‘अख्तियारको छापामारीमा मुख्यमन्त्रीका आफ्नै पार्टीका नेताहरूको षड्यन्त्र'

जयनुल राईन, प्रदेशसभा सदस्य, प्रदेश नं. २, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

अन्तर्वार्ता

० प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता भएको भन्दै छापा मारेको छ, तपाइँको के भन्नुहुन्छ ?

—प्रदेशको मुख्य निकाय मुख्यमन्त्रीको कार्यालयमा छापामारी हुनु अप्रिय घटना हो । नहुनुपर्ने कुरो भएको छ । यसको पछाडि के राजनीति भएको हो, त्यो बुझ्न सकेका छैनौं । यसमा कहीं न कहींबाट षड्यन्त्र भएको हो, जसकारण मुख्यमन्त्री कार्यालयमा छापामारी भएको हो । 

० मुख्यमन्त्री कार्यालयमा छापा मार्नु हुँदैनथ्यो ?

— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम नै छापा मार्ने हो । तर, अख्तियारले कागजात झिकाउन वा अनुगमन गर्न सक्थ्यो । 

० तर, मुख्यमन्त्रीको कार्यालय भ्रष्टाचारको अखाडा भयो, विभिन्न कार्यक्रमहरुको नाममा व्यापक भ्रष्टाचार भयो भन्ने आमजनताको गुनासाहरु आइरहेका थिए नि ?

— मुख्यमन्त्रीको कार्यालयबाट अनियमितता भइरहेको वा भ्रष्टाचार भएको बारे गुनासोहरु थियो । सबै मन्त्रीका विरुद्धमा पनि यस्ता गुनासाहरु थिए । तर त्यसका प्रमाणहरु देखिएका थिएनन् । तर अहिले आएर अचानक मुख्यमन्त्री कार्यालयमा जसरी छापामारी भयो यसमा मुख्यमन्त्रीजीको आफ्नै पार्टीकै नेताहरुले उहाँविरुद्ध षड्यन्त्र गरेको हो कि जस्तो लाग्छ । 

० मुख्यमन्त्रीकै पार्टीले उहाँविरुद्ध षड्यन्त्र ग¥यो त ?

— निश्चितरुपमा मुख्यमन्त्रीजी आफ्नै पार्टीका नेताहरुको षड्यन्त्रको शिकार हुनुभएको छ । तर यसको जिम्मेवारी उहाँले लिनैपर्छ । विगतमा हामी एकै ठाउँमा थियौं, एउटै पार्टी थियो । चुनावमा हामीले मधेशी गठबन्धन बनाएर जनताको जनादेश पाएका थियौं । अहिले हामी छुटिइसकेका छौं । अहिले सरकारले जुन क्रियाकलापहरु गरिरहेको छ, त्यो मधेशी मतादेशको विपरीत हो । अहिले प्रदेश सरकारले मधेशी जनताको जनादेशलाई लत्याउँदै विभिन्न क्रियाकलापहरु गरिरहेको छ । यसको सारा जवाफदेही मुख्यमन्त्रीले नै लिनुपर्छ । 

० मुख्यमन्त्रीको कार्यालयमै छापा परिसकेपछि मुख्यमन्त्रीको नैतिक दायित्व के हुन्छ, राजीनामा दिनु पर्ने हो कि होइन ?

— मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा परिसकेपछि चारैतिरबाट राजीनामाको माग उठिरहेको छ । तर यो विषयलाई केलाएर हेर्नुपर्छ । हुन त नैतिकताको हिसावले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने हो । जुन आरोप लागेको छ, त्यसबारे प्रष्ट्याउनुपर्ने हो । मुख्यमन्त्रीले यसको जवाफ दिनुपर्ने हो । स्वच्छता अभियान, बेटी पढाऊ बेटी बचाउ अभियानमा कहाँ, कति, के गरेको छ ती सबै कागजातहरु अख्तियारले लगेको छ । मुख्यमन्त्री कार्यालय एउटा व्यक्ति होइन, एउटा मर्यादित संस्था हो । त्यहाँ यस किसिमका कार्यहरु हुनु चिन्ताजनक विषय हो । अख्तियारले सबै कागजात लगिसकेपछि यस विषयमा सूक्ष्म अनुसन्धान गरी छिटो निष्कर्ष निकाल्नुपर्ने हो । 

० अनुसन्धान अवधिसम्म मुख्यमन्त्रीले राजीनामा दिनुपर्दैन ?

— राजीनामा दिनैपर्ने बाध्यता छैन । त्यो त आफ्नो स्वविवेक र नैतिकताको कुरो हो । छापा पर्ने बित्तिकै मुख्यमन्त्रीले पदबाट राजीनामा दिई अनुसन्धानका लागि बाटो प्रशस्त गर्नैपर्छ भन्ने छैन । तर, उहाँको पार्टीभित्रको अवस्था के छ, पार्टीले के निर्देशन गरेको छ, सत्तारुढ दलहरुले के सुझाव दिइरहेको छ त्यो त उहाँलाई नै थाहा होला । हामी त अहिले बाहिरबाट हेरिरहेका मात्र छौं । मधेशी जनतामाथि जसपाले कस्तो अन्याय गरिरहेको छ, त्यो हेरिरहेका छौं । अब लोसपाले छिट्टै प्रदेश २ मा भण्डाफोर कार्यक्रम चलाउँछ । 

० लोसपा अहिले प्रदेश २ को संसदमा प्रमुख प्रतिपक्षी रहेको छ, तपाइँहरु यसबारे केही नबोल्ने ?

— अहिले भर्खरै हाम्रो संसदीय दलको नेता चयन भएको छ । अब हामीले यो घटनाबारे मात्रै होइन, यो सरकारले गरेको असंवैधानिक क्रियाकलापहरुको पनि भण्डाफोर र विरोध गर्छौं । पार्टी विभाजित भइसकेपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने जुन संवैधानिक व्यवस्था छ, त्यसलाई मानेको छैन । मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । त्यसो भन्ने हो भने यो प्रदेश सरकार नै असंवैधानिक हो । 

० तर, आउँदो २० गते विश्वासको मत लिने भनेर संसद बैठक आह्वान गरिएको छ नि ?

— यस विषयमा हामीले दबाब दिएपछि मात्रै विश्वासको मत लिने भनेर संसद आह्वान गरिएको छ । यस्तै हामी धेरै विषयहरुमा दबाब दिइरहेका छौं । यो प्रदेशको नामाकरण र स्थायी राजधानी टुंगो लगाउनुपर्ने छ । २० गते बस्ने संसदको बैठकमा हामीले मुख्यमन्त्री कार्यालयमा परेको छापा, भ्रष्टाचार लगायतका कुराहरु उठाउँछौं । लोसपा प्रतिपक्षमा बस्छ भनेर अस्ति नै निर्णय गरिसकेको छ । यो सरकार असंवैधानिक भइसकेको छ, अविलम्ब विश्वासको मत लिनुप¥यो भनेर हामीले भनिसकेका छौं । निश्चितरुपमा हामी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौं । 

० लोसपा प्रतिपक्षी दलको भूमिका लागि तयार छ ?

— निश्चितरुपमा हामी प्रतिपक्षमै बस्छौं । सत्तारुढ दलसँग अहिले दुई तिहाइभन्दा बढीको मत छ । लोसपाको १६ र एमालेको ८ गरी जम्मा २४ सांसद मात्रै विपक्षमा छन् । अहिलेको अवस्थामा मुख्यमन्त्रीले सजिलै विश्वासको मत पाउनुहुन्छ । हामीले पाँच महिना पहिला नै यो प्रदेशको नामांकन र स्थायी राजधानीको बारेमा प्रस्ताव पेश गरिसकेका छौं । त्यसको बारेमा पनि हामी कुरा उठाउँछौं । 

० मुख्यमन्त्री राउतसँग दुई तिहाइभन्दा बढी मत छ संसदमा । अब त प्रदेशको नामाकरण र स्थायी राजधानी टुंगो लाग्छ ?

— अब त प्रदेशको नामांकन र स्थायी राजधानी टुंगो लाग्नुपर्ने हो । जब जसपा नेतृत्वको सरकारमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पनि आइसकेपछि ७५% भन्दा बढीको बहुमत छ । यो सरकारले चाह्यो भने जुन बेला पनि नामाकरण र राजधानी टुंगो लगाउन सक्छ । तर गर्ने इच्छाशक्ति हुनुप¥यो । प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरमा हाम्रो समर्थन रहन्छ । 

० भनेपछि प्रदेशको नाम मधेश नै हुनुप¥यो ?

— निश्चितरुपमा मधेशी जनतासँग जसपाका नेताहरुले गरेको प्रतिबद्धताअनुसार प्रदेश नाम मधेश संसदबाट पास गराउनुप¥यो या त सत्ता छोडेर जानुप¥यो । जसपा नेतृत्वको सरकारले कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई मधेश प्रदेशका लागि सहमत गराउनुप¥यो या त सरकारबाट बाहिर निकाल्नुप¥यो । प्रदेश २ को सरकार अहिले पनि मधेशी जनताको सरकार हो । तर मधेशीको नाममा जसले खेलवाड गर्छ, उसलाई जनताले पनि हेरिरहेको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ