहरु लगाउनुभएको छ नि ?

— हामीमाथि यस्ता आरोपहरु लाग्दै आएका छन् । मैले करिब ६–७ महिनापछि सामाजिक सञ्जालमा एउटा पोष्ट गरेको हुँ । मैले गरेको पोष्टमा त्यो पार्टीको नाम पनि मैले उल्लेख गरेको छैन । अर्को कुरा गल्ती गरेपछि विरोध किन नगर्ने । उहाँहरुले जे गर्दा पनि चुपचाप बसेर हेर्ने ? प्रदेश २ मा सरकार कसको छ, कांग्रेस वा कम्युनिष्ट छ कि उनीहरु विरोध गर्ने ? मेरो घर र बसाइ प्रदेश २ मा हो । मेरो सबभन्दा बढी जनमतको आधार भएको प्रदेश नं. २ नै हो । अनि प्रदेश २ मा भ्रष्टाचार र अनियमितता भइरहेको छ, त्यसको विरोध गर्न नहुने ? त्यहाँका मुख्यमन्त्रीले ६ वटा गाडी चढ्न हुने, साढे दुई लाखको मोबाइल चलाउन हुने, सभामुख चार वटा गाडी चढ्न हुने तर त्यहींकै जनता भोकै मर्दा हामीले बोल्न पनि नहुने ? हामीले भ्रष्टाचार गरिरहौं अरुले केही नबोलोस् भन्ने सोच राख्नु हुँदैन । जसले गल्ती गर्छ उसको विरोध हामी गर्छौं ।

० प्रदेश सरकारहरु कति अप्ठ्याराका बीच काम गरिरहेको छ, उनीहरुको प्रादेशिक अधिकार अहिलेसम्म संघले हस्तान्तरण गरेको छ, यी कुराहरु देख्नुहुन्न ?

— अहिले जुन कुरामा प्रदेश सरकारको नियन्त्रण छ, ती कुरामा संघीय सरकारलाई दोष दिएर हुन्छ ? जुन कुरामा संघीय सरकारको दोष छ, त्यसमा हामीले सात आठ वर्षदेखि त भन्दै आएका छौं । हाम्रो आन्दोलनको इतिहास नै हेर्नुस्, केन्द्रीय सरकारकै विरुद्धमा छ । प्रदेश सरकारहरु त तीन चार वर्षदेखि बनेको हो । अस्पतालमा छट्पटाएर मान्छे मर्दा, भोकका कारण छट्पटाएर मान्छे मर्दा प्रदेश सरकारले हेर्न सक्दैन ? प्रदेश सरकार गठन भएदेखि व्यापक हत्या हिंसा भएको छ र त्यसमा संलग्न अधिकांश मान्छे त्यहींका जनप्रतिनिधिका नातेदारहरु छन् । तिनीहरुले राजनीतिक संरक्षण त्यहींबाट प्राप्त गरेका छन् । अहिले प्रदेश २ मा भ्रष्टाचारको कुरा हेर्नुस् चरम सीमामा पुगेको छ । त्यो आधारमा हामीले जिम्मेवार बनाउनका लागि आलोचना गर्छौं । उनीहरुले सोच्नै हुँदैन कि हामीले गाली मात्रै गरिरहेका छौं ।

० हत्या हिंसा वा शान्ति सुरक्षाको सवालमा प्रदेश सरकारसँग आफ्नो सुरक्षा निकाय छैन, के गर्न सक्छ प्रदेशको सरकार ?

— आफ्नै पार्टीका जनप्रतिनिधिले भ्रष्टाचार गर्दा उसललाई कारबाही गर्न सक्दैन ? शिक्षा व्यवस्था त्यहींका जनप्रतिनिधिको हातमा हुँदा त्यसमा सुधार ल्याउन सकिँदैन ? यस्ता कुराहरु त गर्न सकिन्छ नि । यसमा पनि संघीय सरकारले नै असहयोग गर्न भन्न पाइँदैन नि ।

० भ्रष्टाचारको आरोपहरु मात्रै लाग्ने गरेका छन् तर त्यसका प्रमाणहरु पनि दिनुप¥यो ?

— प्रमाण त हामीले नै खोजेर दियौं । अरु केही नभए नेपाल सरकारको महालेखा परीक्षकको रिपोर्ट हेर्नुस्, भ्रष्टाचारमा प्रदेश २ सबभन्दा बढी अगाडि रहेको छ । यो कोरोनाकालमै ३० रुपैयाँमा पाउने साबुन ३ हजार भनेर बिल पेस गरेका छन् यस्ता रिपोर्टहरु हाम्रा कार्यकर्ताले दिँदा पनि कारबाही हुँदैन । यस्ता चरम भ्रष्टाचारीहरुलाई न त पार्टीले कारबाही गर्छ न त अख्यिारले । हाम्रा कार्यकर्ताले ज्यानको बाजी लगाएर भ्रष्टाचारका प्रमाणहरु ल्याउँदा पनि उजुरी दिँदा पनि कारबाही हुँदैन भने त्यो अख्तियारको पनि के औचित्य ?

० अख्तियारले कारबाही गर्न नसकेको कारण के होला ?

— राजनीतिक संरक्षणको कारणले भ्रष्टाचारीहरुलाई कारबाही नभएको हो । कारबाही नभएपनि कमसेकम जनतालाई थाहा होस् भनेर हामी यस्ता कुराहरु उठाइरहेका छौं । उनीहरुको सेटिङ्ग अख्तियारसम्म नै छ ।

० नेपालको मूल समस्या के देख्नुहुन्छ ?

— नेपालको मूल समस्या भनेको नै भ्रष्टाचार हो । किनभने जतिसुकै राम्रो रोडम्याप भएपनि यदि त्यहाँ भ्रष्टाचार भइरहेको छ भने दुर्घटना नै हुने हो, कतै पनि गन्तव्यमा पुग्न सकिँदैन । त्यसैले अहिलेको नेपालको प्रमुख समस्या भनेको भ्रष्टाचार हो र यो हुनुमा प्रमुख कारण जहिले पनि जनताले पुरानै र असफल पात्रलाई नै चयन गर्ने, त्यही पुराना सडेका पार्टीहरुलाई बारम्बार चयन गर्ने जनताको पक्षबाट गल्ती भइरहेको छ ।

० तर जनतासँग त्यस्तो विकल्पहरु पनि देखिँदैन नि ?

— जनतासँग धेरै विकल्पहरु हुन्छन्, त्यसबारे जनता अलिकति सचेत हुनुप¥यो । जनताले राइट टु रिजेक्टको पक्षमा उभिन सक्छन् । यति ठूलो परिवर्तन जनताले नै गरेका हुन्, त्यत्रो व्यवस्था नै परिवर्तन गर्ने जनताले राइट टु रिजेक्टको कुरालाई किन संस्थागत गरेन ? यदि जनतासँग विकल्प छैन भने कसैले पनि मत नदेओस् । अहिले पनि भइरहेका प्रदर्शनहरुमा जनताहरु किन आइरहेका छन्, त्यो कुरा उनीहरुलाई नै थाहा छैन । त्यसैले हाम्रो अहिले यही एजेन्डा रहेको छ कि जनताले आफ्नो अधिकार कसरी सुरक्षित गर्ने त्यतातिर हामी लागेका छौं । त्यो माध्यम भनेको जनता राज हो । नेता वा पार्टीको राज होइन अब जनताको राज स्थापित हुनुप¥यो । त्यसका लागि जनतासँग पावरफुल राइट टु रिजेक्टको टुल हुनुप¥यो ताकि सही विकल्प नदिँदासम्म कुनै प्रतिनिधि चयन नै नहोस् ।

० अहिलेको राजनीतिक संकटको निकास के देख्नुहुन्छ ?

— अहिलेको मुख्य प्रश्न संसद पुनस्र्थापना, चुनाव वा अर्को प्रधानमन्त्री हुनुपर्दैन । अहिलेको यक्ष प्रश्न भनेको राजनीतिले अब दिने के त ? र जनताले दिने के त ? जनताले बढीमा कसैलाई दुई तिहाइको मत दिन सक्छन्, तर दुई तिहाइ त दिएकै हो । दुई तिहाइ दिँदा पनि यदि सरकार चलाउन सकेन भने केको लागि राजनीति गर्ने ? केको लागि जनताले भोट दिने ? यो अहिलेको यक्ष प्रश्न हुनुपर्ने हो । संसद पुनस्र्थापना भएर नै के हुने हो र । तीन वर्षसम्म संसद हुँदा के गरेका थिए यिनीहरुले । तीन वर्षसम्म यिनीहरु काठमाडौंमा बसेका थिए, ६ करोडको संसदीय विकास कोषको रकमबाट एउटा कुनै २५ लाखको गेट बनाइदियो र बाँकी सबै भ्रष्टाचार गरेका छन् । अब नेपालीले कहिले सुख पाउने ? कहिले परिवर्तन आउने ?

० भनेपछि अबको बाटो के त ?

— अबको बाटो भनेको जतिबेला निर्वाचन हुन्छ, त्यसमा जनता सजग हुनुपर्छ । दुई तिहाइ दिँदा पनि पुराना पार्टीले केही गर्न सक्दैनन्, भ्रष्टाचार गर्छन्, त्यो बाहेक अरु केही गर्न सक्दैनन् भनेर जनताले नयाँ शक्तिहरुलाई राजनीतिमा ल्याउनका लागि पहल गर्नुपर्छ । अहिलेको निकास यो नै हो ।

० भनेपछि चुनावले नै निकास दिन सक्छ ?

— चुनाव त ३ महिना, ६ महिना वा डेढ वर्षमा होस्, त्यो त हुने नै हो । यसमा कुनै दुईमतको कुनै कुरै छैन । आगामी चुनावमा जनताले विकल्प रोजेन भने यस्तै भइरहन्छ ।

० तपाइँहरु चुनावका लागि तयार हुनुहुन्छ ?

— हामीले त एक डेढ वर्षपछि चुनाव होला भनेर तयारी गर्दै थियौं । अहिलेसम्म हामी चुनावमा भाग पनि लिएकौ छैनौं, भर्खर मूलधारमा प्रवेश मात्रै गरेका छौं । अहिले अकस्मात् यो घटना भयो । त्यहीं भएर हामी नेपाल सरकारलाई ज्ञापनपत्र पनि दिन लागेका छौं कि यसरी अकस्मात् चुनावको घोषणा हुँदा धेरै मतदाताहरुको नामावलीमा नामै राख्न पाएका छैनन् । त्यसका लागि सकिन्छ भने ६ महिना निर्वाचन सारेर भएपनि योग्य मतदाताहरुलाई सूचिकृत गर्नुप¥यो । सकिन्छ भने विदेशमा रहेका हाम्रा योग्य नेपालीहरुलाई मतदानको अधिकारबाट वञ्चित गर्नुभएन ।

० चुनावमा तपाइँहरुको उम्मेद्वारी मधेशमा मात्रै कि नेपालभरि नै हुन्छ ?

— हाम्रो लागि यो प्रतिनिधिसभाको चुनाव पहिलो हुनेछ । त्यसैले हाम्रो जनमत जुन–जुन ठाउँमा छ, ती ठाउँहरुमा हाम्रा उम्मेद्वारहरु खडा हुनेछन् । अहिले हाम्रो जनाधार भनेको खासगरी प्रदेश २ र मधेशका अन्य केही जिल्लाहरुमा मात्र बलियो जनमत देखिएको छ ।

० तपाइँले पार्टी बनाउँदा अध्यक्षबाहेक सबैलाई सदस्य मात्र राख्नुभएको छ, तपाइँमाथि वन म्यान आर्मीको आरोप लागिरहेका छ नि ?

— हाम्रो पार्टी एकदम लोकतान्त्रिक पार्टी हो । विगत तीन महिनामा मात्रै हामीले ७ सयभन्दा वडा अधिवेशनहरु गरेका छौं । कुनै पनि पार्टीले अहिलेसम्म लोकतान्त्रिक तरिकाले वडा अधिवेशनहरु गरिरहेका देखेका छैनौं । अब हाम्रो महाधिवेशनको पनि घोषणा हुँदैछ । यति चाँडो महाधिवेशन गराएर लोकतान्त्रिक तरिकाबाट अगाडि बढिरहेका छौं । यहाँ त कतिपय पार्टी बनेको १० वर्षभन्दा बढी भइसक्यो तर अहिलेसम्म महाधिवेशन गराउन सकेका छैनन्, कतिपय पार्टी सिद्धि पनि सके । तर हामी लोकतान्त्रिक व्यवस्थामाथि भरोसा राखेर महाधिवेशनमार्फत् पदाधिकारीहरु चयन गर्नेछौं ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

भिडियो हेर्नुस्ः

<iframe src="//www.youtube.com/embed/fb_dabsoa_g" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ