जसपा उपेन्द्र यादवको भयो भन्ने बुझाइ नै गलत हो : डा.सुरेन्द्र झा

डा.सुरेन्द्र झा, नेता, जनता समाजवादी पार्टी नेपाल

अन्तर्वार्ता

० निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दियो भन्नुको अर्थ के हो ?

— निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको होइन । उहाँले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ लाई टेकेर आधिकारिकतासम्बन्धी दाबी गर्नुभएको थियो । त्यसमा महन्थ ठाकुर पक्षले लिखित प्रतिउत्तर पेश गरेको थियो । त्यो बीचमा महन्थ ठाकुरजी प्रथम अध्यक्षको हैसियतले कार्यकारिणी समितिमा हेरफेर गरेको दस्तावेज पनि पेश गर्नुभएको थियो । दुवै पक्षले गरेको कारबाहीलाई आयोगले बदर ग¥यो र जसपा गठन हुँदा बखतको कार्यकारिणी समितिलाई आधिकारिकता दिएको हो । त्यसैले उपेन्द्रजीलाई जसपाको आधिकारिकता दियो भन्ने कुरा अपव्याख्या हो । हेडकाउण्टले कार्यकारिणी समितिमा उपेन्द्रजीको पक्षमा बहुमत हो भन्ने कुरा स्थापित गरेको हो । त्यसैले पार्टी हाम्रो पनि हो, हामी पनि त्यो पार्टीको सदस्य हौं । महन्थ पक्षमा हस्ताक्षर गर्ने १६ जना नेता पनि जसपाकै हुन् । उपेन्द्रजीको पक्षले बहुमत प्राप्त गरेको मात्रै आयोगको फैसला हो ।

० तर, उपेन्द्र यादव पक्षले त तपाइँहरु गलती गर्नुभएको छ, आत्मसमीक्षा गरेर आए मात्रै जसपामा बस्न सक्नुहुनेछ भन्ने भनिरहेको छ नि ?

— उपेन्द्रजीको यो अपरिपक्क राजनीतिक कदम हो । उपेन्द्रजी जुन ढंगले एकपक्षीय बैठक राखेर अगाडि बढिरहनुभएको छ, निश्चितरुपमा अहिलेको कार्यसमितिमा उहाँको पक्षमा बहुमत छ । उहाँहरुले कार्यकारिणी समितिको बैठक बस्दा महन्थ पक्षलाई जानकारी नदिनु र एक पक्षीय ढंगले जसरी निर्णयहरु ठोक्दै जानुभएको छ, त्यो उहाँहरुले कानूनीरुपले अवैधानिक क्रियाकलाप गरिरहनुभएको छ । हाम्रो विधानमा अहिलेसम्म केन्द्रीय कार्यकारिणी समिति मात्रै छ । कार्यकारिणी समितिलाई विधान हेरफेर गर्ने जिम्मा दिएको छ । उहाँहरुले सबैलाई साथ लिएर निर्णयहरु गर्नुपर्दथ्यो । तर हामी विजेता भयौं भन्ने उन्मादमा हिंडिरहनुभएको छ ।

० उपेन्द्र यादवको कार्यकारिणी समितिले त लुम्बिनी प्रदेशका तीन जना सांसदलाई कारबाही गरेको पत्र पनि प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । यो अवैध हो त ?

— उहाँहरुले गरेको निर्णय सार्वजनिक गर्नुभयो भने त्यसलाई चुनौती दिन यथेष्ट कानूनी आधारहरु छन् । लुम्बिनी प्रदेशका सांसदहरुलाई उपेन्द्रजीहरुले विगतमा पनि कारबाही गरेकै हो नि । तर त्यो कारबाही प्रक्रियालाई सर्वोच्च अदालतले बदर गरिसकेको छ । अर्को कुरा प्रत्यक्ष निर्वाचित दुई जना सांसदहरु हुनुहुन्छ, पार्टीले कारबाही गर्ने बित्तिकै उहाँहरुको पद जाने स्थिति छैन । त्यो मुद्दा सर्वोच्चमा विचाराधीन छ । त्यसैले त्यो निर्णय कार्यान्वयन हुँदैन, त्यसलाई फेरि सर्वोच्चमा चुनौति दिइन्छ । अर्को कुरा पार्टीको विवादमा दुईटै पक्षलाई शुक्रबार सर्वोच्च अदालतले बोलाएको छ । कोही बहुमतमा आउँदैमा अल्पमतका साथीहरुलाई पार्टीबाट निकालिदिने हो भने त्यो पार्टी दीर्घकालीन हुन सक्दैन । त्यो पार्टीका नेतृत्वले दीर्घकालीनरुपमा नेतृत्व प्रदान गर्न सक्दैन । जसपा उपेन्द्र यादवको भयो भन्ने बुझाइ नै गलत हो । जसपा सबैको हो, केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत छ भनेर निर्वाचन आयोग पनि भनेको छ ।

० उपेन्द्र यादव पक्षले जुन निर्णयहरु गर्दैछ, त्यसको विरोध पनि तपाइँहरुले गर्न सक्नुभएको छैन नि ?

— यो विषय अदालतमा विचाराधीन छ, भोली बहस हुन्छ । अदालतले केही फैसला गर्ला, फेरि त्यसको पनि प्रक्रिया हुन्छ । आजभन्दा डेढ महिना अगाडि महन्थ ठाकुरसँग २१ जना सांसद थियो र २३ जना कार्यकारिणी समितिका सदस्यहरु थिए । अनि के त्यतिबेला हामीले दल फुटाउन सक्दैनथ्यौं ? तर हामीले त्यो गरेको होइन नि, फुटाउनका लागि जसपा बनाएका होइनौं नि । २०७७ बैशाख १० गते रातिको अवस्था हेर्नुस् न । उपेन्द्र यादव खाली कागज लिएर हिंड्दै गरेको अवस्था सम्झिनुस् न । आज उपेन्द्र यादवसँग बहुमत भयो भन्ने बित्तिकै पार्टीबाट मान्छे निकाल्दै हिंड्ने ? उहाँहरुले आत्मालोचनाको सवाल उठाउनुभएको छ, केको लागि महन्थ पक्षले आत्मालोचना गर्ने ? संविधान संशोधनसम्बन्धी कार्यदल बनायो, १४९ जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लियो, करोडौंको बिगो राज्यबाट भर्न लगायौं, नागरिकता सम्बन्धी अध्यादेश जारी गर्न लगायो यी कामहरु हुँदा अन्याय भयो भनेर माफी माग्ने हामीले ? उपेन्द्र यादवले यो कुरो भन्न सुहाउँछ ? केपीको सरकारमा हामी १८ दिन थियौं अनि उपेन्द्र यादव १८ महिना थिए । फरक मत सुन्नै नखोज्ने उहाँको अलोकतान्त्रिक चरित्र हो, उहाँको स्कूलिङ्ग कम्युनिष्टको छ । उहाँले जुन काम गर्दै जानुभएको छ त्यो आफ्नै लागि खाल्डो खन्दै जानुभएको छ ।

० हेडकाउण्टको केही समयअघि महन्थ पक्षका कतिपय नेताहरु अचानक उपेन्द्र पक्षमा गए र विभिन्न आरोपहरु पनि लगाए, किन ?

— आरोप लगाउनेहरु त हाम्रै पक्षमा हुनुहुन्थ्यो । हिजो उपेन्द्रजीले मन्त्री बनाउनु भएन, आफै मन्त्रू बन्नुभो भनेर पार्टीहरु पनि तिनै हुन् । आज उपेन्द्रजीले मन्त्री बनाइदिन्छन् भनेर त्यहाँ गएका छन् । कतिपयले उपेन्द्रको विपक्षमा मतदान गर्नेहरुको पद जाने भनेर हौवा फिजाएको छ । त्यसकारणले त्यता गएका छन् । कतिपयलाई हिजो राजपामा मन्त्री बनाएन, प्रदेश समितिको सभापति हैसियतले गाडी चढिरहेको छु, कहीं उपेन्द्र यादवले गाडी खोसिदेला भन्ने डरले पनि त्यहाँ गएका छन् । अथवा फाइदाका लागि लोभीपापीहरु त्यहाँ गएका छन् ।

० उता गएकाहरु फेरि यता आउने सम्भावना छ ?

— जसरी एकाएक उनीहरु उता गए, फेरि यता आउन सक्छन् । उपेन्द्र यादवले पाएका मन्त्रालयहरु बाँड्ने बित्तिकै फेरि यतातिर आउँछन् । हिजो हामीले मन्त्री बनाएकाहरु पनि उपेन्द्रजीतिर जानुभएका छन् । जनताले त हेरिरहेका छन् नि । हिजोसम्म तपाइँकै मिडियामा उपेन्द्र यादवलाई गाली गर्दै हिंड्ने मान्छे मन्त्री बन्छु भनेर लाइनमा लागेका छन् । उपेन्द्रजीले पाएको मन्त्रालयमा उनीहरुको नाम नपरेपछि फेरि गर्ने त गाली नै हो नि ।

० जसपा फेरि एक ढिक्का हुने अवस्था छ कि छैन ?

— राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । पार्टी फुटाउनका लागि निवेदन दिने त उपेन्द्र यादवै हो नि । २०७७ साल बैशाख १० गते राति म बर्बाद भए, खाली पानामा हस्ताक्षर गर्छु, जे–जे मन लाग्छ लेख्नुस्, मलाई जोगाइदिनुस् भनेर महन्थको शरणमा पर्ने मान्छे उपेन्द्रजी नै हुन् ।

० त्यो कुरा अहिले उपेन्द्र यादवले स्वीकार गरिरहनुभएको छैन नि ?

— ठिक छ, उहाँले स्वीकार गर्नुभएको छैन । त्यो समय बित्यो, कुरा सक्यो । तर निर्वाचन आयोगमा पार्टी फुटाउन निवेदन दिने त उपेन्द्रैजी हो नि । त्यसैले उपेन्द्रजीलाई यदि लाग्यो कि पार्टी एक हुनुपर्छ भने एक हुन सक्छ । आज उहाँ बहुमतमा हुनुहुन्छ, भोली अर्को नेता बहुमतमा हुनुहोला । यो प्राविधिक विषय हो । अब सहज ढंगले एक ठाउँमा बस्न सक्ने परिस्थिति छैन । तर असम्भवै भन्न मिल्दैन । भविष्यमा गठबन्धनमा बस्न सक्ने वा सँगै बस्न सक्ने सम्भावना छ ।

० भनेपछि, वैकल्पिक शक्ति अब पनि सम्भव छ ?

— जसपा निर्माण हुँदै गर्दा मैले आलोचनात्मक समर्थन गरेको व्यक्ति हुँ । वैकल्पिक शक्ति निर्माणका लागि जसपा बनेको थियो । तर नेतृत्वको आचरण, क्रियाकलाप अहिले देखिरहेका छन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ