नेपाल पनि दक्षिणी सुडानको बाटोमा जाँदैछ : श्रीराम अधिकारी

मानव अधिकार अधिकृत, मानव अधिकार विभाग, संयुक्त राष्ट्रसंघीय शान्ति मिशन, दक्षिणी सुडान

अन्तर्वार्ता

० दक्षिण सुडानको अवस्थालाई कसरी चित्रण गर्नुहुन्छ ?

— जब सन् २०११ मा सुडानबाट टुक्रिएर दक्षिण सुडान देश बन्यो, त्यसपछि विविध कारणहरुले गर्दा त्यहाँ जातीय युद्धहरु सुरु भयो । त्यहाँ दुई समुदाय न्यूर र डिङ्का बीच जातीय द्वन्द्वका कारण चार लाख जति मानिसको मृत्यु भयो । सन् २०१८ मा आइपुग्दा रिभाइटालाइज एग्रीमेन्ट इथियोपियामा भयो । अहिले डिङ्का र न्यूर बीचमा द्वन्द्व छैन । तर अहिले पनि त्यहाँ जातीय हिंसा जारी छ । एउटा जातका मान्छेले अर्को जातका मान्छेलाई मार्नु पर्ने त्यहाँको संस्कारै छ । उनीहरुमा रिभेन्ज किलिङ परम्परागत प्रचलन छ । अहिले डिङ्का भित्र लगभग ६०–७० वटा जातका समूहहरु छन् र न्यूरभित्र पनि त्यस्तै ५०–६० वटा जातजातिहरु छन् । ती जातजातिहरु बीच पनि द्वन्द्व छ । उनीहरुले एकअर्कालाई मान्छे, लुट्ने काम गर्दछन् । 

० संयुक्त राष्ट्रसंघीय शान्ति मिशनले त्यहाँ के गरिरहेको छ ?

— सन् २०१८ मा भएको शान्ति सम्झौताको कार्यान्वयनको अवस्था के छ, दुवै पक्षले त्यो सम्झौता कसरी परिपालना गरिरहेका छन् त्यसको निगरानी गर्ने शान्ति मिशनको काम हो । अर्को कुरा, सामाजिक अभियन्ता, मानव अधिकारकर्मी लगायतको क्षमता अभिवृद्धि गर्ने काम पनि हामीले गरिरहेका छौं । हामीले त्यहाँ शान्ति, मानवअधिकार, स्थायी विकास लगायतको विषयमा उनीहरुलाई क्षमता अभिवृद्धिको काम गरिरहेका छौं । अर्को महत्वपूर्ण काम भनेको न्यायपालिकालाई मजबुत बनाउने, विधिको शासन प्रभावकारी बनाउने र सरकारी निकायलाई मानवअधिकारप्रति कटिबद्ध बनाउने काम गरिरहका छौं । अहिले त्यहाँ सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुने प्रक्रियामा रहेको छ । त्यसको पनि काम हामीले गर्नुपर्ने हुन्छ । 

० शान्ति सम्झौतापश्चात् दक्षिणी सुडानमा कति सुधार भएको छ ?

— पहिले र अहिलेको अवस्थालाई तुलनात्मकरुपमा हेर्दा अहिले चिन्ताजनक अवस्था छैन तर सन्तोषप्रद पनि छैन । किनभने त्यहाँ असुरक्षा छन्, जनताहरु त्रासमा बाँचिरहेका छन् । कतिबेला कुन समुदायले कुन समुदायमाथि आक्रमण गर्ने हो त्यो भन्न सकिने अवस्था छैन । सरकारले सुरक्षा दिन सकेको छैन र संयुक्त राष्ट्रसंघले त्यहाँ सुरक्षा दिन्छ । त्यहाँ धेरै शरणार्थीहरु बसेका छन् । हामीले उनीहरुमाथि हुने ज्यादती, अत्याचार, अन्यायहरुको बारेमा आवाज उठाउने गरेका छौं र त्यो कुरा सरकारसमक्ष लिएर जाने गरेका छौं । 

० त्यहाँ तपाइँहरुलाई काम गर्न कति चुनौती छ ?

— संयुक्त राष्ट्रसंघमा काम गर्ने कर्मचारीहरु अनुभवी नै हुन्छन् । कर्मचारीले यस्तो जोखिमयुक्त ठाउँमा बिना परिवार काम गर्नुपर्छ । सुरक्षा खतरा हामीलाई पनि हुन्छ । तर संयुक्त राष्ट्रसंघले नै हामीलाई सुरक्षा दिएर राखेको छ । नेपालबाट पनि दक्षिण सुडानमा शान्ति सेनाहरु जाने गरेका छन् । तिनै शान्ति सेनाहरुले हामीलाई सुरक्षा प्रदान गर्छ । हामी उनै शान्ति सेनाको सुरक्षा घेराभित्र हुन्छौं । त्यसले गर्दा त्यति साह्रो जोखिमपूर्ण हामीलाई लाग्दैन । तर समय परिस्थितिले जोखिमपूर्ण अवस्था आयो भने पनि संयुक्त राष्ट्रसंघसँग यस्तो संयन्त्रहरु छन्, जसले त्यसलाई सधैंभरि न्यूनीकरण गर्दै जान्छ । 

० दक्षिणी सुडानमा हिंसा र अशान्तिका मूल कारणहरु के–के छन् ?

— यसका विभिन्न कारणहरु छन् । जब सुडानमा बेल्जियमको शासन थियो त्यसपछि इजिप्टले सुडानलाई औपनिवेश बनायो । त्यसपछि इजिप्टिसियनहरु गइसकेपछि सुडान स्वतन्त्र भयो । सुडानमा मुस्लिमहरु थिए, दक्षिण सुडानमा क्रिश्चियनहरु थिए । यसलाई व्याख्या गर्दा धेरै समय चाहिन्छ । सारमा भन्नुपर्दा यदि कुनै देशलाई बर्बाद र कमजोर गर्नुछ भने त्यहाँ मिसाइल वा बुलेटबाट आक्रमण गर्ने होइन । त्यहाँका जातीमाथि आक्रमण गरिन्छ । जब कुनै पनि राष्ट्रको जात र जातीयतामाथि आक्रमण हुन्छ त्यो समुदाय आफै कमजोर हुन्छ । ‘भाई फुटे, गवार लुटे’ भनिएझैं त्यो देशका जनताहरु आफू–आफूमै लडेर कमजोर भएका हुन् । यो पश्चिमाहरुको एउटा रणनीति हो । यदि कुनै पनि देशलाई बर्बाद गर्नुछ भने वा आफ्नो स्वार्थ र अभिष्ट पूरा गर्नुछ भने त्यो देशको जातमाथि आक्रमण, त्यसपछि भाषामाथि आक्रमण र त्यसपछि धर्ममाथि आक्रमण हुन्छ । जब यी तीन कुरामाथि आक्रमण हुन्छ, उसले चाहेका कुराहरु त्यो देशमा पूरा हुन्छ । दक्षिण सुडानमा पनि त्यहीं गरिएको छ । 

हामीले रुवान्डाको हुस्सु र तुस्सुलाई हेरेर नेपालले पनि पाठ सिक्नुपर्ने हुन्छ । हाम्रो देशमा पनि अहिले जातीयताको कुरा उठिरहेको छ । वि.सं. २०४६ अगाडि नेपालमा जातीयताको कुरा थिएन, हामी सबै मिलेर बसेका थियौं । तर ०४६ पछि विभिन्न आन्दोलन र जनआन्दोलनको नाममा नेपालमा जातीयताको बीउ रोपिसकिएको छ, विस्फोट हुन मात्रै बाँकी छ । यसको अलिकति संकेतहरु हामीले मधेश आन्दोलनका बेला हेरिसक्यौं । किनकि त्यहाँबाट थुप्रै पहाडेहरु विस्थापित भएका तथ्य, प्रमाण हामीसँग ताजै छन् । 

तसर्थ, नेपाललाई पनि भोलीको दिनमा जातीय, नश्लीय आधारमा विभाजन गर्ने र विभिन्न जातजातिबीचमा द्वन्द्व फैलाउने सुरुवात भइसकेको छ । त्यो बेलामा तपाइँ र म पनि एकआपसमा कट्टर दुश्मन हुनसक्छौं । त्यसैले, अहिले हामी नेपाललाई जातीय, भाषिक, धार्मिक कुराबाट अवश्य पनि बचाउनुपर्छ । भाषा आयोगले सातै प्रदेशका लागि भाषा सिफारिस गरेको छ । नेपाल एउटा देश हो र भाषा नेपाली हो । तर अहिले जनतालाई भाषिकरुपमा विभाजन गरिँदैछ । नेपालको भाषा नेपाली हो र कामकाजको भाषा नेपाली नै हुनुपर्छ । तर नेपाली भाषामाथि आक्रमण भइरहेको छ । अर्को कुरो धर्म निरपेक्षता अथवा संघीयता जनताको माग नै थिएन । धर्मनिरपेक्षताको आडमा खुल्लेआम अन्य धर्मको प्रचार भइरहेको छ । खुल्लेआम धर्मान्तरण भइरहेका छन् । जुन राष्ट्रले आफ्नो धर्मको परिपालना गर्दैन, त्यो राष्ट्रको उभोगति लाग्दैन । 

० नेपाल पनि दक्षिण सुडानकै बाटोमा लागिसकेको हो ?

— अहिले नै भन्न मिल्दैन । तर, नेपालमा ठूलो समस्याहरु देखिन थालेका छन् । भनेपछि त्यसको सुरुवात भइसकेको छ । किनभने हिजो हाम्रा नेताहरुले लोकतन्त्रको नाममा संघीयताको दुहाइ दिनुभयो, समानुपातिक निर्वाचन प्रणालीको दुहाइ दिनुभयो । ए हाम्रा महाशय नेताहरु, एकपटक दक्षिण सुडान गएर हेर्नुस्, संघीयता भनेको कस्तो हुन्छ । जुन राष्ट्र गरीब, कमजोर छ त्यस्तो राष्ट्रलाई विभाजन गर्नुहुन्छ भने साउथ सुडानको बाटोमा अवश्य जान्छ । उदाहरणका लागि, हामीले सात प्रदेशका सातवटा सरकारका लागि बजेट खर्च गरिरहेका छौं । हाम्रो आयस्रोत भनेको कर हो । यहाँ जेमा पनि कर लगाइएको छ । राष्ट्रको पैसा विकासमा लगाउने हो, प्रदेश सरकारहरुको तलब भत्तामा खर्च गर्ने होइन । 

० भनेपछि नेपाल संघीयतामा जानु भनेको दक्षिण सुडानको बाटोमा लाग्नु हो ?

— आर्थिक रुपमा अवश्य नै हो । किनभने हाम्रो राष्ट्रको आय बढ्न सकेको छैन, खर्च मात्रै बढिरहेको छ । सात वटा प्रदेशलाई पुग्ने गरी बजेट कमाउनुप¥यो नि । त्यो सकेको छैन । भनेपछि आर्थिक रुपमा नेपाल दक्षिणी सुडान हुन्छ । आय आर्जन हुन सकेको छैन, वैदेशिक ऋण त्यतिकै छ, व्यापार घाटा हेर्नुस । हाम्रो आयात मात्रै छ, निर्यात केही पनि छैन  । राज्यले आफ्नो आयस्रोत बढाएर आम्दानी बढाउनुप¥यो । 

० अहिले संघीयतामाथि प्रहार भइरहेको भनिन्छ, तपाइँ पनि संघीयता विरोधी कुरा नै गर्नुहुन्छ नि ?

— म एकदम खुशी हुन्छु, यदि कसैले मलाई संघीयता विरोधी मान्छे हो भन्यो भने । म छाती पिटेर भन्न सक्छु कि म संघीयता विरोधी मान्छु हुँ । एउटा सानो देश नेपाललाई सात टुक्रामा विभाजन गरियो, सातवटा सरकार बनाइयो, त्यसलाई चलाउने मेकानिजम नै छैन । देशलाई एकीकरण गर्ने मेकानिजम संघीयता हो । छुट्टिएर रहेका राज्यहरुलाई एउटै राष्ट्रका छातामुनि ल्याउने सिद्धान्त संघीयता हो । तर हाम्रो देशमा टुक्र्याएर छुट्टाछुट्टै राष्ट्र बनाउने संघीयताको सिद्धान्तविपरीत नै छ । नेताहरुले वार्ड–वार्डमा सिंहदरबार पुग्छ भन्नुभयो । तर अहिले एउटा पनि यस्तो सरकारी कार्यालय छैन, जहाँ लाइनमा नबसी कामै हुँदैन । नेपालमा एउटा पनि जनताले नेपाल सरकारको कामप्रति सन्तुष्ट छैन । नेपाली जनताले चाहेर संघीयता ल्याएको भए कुनै प्रदेशका मुख्यमन्त्री बाहिर निस्किँदा यो मेरो देशको मुख्यमन्त्री हो, यसले हाम्रो भावनाअनुसार काम गर्छ भनी एक जना पनि नेपालीको शीर श्रद्धाले झुक्दैन । भनेपछि संघीयता राम्रो छ भनेर कसरी भन्न सकिन्छ । संघीयतामा जनताको अपनत्व, प्रेम, भावना र माया कहाँ छ ? 

० यो प्रणाली नै खराब हो त ?

— हाम्रो नेपालमा व्यवस्था र व्यवस्थापक दुवै दोषी छन् । हाम्रो देशको भूगोल, जनसंख्यामा संघीयता लागू नै हुन सक्दैन । संघीयता नेपालको लागि उपयुक्त नै छैन । नेताहरुले संविधानमा संघीयता लेख्नुभयो तर उहाँहरुले नै व्यवहारमा कार्यान्वयन गर्नुभएन । अहिलेको सरकार गठन भएको करिब तीन महिना भइसक्यो तर मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन भनेर चौतर्फी आलोचना भइरहेका छन् । तर म भन्छु, मन्त्रिमण्डलले पूर्णता पाउँदैमा के हुन्छ त ? देशमा विकास हुन्छ ? जनताले सुरक्षा र सुशासनको अनुभूति गर्न पाउँछन् ? जनताले औषधि उपचार पाउँछन् ? किन चाहियो मन्त्री ? हामीलाई देशको विकास गर्ने, जनतालाई सुरक्षा दिन सक्ने  मन्त्री चाहिएको छ । तर आजसम्म नेपालमा एउटा पनि यस्तो मन्त्री हामीले पाएका छैनौं । एउटा पनि मन्त्री छैन जसले आफ्नो मन्त्रालयमा जनसरोकारको विषयमा एउटा पनि निर्णय गरेको होस् । यो सरकार र व्यवस्थाबाट हामीले केही पनि अपेक्षा गरेका छैनौं । 

० तर संघीय प्रणाली उच्चतम् हो भनेर पनि भनिन्छ नि ?

— संघीयता नभएका देशहरुमा पनि त विकास भएका छन् नि । त्यहाँका जनताहरु पनि सुरक्षित छन् नि । किनभने हाम्रो देश धेरै ठूलो राष्ट्र हो ? अन्य देशहरुको उदाहरण दिएर हुँदैन । यदि संघीयताले नै मुलुकमा समृद्धि र विकास भएको भए, यत्रो वर्ष भइसक्यो, सुरुवातसमेत भएको छैन । अब १० वर्षमा के गर्ने भन्ने कुनै पनि राजनीतिक दलसँग भिजन, मिसन, योजना छ ? केही पनि छैन । त्यस्ता लाचार व्यक्तिहरुबाट हामी शासित हुनुपरेको छ, अनि हामी देश विकासको कुरा गर्ने ? 

० नेपालमा विभिन्न शासन व्यवस्थाहरु परिवर्तन हुँदै अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छ । तपाइँले यो पनि असफल भइसक्यो भन्नुहुन्छ, अब कस्तो व्यवस्था चाहिन्छ नेपालमा ?

— म राजनीतिशास्त्रका विद्यार्थी होइन । नेपालमा कस्तो खालको शासन व्यवस्था चाहिन्छ भन्न मलाई गाह्रो हुन्छ । संघीयता भनेर समानुपातिक निर्वाचन प्रणाली यो देशको लागि उपयुक्त होइन । हाम्रो राज्यको ढुकुटी सरकार सञ्चालनमै सिद्धिन्छ । हामीले कहिल्यै पनि हाम्रो लगानी उत्पादनमा गर्न सकिएन । 

० तर विकल्प के छ त ?

— निकासका लागि जनताको चाहनाबमोजिम संघीयता, समानुपातिक निर्वाचन प्रणाली हटाइनुपर्छ । यदि जनताले चाहन्छ भने गणतान्त्रिक व्यवस्था नै फाल्नुपर्छ । अहिले राजाको पक्षमा वकालत गर्नेहरु पनि धेरै निस्किरहेका छन् । त्यो राजसंस्था कस्तो हुने ? नेपाली जनता जब विस्फोट भएर सडकमा आउँछन्, त्यहाँबाट प्रस्फुटित हुने हो । नेपालमा जातीयता, भाषिक र धार्मिक कुराहरु विस्तारै बढ्दै गएको छ । 

० मधेशमा सबभन्दा बढी राजनीतिक गतिविधि हुने गरेको छ । मधेशको अवस्थालाई कसरी हेर्नुभएको छ ?

— मैले देखेको मधेशमा कुनै पनि मधेशी नेतामा भिजन, मिसन र लक्ष्य छैन । उहाँहरुलाई एउटा निश्चित स्वार्थ पूरा गर्नका लागि सरकार समक्ष जानुपर्ने थियो, सत्ताको बार्गेनिङ्ग गर्नुपर्ने थियो । अर्को पक्षले प्रदेशमा सरकार बनाएर कमाउनुपर्ने थियो । उनीहरुले सरकार बनाए तर जनताले केही पनि पाएनन् । त्यहाँका जनताले प्रदेश सरकारको अनुभवसमेत गर्न पाएका छैनन् । भर्खरै घटना हेर्ने हो भने जसले भ्रष्टाचारलाई जिन्दावाद भन्न सकेन, त्यसले अख्तियार मुर्दावाद भन्दै हिंडें । साइकल चोरेर खाने ? यदि तपाइँले भ्रष्टाचार गर्नुभएको छैन भने छाती पिटेर भन्नुस् । उहाँहरु छापामार शैली भन्नुहुन्छ, छापाामार शैली भनेको के हो ? छापामार शैली त युद्धमा हुन्छ । जुन युद्ध मैले दक्षिण सुडानमा देखेको छु । उहाँहरुले केही गर्नुभएको छैन भने क्लिन चिट लिनुस् बस्नुस् । हावा नलागी पात हल्लिदैन । त्यसैले त्यहाँ अवश्य पनि केही पनि अनियमितता भएकै छैन । अख्तियार जस्तो संवैधानिक निकाय यदि मुख्यमन्त्री कार्यालयमा पस्छ भने ‘दाल में कुछ काला है’ । भ्रष्टाचारका कुराहरु मिडियामा जोडतोडले आउँछन् । पछि जब मुद्दा चल्छ, अदालतले केही लाख धरौतीमा छोड्छ । त्यसैले यो विषयमा जनतालाई न्याय हुन्छ, भ्रष्टाचारी जेल जान्छन् भन्ने कुरामा मलाई विश्वास लाग्दैन । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ