जसपा वैकल्पिक शक्ति बन्नै सक्दैन, लोसपामा सम्भावना छ : राजकुमार लेखी

अन्तर्वार्ता

० तपाइँले लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट किन राजीनामा गर्नुभयो ?

— मैले आजसम्म जुन पार्टीमा रहेर केन्द्रीय कार्यकारिणी समितिको सदस्यको रुपमा काम गरें, त्यो पार्टीमा एकता गरेर पुगेको थिएँ । हामी पुरानो पार्टी भनेर कांग्रेस, एमाले र माओवादीलाई आलोचना गथ्र्यौं, विरोध गथ्र्यौं । तर हामी आफै नयाँ राजनीतिक पार्टी, नयाँ राजनीतिक शक्ति, वैकल्पिक राजनीतिक शक्ति बनाउने भनेर लाग्दा पनि त्यो ठाउँमा पुग्नै सकेनौं । हामीले पार्टीलाई वैकल्पिक शक्तिको रुपमा, फरक पार्टीको रुपमा जनताको बीचमा स्थापित गर्न सकेनौं । ती तीनवटा पार्टीभन्दा राम्रो पनि गर्न सकेनौं । यसकारणले मैले समीक्षा गरें, आत्मसमीक्षा गरें र यहीं कुरा मैले पार्टीमा राखें । मलाई कुनै पनि नेता र व्यक्तिसँग व्यक्तिगत आग्रह–पूर्वाग्रह अथवा रिसराग छैन । म राजनीतिक रुपमै उहाँहरुसँग सल्लाहमै राजीनामा दिएको हुँ । उहाँहरुसँग भेटेरै मैले राजीनामा गरेको हुँ । त्योभन्दा राम्रो कसरी गर्न सकिन्छ भनेर अहिले भएकै राजनीतिक दलहरुमध्ये जहाँ मेरो विचार मिल्छ, जहाँ म गएर राम्रो गर्न सक्छु । अब म विभिन्न राजनीतिक पार्टीहरुसँग  छलफल गर्छु । त्यस पछि म अगाडि बढ्ने निर्णय गर्छु ।

० जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर लोसपा निर्माण हुँदा यो नै अब वैकल्पिक शक्ति बन्छ भन्ने कुरा हामीसँगको अछिल्लो अन्तर्वार्तामा भन्नुभएको थियो । तर, अब लोसपामा बस्न नसकिने अवस्था किन आयो ?

— लोसपामा त्यो खालको नयाँ पार्टीको कार्ययोजना बन्न सकेन । लोसपाको एउटा जुन टिम हुनुपर्दथ्यो, त्यो टिम बन्न सकेन । युवाहरुको टिम बन्न सकेन । नेतृत्वको राम्रो टिम बन्न सकेन । हामी समग्रमा कुरा गर्दा कांग्रेस, एमाले र माओवादीभन्दा राम्रो गर्न सक्ने त्यो वातावरण बनाउन सकेनौं । त्यसैले त्यो विश्वास रहेन । त्यो विश्वास नरहेका कारण अहिले आएर म राजीनामा दिने निर्णयमा पुगेको हुँ । 

० तर, लोसपा त अहिले निर्माणकै क्रममा छ । केही दिन पहिला मात्रै निर्वाचन आयोगबाट दर्ताको प्रमाणपत्र पाएको छ । किन हतारिनुभयो त ?

— हैन, नेपालमा एउटा भनाई छ ‘हुने विरुवाको चिल्लो पात ।’ मैले त्यो सम्भावना देखिनँ । त्यसकारण त्यो सम्भावना नदेखिएपछि देश र समाजका निम्ति समयलाई बर्बाद गर्नुभन्दा बरु विकल्प सोच्नु राम्रो हुन्छ भन्ने मैले ठानें । 

० भनेपछि, जसपा र लोसपा वैकल्पिक शक्ति बन्ने आधार तपाइँले देख्नुभएन ?

— छैन । जसपाको त बिल्कुलै छैन । लोसपा बन्यो भने पनि धेरै समय लाग्ला । लोसपा वैकल्पिक शक्ति बन्दैन भनेर म भन्दिनँ । तर, तत्कालका लागि मैले लोसपा वैकल्पिक शक्ति बन्ने सम्भावना देखिनँ । जसपाको त कुनै सम्भावना नै छैन । यदि लोसपाले राम्रो टिम बनाउन सक्यो, भिजन र कार्ययोजनाका साथ नयाँ ढंगले अगाडि बढ्न सक्यो भने त्यो सम्भावना रहन सक्छ । तर, तत्कालै त्यो सम्भावना छैन । 

० जसपा वैकल्पिक शक्ति बन्दैन भनेर तपाइँले ठोकुवा गर्नुभयो । किन ?

— जसपामा चिनिएका, देखिएका केही नेताहरु हुँदैमा धेरै सम्भावना बोकेको मान्न सकिँदैन । यदि त्यसो हो भने बाबुरामजीकै पार्टी बन्ने सम्भावना थियो । तर बनेन । यदि त्यसो भएको भए बाबुरामजी त्यहाँ आउनुपर्ने बाध्यता हुँदैनथ्यो । 

० अब तपाइँ के गर्ने ? नयाँ दल खोल्ने कि ?

— म नयाँ दल खोल्दिनँ । अहिले रहेकै दलहरुसँग मेरो छलफल हुन्छ । यिनै पार्टीहरुमध्ये जहाँ राम्रो गर्न सक्छु, त्यो दलमै बसेर म काम गर्छु । म जहाँ जुन पार्टीमा जान्छु, त्यो पार्टीमा गएर फेरि नयाँ ढंगको अभियान सुरु गर्छु । जनता, समाज र देशका निम्ति राजनीतिलाई नयाँ ढंगबाट अगाडि बढाउँछु । 

० थारुहरुको नयाँ दल खोल्न लागिएको छ, तपाइँ त्यो दलमा जानका लागि लोसपाबाट राजीनामा दिनुभएको हो ?

— उहाँहरुले प्रस्ताव गर्नुभयो, तर मैले उहाँहरुलाई मैले भनें कि तपाइँहरुले जे प्रयास अहिले गर्दै हुनुहुन्छ त्यो त मैले आजभन्दा दश वर्ष अगाडि नै त्यो अभ्यास गरिसकें, त्यो अनुभव गरिसकें । हामीलाई जनताले विश्वास गरेन । त्यसकारण वैकल्पिक राजनीतिक शक्ति तत्कालै बन्ने सम्भावना म देख्दिनँ, म तपाइँहरुसँग छैन भनेर स्पष्टरुपमा भनिसकेको छु । त्यसैले जुन नयाँ राजनीतिक दल खोलिने भएको छ, त्यसमा म जान्न । 

० जसपा र लोसपालाई तपाइँले रिजेक्ट गरिसक्नुभयो । भनेपछि, ठूला राजनीतिक दलहरु एमाले, कांग्रेस, माओवादीबाट कुनै एउटा रोज्नुहुन्छ ?

— हो । निश्चितरुपमा कांग्रेस, एमाले, माओवादी दलहरुसँग वार्ता हुन्छ, छलफल हुन्छ । यी तीन वटा दलहरुमध्ये कहाँ हाम्रो कुरा मिल्छ, त्यसपछि हामी निर्णय गर्छौं । छलफल तीनटैसँग हुन्छ । 

० भनेपछि ठूला दलहरु कांग्रेस, एमाले र माओवादीमध्ये कुनै एकमै आफ्नो राजनीतिक भविष्य खोज्नुहुन्छ ?

— हो । यी पार्टीहरुसँग छलफल हुन्छ । यिनै पार्टीहरुमध्ये विचार मिल्नेमा समाहित हुन्छु । 

० तपाइँले राजीनामा घोषणा गरिसकेपछि अन्य राजनीतिक दलहरुबाट प्रस्तावहरु त आएका होलान् ?

— धेरै नेताजीहरुले फोन गर्नुभएको छ । म आजबाट छलफल सुरु हुन्छ । सबै पार्टीका नेताजीहरुले प्रस्ताव गर्नुभएको छ । उहाँहरुसँग अब छलफल हुन्छ । 

० तपाइँको विचार र मुद्दा मिल्ने यी तीन दलमध्ये कुन हो त ?

— अहिले त म ठ्याक्कै भन्न सक्दिनँ । उहाँहरुसँग कुरा गर्न बाँकी नै छ । छलफलमा बसेपछि कुन किसिमको कुरा आउँछ त्यसपछि मात्रै म भन्न सक्छु । 

० तैपनि कुन राजनीतिक दलसँग तपाइँ नजिक हुनुहुन्छ ?

— अहिले म भन्न सक्ने स्थितिमा छैन । अब हामी सबै पार्टीसँग छलफलमा बस्छु । साथीहरुको कुरा सुन्छौं । हामी जुन पार्टीसँग छलफलमा बस्छौं, तिनका नेताहरुको कुरा सुन्छौं । त्यसपछि मात्रै हामी केही भन्न सक्छौं । अहिले म केही भन्न सक्ने स्थितिमा म छैन । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ