पैसा खानेहरू एमसीसीको पक्षमा लागेका छन्

हरिचरण साह, अध्यक्ष, नेपाली जनता दल

अन्तर्वार्ता

० एमसीसीबारे नेपाली जनता दलको धारणा के छ ?

—नेपाली कांग्रेसले पैसा लिएर एमसीसी सम्झौता गरिसकेको छ । यसबाट प्रचण्ड र ओलीले पनि फाइदा लिइसक्नुभएको छ । त्यतिखेरै उहाँहरुले संसदबाट पास गर्न खोज्नुभएको थियो । अहिले गठबन्धनको सरकार छ, यसले त्यतिकै पास गर्ने देखिन्छ । तर हामीले यो एमसीसीलाई स्वीकार गरेका छैनौं । सहयोगको नाउँमा हाम्रो स्वाधिनता, राष्ट्रियता र स्वाभिमानमाथि कुनै किसिमको आक्रमण भयो भने नेपाली जनताले स्वीकार गर्दैन । राष्ट्र रहेपछि त हामी नेपाली रहन्छौं । हाम्रो राष्ट्रियतामाथि हस्तक्षेप भयो भने अफगानिस्तानकै हालत हुने पक्का छ । त्यसकारणले यो एमसीसीलाई संशोधन नगरेसम्म संसदबाट पारित गरिनु हुँदैन । हुन त सत्ताधारी दलहरुले पारित गर्नका लागि विगतमा पनि प्रयास गरेकै हुन् । यो एमसीसी सम्झौता आज भएको होइन, चार वर्ष पहिला नै कांग्रेसको सरकारले गरिसकेको हो । तर पहिला जनतालाई यसबारे केही थाहा हुन दिएको थिएन । अहिले जनता जागरुक भइसकेका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालले उठाएका प्रश्नको जवाफ दिँदै एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको बताएको छ । साथै उसले २०१७ मा हस्ताक्षर भएको सम्झौतामा अहिले आएर संशोधन गर्न नसकिने समेत प्रष्ट पारेको छ । अब हेर्दै जाउँ के–के हुन्छ ।

० अहिलेकै अवस्थामा एमसीसी पास भयो भने हाम्रो देश खतरामा पर्छ ?

— कसैको सहयोग लिनु नराम्रो कुरा होइन । भारत, चीन लगायत अन्य मुलुकहरुले त हाम्रो मुलुकलाई सहयोग गरिरहेकै छ नि, अमेरिकाले पनि सहयोग गर्दै आइरहेको छ । तर यो एमसीसीमा जुन किसिमका प्रावधानहरु राखिएका छन् जसले हाम्रो मुलुकको स्वाधिनता नै खतरामा पर्ने देखिन्छ । हाम्रो स्वाधिनतामाथिको आक्रमणलाई हामीले सहयोगको रुपमा लिनुहुन्छ, त्यो हस्तक्षेप हो । हस्तक्षेपकारी र नेपालको कानूनहरुमाथि हस्तक्षेप गर्ने खालका कुराहरु भएको एमसीसी हामीलाई चाहिँदैन । ७२ अर्ब रुपैयाँ त एनसेलबाट उठाउनुपर्ने छ, त्यो पैसा उठाएर लगानी गर्दा भइहाल्यो नि । किन ५० अर्बका लागि मरिहत्ते गर्ने ? हाम्रो राष्ट्रिय स्वाधिनतामाथि यदि कसैले आक्रमण गर्छ भने त्यो गुलामी स्वीकार हुँदैन । नेपाल गुलाम राष्ट्र होइन, एउटा स्वतन्त्र राष्ट्र हो । 

० एमसीसी पक्षधर दलको नेतृत्वमा सरकार छ, जसलाई करिब दुई तिहाइको बहुमत प्राप्त रहेको छ । यसले यदि एमसीसी पास ग¥यो भने के हुन्छ ?

— उहाँहरुले एमसीसी पारित गर्नु होला, तर जनताको आवेग यस्तो हुन्छ कि त्यसको भुक्तान उहाँहरुले गर्नुपर्छ । सरकारमा बसेकाहरुसँग यो सम्झौता पारित गर्ने अधिकार त छ, गर्ला तर राष्ट्रमाथि त्यस्तो नकारात्मक असर प¥यो भने यसको जिम्मेवार उनीहरु नै हुनेछन् । जनताले उनीहरुलाई छाड्ने छैन । नेपाली समाज एमसीसीको पक्ष र विपक्षमा विभाजित देखिन्छ । न संसदबाट  एमसीसी अनुमोदन भएको छ, न सम्झौता संशोधनका लागि अमेरिका तयार छ । लामो समयदेखि अनिर्णित बनेपछि अमेरिकाले एमसीसीबारे टुंगोमा पुग्न दबाब बढाएको छ ।

० यो सरकारले एमसीसी पास गर्छ त ?

— अब सरकार उनीहरुको छ, संसद उनीहरुको छ, गुलाम सांसदहरु छँदैछन् । यिनीहरुले एमसीसी पास गरिहाल्यो भने त्यो नौलो कुरा हुँदैन । तर जनता यसबाट सचेत रहेका छन् । जनताले सबैसँग हिसाव माग्नेछन् । जनताको स्वाधिनता, राष्ट्रियता, सार्वभौमसत्ता खोस्ने काम भयो भने इतिहासमा यिनीहरु कलंकित हुनेछन् । त्यसैले नेपालमा अब आर्थिक विकास, समृद्धि दिन सक्ने, राष्ट्रियता जोगाउने, बाहिरी हस्तक्षेपलाई परास्त गर्ने खालका राजनीतिक दलको आवश्यकता छ । जनताले यसका लागि कुनै न कुनै विकल्प अवश्य छान्नेछन् । 

० यो सरकार गठन भएको दुई महिना भयो । कामकारबाही कतिको सन्तोषजनक देख्नुहुन्छ ?

— यो सरकारले त केही गर्नै सकेन नि । राजनीतिक दल फुटाउने विधेयक बाहेक अन्य केही गरेको छैन । यो सरकारले दलहरु फुटाएर आफ्नो सत्ता जोगाउने खेलमा लागेको छ । यहाँ संविधानमाथि नै खेलाँची भइरहेको छ । दुई–दुई वटा संविधानसभाबाट निर्माण भएको संविधानलाई निकम्मा बनाउने खेल हुँदैछ । देशमा एउटा दुर्घटना गराउने षड्यन्त्रमा यिनीहरु लागेको देखिन्छ । यिनीहरुको काम कारबाहीबाट जनता सचेत भएर बस्नुपर्छ । यिनीहरु अहिलेसम्म देश बेच्नका लागि राजनीति गर्दै आएकै हुन् नि । अहिलेसम्म नेपालमा शोषक वर्गकै सरकार बन्दै आएको छ । अब जनताले एउटा विकल्प खोजिरहेका छन्, त्यो विकल्प पनि आउँछ । 

० अहिलेसम्म देउवा सरकारको मन्त्रिमण्डल पाँच सदस्यीय मात्रै छ, किन विस्तार हुन सकिरहेको छैन ?

— अहिले यिनीहरु भागवण्डामा लागिरहेका छन् । पैसाका लागि राजनीति गर्दै आएकाहरुबीच तानातान छ । दुई–दुई महिनासम्म यो सरकारले २० वटा मन्त्रालयलाई बन्धक बनाएर राखेको छ । यिनीहरु निकम्मा साबित भइसकेका छन् । यो सरकार आफैले ल्याएको अध्यादेशका कारण गठबन्धनभित्रकै दल फेरि फुट्छ कि भन्ने डर पनि छ । स्वार्थ लिप्सामा लागेकाहरु अहिलेसम्म मन्त्रिमण्डल विस्तार गर्न नसक्नु निकम्मापन हो । पहिला नै असक्षम घोषित भइसकेकै व्यक्तिले सरकारको नेतृत्व गरिरहेकोले फेरि पनि असक्षम साबित होला कि भन्ने डर छ । संसदमा एमसीसी प्रवेश गर्ने बित्तिकै दृष्यहरु प्रष्ट हुँदै जान्छ ।

० आगामी चुनावका लागि नेपाली जनता दलको तयारी कस्तो भइरहेको छ ?

— यो कोरोनाकालमा पनि हामीले आफ्नो गतिविधिहरु गरिरहेकै छौं । हामीले सातवटै प्रदेशमा दलको प्रमुखहरु चयन गरेका छौं, कमिटी पनि बनाइसकेका छौं । छिट्टै हामी प्रदेश कमिटीको भेलाहरु गर्दैछौं । हाम्रा भेलाहरु सम्पन्न भइसकेपछि चुनावी तयारीमा लाग्छौं । हामी राष्ट्रिय पार्टी हौं । गत निर्वाचनमा हाम्रा मेयर, अध्यक्ष, वडाध्यक्षहरु जितेका छन् । तर सरकारले हामीमाथि बेइमानी गर्न सक्छ । स्थानीय चुनावमा हामीलाई चक्का छाप चुनाव चिन्ह नदिने षड्यन्त्र हुनसक्छ । नेपाली जनता दलले सातवटै प्रदेशमा ७५३ स्थानीय तहमध्ये कम्तीमा ५३ ठाउँमा त जित्छौं नै । 

० गत निर्वाचनमा प्रदेश र संघमा तपाइँहरुको प्रतिनिधित्व हुन सकेन नि ?

— लुटेरा र भ्रष्टाचारीहरुले चुनावमा पैसाको खोलो बगायो । जबसम्म यो देशमा अर्बपति र खर्बपतिहरुलाई भोट बेचिरहन्छ तबसम्म इमान्दार नेताहरु जित्ने सम्भावना छैन । पैसाको प्रतिनिधित्व भइरहँदासम्म विचारको प्रतिनिधित्व हुँदैन । यिनीहरुले देश र जनताको विकासका लागि, जनहितका लागि कुनै काम हुनेवाला छैन । जनता गरिबीमा छन्, रोजगार छैन । लाखौं लाख युवाहरु विदेशिन बाध्य छन् । यी राजनीतिक दलहरुलाई सबै युवाहरु विदेश गइदिए हुन्थ्यो लाग्छ । पैसाको बलमा राजनीतिक भइरहँदा विचारको राजनीति अगाडि आउन सक्दैन । सोही कारणले नेपाली जनता दलको प्रतिनिधित्व प्रदेश र संघमा हुन सकेन । लुटेराहरुको जबसम्म वर्चस्व रहिरहन्छ, तबसम्म अन्य कुनै पार्टीलाई अगाडि बढ्न दिँदैन । यस कुरामा जनता सचेत हुनुप¥यो नि त । स्थानीय तहमा पनि लुटेराहरुले लुटिरहेकै छन् । त्यसकारणले पैसाको बलमा राजनीति गर्नेहरुको अगाडि हाम्रो केही पनि लाग्न सकेको छैन । मैले भन्ने गरेको थिएँ कि ‘मुर्गा, मछली, दारु, नोट अनि जनताले दिन्छन् भोट ।’ त्यहीअनुसारले फेरि चुनाव भयो भने आगामी दिनमा पनि विचारको प्रतिनिधित्व हुँदैन । हामी भनेको सत्य र विचारको राजनीति गर्ने, सामाजिक न्यायको राजनीति गर्ने मान्छे हौं । राजनीति भनेको जितेर मात्रै हुँदैन, हारेर पनि जित्ने दल भनेको नेपाली जनता दल हो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ